अपरिचित अनुहार महेश पौड्यालकृत १८ वटा नूतन कथाहरुले रचिएको ताजा किताब हो । हातमा उठाएपछि खेलिरहन मन लाग्ने, १५३ वटा फुरुरुरु पाना पल्टाउँदा आत्मीयताको न्यानो सर्सराहट फैलाउने, प्रकृतिसुलभ खैरो रंगका हलुका पत्रहरुमा टपटप मिलेको, सहजतया पढ्न सकिने नयनाभिराम अक्षरांकनले लोभनीय बनेको यो किताब शिखा बुक्सले प्रकाशित गरेको हो भरखरै २०७८ भाद्रमा ।

कथासंग्रहको शीर्षक नितान्त सार्थक प्रतीत हुन्छ कथाहरुमा अवगाहन गर्दैै जाँदा, किनभने हरेक कथाका अनुहार नवीनताको नूतन आलोकले दीप्त छन् । विषयवस्तु, चरित्र, परिवेश, कथनपद्धति हरेक दृष्टिले नूतनताका संवाहक, तथापि ती कथाहरुमा सर्वत्र व्याप्त एउटा तत्त्व सह्राहनीय रुपमा सर्वथा समानभावमा अनुभूतिगोचर हुन्छ, त्यो हो मानवीय संवेदनाप्रति साहित्यस्रष्टाको अन्तश्चेतनामा रहेको श्रद्धाशील समादर ।
प्रिय भावक बन्धु, यहाँ अब पाना पल्टाउँदै हेर्नुहोस् त, बार्दलीको एउटा अनुहारको मने, मृगनयनीको प्राञ्जल, उपहारकी हजुरामा, आवाजहरुका सुधीर, अभिमन्युका बूढा, बगरको अग्ले, दुई मृत्युको जोगी, चौकीभित्र चौकीबाहिरको सञ्चमान, उपलब्धिको सुशील, मन्दिर की आमा, चौतारीको भेटका पथिकहरु, राहतका दम्पति, अपरिचित अनुहारको शुक्र, बूढो रुख र जुरेली की जुरेली यी सबै कहानीकारका मुखपात्र हुन् जसले मानवलाई मानव बनाउने उदात्त मानवीय अनुभूतिहरु श्रद्धा, निष्ठा, दया, अनुराग, सहानुभूति, प्रेम र करुणाको सुवास फैलाउने जिम्मेवारी सम्हालेका छन् । आत्मनिष्ठ मानवसुलभ संवेदनाबाट ठगिएका पात्रहरु दुर्गमा काका, डबल पेन्सनमा रुद्र र खेम, उपलब्धिमा संग्राम हरुलाई खडा गरेर कहानीकारले मानवीय संवेदनामाथिको उपेक्षाले मानवजाति कसरी दुर्घटित बन्दछ भन्ने नमूना पनि पेश गरेका छन् ।

किताबका पाना पल्टाइरहँदा बोध हुन्छ : भावकका चेतनामा मानवीय आस्था, प्रेम, सहानुभूति र करुणाको सम्पदामाथि बसेको बाक्लो धूलोको तह, स्वार्थको माकुराजाल, अविश्वास र अमर्यादाको दागधब्बा अनि संवेदनहीनताको लापर्वाहीलाई पन्छाउन हरेक पानाले कत्रो जिम्मेवारी बोकेका छन् , अनि साफ सुथरा, स्वच्छ, सुकिलो र ओजस्वी मानवीय चेतनालाई आलोकित एवम् ध्वनित प्रतिध्वनित गर्ने दायित्व सहज आत्मविश्वासले वहन गरेका छन् ।

कहानीकारमा रातोरात सेलिब्रेटी बन्ने सनक पनि रहेनछ, तेसैले कथामा कतै केही तामझाम देखिँदैन । न कथावस्तुमा, न पात्रमा, न भाषामा, न परिवेशमा, न सन्देशमा । हरेक दृष्टिले सामान्य रहेका भावभूमिमा उनी जताततै कथा देख्छन् , सामान्य भन्दा सामान्य कुरामा पनि । किनभने तिनै सामान्यभित्र लुकेको असामान्य तत्त्वका अन्वेषक हुन् महेश । बिलकुल अपदार्थभित्र पनि गहन पदार्थ खोज्दछन् र पत्तो लगाएरै छोड्दछन् महेश । शायद यो हुनर उनले आफ्ना आदर्श पुरुष भवानी भिक्षुबाटै हासिल गरे कि ?
तर, वास्तवमा भन्ने हो भने त उनका कथामा कतै भीमनिधि तिवारी झल्किन्छन्, कतै मैनाली, अनि कतै मोहनराज र कतै आख्यानपुरुष ध्रुवचन्द्र । कथाको बयानशैली हेर्नुहोस्, बुनोट हेर्नुहोस् र प्रस्तुतीकरण हेर्नुहोस् त्यहाँ नितान्त पारम्परिक देखि लिएर प्रशस्त आधुनिक, प्रायोगिक र स्वैरकाल्पनिक हरेक प्रस्तुतिशिल्प पाउनुहुन्छ । बूढो रुख र जुनेली पढ्नुहोस् त बिलकुल दन्त्यकथा शैली पाउनुहुन्छ । अपरिचित अनुहार हेर्नुहोस् मोहनराज शर्माको फेन्टासीकै प्रतिरुप पाउनुहुन्छ ।

