– गुरु नमस्कार, म टाँडीबाट कमल अर्याल बोलेको । चिन्नुभयो ?
– अँ बाबु चिनेँ । तपाईं आउने भन्नुभएको होइन ? कहिले आउनुहुन्छ त ?
– म आज आउन खोजेको । तपाईं कति बजेसम्म बस्नुहुन्छ ?
– म ११ बजेसम्म बस्छु । तपाईं आउने भए म कुरौँला । १२ बजेसम्म आउनु न ।
– हुन्छ गुरु म आउँछु ।
यो कुराकानी २०८१ भाद्र २५ गते मङ्गलबार बिहान ९:४० को हो । खाना खाएर म यात्रामा निस्किएँ । मेरो मन एक्लै जाऊँ या कुनै मन मिल्ने साथी लिएर जाऊँ भन्ने विषयमा दोधारियो । वर्षायामको बेला पानीले बाटो बिग्रिएको पनि हुन सक्छ । त्यसैले एक्लै जान्छु । एक्लै हुनुको बेग्लै मजा छ । एक्लै यात्रामा हिँड्दा आफ्नो समय मात्र अड्कले भयो । साथी लिएर जाँदा साथीको पनि समय अड्कल्नु पर्यो । आफूलाई मन परेको विषय साथीलाई मन नपर्न पनि सक्छ । विविध झन्झट खेपिरहनु भन्दा एक्लै घरबाट निस्किएँ । घरबाट निस्कँदा बिहानको ११ बजेको थियो । टाँडीबाट शान्तिचोक, ज्यामिरे हुँदै ज्यामिरेचोकबाट बिन्दवासिनी चोक भएर कंकालीकोट प्रस्थान गर्ने गेटमा पुगेँ । पार्किङ स्थानभन्दा उत्तरपश्चिमतर्फको अर्को गेट हुँदै म उकालो लागेँ । शुरूवाती बाटो ढलान गरेर मजबुत बनाइएको रहेछ । एकान्त र सुनसान बाटो सवारी साधनहरू कुदेका थिएनन् । सजिलो बाटो सकिएर अप्ठ्यारो बाटो आयो । बाटोमा यमानका खाल्टाखुल्टीहरू थिए । वर्षाको पानीले बिगारेको बाटोलाई नछोडी म मन्दिर प्राङ्गणमा पुगेँ । बाइक पार्किङ गरिसकेपछि पानीको धारो नजिकै दाह्री काट्दै गरेका यसै मन्दिरका पुजारीलाई देखेँ । हामीबीच प्रारम्भिक भलाकुसारी भयो ।
मैले पृष्ठभूमिमा माथि अलिकति सङ्केत गरेँ कंकालीकोटका विषयमा । खैरहनी ४ स्थित कंकाली सामुदायिक वनको मध्य भागमा अवस्थित छ कंकालीकोट । त्यहीँ छ माता भगवती कंकालीको मन्दिर । यो यतातिरको निकै चर्चित स्थान हो । चर्चित भए पनि यसको हुनुपर्ने जति विकास भएको छैन । विकासका केही डोरेटाहरू भने कोरिएका छन् । मन्दिरको प्राचीनताका सम्बन्धमा खासै कोही पनि जानकार छैन । पुराना पुस्तामा अलिअलि केही जानकारी भए पनि नयाँ पुस्ता अनभिज्ञ छ । नयाँले त्यस स्थललाई मात्र पिकनिक स्पटका रूपमा मात्र चिनेको छ, घुम्ने र रमाईलो गर्ने स्थलका रूपमा मात्र चिनेको छ । मलाई त्यहाँको आधुनिकताभन्दा प्राचीनताका बारेमा जान्ने इच्छा थियो । केही सामग्री पाइहालिन्छ कि भनेर म त्यताको सोधखोजमा लागेँ । यो यही सोधखोजको विवरण हो ।
उपरदाङगढीमा भएको सदरमुकाम एकताका कंकालीकोटमा पनि सरेको थियो भन्ने सुनेको थिएँ मैले । यो विषयमा जान्ने इच्छा भयो । यो कुरा श्यामकृष्ण श्रेष्ठलाई थाहा छ र उनी जीवितै छन् भन्ने कुनै सूत्रबाट थाहा पाएपछि सोध्दैखोज्दै म उनैलाई भेट्न पुगेँ । उपरदाङ गढीको अदालतमा ‘लेखनदास सिपाही’ (लेसि) पदमा जागीर खाई रिटायर्ड जीवन बिताइरहेका श्यामकृष्ण श्रेष्ठको भनाइअनुसार – “उपदाङगढीमा भएका सबै अड्डाअदालतहरू पहिला कंकालीमा थियो । त्यहाँ भग्नावशेषहरू त अझै पनि छ । त्यहाँ करीव करीव एक दुई वर्ष बसेपछि त्यहाँका मान्छेहरूले रगतै छादेर भकाभक मर्न थाले भन्ने सुनेको हुँ । त्यहाँ राक्षस बास गरेको छ भन्थे । त्यस राक्षसलाई फलामको चिउरा चढाउनु पथ्र्यो रे । त्यस क्षेत्रमा कसैकसैले हिमाली भूत बस्छ पनि भन्ने गरेको सुनेको हो । अहिले भएको कंकाली मन्दिर अर्कै हो । एकपटक टडौलीको खलङ्गामा पनि अड्डा अदालत बसेको थियो । पछि कंकाली सरेको हो झुवानीमा चाहिँ ठाना मात्रै थियो । पिपरिया भएर ठोरी जाने मूल बाटो भएका कारण त्यहाँ ठाना बसेको हो ।”
कंकाली भगवतीको मन्दिर प्राङ्गण पुग्दा पौने १२ भइसकेको थियो । २०५१ सालदेखि बिना पारिश्रमिक कंकाली माईको थानमा नित्य पूजा चलाउँदै आएका रहेछन् – पुजारी बालकुमार रिमाल । यसै कंकाली मन्दिर र मन्दिर आसपासका ऐतिहासिक संरचना र धार्मिक कुराहरू बुझौँ भन्ने मनसायले कंकालीकोट धाइरहेको थिएँ । कुराकानीको अवसर आज बल्ल मिल्यो । हामी मन्दिर हाताभित्र थियौँ । मन्दिरको छानाले मन्दिरभित्र रहेका मूर्तिहरूलाई वर्षायामको पानीबाट जोगाउन नसकिरहेको स्पष्ट देखिन्थ्यो । छानाको राम्रो व्यवस्थापन भइसकेको रहेनछ । मन्दिरमा पाली पनि थिएन । मर्मत सम्भारको अभावमा कंकाली माताको मन्दिर मलीन थियो । मन्दिरभित्रै बसेर हामीले कुराकानीलाई अगाडि बढाउँदै थियौँ । त्यो दिन भक्तजनहरूको उपस्थिति पातलो थियो । त्यहाँका विषयमा पुजारीलाई थाहा छ भन्ने बुझेपछि म त्यतैतिर बुझ्न कुदिरहेको थिएँ । त्यति बलियो सामग्री त पाइएन तर पनि धुमिल किसिमका सामग्री भने पनि त्यहाँ प्राप्त भयो ।
कंकाली मन्दिर विक्रम सम्वत् १९११ मा स्थापना भएको हो । मन्दिर जीर्ण छ । मन्दिरभित्र बीचमा कंकाली माईको मूर्ति छ भने सोही मूर्तिको दायाँबाँया गणेश र शिवलिङ्ग स्थापित छ । पुजारीका अनुसार मन्दिरमा पहिले बाघको आकारको शिला मात्र थियो तर अहिले कंकाली भगवतीको बाघको शिलाकै आडमा माताको एउटा सुन्दर मूर्ति पनि राखिएको छ । त्यहीँ एउटा नागको अद्भुत शिला पनि छ ।
