सनतकुमार वस्ती

गजल !

शब्द सम्झँदा पनि मन त्यसै त्यसै रमाउँछ ।

सारै रसिलो र मादक लाग्दछ यो लबज मलाई, कसैले मोहनी लगाएजस्तो, जादू गरेजस्तो !

तपाईंलाई लाग्दैन?

सारै गहिरा, स्वादिला र लयालु हरफहरु अनायास सल्बलाउन थाल्छन् मनमा, बिर्सिएका पुराना यादहरू फेरि ब्यूँझन्छन्, अनि ओठहरू मस्तीले गुनगुनाउन लाग्दछन्ः

बिर्सिएको कहानी याद आयो
मस्तीको जिन्दगानी याद आयो,
फक्रिएको वसन्त देखेर
फेरि उसको जवानी याद आयो !

उर्दू–हिन्दीमा रचिएका र मीठो स्वरमा गुन्गुनाइएका धेरै धेरै गजलहरूको मीठो महक मगमगाइरहन्छ मनको उपवनमा । त्यहाँ मेहदी हसन शास्त्रीय गानको जादू जगाउँछन्, गुलाम अली पदपदमा गुनगुनाहटको बुट्टा भर्दछन्, जगजीत-चित्रा सिंह मायालु मनको गहिरो संवेदना सुरिलो स्वरमा उतार्दछन् । वर्षौंदेखि सुन्दै आएका मनमोहक गजलहरूले लगाएका छन्, मुहुनीदार माया, थाहा पाइसक्नुको जादू जगाएको छ गजलले हाम्रा दिलमा ।

यता हाम्रा युवाकवि मोतीराम भट्ट याद आउँछन्ः

यता हेरुँ यतै मेरा नजरमा राम प्यारा छन्
उता हेरुँ उतै मेरा नजरमा राम प्यारा छन्
………………………र मोतीराम प्यारा छन् ।

साथमा पहिला नेपाली गजल गायक सेतुराम याद आउँछन् । अनि, यतिसम्म प्रीति गरी गरी न यता भएँ, न उता भएँ.. गाउँदै मोतीरामलाई याद दिलाउने भक्तराज पनि याद आउँछन् । ज्यादै गहन र घनीभूत तरंग उठाउँछः गजल यो एक लबजले ।

के रहेछ त गजल ?
अनि मनमा सहज कौतूहल जाग्दछः आखिर के रहेछ त गजल भनेको ?

शब्दकोश पल्टाउँदा हामी पाउँछौँः गजल अरबी भाषाको शब्द रहेछ । कोमलता, न्यानोपन र लजालु स्वभाव झल्काउने यो स्त्रीलिंगी शब्दको अर्थ भनिएको रहेछः प्रेमिकासँगको प्रीतिसंवाद । कता कता काउकुती लगाउँछ र उत्कंठा पनि जगाउँछ गजल यो लबजले । अनि फेरि यी हरफहरु अनायासै ओठमा ओर्लिन्छन्ः

छातीको घाउ फेरि चस्केर
प्रेयसीको निशानी याद आयो,
आज उसलाई फेरि भेटेर
झुल्किएको बिहानी याद आयो ।

धेरै कविता पढिए, धेरै रचना हेरिए । राम्रा कविता मीठा लाग्छन्, रसमय काव्यले अनुभूतिमय रसमा चुर्लुम्म डुबाउँछन्, तर गजलमा जस्तो स्वाद संवेदना अरुमा कहाँ? यो त प्रेमिकासँगको भलाकुसारी हो, मायालुसँगको मीठो कुराकानी हो, सुरिलो संवाद हो । आफ्नै मनमुटुमा बस्ने प्रेमास्पदसँगको नितान्त निजी प्रणयालाप हो, अन्तर्मुखी मनसँग अन्तर्मनको संलाप हो, दुनियाँका कर्णकटु कर्कश कोलाहलबाट मुक्ति र विश्रान्ति प्रदान गर्ने आत्मालाप हो । जहाँ मनले मस्ती पाउँछ, बुद्धिले विश्राम पाउँछ अनि आत्माले आनन्द पाउँछ । यही कुरा शायर यसरी गुन्गुनाउँछ ः

जिन्दगीदेखि आज थाकेर
काख उसको सिरानी याद आयो,
बिर्सिएको कहानी याद आयो
मस्तीको जिन्दगानी याद आयो ।

अनि त भन्न मन लाग्छः वाह गजल !

तीन अक्षरको जादू

गेन, जि, लाम्ः अरबी बोलीका यी तीन अक्षर मिलेर बन्दछ गजल शब्द । यिनै तीन अक्षरले अभिव्यक्तिको अनौठो जादू पैदा गर्दछन् । के हो त वास्तवमा गजल शब्दको अभिप्राय ?