डा. सनतकुमार वस्ती

श्रद्धेय गुरुको याद आएपछि, उहाँले भनेको कुरा पनि याद आयो । सिर्जना संवादमा आएका बेला कथाका बारेमा चर्चा गर्दै प्रा मोहनराज शर्माले भन्नुभयो ः कथालाई कालजयी बनाउनु छ पात्र बनाऊ । तिमी कथामा यस्तो चरित्र बुन जो मौलिक होस्, नितान्त नौलो होस्, अनौठो होस् अनि अपार ऊर्जाशील । त्यसैले तिमीलाई र तिम्रो कथालाई कालजयी बनाउनेछ । महेशले पनि चरित्र बुन्नमा धेरै शीप लगाएका छन् । चरित्रकै चहकले कथासंग्रहमा अनौठो प्रभावशील महक फैलिएको अनुभूत हुन्छ ।

महेशका कथाको जमीन तपाईँ हामी चलखेल गरिरहेकै ठाउँमा मौजूद छ । यही हावापानी, माटो, बोटबिरुवा र यही गाउँ, सहर, बजार र बस्तीकै साँझ-बिहान जम्काभेट भइरहने विविध रङ्गढङ्गका मान्छे यिनका कथामा पनि भेटिन्छन् । तर, तिनमा अचम्मसँग एउटा कुरा समान रुपमा पाइन्छ त्यो के भने यी सबै आम मानिसका कहानी हुन्, एकदमै सामान्य मानिसका गाथा हुन् । हरेक दृष्टिले सामान्य, अझ भनौँ प्रायः निम्न आर्थिक सामाजिक र सांस्कृतिक परिवेशका मानिसहरु, यही धूलो माटोमा लटपटिएका, यही आबोहवामा सास फेर्न बानी परेका । तर ती सामान्य भन्दा सामान्य मानिसभित्र अझ भनौँ असामान्य निम्नस्तरमा लुकेका सामान्य मानिसमा पाइने उच्च मानवीय मूल्य, आस्था र निष्ठाका झिल्काहरु महेशका कथामा देख्दा प्रसिद्ध उर्दू शायर अहमद फराज को यो शेर अनायास ओठमा सल्बलाउँछ :

ढूँढ उजडे हुए लोगों में वफा के मोती
ये खजाना तुझे मुमकिन है खराबोँ में मिले ।

नपत्याए खास गरी राहत कथा पढ्नुहोस् त । त्यो सानो फ्रेममा जडिएको तस्वीर जस्तो छोटो कथाभित्र पतिपत्नीका आपसी निष्ठाको कुन उत्कर्ष फेला पारेका छन् महेशले ।

संग्रहका सबै कथाहरु सामाजिकताप्रति निष्ठाशील छन् । महेशलाई मान्छे, समाज, परिवार, हाट, बजार लगायत दैनन्दिन जीवनका यावत् गतिविधि र क्रियाकलापप्रति अघोर आकर्षण, गहन अनुराग र अद्भुत दिलचस्पी छ । उनका दृष्टिमा व्यक्तिवृत्त र नैज जीवनको छुट्टै स्थान छँदै छैन । नपत्याए आवाजहरुको कथाकार सुधीरलाई भेट्नुहोस् त , मलाई त लाग्छ हो न हो त्यो सुधीर सुधीर होइन महेशै हो ।

यसरी सिंगो किताब सामाजिक सद्भाव र मानवजीवनका यावत् घामछाया र हावापानीसँग गाँसिएको आपसी सरोकारप्रति गहन उत्तरदायित्वको बोधले सम्पन्न छ । सुनेको छु, उनी लेख्छन् पनि, पढ्छन् पनि, पढाउँछन् पनि, लेखाउँछन् पनि, निरन्तर सिक्छन् र सिकाउँछन् पनि । यसरी उनको समाजाकिताको स्वभाव, पुराना पुस्तासँग गहन आदरभाव, समान पुस्तासँग आत्मीय मित्रभाव अनि नवपुस्तासँग अघोर स्नेहभावले सम्पन्न आदर आत्मीयता र स्नेहशीलता को त्रिवेणी बनेको छ । नभन्दै यस किताबमा पनि उनले पुराना पुस्ताका भवानी भिक्षुप्रति आफ्नो श्रद्धाभाव व्यक्त गरेका छन् भने मित्रहरुसँग विनयशील सख्यभाव प्रकट गरेका छन् अनि नवपुस्ताका कथासर्जकहरुलाई अंगुलीनिर्देशपूर्वक अबका कथाको गन्तव्य संकेत गरेका छन् भन्ने देखिरहेको छु । व्यक्तिवृत्तलाई छोडेर सामाजिक सहभावको संस्कार अनि आवेग संवेगमय चमत्कारिक उत्तेजनशील प्रस्तुतिलाई छोडेर सौम्य, शान्त, गम्भीर भावधाराको सहज अभिव्यक्ति, यौन, राजनीति र सामाजिक वितृष्णा विषयक क्षुद्र टिप्पणीलाई छोडेर मानवीय मूल्य र आस्थाका मूल धरोहरको संवर्धन गर्नु नै साहित्यस्रष्टाको दायित्व हो भन्ने भाव अभिव्यञ्जित गर्नु नै अपरिचित अनुहारको केन्द्रीय स्वर हो भन्न मलाई मन लागेको छ ।

यति सुन्दर सिर्जनशील र जिम्मेवारीपूर्ण कथाकारिताका लागि म मेरा प्रिय बन्धु महेश बाबूलाई शतशः अभिनन्दन गर्दछु , हार्दिक बधाइ दिन्छु र शुभ यात्राको आत्मीय शुभ भाव व्यक्त गर्दछु ।

तन्मे मनः शिवसंकल्पमस्तु ।