पुजारी भन्दै थिए – विक्रम सम्वत् १९११ मा कर्णवीर राजाले शिकार खेल्ने क्रममा पटकपटक हरिणलाई भेटेछन् । उनले शिकारका लागि प्रहार गर्दा नलागेपछि को हो त यो सधैं मेरै अघिपछि लागिरहन्छ भनेर आश्चर्य मान्दा भगवती कंकाली माता स्वयं प्रकट भई उनलाई दर्शन दिनुभएछ । राजासामु माताले पञ्चमी तिथि पारेर पञ्चबलि दिएर मेरो उद्धार गर भन्नुभएकाले त्यसैबेलादेखि धान्यपूर्णिमाको चौथीका दिन बेलुका जागरामबत्ती बाल्ने र बिहान फूलको डोली र पञ्चबलि दिएर भगवती कंकाली मातालाई खुशी पार्ने चलन चलेको रहेछ ।
कुराको शिलशिलाको बीचमा कंकाली भगवतीको चार हात खुट्टा भएको अत्यन्तै आकर्षक मूर्ति मन्दिरमा कसरी र कसले ल्यायो – मैले सोधेँ । उनले सो मूर्तिको विषयमा यसो भने – कंकाली सामुदायिक वनको हाताभित्र अवस्थित स्विमिङ पुलमा एक जना मान्छेको डुबेर मृत्यु भयो । उनको मृत्युमा विक्षिप्त भएका उनका मातापिता लगायतले समितिमा निकै धेरै किचलो गरे । त्यतिवेला कंकाली सामुदायिक वनका अध्यक्ष वेदबहादुर अधिकारी थिए । उनले त्यो किचलोबाट दिक्क भएर “कंकाली माता हामीलाई यो लफडाबाट बचाइदिनुस् हामी हजुरको मन्दिरमा मूर्ति स्थापना गर्छौं” भनेर भनेको एक हप्ताभित्र मुद्दा फैसला भयो र समितिले जित्यो । तिनै वेदबहादुर खैरहनी नगरपालिका वडा नम्बर ४ का वर्तमान वडाध्यक्ष पनि हुन् । वेदबहादुरकै पहलमा भगवतीको मूर्ति स्थापना भएको हो ।
मूर्ति कुँदिएको शिला निकै ठूलो छ । यति ठूलो शिला कहाँबाट आयो होला ? म अलि निकै जिज्ञासु बनेँ । मेरो जिज्ञासामा उनले भने – यो एउटै शिलामा कुदिएको मूर्ति हो । यो मूर्ति कुद्ने कालीगढले २० हजार लिएर तयार गरिदिएका हुन् । यो पवित्र शिला कंकाली माताको पाउमा बग्ने कर्ण नदीको हो ।
मलाई यो कुरा अलि नौलो लाग्यो । पुजारीलाई सोधेँ – शक्तिखोरतिरबाट बगेर आउने त कयर खोला होइन र ?
उनी त्यसलाई कयर भन्न चाहिरहेका थिएनन् । उनले भने – सिद्धि कोराक भएर आउने नदी नै कर्ण नदी हो । यो परापूर्व कालदेखि बग्दै आएको निकै पवित्र नदी हो । योगी नरहरिनाथले आफ्नो पुस्तकमा पनि श्री कंकाली माईको पाउ भएर बग्ने कर्ण नदी हो भनेर उल्लेख गर्नुभएको छ । त्यसै नदीमा भगवती कंकाली माताले स्नान गर्नुहुन्थ्यो भनिन्छ । लगभग साढे दुई क्विन्टलको यो शिलामा मूर्ति कुँद्ने काम जमुनापुरका कालीगढले गरेका हुन् । पौषे औँशीमा पितृहरूको उद्धारका लागि यो कर्ण नदीको किनारमा मानिसहरूको जमघट हुन्छ । बलि दिने प्रचलन समेत रहेको यस पवित्र कंकाली माताको मन्दिरमा आफ्नो मनोकामना पूरा भएपछि बलि चढाउने गरिन्छ । पहिला मन्दिर भित्रै बलिदिने गरिन्थ्यो । पछि एकदिन मेरो शरीरमा देवी चढेपछि उहाँले भन्नुभयो – “बलि खाने मैले होइन बलि खाने भनेको मेरा गणहरूले हुन् । कालिले खाने हो । बाहिर लगेर राखिदेऊ ।” तत्पश्चात् बलिका लागि बाहिर व्यवस्था गरिएको हो । बाहिर बलिको व्यवस्था गरेको करीव २२/२३ वर्षजति भयो । बुबा बित्नु भएपछि कुल मेरो आङमा प्रवेश गर्नुभयो । मैले मेरो गुरू कंकाली मातालाई राखेको थिएँ । जब कंकाली माता मेरो शरीरमा प्रवेश गर्नुभयो तब मलाई यहाँको इतिहासका बारेमा धेरै कुराहरू आफसे आफ जानकारी प्राप्त हुन थाल्यो । माता प्रवेश गर्नुभन्दा अघि मलाई यहाँका विषयमा केही पनि थाहा थिएन । म लगभग तीन दिन यसै जंगलमा हराएँ । म घरबाट घाँस काट्नका लागि भनेर निस्केको थिएँ । मलाई बाटो भुल्याइदिनु भयो । म यही कंकाली माईको थानमा आएर सुतेँ । यहाँ बारबेर केही थिएन । मुसाले माटो खनेर एकदम फोहोर थियो । यहाँ सुतेको बेला करीव दुई फुट जतिको उचाइ भएकी देवी आएर मलाई भन्नुभयो – मेरो थानमा नित्य पूजा गर्ने पुजारी छैन । मेरो थानमा आएर नित्य पूजा गरिस् भने तँलाई मेरो चेलो बनाउँछु । देवीले यति भनेपछि मैले देवीको पाउमा शिर राखेर भनें – म हजुरको भक्त बन्न तयार छु । त्यसो भन्नेबित्तिकै उहाँ अलप हुनुभयो । मैले उहाँलाई गुरू मानेपछि मैले यहाँका इतिहासहरू थाहा पाएँ । यहाँ पूजा गर्दा पूजाविधि बिग्रियो भने मलाई राति भगवतीले सचेत गराउनुहुन्छ – यहाँनेर भूल भयो भनेर । गायोको फेदमा अवस्थित भगवतीको मन्दिर छेउमा बलिरहेको दियो कहिल्यै निभ्दैन । जति ठूलो हावा हुरी र पानी आए पनि यो दियो अकन्टक बलिरहन्छ । भक्तजनहरूले जति हतार गरे पनि यो भुइँ नपोती म नित्य पूजा गर्दिनँ । म बिहान खाना खान्नँ । जति भक्तजनहरू यस मन्दिरमा आस्था बोकेर आउनुहुन्छ उहाँहरूको मनोकामना सबै पूरा भएको छ । कति जनाको रोकिएको काम पूरा भएको छ । विदेश जानका लागि खोजेको तर जति गर्दा पनि भिसा नआएपछि यहाँ आई पूजाआजा गरेपछि भिसा आएका घटनाहरू पनि छन् । एकजना भक्तजन यहाँ आए । लगभग ७ महिनाअघिदेखि उनले विदेश जान कोशिश गरेका रहेछन् । भिसा नझरेपछि आजित भएको बेला उनलाई अर्का एक जनाले भगवतीको प्रार्थनाका लागि भनिदिएछ । उनी आए । मैले राम्रोसँग पूजा गरिदिएँ । पछि भिसा लागेछ । भिसा लागेपछि उनका बाबुले – म छोरालाई भनेर पहिलो महिनाको तलब हजुरलाई दिनेछु पनि भने । पछि तिनले आफ्नो एक महिनाको तलब मलाई पठाइ दिए । त्यही पैसाले मैले मन्दिरमा सोलार हालेँ, बत्ती र पङ्खाको जोहो गरेँ ।
