काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले साहित्यकार प्रा.डा. बासुदेव त्रिपाठी र विजय चालिसेलाई गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ बाट सम्मानित गरेको छ।

पुरस्कार वितरण समारोहमा नगर प्रमुख दिपक कुमार रिसालले उहाँहरूलाई जनही एक लाख रुपैयाँ राशिको पुरस्कार, दोसल्ला, सम्मानपत्र र फूलमाला प्रदान गर्नुभएको थियो ।

नगर प्रमुख रिसालले यस क्षेत्रको साहित्यिक विकासमा ग्राम निर्माण बन्धुमन्डल क्लबमार्फत किर्तिशेष रमेश विकलको प्रभाव रहेको स्मरण गर्दै आफू लगायत धेरै युवाहरू साहित्यिक विकासमा प्रेरित भएको बताउनुभयो। उहाँले यस वर्षदेखि गोकर्णेश्वर क्षेत्रका साहित्यकारसँगै राष्ट्रियस्तरका साहित्यिक व्यक्तित्वलाई समेत पुरस्कार प्रदान गर्ने नीति लिइएको जानकारी दिनुभयो।

अभिनव साहित्य समाजका अध्यक्ष एवं नगर साहित्य पुरस्कार छनौट समितिका संयोजक गोविन्द प्रसाद घिमिरेले पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो।

पुरस्कृत त्रिपाठीले वाग्मती नदीको सिरानमा अवस्थित गोकर्णेश्वर नगरपालिकाले गरेको अनुकरणीय कार्यको प्रशंसा गर्दै यस क्षेत्रका कालजयी लेखकहरू हास्यव्यंग्यकार भैरव अर्याल र आख्यानकार रमेश विकलको योगदानको स्मरण गर्नुभयो। चालिसेले आफ्नै जन्मथलोमा यसरी सम्मानित हुन पाउँदा नगरपालिका, नगरप्रमुख र सम्पूर्ण गोकर्णेश्वर नगरपालिका परिवारप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘रमेश विकल समग्र’ (वाक्य खण्ड र बालउपन्यास, बालनाटक र अनुवाद खण्ड) र सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे’ नामक ग्रन्थहरूको लोकार्पण समेत गरिएको थियो । पूर्व सचिव तथा समालोचक गोपी मैनाली र प्रा.डा. श्रीकृष्ण प्रसाद दाहालले क्रमशः विकल र चालिसेका कृतिहरूको समीक्षा गर्नुभयो। समालोचक युवराज मैनालीले गोकर्णेश्वर नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कला, साहित्य, संस्कृति, पूर्वाधार विकास र खेलकुद जस्ता विभिन्न क्षेत्रमा देशकै अग्रणी नगरपालिकाको रूपमा चित्रण गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्का, विशिष्ट अतिथि प्रा. ठाकुर शर्मा भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा देशका विशिष्ट साहित्यकारहरू, नगर प्रवक्ता, वडाध्यक्षहरू, नगर शिक्षा समितिका प्रतिनिधिहरू, विद्यालयका प्रतिनिधिहरू, पत्रकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।