काठमाडौं । अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसे कीर्तिशेष भएको दुई महिना पुगेको अवसरमा उहाँको स्मृतिमा एक श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। साहित्य सदन नेपालको आयोजनामा रामहिटी, बौद्धमा सम्पन्न उक्त कार्यक्रममा २१ वटा साहित्यिक संस्थाहरूको सहआयोजनामा सहभागीजनहरूले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि श्रद्धासहित स्मरण गर्नुभएकाे थियाे ।

साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार रोचक घिमिरे प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रमको प्रारम्भ कीर्तिशेष चालिसेको तस्वीरमा माल्यार्पण र मौनधारणसहित गरियो।

कार्यक्रममा  समालोचक ठाकुर शर्माले चालिसेका साहित्य, पत्रकारिता, शिक्षा तथा सामाजिक जीवनमा योगदानको चर्चा गर्दै उहाँका ५६ वटा प्रकाशित कृतिहरूको चर्चा गर्नुभयाे । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले स्कुले जीवनदेखि नै चालिसेसँगको आत्मीय सम्बन्ध झल्काउँदै गोकर्णेश्वर नगरपालिका साहित्यिक दृष्टिले अघि बढ्न चालिसेबाट प्राप्त प्रेरणालाई मुख्य मानिएको बताउनुभयाे ।

पत्रकार पुरुषोत्तम दाहालले चालिसे केवल साहित्यकार मात्र नभई पत्रकारितामा पनि अब्बल रहेको र उहाँले दिएको सिर्जनात्मक ऊर्जा सधैं स्मरणीय रहने बताउनुभयाे। “लेखक–साहित्यकार गहना नभई समाजको स्पन्दन हुन्,” भन्दै दाहालले गोकर्णेश्वर नगरपालिकाद्वारा चालिसेलाई प्रदान गरिएको सलामीप्रति मुक्तकण्ठले प्रशंसा गर्नुभएकाे थियाे ।

उहाँका सुपुत्र आलोक चालिसेले पिताको योगदानलाई दीर्घकालीन रूपमा जीवित राख्न ‘विजयलक्ष्मी ट्रष्ट’ स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउनुभयाे ।

कार्यक्रममा रोचक घिमिरेले विजय चालिसेको सक्रियताले रमेश विकल साहित्य प्रतिष्ठानको जग बस्न सहयोग गरेको स्मरण गर्दै, “पिता रमेश विकलको भन्दा पनि भैरव अर्यालको प्रेरणाले उहाँ साहित्यतर्फ आकृष्ट हुनुभयो,” बताउनुभयाे ।

अन्य वक्ताहरूमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत उपाध्याय, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष शम्भु बडाल, पोषण पाण्डे, तीर्थ सदनका प्रतिनिधि रञ्जु पाण्डे लगायतले पनि चालिसेको व्यक्तित्व र कृतित्वबारे धारणा राख्नुभएकाे थियाे ।

साहित्यिक, सामाजिक र पत्रकारितामा समर्पित रहेर जीवनभर क्रियाशील रहनुभएका विजय चालिसेको निधन २०८२ जेठ १६ गते भएको थियो। उहाँको योगदान नेपाली साहित्यिक समुदायका लागि प्रेरणादायी रहिरहनेछ।