पुजारीका अनुसार यस्ता घटना उनीसँग धेरै छन् । म उनैलाई सुन्न गएको थिएँ त्यहाँ । कत्ति पनि झिँजो नमानी मैले उनलाई सुनिरहेँ । कुराकानी गर्दा पुजारीका बोलीमा एउटा प्रगाढ आध्यात्मिक विश्वास झल्किएझैँ लाग्दथ्यो । उनी भन्दै थिए – रोकिएर बसेका कामहरू भगवती कंकाली मातासँग माग्दा माताले पूरा गरिदिनु हुन्छ भन्ने सबैलाई विश्वास छ । अरु मन्दिरमा भाकल गर्दा मेरो फलानो काम बनोस् म हजुरको थानमा फूल अक्षता चढाउँला या बलि चढाउँला भनेर घरैबाट सम्झिए पनि हुन्छ तर कंकाली मातासँग माग्नका लागि मन्दिरमै आउनुपर्छ । मन्दिर आएर आराधना पूजा गरेर फर्कने र काम बनेपछि फेरि आफूले भने अनुसारको वाचा भने पूरा गर्नुपर्छ ।
जङ्गलको बीचमा छ मन्दिर । यहाँ जनावरहरू पनि आउँछन् ? – मैले सोधेँ ।
मेरा कुरामा उनले भने – अरु जनावर त खासै मैले देखेको छैन तर आमाको बाहन (बाघ) चाहिँ सधैं आउँछ । बेलुका झम्के साँझमा मैले प्रत्येक दिन देखेको छु । बाघ आउँदा जैले पनि मन्दिरलाई दाहिने बनाएर जाने गर्छ । उसले यो चोकमा आएर यताउति हेर्छ र सरासर आफ्नो बाटो लागेर जान्छ । अहिलेसम्म कुनै बिराम गरेको छैन ।
मैले नपत्याएको भावमा भनेँ – हप्तामा एकपटक आउँछ होला हैन ? तर उनले स्पष्ट भने – प्रत्येक दिन आउँछ । झम्के साँझमा जहिले पनि आउँछ । यदि झम्के साँझमा आएन भने रातिको १२ बजेसम्ममा भए पनि आउँछ । लामो छ, थोप्ले चितुवा जस्तो । अग्लो छ । उनले बाघको हुलिया बताए । पूजा विधि बिग्रियो भने मन्दिरलाई उल्टो बनाएर हिँड्छ । भक्तजनहरू भएको बेलामा पनि आएको छ तर केही गर्दैन ।
उनको भनाइमा कौतूहलता थियो । यी कुराहरू विश्वास गर्ने कि नगर्ने ? म दोधारमै थिएँ । उनको कुरालाई मेरो विश्वास हुनु या नहुनुले केही फरक पारिरहेको भने थिएन । उनी भन्दै गए – मेरो घरमा जस्तोसुकै काम परेको भए तापनि मैले पूजा रोकेको छैन । तर पानी परेको बेलामा पूजा गर्न निकै असुविधा छ । गतिलो छानो नभएका कारण नित्य पूजा गर्न अलि अप्ठ्यारो छ । एकपटक नवरात्रिको समय थियो । यहाँ बास बस्ने राम्रो प्रबन्ध थिएन । म तलै घरबाट आउने जाने गर्थेँ । एकदिन बिहान एउटा पूजा सामग्रीको झोला भिरेँ र लौरो बोकेर मन्दिरतर्फ आउँदै थिएँ । मेरो अगाडि पनि एउटा बाघ थियो । पछाडि पनि बाघ थियो । बीचमा माता भगवती हुनुहुन्थ्यो । उकालो शुरू भएदेखि नै कंकाली माता र उहाँको वाहनले मलाई छोडेको थिएन । एकैचोटि मन्दिरको गेटमा आएपछि म झल्यास भएँ । म एक्लै थिएँ । त्यो घटनापछि मलाई लाग्यो – माताको शक्ति अपरम्पार छ ।
यो त सरासर हावा कुरा भएन र ? भन्ने मेरो प्रश्नमा उनले भने – हो, तपाईंले भनेको ठिकै हो । यसो हेर्दा हावा कुरा जस्तो लाग्छ तर यस्तो भएको छ । विशेष गरी नवरात्रिको पूजाका बेला यस्तै खाले घटना हुने गरेको उनले मलाई बताए । घरबाट मन्दिर आउने जाने क्रममा बाघसँग धेरैपटक जम्का भेट भएको छ भन्दै थिए उनी ।
मन्दिरलाई घेरेर पाँचवटा ठूला ठूला सालका रुखहरू थिए । तीनवटा सुक्यो अब दुईवटा मात्रै बाँकी छ । जग्गे बनाए जस्तो पाँचवटा लिङ्गा हुनु पनि यस मन्दिरको रोचक विषय हो । कुराकानीकै शिलशिलामा २०५६ सालमा यो मन्दिरको पुनर्निर्माण गरिएको भन्ने पनि थाहा पाएँ ।
यो मन्दिरमा बिरामी भएर आउने भक्तजनहरू माताको दर्शनपछि निको भएर गएका घटनाहरू प्रसस्तै छन् भन्दै उनले अर्को प्रसङ्ग सुनाए – एकपटक न्युरिनीको एउटा बच्चा बिरामी भएर बाँच्दैन भनेर केराको पातमा सुताएको रहेछ । जे गर्नुहुन्छ कंकाली माताले गर्नुहुन्छ भनेर उनका बाबाआमाले एउटा बोको भाकेछन् । छोरो सद्दे होस् म तपाईंको थानमा बोको ल्याउँछु भनेपछि छोरोलाई निको भएछ । पछि छोरा नै त्यो बोको लिएर मन्दिरमा आयो । अर्को एउटा घटना छ – मेरो घर नजिकैको मगर कान्छा भन्नेको छोरी एक्सिडेन्ट भएर खुट्टाका हड्डीहरू टुक्राटुक्रा भएको थियो । उनले स्कुटर लिएर आउन सक्ने भए भनें हजुरको थानमा एउटा बोको ल्याउनेछु भनेर भाकिछन् । पछि उनलाई निको भयो र स्कुटर लिएर आइन् । भाकलअनुसार बोको ल्याएर यही मन्दिरमा छाडेर पनि गइन् । मन्दिरमा बार नभएकाले त्यसको संरक्षणका लागि मैले घरमा लगेर पालेको छु – पुजारीले भने । उनले आफूले लिएर गएको खैरो बोकाको फोटो पनि मलाई देखाए ।
त्यो बोको के गर्नुहुन्छ त ? मैले सोधेँ । पाल्न सकेसम्म पाल्छु । नसके यही मन्दिरमा छाडिदिन्छु । अहिले कम्पाउन्ड नभएर मात्र मैले राखेको हुँ । यो करीव करीव २२ किलोको छ ।
पुजारी बालकृष्णसँग करीव म चार घण्टा कंकाली कोटमा बसेँ । मैले चाहेजस्तो गहिरो सिलसिलेबार जानकारी नपाए पनि उनका कुराले धारणा बनाउन भने सजिलो हुन्छ भन्ने ठानेर म निरन्तर उनलाई दोहन गर्न लागिरहेँ । उनले पनि मेरो जिज्ञासालाई मेटाउने प्रयास गरिरहे ।
