चित्रकार रामकुमार भौकाजीको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि प्रोस्टेट क्यान्सरबाट ग्रसित भौकाजीको बिहीबार बिहान ५:३० बजे बानेश्वरस्थित निवासमा निधन भएको हो ।

रामेछाप साघुँटारमा जन्मिनु भएका भौकाजीले सोभियत कला एकेडेमी मस्कोबाट आधुनिक र अत्याधुनिक नेपाली चित्रकला विधामा विधावारिधि गर्नु भएको थियो । ललितकला क्षेत्रमा पीएचडी गर्ने उहाँ पहिलो कलाकार हुनुहुन्थ्यो । उहाँले ‘मेरो नेपाल’ शीर्षकमा नेपालको संस्कृति, लोक जीवन, परम्परा र परिवेशका चित्रहरू बनाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु भएको थियो ।

जीर्णोद्धार कलामा समेत तालिम प्राप्त भौकाजीले नेपालमा भूकम्पपछि क्षतिग्रस्त वसन्तपुर दरबार, पशुपति, टोखा चण्डेश्वरीलगायत सम्पदाको स्थलगत चित्र तयार गरी सार्वजनिक गर्नु भएको थियो ।

ललितकलामा दृश्य चित्र सिर्जनासँगै, अध्ययन, अनुसन्धानमा समेत प्रखर भौकाजीका ‘जुद्धकला पाठशाला,’ ‘स्रस्टा कुलमान सिंह भण्डारी’, ‘नेपाली कलाकारका समस्या’ पुस्तक प्रकाशित छन् । उहाँका थुप्रै कला, संस्कृतिसम्बन्धी लेख रचनाहरू प्रकाशित छन् ।

उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दास संस्कार गरिएको थियो । रामकुमार भौकाजी नेपाली साहित्यका प्रखर व्यक्तित्व तथा शारदा साहित्यिक मासिक पत्रिकाका सम्पादक विमल भौकाजीका दाजुका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।