कमल अर्याल
पशुपतिनाथको
दक्षिणपट्टि
साँढेछेउको एउटा विशाल घण्टा
बिचरो चुपचाप छ
शान्त छ ।
मान्छेका हातहरू अग्रसर हुन्छन्
रालो खोज्न
शान्ति भङ्ग गरेर शान्ति खोज्न
तर
रालो जन्जिरमा जकडिएको छ
उसको नाकमा नत्थी छ
ठ्याक्कै मेरो घरको
काली भैँसीको जस्तै ।
काली भैँसी जो नत्थी लाउनुअघि
एक तमाससँग नजिकैको
खाबोमा सिङले
ठ्याक ठ्याक ठ्याक ठ्याक
हानिरहन्थी
अनि
आफैँले खाने डुँडमा
खुट्टा हालेर फोहोर गर्थी
नजिक जानेहरूलाई हान्न खोज्थी
पछि यो घण्टाको रालो जस्तै
चुपचाप र शान्त बनी ।
हो त्यस्तै
यो विशाल घण्टा
चुपचाप छ शान्त छ
यसको जब धुन हरायो
सुर हरायो र ताल हरायो
यो घण्टा हुनु र नहुनुमा
अन्तर हरायो ।
यता
घरमा आउने पहुनाहरू भन्न थाले
त्यो सिङ ठोक्ने भैँसी बेच्नु भो ?
हामीले भन्यौँ – होइन, छ
आजकल नत्थी लगाएर बाँधिएको छ
खाँबो नभेट्ने गरी
त्यसैले आवाज आउन्न
एकतमास सिङ ठोकी रह्यो भने
टाउकामा असर गर्छ रे
त्यही भएर यसलाई रोक्न
उसलाई नत्थी लगाइएको ।
उता
यो रालोमा नत्थी लगाएपछि
घण्टाको औचित्य हरायो
किन ढोगिरहनु, किन पुजिरहनु
नाथे घण्टा !
सिङ नबजाए पनि भैँसीले दूध दिन्छ
गोबर दिन्छ
बिरुवाहरूलाई मोल भयो
बाबुनानीहरूलाई भिटामिन भयो
तर
रालोमा नत्थी बाँधिएपछि
विशाल भएर के गर्नु ?
– आवाज हरायो
– शोभा हरायो
– आशा हरायो
– महत्त्व हरायो
नाथे घण्टा
चुपचाप बसोस्
शान्त बसोस् र बसिरहोस्
नबज्ने त्यो पशुपतिको घण्टाभन्दा त
काली भैँसी नै जाती ।
चितवन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।