उनी भन्दै थिए – चितवनको पहिलो सदरमुकाम कंकालीगढी थियो । यहाँबाट उपरदानगढी सरेको र पछि झुवानी हुँदै भरतपुरलाई चितवनको सदरमुकाम बनाइएको कुरा नै इतिहासमा छ । लगभग १९११ सालतिर यहाँ सदरमुकाम रहेको हो । त्यतिबेलाका आँपका रुखहरू निकै बूढो भइसकेको छ । केही सुकेर केही ढलेर गए । त्यहाँ लस्करै लगाइएका आँपका रूखहरूले यतिबेला आँप लगायतका फलफूलको बगैँचा भएको पुष्टि हुन्छ । उनले एउटा अड्डाघरभन्दा अगाडिको आँपको रूखलाई औंलाले देखाउँदै आफ्नो विगतलाई सम्झिए – एकपटक मैले यो रूखको आँप टिपेर घर लान खोज्दा घुमेर यही रूखको फेदमा आइपुगेको छु ।
मैले उनीसँग यो घटनालाई विस्तृत रूपमा भन्न आग्रह गरेँ । उनले भने – यो रूखमा एकदम लटरम्म आँप पाकिरहेको थियो । मैले केही आँपहरू खाएँ र एउटा सानो बोरामा एक बोरा आँप बनाएर घर लान भनेर हिँडेँ । तर जति हिँडे पनि घर पुग्न सकिनँ । धेरै बेरपछि यही आँपको फेदमा नै आइपुगेँ । उनले थप्दै गए – त्यो बोरामा भएको आँपलाई यही रूखको फेदमा छाडेर म घरतिर ओरालो लाग्न खोज्दा झिलिक्क उज्यालो बत्ती बलेझैँ भयो । मेरो आँखा बल्ल खुल्यो । म झल्यास भएँ । यो घटना मैले आफैँले भोगेको घटना हो । यहाँको फलफूल देवीलाई नचढाई खान मिल्दैन । कसैले घर लान पनि नहुने उनले बताए । घर लान चाहनेले देवीलाई खुशी पारेर मात्र लान पाउँछ ।
अड्डाघर मन्दिरभन्दा उत्तरतिरको जङ्गलमा छ । करीव ५ मिनेट जति हिँड्नुपर्छ होला । अड्डा घरको पुरानो भवनको जगलाई आधार मानेर केही फिट गाह्रो थपेर उचाइ बढाइएको उनले बताए । संरचनाको फेदमा भएको जगको गाह्रोमा भएका ढुङ्गाहरू कलात्मक खालको थियो । सबै ढुंगाहरू मिहीन तवरले कुँदिएका थिए । त्यतिबेलाका घरहरू माटामुनि भएको कुरा जग खोज्ने शिलशिलामा पत्ता लागेको र जमिनकै लेबलमा घरहरू बनाइने र माथि छानो हाल्ने त्यतिबेलाको चलन भएको भन्ने जानकारी – पुजारीले दिए । मैले यो आसपास चारवटा भग्नावशेषहरू देखेको थिएँ । जग फेला पारेका भग्नावशेषहरूलाई हामीले तारबार गरेर संरक्षण गरेका छौं – उनले भने ।
उनले अड्डा रहेको स्थानमा तारबार सहितको वाल लगाइएका दुईवटा संरचना मलाई देखाए । त्यतिबेला यस क्षेत्रमा मालपोत सम्बन्धी काम हुनेगरेको रहेछ । यहीँबाट पेन्सन पकाएका जुटपानीतिरका सुब्बा बाजेका कुरा पनि उनले सुनाए । ती सुब्बाले कंकालीको मन्दिर स्थापनाका लागि पनि निकै ठुलो योगदान दिएका थिए रे । दोस्रो संरचना पनि हामीले हेर्यौँ । यहाँ पनि माथिको जस्तै संरचना थियो । जनावरहरूलाई पानी खानका लागि एउटा पोखरीको संरक्षण गरिएको थियो । उतिवेला नै खनिएको मानिने त्यो पोखरीमा कहिल्यै पनि पानी सुकेको छैन रे । यसलाई अहिले संरक्षण मात्र गरिएको हो रे । अड्डा आसपासको पानीको स्रोत भएको र त्यतिबेला यहीँको पानी पिउने गरेको हुनुपर्छ भन्ने अड्कल भने गर्न सकिन्छ । कंकाली माईको तल रहेको गठ्ठाघरमा घुमिसकेपछि मलाई पुजारीले दरबार घर भएको भन्ने ठाउँतर्फ लगे । दरबार घर पुग्न अड्डाघरबाट १५/२० मिनेट जति लाग्यो होला । दरबार घर कंकाली मन्दिरको पूर्वपट्टि थियो । दरबार घरसम्म मोटर बाटो लगिएको रहेछ । हामी पैदल गयौँ । दरबारभन्दा पर र बागधाराको मुहानभन्दा केही माथि थाप्लासम्म सामान ओसार्नका लागि बाटो लगिएको छ । बाघधाराको निर्माण भइरहेको छ । पुजारीले मलाई कंकाली गढीको दरबार घर भनेर देखाए । वरिपरि तारबार गरिएको थियो । गेट खोलेर हामी भित्र छिर्यौँ । विक्रम सम्वत् १९११ मा कर्णवीर राजाले राज्य गरेको ठाउँ हो यो । त्यतिबेला दरबारको बैठक हल रहेको ठाउँ देखाउँदै उनले भने – यो बैठक घर हो । यो जस्ताको त्यस्तै छ । हामीले मर्मत गर्दा पनि बाहिरको ढुङ्गाहरू प्रयोग गरेका छैनौँ, यहीँ भित्र भएका ढुङ्गाहरू प्रयोग गरेका हौँ । यहाँ प्रयोग भएका ढुङ्गाहरू पनि कुँदिएका थिए । बैठक घरभन्दा केही पर दुई भाग भएको अर्को संरचना पनि देखियो । पुजारीले भनेअनुसार यो नै दरबार घर हो । यसमा पनि उस्तै खालका ढुंगाहरू प्रयोग भएका रहेछन् । भित्री भागमा ठूला ठूला भइसकेका रुखहरू थिए । यहाँ कुनै शिलालेख भने हामीले भेटेनौँ । यो भग्नावशेष जस्ताको तस्तै देख्न सकिन्छ ।