१. गजलः प्रीतिको स्वर
भनिन्छ ग भनेको वाणी, ज भनेको नारी र अल भनेको साथ हो । यसरी गजलको अर्थ भयोः नारीसँग सम्पन्न संवाद । तर गजल सुन्दा थाहा हुन्छ यो सामान्य नारीका साथ गरिएको सामान्य कुराकानी पक्कै होइन । लाग्दछ यो प्रेयसीसँगको गरिएको एकान्त संलाप हो ।

वास्तवमा प्रेमास्पदसँग गरिने आत्यन्तिक संवाद हो गजल । यसमा अन्तर्मनका गहन अनुभूतिलाई अत्यन्त रोचक र घतलाग्दो पारामा, लयालु शैलीमा बयान गरिएको हुन्छ । मानवमनमा उठिरहने आकर्षण र विकर्षणका संवेग तरंगहरुको हार्दिक र सुललित प्रस्तुति बनेर व्यक्तिन्छ गजल । दुःख सुख, पीडा व्यथा, अभाव, अन्यमनस्कता, रोमाञ्च, गुनासो, आनन्द, अपील, सान्त्वना, रहस्य जस्ता जीवनका अनेकौं अनौठा अनुभूति सत्यहरुलाई ज्यादै आकर्षक पाराले गजलले सजाउँछ र फिजाउँछ आफ्नो स्वरुप अनि व्यक्तित्वभरि ! अनि, वास्तवमै लाग्दछ यो प्रीतिकै स्वर हो, प्रेयसीसँग गरिएकै रोचक, रोमाञ्चक र लालित्यमय संवाद हो । यो गजल गुनगुनाउनुहोस् तः

दिलमा केही दबाब जस्तो छ
या कसैको अभाव जस्तो छ ,
छैन सन्ताप या खुशी मनमा
हल्का हल्का तनाव जस्तो छ ,
फेरि बिझ्दैछ केही आँखामा
आज मौसम खराब जस्तो छ ,
भित्र भित्रै कतै जलीरहनू
जिन्दगीको स्वभाव जस्तो छ,
पन्ना पन्ना पढूँ पढूँ लाग्ने
दिल गजबको किताब जस्तो छ,
यार उनको मुहारमा हरदम
फक्रिएको गुलाब जस्तो छ,
अन्त लाग्दैन ए सनत! यो दिल
बस् गजलमा लगाव जस्तो छ ।

२. गजलः पीडाको अनुनाद
अरबी शब्द गजालाबाट पनि गजल बन्दछ भन्दछन् । गजाला भनेको हरिणशिशु हो, मृगशावक हो अनि त्यसैको पीडामय आर्तनाद हो गजल । भनिन्छः कुनै एकान्तवनमा आफ्नै आनन्द र मस्तीमा विचरण गरिरहेको गजाला वा मृगशावकलाई अटव्य जंगलका अन्तरमा अदृश्य बनेर लुकिरहेको कुनै क्रूर निर्दय व्याधाले ताकेर चलाएको तीर अचानक मर्मस्थलमा लाग्दा निस्किएको आर्तनाद होः गजल । यो अर्थ अत्यन्त सटीक र प्रतीकात्मक लाग्दछ हामीलाई । वस्तुतः यस जगत्मा आफ्नै सुख चैन र आनन्दको वनमा विचरण गरिरहन चाहने हामी कोमल संवेदनशील मानवजाति नै गजाला हौं अनि लुकेको व्याधा नै काल हो, समय हो । त्यसले अज्ञात रूपमा यकायक प्रहार गरेको बाध्यता र विवशताको निर्मम वज्रपाततुल्य तीरले हाम्रो कमलो मर्मस्थलमा लागेपछि हामी पनि तिलमिलाउँछौं, व्यथित हुन्छौं अनि त्यही व्यथा हामी गजलमा पोख्छौं र करुण स्वरमा गुनगुनाउँछौँ । लाग्दछ गजल पीडाकै अनुनाद हो । यो गजल गुनगुनाएर हेर्नुहोस् तः

सुनसान लाग्छ जिन्दगी, लागेर के गरुँ
मयालुको यो चाह पनि त्यागेर के गरुँ,

चाहेर पाइँदैन यहाँ, चार पल खुशी
हे दैव, लामो जिन्दगी मागेर के गरुँ
छोडेर यो उदास शहर, टाढा रहूँ जती
पछ्याइरन्छ याद अनि भागेर के गरुँ
सपना बनेर आइदिँदा मायालुको मिलन
खल्लो हुने बिहानी जागेर के गरुँ
डाक्छिन् उनी परेली झुकाई घरी घरी
जन्जीर प्यारको यो नाघेर के गरुँ !

