नेपाली कविता साहित्यमा परिचित कवयित्री शुभ श्रेष्ठको भदौ ८ गते काठमाडौंमा निधन भएको छ । उनी सन् १९४९ मा पाल्पाको ठाडो गल्ली, भगवती टोल तानसेनमा जन्मेकी थिइन् । उनको पाल्पा बसाई छउन्जेल पाल्पाली कवयित्रीको रुपमा प्रतिनिधित्व गर्ने गर्थिन् ।

उनको कलम मूलतः कवितामा चल्थ्यो । पछि उनले उपन्यास पनि लेखेकी थिइन् । उनको पहिलो कविता सङ्ग्रह “मेरो छानामाथिको निलो आकाश”(२०४३) तथा दोश्रो सङ्ग्रह “बन्द मनको पिंजडाभित्र”(२०५४) तथा “अस्मिताको खोजी” उपन्यास लगायतका कृतिहरु प्रकाशित थिए ।

आफ्नो उमेरको उत्तरार्धसम्म अविवाहित उनको निकै ढिलो देवीलाल श्रेष्ठसँग विवाह भएको थियो । देवीलाल शहीद गङ्गालालका काइँला भाइ थिए । त्यो दाम्पत्य जीवन पनि लामो समय रहेन । देवीलालको दु:खद निधनपछि उनी पुन: एक्लो हुन पुगेकी थिइन् । लामो समयदेखि सुगरको रोगी उनको पछिल्लो समयमा दुवै किड्नीले काम नगरेपछि हप्ताको २ पल्ट डायलोसिस गरेर जीवन धानिरहेकी थिइन् ।