यस वरिपरि तपाईहरूले कुनै पुराना भाँडाकुँडा फेला पार्नु भएन ? भन्ने मेरो सवालमा उनले कुराको शिलशिलालाई अगाडि बढाउँदै भने – फेला पारेका भाडाकुडाहरूमा मैले एउटा सानो माटोको कप फेला पारेको छु । त्यो म सँगै छ । तपाईंलाई अहिले देखाइदिउँला । अर्को ठ्याक्कै सिसाजस्तो टल्किने तल फराकिलो र माथिलौरो जस्तो सामान मैले यही ठाउँमा फेला पारेको हो । त्यो मसँग छ – उनले भने । दरबार घरमा पनि माटाका भाडाहरू भेटिएको थियो । यो क्षेत्रमा सातआठ वटा भग्नावशेष मैले देखेको छु । यो दरबारभन्दा अलिकति माथि पश्चिमतर्फ गस्तीका लागि एउटा पोस्ट थियो । त्यो पोस्ट भएको ठाउँ उच्च भएकाले यो दरबार क्षेत्रको सुरक्षा यसै ठाउँबाट भएको हुनुपर्छ । यहाँका भग्नावशेषमा मैले कुनै काठहरू देखिन । बरू न्यूरेनीका कार्की बुढाले यहाँका तीनवटा खाँबाहरू लगेर प्रयोग गरेका रहेछन् । उनी अहिले बिते । त्यो खाँबो अहिले पनि छ । एकपटक उनको गोठ आगलागी भएर क्षति भए पनि त्यो खाबो नबिग्रिएको उनका छोराले मलाई देखाएका थिए । दरबारबाट कंकाली मन्दिर जाने बाटोमा माटो काटेर बनाएका सिडीहरू थिए । हेर्दा त्यो सिंडी निकै पुरानो खालको देखियो । सुन्तला र कागतीका सुकेका दाउरा चाहिँ मैले भेटेको थिएँ । केही त मैले घरमा लिएर पनि गएको हो । अड्डा घरमा एउटा जाँतो भेटिएको थियो । यो ऐतिहासिक चिनो हराउला भनी घरै लान्छु भन्दै थिएँ पछि कसले लग्यो मैले थाहा पाइन । मैले सुने अनुसार त्यहाँ ढिकी पनि भेटिएको थियो रे । लालटिनको कभर पनि थियो रे । त्यो चाहिँ मैले देखिन ।
दरबार घरबाट कंकाली माताको मन्दिरसम्मको बाटो पैदल थियो । ओरालो र उकालोमा सिंडीहरू थिए । हामी सिंडी चढेर मन्दिर हाता भित्र प्रवेश गर्यौँ ।
कुन बेला कंकाली थानमा बढी भक्तजनहरू आउँछन् ? – मैले उनलाई सोधेँ । उनले भने – नवरात्रि लागेपछि पूर्णिमाको दिनसम्म भिडभाड हुन्छ । अनि चैते दशैंमा भक्तजनहरू बढी आउँछन् । त्यसपछि मंसिरको धान्य पूर्णिमाको चौथीका दिन बेलुका जाग्राम बस्छन् । रातभरि भक्तजनहरूले बत्ती बालेर आराधना गर्छन् ।
मन्दिरको पूर्व भागमा चौतारो बनेको छ । चौतारो आसपास आफ्ना बाबुआमाको स्मृतिमा केही संरचनाहरू बनाइएको छ । प्रदेश सरकारको सहयोगमा कंकाली मन्दिरको परिसरमा गणेश मन्दिर बनाइएको छ । एउटा सिद्ध बाबाको मूर्ति भनेर उनले एउटा लाम्चो आकारको ठूलो शिला देखाउँदै एउटा रोचक प्रसङ्ग उठाए – गोरखाको गोरखनाथ थानबाट एकजना अद्भुतको मान्छे आए । म यहाँ नित्य पूजा गरेर घर पुगेको थिएँ । उनी काम्दै मेरो घरमै पुगे । मलाई उनको हाउभाउ र हुलिया हेर्दा डर पनि लाग्यो । म भकारो सोर्दै थिएँ । उनले मलाई कंकाली मन्दिरमा पूजा गर्ने पुजारीको घर कुन हो ? मलाई उहाँको घर पुर्याइदिनु भने ? मैले मन्दिरको पूजारी मै हुँ । के काम पर्यो होला भनेँ । उनले मलाई कंकाली माईको थानमा पुर्याइदिनु भने । मैले मन्दिरमा पुर्याइदिएँ । उनी मन्दिरमा पनि कामेर बसे । मैले दियो कलशको पूजा गरेँ । उनले भित्र पस्ने आदेश मागे मसँग । को हो कहाँबाट आउनुभएको हो भन्दै मैले मन्दिर प्रवेशका लागि अनुमति दिएँ । उनले मन्दिरको ढोकानेर बसेर भित्र आउने आदेश दिनुहोस् कंकाली माता भने र भित्र पसे । त्यो दिनभन्दा दुई दिन अगाडि मात्र कंकाली माताको मूर्ति फुटेको थियो । यहाँका घण्टीहरू, शिलाहरू तोडफोड भएको देखेपछि उनी रोए, चिच्याए पनि । “सिद्ध बाबा खोइ ?” – भने । धेरैबेर रूने कराउने गरेपछि मलाई पनि झर्को लाग्यो र मैले झोकिएर भनेँ – तेरो सिद्धबाबा तँ आफै खोजेर ले भनिदिए । त्यसो भनेपछि उनी घुमेर गए र मन्दिरभन्दा पूर्व भागबाट एउटा ठूलो लाम्चो आकारको शिला पेटमा अडेस लगाएर जुरूक्क उचाले, यहाँ ल्याएर राखिदिए । तिनले भने – मेरो सिद्ध बाबा यही हो । पछि त्यो लाम्चो आकारको शिलालाई सोझ्याउन खोज्दा हामी पाँच छ जनालाई हम्मेहम्मे भएको थियो । त्यो शिलाको जति भाग माथि देखिएको छ त्यति नै भाग तल रहेको छ । त्यो सिद्ध बाबाको शिलालाई हाल वरिपरि सिमेन्टको गारो लगाएर राखिएको छ ।
पुजारीले भनेका प्राय: सबै घटनाहरू सरसर्ती सुन्दा यो मन्दिर निकै शक्तिशाली भएको स्पष्ट हुन्छ । यो भूमि ऐतिहासिक र धार्मिक दुबै पछ्यबाट उच्च रहेको उनीसँगको लामो बसाइ र वस्तुस्थितिको अवलोकन बाट स्पष्ट हुन्छ । हामीले यी र यस्तै खाले कुराहरू गर्यौँ । अन्तिममा उनले मेरो कुटीमा जाऊँ र कालो चिया खाउँ भने । मैले स्वीकृति जनाइदिएँ । थकाइले जिउ फतक्क गलिरहेको थियो । कुटी बाहिर जुत्ता खोलेर म कुटी प्रवेश गरेँ । कोठाको अवस्था निकै सामान्य थियो । उनले दैलोभित्र आफ्ना पाइला राख्दा नराख्दै भुराहरूलाई झैं हल्ला नगर है, तिमीहरूले फोहोर गर्छौ । हेर, फोहोर गरेको – भन्दै आफ्नै सुरमा गुनगुनाए । मैले यताउता हेरें । कोही मान्छे थिएन । उनले मेरो खुल्दुलीलाई मेटिदिए । यी परेवाहरू मेरा केटाकेटीहरू हुन्, मैले बाहिर जाऊ भनेँ भने सबै बाहिर जान्छन् भन्दै परेवालाई नरम भाषामा लहै ल सबै बाहिर जाओ । कोठाको भित्तामा लस्करै बनाइएका गुँडहरूबाट धमाधम बाहिर निस्किए । उनले कति अटेर गरेको बाहिर जाऊ भनेको सुनेनौ ! भन्दा कुटीको सिलिङमा रहेको जस्ताभित्र रहेका परेवाहरू समेत धमाधम बाहिर गए । मैले जाऊ भनेपछि बाहिर जान्छन् यिनीहरू मान्छे जस्तै छन् । केही अण्डा कुरेर बस्छन् अरु सबै जान्छन् । उनले भनेझैँ एक दुईवटा सायद गुणमा अन्डा कुरेर बसे अरु सबै भुरूरू उँडेर बाहिर गए । यो घटना मेरा लागि चानचुने घटना थिएन । प्रकृति र मान्छे बीचको यो सुमधुर मिलन आजकल कहीँ पनि देखिन्न । यस्ता घटना दन्त्यकथाहरूमा भनेको सुन्न पाइन्छ ।
मैले यो पनि सोधेँ – यहाँ कस्ता कस्ता मान्छेहरू आउँछन् ?
