चितवन रत्ननगरका गजलकार कमल अर्याललाई ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ प्रदान गरिएकाे छ । भरतपुरमा आयोजित एक कार्यक्रमका बिच अर्याललाई २५ हजार रूपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

स्व. द्वारिका नेपालकी पत्नी, विशिष्ट अतिथि पार्वती अर्याल नेपाल एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एलबि क्षेत्रीले संयुक्त रुपमा पच्चीस हजार नगदसहित प्रसंशापत्र एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गजल मञ्च चितवनले अध्यक्षमा बहाल रहेका बेलामा नै २ वर्षअघि निधन भएका द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको हो भने गत वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न सुरू गरिएकाे हो ।

गत वर्ष गजलकार मुक्त उदासले उक्त पुरस्कार पाएका थिए ।

रामकृष्ण अनयासले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा गजलकार कमल अर्यालको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार लक्ष्मण अर्यालले बोलेका थिए ।

गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवम् कुशल पत्रकार भएको बताउँदै नेपाली साहित्यिक आकाशमा अमर रहने धारणा राखिन् ।