भरतपुर । युवा गजलकार विनोद अनुज द्वारिका नेपाल स्मृति गजल पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । गजल मञ्च चितवनको नवौँ अधिवेशनमा सोमबार गजलकार अनुजलाई पुरस्कार अर्पण गरिएको हो ।
अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि गजल मञ्च चितवनका पूर्वअध्यक्ष प्रभाकर पण्डितले गजलकार अनुजलाई सम्मानपत्रसहित पुरस्कार अर्पण गर्नुभएको हो । गजल मञ्चको अध्यक्ष भइरहँदा २०७८ साल असोजमा दिवंगत हुनुभएका द्वारिका नेपालको स्मृतिमा गजल मञ्चले पुरस्कार स्थापना गरेको थियो ।
भरतपुर- ५ आनन्दपुर घर भई हाल अस्ट्रेलियामा रहनुभएका डिला खरेलले यो पुरस्कार सौजन्य गर्नुभएको हो । पुरस्कारको राशि २५ हजार रूपैयाँ छ ।
पुरस्कृत स्रष्टा अनुजले कार्यक्रममा केही गजल सुनाउनुभयो । उहाँले पुरस्कार बापत पाएको सबै रकम भरतपुर- ४ धर्मचोक, लङ्कूमा रहेको ज्ञानज्योति पुस्तकालयको भवन निर्माणका लागि हस्तान्तरण गर्नुभएको छ । पुस्तकालयका अध्यक्ष गोविन्द कँडेललाई पुरस्कृत स्रस्टा अनुजले उक्त रकम कार्यक्रम स्थलमै बोलाएर हस्तान्तरण गर्नुभएको हो ।
मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रभाकर पण्डितले विभिन्न कालखण्डमा गजल मञ्चमा सक्रियतापूर्वक लागेर गजलको उत्थान र संरक्षणमा भूमिका खेल्नुभएका अनुजलाई यो पुरस्कार प्राप्त हुनु खुशीको कुरा भएको बताउनुभयो । मञ्चका संस्थापक अध्यक्ष धनराज गिरी, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुरस्कृत स्रस्टा अनुजले पुरस्कारले आफूलाई गजल क्षेत्रको विकासका लागि अझै जिम्मेवारी बनाएको बताउनुभयो ।
द्वारिका नेपाल स्मृति गजल पुरस्कार २०७९ सालमा मुक्त उदास र २०८० सालमा कमल अर्यालले प्राप्त गर्नुभएको थियो । नवौँ अधिवेशन कार्यक्रममा पूर्वअध्यक्षहरू किसान प्रेमी, ऋषिप्रसाद लामिछाने, रमेश प्रभात, पुष्प अधिकारी अञ्जली, धनराज गिरिसहित आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।