“उहाँ वरिष्ठ हुनुहुन्छ”
रुद्र सरले कमलेलाई कमल ठान्नुभो
र ठोकिदिनुभो एउटा विशेषणको ल्याप्चे
के जान्थ्यो र उहाँको
– न जेथा सकिन्थ्यो
– न बेथा बल्झिन्थ्यो
– न उहाँको गलामा गाँड आउँथ्यो
– न उहाँको मुखमा माँड जोडिन्थ्यो
उहाँको सद्भावले
नाथे कमले न कमल बन्थ्यो न बन्थ्यो फूल
सानो टाउको लिएर
ठूलो टाउकासँग कहाँ दाँजिन सक्थ्यो र बिचरो ।
“कमले नाथे वरिष्ठ भयो कसरी ?”
मेनुका म्यामले विरोध गर्नुभयो
भक्तमान सर खनिनुभो रे रुद्र सरमाथि
बिचरा रुद्र सर ।
रुद्र सर !
किन मेरो नामअघि वरिष्ठ ?
म थाम्न सक्छु होला र यामानको विशेषण
टाउको सानो छ
सानो टाउकाभित्र सानो गिदी छ
सानो गिदी रुद्र सर सानो गिदी ।
रुद्र सरले
बिहानै फोन गर्नुभयो
कमल सर
मैले हजुरको नामअघि
कनिष्ठ शब्द राख्नुपर्नेमा
वरिष्ठ शब्द राखेछु
व्यापक विरोध आयो
के गरूँ होला ?
माइ डियर रुद्र सर !
विशेषणले फुलिएर मेरो नाक
झर्ला जस्तो भा थ्यो
तपाईँको सद्भाव देखेर
म तपाईँप्रति श्रद्धानत पनि भएको थिएँ
तर
यो थाम्नै नसक्ने विशेषण
मलाई ऐठन भएको थियो
असजिलो भएको थियो रुद्र सर
म कहाँ लघुमानव गुलिभर ट्राभल्सको
विश्वास त कहाँ थियो र
पक्कै हजुरले भुल्नुभएको हो ठानिरहेँ
बल्ल ढुक्क भयो
कनिष्ठ राख्नु सर कनिष्ठ
कनिष्ठ राखेपछि
मेरा साथीसङ्गी खुसी
मेनुका म्याम खुसी
भक्तमान सर खुसी
सबैभन्दा खुसी म हुनेछु
किनकि
हिजो बाख्रालाई
घाँस काट्दाकाट्दै
त्यही कुरो सम्झिएँ
जाबो घाँस काट्ने मान्छे
कसरी वरिष्ठ हुन्छ ?
घाँस काटिन
बाख्रा भोकै भयो
गाईको भकारो सोहोर्दासोहोर्दै सम्झिएँ
जाबो भकारो सोर्ने मान्छे
कसरी वरिष्ठ हुन्छ ?
भकारो सोरिन
गाईका कचौडामा गोबर लाग्यो
दूध खानै घिन लाग्यो, खाइनँ ।
बेलुकी श्रीमतीले भनिन्
हेर्नुन यो हात के भयो भयो
बिहानैदेखि दु:खिरहेछ
थोरै तेल लाइदिनुन
मैले उनको हातमा तेल लगाउँदालगाउँदै
सम्झिएँ जाबो स्वास्नीलाई तेल
दल्ने मान्छे के को वरिष्ठ ?
तेल दलिन
अझै सम्म हाम्रो सम्बन्धमा सुधार छैन ।
रुद्र सर
म यो वरिष्ठ शब्दले आतङ्कित थिएँ
रातभरि निद्रा परेको थिएन
ओल्टिएको थिएँ
अनि कोल्टिएको थिएँ
बिहान काचो आँखा लिएर
ट्वाइलेट गएँ
ट्वाइलेट बस्नै सकिन किनकि
वरिष्ठ मान्छे कसरी नाङ्गै ट्वाइलेट गर्ने
थोरै पिसाब फेरेर फर्किए
आज बिहान चिया पनि पिइन
वरिष्ठ भएपछि
के कालो चिया खाएर इज्जत फाल्ने ।
रुद्र सर ,
हजुर त मेरो भगवान हुनुभयो
हजुरले मेरो मन हल्का गरिदिनु भयो
अब मेरो नामअघि
कनिष्ठ राखेपछि
बल्ल
मेनुका मेमको
हाँसेको प्रोफाइल पिक्चर आउनेछ
भक्तमान सरका रसिला भिडियो देख्न पाइनेछ
रुद्र सरले सबैको अघि गाली खानु पर्दैन
सबैभन्दा बढी त
मेरा बाख्राहरूले
टन्न घाँस खान पाउनेछन्
गाईले गोबरमा बस्नु पर्दैन र
मैले गोबर गनाएको दूध पनि खानु पर्दैन
मेरी श्रीमतीलाई त म
जसरी पनि फकाउँला
नयाँ बहाना बनाउँला
तर एउटा कुरा नि
मेरा इष्टमित्र घर परिवार
दाजुभाइहररूलाई
म कसरी बुझाऊँ
रुद्र सर ।
अब मेरो सास छउन्जेल मलाई
वरिष्ठ नभनी दिनुहोस्
बिन्ती छ
मात्र यत्ति गरिदिनुहोस् ।
अब ढुक्क हुनुहोस् मेनुका म्याम
अब ढुक्क हुनुहोस् भक्त सर
अब यी रुद्र सरहरूले
सानु टाउके र पानी आन्द्रे
झिँगा पित्ते र बित्ते मुटु भएको
मलाई कहिलै
वरिष्ठ भन्ने छैनन् ।
हजुरहरूले राता गाला गर्नु पर्दैन
हजुरहरूको मान हानी हुने छैन
शब्दकोश सुधार्न रिट दिउँला बरु
लागेको खर्च मै बेहोरुँला
टेन्सनमुक्त हुनुहोस्
तपाईँ पनि अब ज्यास्ती नदुब्लाउनु होस्
कतितिरको चिन्ता लिनुहुन्छ
बरु तपाईँ हामी सँगै म माथि अचानक आइलागेको ‘वरिष्ठ’को
मलामी जाऊँ न है प्लिज ।
रत्ननगर चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला