चितवन । गजल मञ्च चितवनले आफ्नो २०औँ स्थापना दिवसका अवसरमा गजल उत्सव तथा खुला गजल वाचन कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी २०८२ साल चैत २६ गते बिहीबार दिउँसो ४ बजे चितवन साहित्य परिषद्को सभाहलमा हुने आयोजकले जनाएको छ ।

गजल विधाको प्रवर्द्धन तथा सर्जकहरूबीच सृजनात्मक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त अवसरमा चितवन तथा आसपासका जिल्लासहित विभिन्न स्थानबाट गजलकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत खुला गजल वाचनको व्यवस्था गरिएकाले स्थापित गजलकारसँगै नवसर्जकहरूले पनि आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाउनेछन् । साथै, सोही अवसरमा नयाँ विशिष्ट सदस्य तथा आजीवन सदस्यलाई प्रमाणपत्र समर्पण कार्यक्रमसमेत रहने जनाइएको छ ।

आयोजकले साहित्यप्रेमी, गजलकार तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई उत्सव सफल बनाउन आग्रह गरेको छ । दुई दशकदेखि गजल विधाको विकास र विस्तारमा सक्रिय मञ्चले स्थापना दिवसका अवसरमा यस्ता साहित्यिक गतिविधि गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।