उनले भने – यहाँ विभिन्न प्रकारका मान्छेहरू आउँछन् । मैले आत्महत्या गर्छु भनेर आउने पाँच जनालाई बचाएको छु । दुईजनालाई चाहिँ बचाउन सकिन । मन्दिरमा दर्शन गर्छु र झुण्डिएर मर्छु भनेर आउने मध्ये एकजना भण्डाराका कृष्ण नाम गरेका शिक्षक थिए । उनी घर परिवारसँग झगडा गरेर मर्छु भनेर आएका रहेछन् । उनको गोजीमा डोरी थियो । मैले निकैबेर सम्झाएर पठाइदिएँ । अहिले चाहिँ भेट भएको छैन । नत्र प्रत्येक शनिबार यहाँ आउँथे । झन्डै दुई वर्ष जति निरन्तर आइरहे । उनी आउँदा मन्दिर परिसर बाहिर बढारेर जान्थे सधैँ । अर्को एकजना भानुचोकको मान्छे चाहिँ बुहारीको सल बोकेर झुन्डिएर मर्छु भनेर आएका थिए । उनको छोरो विदेशमा रहेछ । बुहारीसँग नराम्रो झगडा गरेर बुहारीलाई फसाउँछु भनेर बुहारीकै सल बोकेर आएका रहेछन् । यहाँ आएपछि मलाई सबै कुरा सुनाए । कम्मरमा बुहारीको सल बाँधेर आउने उनलाई पनि मैले सम्झाएर पठाइदिएँ । भोकभोकै आएका उनलाई मैले बिस्कुट र चिया खुवाएर मेरो घरको बाटो न्यूरिनीको झोलुङ्गे पुल कटाएर पठाइदिएँ । त्यसपछि उनीसँग भेट भएको छैन । अनि अर्को यही खैरेटीको डल्लाकोटीकी बुहारी लोग्नेसँग झगडा गरेर मर्छु भनेर जंगल पसेकी रहिछिन् । तीन चार दिन भइसकेको रहेछ घर छोडेको । मैले थाहा पाएर यताउति खोज्दै जाँदा आँपबगैंचा भन्दा तल एउटा बुटामा डोरी झुण्ड्याएर बसिरहेकी रहिछिन् । झुन्डिने आँट चाहिँ गर्न सकेकी रहिनछिन् । मैले चिनेकै मान्छे हो म उनलाई दिदी भन्थें । मैले त्यतिबेला उनलाई सम्झाएर घर पठाइदिएँ । तर त्यसको दुई वर्षपछि आमा छोराको झगडाको निहुँमा घरभन्दा पछाडिको सिसौको रुखमा झुन्डिएर मरिन् । आफूले लेखेर ल्याएको कसैले टारेर टर्दैन, उनलाई झुन्डिएरै जान लेखेको रहेछ । तीनजना बचाउन सकेँ तर दुई जना चाहिँ बचाउन सकिन । उनले आफूले भोगेका घटनाहरू एकएक गरेर बताउँदै थिए । अर्को घटनालाई उनले यसरी सम्झिए – ज्यामिरेको रेग्मीको छोरोलाई डिप्रेसन रहेछ । उसले डिप्रेसनको एक झोला औषधि लिएर आएको रहेछ । ऊ मन्दिरमा आयो । केहीबेर बस्यो । उसले पानीको एउटा बोतल मलाई पनि दियो र भ्यु टावरतिर गयो । भ्यु टावर नजिकै एउटा ठूलो ढुङ्गो थियो । त्यो ढुङ्गोमा बसेर उसले ल्याएको एक झोला औषधि सबै खाएछ र चार पाँच बोतल पानी पिएछ । ९/ १० दिनपछि घाँस काट्नेहरूले देखेपछि थाहा पायौँ । हातको घडी सुनको सिक्री सुनको बाला जस्ताको तस्तै थियो । उसको लास पूरै गलेको थियो । अर्को घटना चाहिँ क्लब चोकको रिमालको हो । दाजुभाइ खलक । पोहोर फागुन २७ गतेको कुरा हो । साढे ४ बजे ऊ मकहाँ आइपुगेको थियो । मन्दिरको घण्टी ट्वाङ्ग बजायो । मैले केही बेरपछि भाइ घर कहाँ हो ? भनेँ । उसले रूखो स्वरमा भन्यो – मेरो घर जहाँसुकै होस्, तेरो प्रसाद लाउने काम हो, प्रसाद लगाइदे भन्यो । ठिकै छ भनेर मैले प्रसाद लगाइदिएँ । उसलाई केही दिन अघि मात्र सुधार केन्द्रबाट छुटाएर ल्याएको रहेछ । त्यो कुरा मलाई थाहा भएको भए कुनै न कुनै उपाय लगाउन सक्थेँ होला । यताबाट न्यूरेनीतिर जाने बाटाको एउटा खोल्सामा भोर्लाको लहरामा प्लास्टिकको डोरीले पासो लगाएर मरेछ । उसलाई माछा मार्ने केटाहरूले फेला पारेछन् । उसलाई पनि बचाउन सकिन । एउटा घटना यस्तो पनि सुनाए उनले – भटेनीको सुवेदी बुढालाई मैले बचाएको छु । उनी घाँस काट्न भनेर जङ्गल आएका रहेछन् । उनलाई पनि चार दिनको दिनमा अड्डा घरभन्दा तल मैले फेला पारेँ । घाँस काट्ने क्रममा लहरा तान्दा लहरा चुडिएर खाल्टामा परेछन् । देब्रे हात र देब्रे खुट्टा चेपिएर खाल्टोमा परेकाले उठ्न नसकेर त्यही दोब्रिएछन् । दिशा पिसाब एउटै ठाउँमा भएकाले दुर्गन्ध गनाइरहेको थियो । वैशाखको नौ दश गतेतिर हुनुपर्छ निकै धेरै पानी परेको थियो । हुरी बतास र पानी रोकिएपछि म सधैं हिँड्ने बाटो गरेर घरतिर ओरालो झरेँ । एक सुरमा हिँडिरहेको थिएँ । कतै कुनाबाट कोही मान्छे बोलेको आवाज सुनेँ । फेरि कान थापेर सुनेँ – हे कंकाली माई मलाई बचाइदिनुस् भनेर बोलेको स्पष्ट सुनेँ । मैले उनको आवाज चिनेँ किनकि बिहान उनकी बुहारीले उहाँ हराएको कुरा गरेकी थिइन् । पक्कै सुवेदी बाजे नै हुनुपर्छ भनेर मैले – सुवेदी बा ! भनेर बोलाएँ । उनले हजुर ! भने सायद भर्खर परेको पानीले उनको होस् खुलेको हुनुपर्छ । गएर हेर्दा आँखा पूरै सेतो थियो । खुट्टा र हात दोब्रिएको थियो । बोलाउँदा चाहिँ बोल्नु हुन्थ्यो । मैले उनलाई पनि बचाउन सकेँ । अर्को एकजना सातकन्या सामुदायिक वनका कर्मचारीलाई पनि उनले बचाएको कुरा सुनाए । घटनाहरू यस्तै एकान्तमा घट्ने गर्छन् । उनका कारण बाँचेकाहरूप्रति उनी निकै खुशी देखिए । बचाउन नसकेका दुई जनाको कुरा बारबार गरिरहे ।
