पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रमअन्तर्गत कन्या क्याम्पस, पोखरा–३ नदीपुरको सभाहलमा दम्पती स्रष्टाका दुई कृतिमाथि परिचर्चा सम्पन्न भएको छ।
साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्यद्वय शान्ति कँडेल न्यौपानेको ‘मौन घुम्तीहरू’ (कवितासङ्ग्रह) र डा. नवराज न्यौपानेको ‘अक्षराञ्जलि’ (गजल ) माथि समीक्षात्मक विमर्श गरिएको हो।
प्रमुख अतिथि सरुभक्तले ‘मौन घुम्तीहरू’को लोकार्पण गर्दै एउटै समय र कार्यक्रममा दम्पतीका दुई कृतिमाथि परिचर्चा हुनु नेपाली साहित्यका लागि सुखद् पक्ष भएको उल्लेख गर्नुभयो। उहाँले साहित्यिक विधालाई साँघुरो परिभाषाभित्र सीमित गर्न नहुने तर्क गर्दै नेपाली साहित्यमा देखिएको ‘तँ ठुलो कि म ठुलो’ प्रवृत्तिप्रति असन्तुष्टि जनाउनुभयो।
डा. श्रीधर न्यौपानेले ‘मौन घुम्तीहरू’को परिचर्चा गर्दै निबन्ध र कविताको भिन्नता औँल्याउनुभयो। निबन्धमा लेखकले आग्रह लाद्न खोजे पनि कवितामा कवि स्वतन्त्र हुने उहाँको भनाइ थियो। शीर्षक, संरचना, दर्शन, भाव, शिल्प, प्राप्ति र सीमाजस्ता आधारमा गरिएको विश्लेषणमा ‘सवाई’ जस्तो सरल लोकलयमा संरचित कविताले नेपाली जनजीवनलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको टिप्पणी गर्नुभयो। स्रष्टामा रहेको सिर्जनात्मक हुटहुटी प्रेरणादायी रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रा.डा. शालिग्राम सुवेदीले ‘अक्षराञ्जलि’को समीक्षाका क्रममा काव्यिक आनन्दको मूल स्रोत शब्दलाई मान्दै साहित्यलाई शब्दको खेलका रूपमा अर्थ्याउनुभयो। उहाँले स्रष्टाले आफ्नै माताको महाप्रस्थानको स्मृतिमा अक्षररूपी अञ्जुली अर्पण गरेको भाव आवरणबाटै अभिव्यक्त भएको बताउनुभयो। शब्दमा खेल्नु कठिन कार्य भए पनि स्रष्टा न्यौपाने यसमा सफल भएको उहाँको दाबी थियो।
कार्यक्रममा शिव त्रिपाठी र पद्मराज ढकालले ‘मौन घुम्तीहरू’बाट एक–एक कविता वाचन गर्नुभएको थियो भने आवाज शर्मा र टङ्कराज बरालले ‘अक्षराञ्जलि’का गजलहरू कर्णप्रिय शैलीमा प्रस्तुत गर्नुभयो। आवाज शर्माले गजलको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै गजल प्रशस्ति काव्य (कसिदा)बाट विकसित हुँदै प्रेम काव्यका रूपमा स्थापित भएको धारणा राख्नुभयो। गजल लेखिनेभन्दा बढी भनिने विधा भएकाले कथ्य भाषासँग यसको निकटता रहने उहाँको जिकिर थियो।
संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव गायत्री पराजुलीले स्वागत मन्तव्य र सचिव डा. पिताम्बर पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका सम्पूर्ण व्यवस्थापन सहयोग एडभान्स एजुकेसनल इन्स्टिच्युटले गरेको थियो।
कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










