रत्ननगर । चितवनका साहित्यकार तथा अनुसन्धानकर्ता कमल अर्यालको नयाँ कृति ‘सिलायात्रा’ शनिबार एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको छ । चितवनको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्व बोकेका क्षेत्रहरूको अध्ययन र अनुसन्धानमार्फत तयार पारिएको यस कृतिमा ११ वटा लेख समावेश गरिएका छन् ।
कृतिको विमोचन चितवनका साहित्यिक संस्था रत्ननगर वाङ्मय प्रतिष्ठान र वाल्मीकि साहित्य सदनको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार केदारनाथ खनाल, वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र उदय अधिकारीले एकैसाथ पुस्तक सार्वजनिक गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै लेखक अर्यालले ‘सिलायात्रा’ चितवनको पूर्वी भेगका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक स्थलहरूको तथ्य, इतिहास र भावनालाई नजिकबाट प्रस्तुत गर्ने प्रयास भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “यो कृतिले चितवनको पहिचानलाई मात्र उजागर गर्ने होइन, अनुसन्धान र भावनाको आधारमा साहित्यलाई अझ गम्भीरतासाथ अघि बढाउने माध्यम पनि हो ।”
समीक्षक कपिल अज्ञातले ‘सिलायात्रा’ लाई खोजमूलक तथा सशक्त गद्य कृति भन्दै प्रशंसा गर्नुभयाे । उहाँले भन्नुभयाे, “अर्यालले तथ्य र अध्ययनलाई भावनासँग जोडेर प्रस्तुत गर्नुभएको छ । यसले उहाँको साहित्यिक यात्रालाई अझ सबल बनाएको छ ।” त्यसैगरी साहित्यकार उदय अधिकारी र डा. चेतराज रेग्मीले कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै यसले चितवनको साहित्यिक जगतलाई थप योगदान दिने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तिलकराज शर्माले प्रस्तुत गर्नुभएकाे थियाे भने, समीक्षात्मक टिप्पणीपछि वक्ताहरू जगन्नाथ पण्डित, रामेश्वर रिजाल र टिएन अर्यालले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले तयार गरिएको ‘सिलायात्रा’ ले चितवनका विविध ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