यो बसाइमा उनमा अथाह किसिमको प्रतिभा र ज्ञान भएको मैले पाएँ । उनी कुलका डाङ्ग्रे रहेछन् । तीन पुस्ता धामी झाँक्रीको काम गर्दै आएको रहेछ उनको परिवारले । हजुरबुवाको गुण उनका बुबामा सरेको र उनको बुबाको गुण उनमा सरेको उनले बताए । उनीसँगको कुराकानीमा आएका धामी झाँक्रीका कुरा र खलीका कुरा निकै रोचक थियो ।
खली खानु भनेको के हो ? “ उनी खलीका विषयमा पनि ज्ञाता रहेछन् । उनका साथमा वाद्यवादनका सामानहरू पनि थिए । मादल निकै राम्रा राम्रो बजाऊँदा रहेछन् ।
रक्षा गर कंकाली माईले घर छोडेर जंगलमा छु अहिले
बाँसको लाङ्ग्रो तिम्रो र हाम्रो कहिले पनि नहोस् है नराम्रो ।
यो गीतलाई उनले दुईवटा भाकामा मादल बजाएर सुनाए । उनीसँग दोहोरी गीत गाउन सक्ने क्षमता पनि रहेछ । आफूसँग एकजना साथी हुने हो भने चार दिन चार रातसम्म दोहोरी खेल्न सक्ने कुरा सुनाए । आजकल उनको आवाजले साथ दिएको छैन । गाउँदै गयो बीचैमा स्वर हराउँछ । बट्टाको सय रूपैयाँ पर्ने मेजर चुरोट उनी दिनको करीव एक बट्टा पिउँदा रहेछन् । त्यो बसाइमा उनले चार पाँचवटा चुरोट ताने । म कहिल्यै चुरोट नपिउने मान्छे, मैले पनि उनीसँगको बसाइमा एउटा मेजर पिइदिएँ । एउटा अनौठो सन्तुष्टि बटुलेझैँ मलाई भान भयो । तर त्यसको अवगुण भोलिपल्ट बिहानसम्म मेरो मुख गनाइरह्यो ।
उनी आफ्नो पुजारीको ड्रेस खोलेर आफ्नै कुटीभित्र मसँग खाली पेट कुरा गरिरहेका थिए । मलाई उनीसँगको त्यो बसाइलाई छोट्याएर कहिले टाँडी फर्कियौँ भएन तर छुट्टिनु थियो नै छुटियौँ ।
म कंकाली मन्दिरका पुजारी बालकृष्ण रिमालसँग भेटेर टाँडीतर्फ फर्कँदै थिएँ । केही घण्टा अगाडि बिग्रिएको बाटो सहज भइसकेको रहेछ । जेसिबीले बाटामा भएका खाल्टाखुल्टीहरू सबै मिलाइसकेको रहेछ । भर्खर खनेको बाटामा बाइकको चक्कालाई कुदाउँदै थिएँ । बाटामा जेसिबी भेट भयो । मैले बाटो मागेँ । बाटोमा यताउति गरिरहेका एकजना भद्र व्यक्तिले हातको भाउ लगाएर केहीबेर है भने । मैले बाइकको स्टार्ट बन्द गरेँ र कुरिरहेँ । तिनी रहेछन् – नुवाकोटबाट बसाइँ सरी आएका रामहरि अर्याल । उनलाई म मन्दिरका पूजारीलाई भेट्न आउँदै छु भन्ने कुरा थाहा रहेछ । मैले पुजारीलाई फोन गर्दा उनी सँगै रहेछन् । यही खैरेनी २ मा बसोबास गर्दा रहेछन् । उनी कंकाली सामुदायिक वनको समितिमा १५ वर्ष काम गरिसकेका यस क्षेत्रका अनुभवी व्यक्ति रहेछन् । उनी ६ वर्ष उपाध्यक्ष, ६ वर्ष सहसचीव र ३ वर्ष वडा संयोजक भएर काम गरेका कारण पनि कंकालीकोट र कंकाली मन्दिरका विषयमा जानकार हुनु स्वभाविकै हो । उनले आफूले सुनेका र जानेका कुराहरू मलाई बताए ।
खैरहनी वडा नम्बर ४ बाट २ लाख रुपैयाँ बजेट लिएर अहिले चारवटा भवनहरूलाई संरक्षण गर्ने काम उनी आफैँ अग्रसर भएर गरेका रहेछन् । उनले ती भवनहरू जुद्ध शमशेरको पालामा बनेको हो भनेर गाउँका मीनबहादुर केसी भन्ने बुबाले भनेको प्रसङ्ग सुनाए । वनपालेमा जागिर खाएर पेन्सन पकाएका थिए रे केसीले । यहाँ माल, अदालत, कारागार, दरबार लगायतको भवनहरू छन् । उनले तिनै केसीका कुरा उद्धृत गर्दै भने – यी भवनहरू जुद्ध शमशेरका पालामा बनेका हुन् । कैदीहरूलाई यहीँ राख्ने गरिन्थ्यो रे । चितवनको पहिलो सदरमुकाम कंकालीकोट, दोस्रो उपरदाङगडी, तेस्रोमा झुवानी र चौथोमा भरतपुर हो रे ।
संरचनालाई सुधार गर्ने क्रममा त्यतिबेला त्यहाँ भुइँघरहरू बनेका रहेछन् । औलोको कारणले पनि त्यतिबेला भुइँघरहरू बनेको होला । रामहरि आफैँ बसेर जग खोतालेर त्यसलाई सुधार गरेको कुरा सुनाउँछन् । खाल्टो खन्ने क्रममा माटाका भाँडाका खबटाहरू भेटेका कुरा पनि सुनाए रामहरिले । उतिबेला यहाँ ढिकीजाँतो पनि फेला पारेका र त्यहीका उपभोक्ताहरूले लिएर गएको जानकारी पनि छ उनीसित । जीवनका ५७ वटा भोटो फटाएका अर्यालले यो क्षेत्रमा भेटिएका पाका मान्छेहरूसँग प्रत्यक्ष भेटेर कुराकानी गरेका र संरचना सुधारका कामहरू गरिरहेका कारण पनि उनले दिएको जानकारीलाई आधार मान्न सकिन्छ ।
