गजल मञ्च चितवनको नियमित गजल वाचन कार्यक्रम “गजलसँग” को ८ औँ शृङ्खला सम्पन्न भएको छ ।

चितवन साहित्य परिषद् नारायणगढमा शनिबार सम्पन्न कार्यक्रममा ४ जना गजलकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा नवलपरासीका दुई गजलकार आदर्श सुशील तथा प्रतीक्षा पोखरेल, म्याग्दीकी ऋद्धिमा रिजाल र पोखराका परिविक्रमले ६-६ ओटा गजल वाचन गर्नुभएको थियो ।

मञ्चका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षता र सचिव सरगम पारुको सञ्चालन रहेको कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष धनराज गिरी र किसान प्रेमीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सुरुवातमा मञ्चका उपाध्यक्ष रामकृष्ण अनायासले स्वागत मन्तव्य राख्दै दिवंगत पूर्वअध्यक्ष द्वारिका नेपाललाई स्मरण गर्दै उहाँको गजल वाचन गर्नुभएको थियो ।

वि.सं. २०६३ सालमा स्थापना भएको गजल मञ्च चितवनले गजलको विकास र उन्नयनमा आफ्नो सक्रियता देखाउँदै आएको छ ।