यौटै मुल् का सानु हामी पोखरीका पानी
कसो गरी बस्ने होला आँखा बिना नानी ?
सानैदेखि हाँस्ने बोल्ने सँगै हिँड्ने बानी
बसेकी छौ विदेशमा मायाकी हौ खानी
सपनीमा देख्छु सधैँ पुग्छु तिमीसम्म
सम्बन्धमा चिसोपना बाहिर देख्छु गम्म ।
कर्मघर बसाएकी किन उता तिर
विदेशमा नबस भो जन्मभूमि फिर
डुल्दै हाँस्दै खेलेका दिन झल्किदिँदा फेरि
कहिलेकाहीँ मनमा कुरा छल्किदिँदा खेरि ।
लालजोडी भन्ने गर्थे सम्बन्ध’थ्यो गाढा
समयको बहावले लग्यो टाढा टाढा
सपनीमा हतार् हतार् हिँडेको नै देख्छु
तिमीलाई दबाब् अनि अभावमा भेट्छु ।
जमिनमुनि गएर नि कोइला निकाल्नु छ
ठेला गाडी जस्तै जीवन सधैँ धकेल्नु छ
नातापाता भन्ने कुरा हराउँदै गयो
बितरामा पर्ने हौ कि मनै तरङ्गियो ।
परिवार यौटै घरमा थियौँ पहिले सब
कहिलेसम्म रहला र मूल ढोका अब !
सजाउँदै जानुपर्छ यति कुरा गुनौँ
सम्झनाको फुलबुट्टा तिम्रो हाम्रो बुनौँ ।
उकालीको थकान् पछि जब पानी प्युँछु
औंशी जस्तै यो संसारमा जूनकिरीझैँ ज्युँछु
बाह्र वर्ष बितेपछि फर्किन्छ रे खोला
फर्की आऊ सानु तिमी सँगै बिताऊँ चोला ।
पोखरा-८, सिमलचौर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