यहाँ बनेका टावरको प्रयोग भएको छ त ? – मैले उनलाई सोधेँ ।
रामहरिले भने – देउराली टावर बनाउँदा चाहिँ कुनै विदेशी घुम्न आउने क्रममा यहाँ भ्युटावर बनाउँदा उपयुक्त हुन्छ भनेर धेरै वर्षअघि सिमलको रुखमा चिनो लगाएर गएका थिए । हामीले उनीहरूले नै चिनो लगाएको ठाउँ नै उपयुक्त ठानी देउराली टावर बनाएका हौँ । एउटा टावर साँडे दुई किलो मिटर दुरीमा र अर्को चार किलोमिटरमा गरेर हामीले दुईवटा टावर बनायौँ । देउराली टावरबाट त नारायणीको पानी पनि देखिन्छ । रूखहरूले टाढाको दृश्य हेर्न नसकिने, छेकिने भएर हामीले टावर बनाएका हौँ । यस क्षेत्रमा रहेको पार्क पनि यसै वन समितिले सञ्चालन गरेको हो । एकजना व्यक्तिको २० रूपैयाँ र पार्किङ शुल्क ५० रुपैयाँ लिने गरिएको छ । भक्तजनहरूले मन्दिरमा जानका लागि आएको जानकारी दिए भने टिकट लिनु पर्दैन । हुन त मूल मन्दिर पुग्नुभन्दा १ किलोमिटर तल एउटा अर्को मन्दिर बनाइएको छ ।
भर्खर माथि कोटमा रहेको कंकाली मन्दिरको जीर्ण अवस्था देखेर झरेको मलाई लाग्यो – यो तल मन्दिर बनाउने खर्चले माथिको जीर्ण मन्दिरलाई पुनर्निर्माण गरिएको भए पनि हुन्थ्यो । मेरा मनमा प्रश्नको तरङ्ग उठ्यो – किन तल मन्दिर बनाए होला ?
आकाशमा बादल थियो । दक्षिणको चुरे पर्वत र त्यस आसपास पानी परिरहेको थियो । म गेटबाट निस्किएँ । पानी पर्ने सम्भावना प्रचुर थियो । म खैरेनी वडा नम्बर ४ को वडा कार्यालयमा छिरेँ । यसै वडा कार्यालयका वडाध्यक्ष वेदबहादुर अधिकारीसँग कंकाली मन्दिर र यस आसपासका ऐतिहासिक कुराका बारेमा बुझ्न म उनको कार्य कक्षको ढोकामा पुगेँ । मैले औपचारिकता निभाएँ । उनीसँग कंकालीका विषयमा बुझ्दा पनि नयाँ कुरा खासै आएनन्, धेरैजसो पुरानै कुराको पुनरावृत्ति गरे उनले पनि । खोजबिनका लागि वेदबहादुरहरू पुरातत्त्वविभागमा गएका रहेछन् । उनीहरूले तीन दिन लगाएर खोजबिन गर्दा पनि कंकालीकोटका बारेमा खासै जानकारी भएनछ । त्यहाँका कर्मचारीले संरचनालाई जस्ताको त्यस्तै राखेर संरक्षण गर्नुहोस् भनेकाले अहिले पनि पुराना संरचनाहरू यथावत् राखिएको रहेछ । वेदबहादुरले त्यहाँ भइरहेका नयाँ निर्माणका कुरा पनि सुनाए ।
कंकालीकोट र त्यहीँ स्थापित कंकाली मन्दिरको ऐतिहासिक महत्त्व भए पनि यसको प्रचारप्रसार जेजति हुनुपर्ने हो भएको देखिँदैन । स्थानीयहरूले कंकाली र कालिकालाई दिदीबहिनी पनि भन्दा रहेछन् । कंकाली मन्दिरको ऐतिहासिकताका सम्बन्धमा कुरा गर्दा कालिका, कंकालीकोट र चित्रसारीलाई एकै स्थानमा राखेर अध्ययन गर्नुपर्ने कुरातर्फ पनि अध्येताहरूले सङ्केत गरेका छन् । स्थानीय बूढापाकाहरू कंकालीलाई औलोबाट मुक्तिको कामना गर्ने देवीका रूपमा लिँदा रहेछन् । कंकालीकोटको सामरिक महत्त्वको पाटो पनि रहेछ । अर्को कुरा योगी नरहरिनाथले आफ्नो ‘हाम्रो देश दर्शन’ नामक पुस्तकमा – “गैँडाकोटको बाञाँपट्टि उपरदाङगढीनेर बसेर कंकाली सर्वेश्वरीले अस्थिकङ्कालशेष भयेता पनि जनताको प्रतिपालन गरेकी नै छन्” भन्नुले पनि यसको ऐतिहासिक र प्राचीन छवि पुष्टि हुन्छ । कंकालीलाई सिमरौनगढका राजाप्रजाहरूले इष्टदेवी पनि मान्दा रहेछन् । जब सिमरौनगढमा मुसलमानहरूको आक्रमण भयो तब एउटा समूह भागेर चितवन आसपासको क्षेत्रमा आई बस्न थाले । तिनीहरूले नै आफ्नो इष्टदेवी कंकालीको स्थापना गरे । यो तर्कलाई मान्ने हो भने पनि कंकाली देवीको मन्दिरको ऐतिहासिकताको पुष्टिका लागि बलियो आधार हुन्छ । तर यति हुँदाहुँदै पनि कंकालीकोट र कंकाली मन्दिरको थप गहिरो ऐतिहासिक अनुसन्धानको आवश्यकता भने खड्किएको छ । हाल त्यहाँ भइरहेका कामहरू ऐतिहासिक उत्खननमा पर्याप्त छैनन् । ती कामहरूले प्राचीनताको पुष्टिमा भन्दा नयाँ युवाहरूको रामरमाइलो गर्ने थलोका रूपमा मात्र विकास भइरहेको कुरातर्फ सङ्केत गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










