आमा मेरी बनेकी छन् अँध्याराकी जून
सम्झी–सम्झी मन लाग्छ फोटो मात्र छुन ।

मेरो आफ्नो सुखी संसार सजाउन भनी
आमा–आमा भनिरहेँ आरतीमा पनि ।

तिमीलाई सम्झेको छु एकान्तमा बसी
सोची–सोची बनाउँछु जिन्दगीको कसी ।

आमा भेट्ने आशा थियो, कथाजस्तो भयो
कति मीठो नाता आज कता–कता गयो ।

बजारका भिडहरू मन मेरो तान्छन्
थाम्दा–थाम्दै मनका पाइला तिमीतिर जान्छन् ।

आशा गरौँ, बाँचिरहौँ, पछि भेट होला
टाढा बाटो, बाढी–पहिरो, दुई दिने चोला ।

बस्नुपर्छ फोटो हेरी मन बुझाएर
आउनलाई मुस्किल हुन्छ बिदा मिलाएर ।

हिँड्नुपर्छ जतिबेला व्यस्त मात्र बनी
उस्तै माया आमासँग टाढा हुँदा पनि ।

सप्तरङ्गी फुलेसरि सधैँ माया गाढा
उस्तै गरी फुलिबस हुँदा पनि टाढा ।