कालको तीर लागेर यहाँ को छट्पटाउँदैन र ? आफ्ना अभिलाषा र आकांक्षा पूरा गर्न नपाउँदै जब जीवनमा आघात पुग्दछ अनि शायरको अन्तश्चेतनामा पीडाको अनुनाद गुँज्न लाग्दछ, जसरी उर्दूका विश्वविख्यात शायर महाकवि गालिबको यस शेरमा गुँजेको पाइन्छः

हजारोँ ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले
बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले ।

मेरा मनमा हजारौँ आकांक्षाहरु यस्ता छन् कि तिनमध्ये एउटै आकांक्षा पूरा गर्न खोज्दा पनि प्राणान्त पीडा झेल्नुपर्दछ, हुन त मेरा त्यस्ता धेरै आकांक्षा पार लागिसके, तैपनि सधैँ लाग्दछ अत्यन्त कमै मात्र पार लागे ।

३. गजलः आत्मालाप
गजलमा शायरले कोमल मनको मधुर संवेदनासँग संवाद गरेर शब्द–शब्दमा भाव उन्दछ अनि तिनै भावमा भावकका अनुभूतिको पनि अन्तर्भाव हुन्छ । शायरले रच्दछ गजल, त्यसमा भाव भर्दछौँ हामी भावक । कुनै शायरको यो मनमोहक प्रस्तुति पढ्नुहोस् तः

चाँद से, फूल से या मेरी जुवाँ से सुनिये
हर तरफ आपका किस्सा है जहाँ से सुनिये,
सबको आता नहीँ दुनियाँ को सजाकर कहना
जिन्दगी क्या है मोहब्बत की जुवाँ से सुनिये ।
क्या जरूरी है कि – हर पर्दा उठाया जाये
मेरी हालात भी अब अपने मकाँ से सुनिये ।

– चन्द्रमाको चाँदनीमा चियाउनुहोस्, फूलको फक्राइमा फेला पार्नुहोस् या मेरो गुनगुनाइमा गुन्नुहोस्ः सर्वत्र तपाईं आफ्नै कहानी पाउनुहुनेछ चाहे जहाँबाट सुन्नुहोस् ।
– यस जगत्लाई सुन्दर ढंगले सजाएर बयान गर्ने बोली सबैलाई कहाँ आउँछ र? जिन्दगी के हो मायाको बोलीमा बुझ्नुहोस् ।
– हरेक घरको पर्दा उठाउनु जरुरी छ र ? तपाईं अब मेरो हालत पनि आफ्नै घरबाट बुझ्नुहोस्, मेरा पीर व्यथा पनि आफ्नै दिलको द्वार खोलेर महसुस गर्नुहोस् ।
किनभने घर–घरको कहानी उस्तै–उस्तै हुन्छ, हरेक दिलका दर्दको दुनियाँ पनि उस्तै–उस्तै हुन्छ, जीवनको जलन र त्यहाँ लगाउने मलम पनि उस्तै–उस्तै हुन्छ, फगत् त्यसलाई बयान गर्ने कलम मात्र शायरको हुन्छ ।

आफ्नै अन्तर्मनसँग गरिएको जीवनका दुःख सुख, पीडा, खुशी र संयोग वियोगको रागमय संवाद गजल बन्दछ । प्राप्ति अप्राप्ति, अँध्यारो उज्यालो, र राग विरागको लयालु लिपि पनि बन्दछ गजल । गजल गानका गुरु गुलाम अली पनि यस्तै भाका गुनगुनाउँछन्ः

रुह जब बज्द में आये तो गजल होती है
या कोई दिल को दुखाये तो गजल होती है ।

आत्मा आनन्दातिरेकमा डुबे पनि गजल हुन्छ, दिल दर्दको दहमा डुबे पनि गजल हुन्छ ।

यो आफैंसँग गरिएको आत्मालाप हो, आफैँ कथयिता अनि आफैँ श्रोता । शायर आफ्नै हृदयको राग गाउँछ गजलमा, त्यसैमा फेरि सबैको अनुराग मिसिन्छ, साधारणीकृत बन्दछ, सबैले त्यहाँ आफ्नै मुटुको ढुकढुकी पाउँछन्, दिलको दर्द र व्यथाको बयान पाउँछन् ।

यसरी यो गजल यो लबजले एकातिर अनुराग र रतिरागको नाद सुनाउँछ भने अर्कातिर आन्तरिक पीडाको अनुनाद पनि सुनाउँछ । जे सुनाए पनि नितान्त आत्मालापका रुपमा गजल प्रस्तुत हुन्छ, यस्तो लाग्दछ शायर आफ्नै हृदयकाशमा झुल्किने कुनै प्रेमास्पदसँग संवाद गरिरहेछ ।