सत्ययुगमा दक्ष प्रजापतिका दुई जना शुभलक्षणवती कन्या थिए : कद्रू र विनता ।

ती दुवै अत्यन्त सुन्दरी र गुणवती थिए । ती दुवै कन्याको विवाह पिताले महर्षि कश्यपसँग गराइदिए । यसरी ती पहिले दुई दिदी बहिनी थिए, अब सौता सौता भए । उनीहरूका पतिदेव महर्षि कश्यप स्वयं ब्रह्मातुल्य तेजस्वी र शक्तिसम्पन्न थिए ।

एकदिन उनीहरूको पतिसेवाले परमसन्तुष्ट भएर कश्यपले भने : तिमीहरूको मनमा जे इच्छा छ, माँग ।

पहिले दिदी कदू्रले मागिन् : मलाई अत्यन्त तेजस्वी एक हजार नागहरू पुत्ररूपमा बक्सियोस् ।

अनि बहिनी विनताले मागिन् : मलाई बल, तेज, शरीर र पराक्रममा समेत कद्रूका सन्तानभन्दा श्रेष्ठ दुई पुत्र बक्सियोस् ।

अनि महर्षि कश्यपले : एवमस्तु , भनेर ती दुवैले चाहेको वर स्वीकृत गरे ।

ती दुवै दिदी बहिनी प्रसन्न भए ।

कश्यपले भने : तिमीहरूले यत्नपूर्वक आ आफ्नो गर्भको रक्षा गर्नू ।

यति भनेर ती तपोवनतिर लागे ।

धेरै दिनपछि कद्रूले एक हजार र विनताले दुई अण्डा पारे । प्रसन्नतापूर्वक ती दुवैले आ आफ्ना अण्डा न्यानो भाँडामा सुरक्षित राखे । पाँच सय वर्षसम्म ती भाँडामै रहे । त्यसपछि कद्रूका एक हजार सन्तान ती अण्डा फोडेर बाहिर निस्किए । ती सबै सर्पजातिका थिए । कद्रूका सन्तान भएकाले ती काद्रवेय भनेर चिनिए ।

तर, विनताका सन्तान निस्किएनन् । उनलाई दिदी सौताका सामुन्ने लाज लागेर आयो । अनि उनले के भएछ त, मेरा सन्तान किन निस्किएनन्  भन्दै उत्सुकतावश आफैँ गएर भाँडाबाट दुई अण्डामध्ये एउटा निकालेर फुटालेर हेर्न खोजिन् । अण्डा फुट्नासाथ विनताले आफ्नो सन्तानलाई देखिन् । त्यस विचराको शरीरको माथिल्लो भागमात्र विकसित भएको रहेछ, तल्लो भागचाहिँ विकासक्रममा नै रहेछ । अनि सुनिन्छ– त्यस अर्धविकसित शिशुले क्रुद्ध हुँदै आफ्नी आमा विनतालाई शाप दियो : आमा, तपाईंले लोभका वशमा परेर मलाई बेलै नभइकन यसरी बाहिर निकाल्नुभयो, मलाई यस्तो विकलांग बनाउनुभयो, मेरो पूर्ण विकास नै हुन दिनुभएन । त्यसैले जुन आफ्नी सौताको तपाईं यति डाहा गर्नुहुन्छ नि, अब तपाईंले उसैको पाँच सयवर्षसम्म दासी भएर बस्नुपर्नेछ । अनि, त्यो अर्को अण्डामा जुन मेरो भाइ रहेको छ, उसले नै तपाईंलाई त्यो दासीभावबाट मुक्त गराउनेछ । तर, तपाईंले त्यसलाई चाहिँ मलाई जस्तै हतार हतार बेलै नभइकन अण्डा फुटालेर बाहिर ननिकाल्नुहोला नि फेरि । उसको पूर्ण विकास भएको देख्न चाहनुहुन्छ भने पाँच सय वर्ष अरु धैर्य धारण गर्नुहोला र उसलाई अण्डा फुटाएर आफैँ निस्कन दिनुहोला ।

त्यस प्रथम विनतापुत्रको नाम रह्यो अरुण । ऊ परमतेजस्वी थियो । ऊ जन्मनासाथै उडेर गइहाल्यो । उसको शरीरको तल्लो भाग विकसित नभएकाले उसलाई अनूरु ः तिघ्रा नभएको  पनि भनिन्छ । ऊ पछि गएर स्वयं भगवान् सूर्यका रथको सारथि बन्यो । बिहान सूर्य उदाउनुअघि जुन मनोरम लालिमा देखिन्छ, हो, त्यही हो–अरुण ।

अर्को पाँचसय वर्ष पूरा भएपछि विनताको कान्छो छोरो अण्डा फोडेर स्वयं पूर्ण विकसित रूपमा निस्कियो । ऊ पछि पक्षीराज गरुडका नामले लोकविख्यात बन्यो । त्यो सर्पसंहारक बन्यो । आमालाई दासीभावबाट मुक्त गराउने सामर्थ्य भएको । त्यो अत्यन्त विशाल र परमतेजस्वी थियो । जन्मनासाथ भोकले आकुल भएर विधाताले उसका लागि जुन भोजन नियत गरेको थियो त्यही प्राप्त गर्न आफ्ना विशाल पंख फडफडाउँदै उडेर आफ्नी आमा विनतालाई छोडेर गैगयो । विनताका ती दुई सन्तान अरुण र गरुड वैनतेय भनेर चिनिए ।

त्यस बखत भरखरै देवता र दानव मिलेर समुद्र मन्थन गरेका थिए र त्यहाँबाट धेरै बहुमूल्य वस्तुहरू पाइएका थिए । ती मध्ये एक थियो उच्चैःश्रवा नामक दिव्य घोडा । त्यो अत्यन्त वेगवान् रहरलाग्दो सुन्दर वायुपंखी घोडालाई देखेर कदू्रले विनतालाई सोधिन् :

ए विनता, ल छिटो छिटो भन् त, त्यो उच्चैःश्रवा भन्ने घोडा कस्तो रंगको छ ?

विनताले विचार गरेर भनिन् : दिदी, त्यो घोडा त अवश्य सेतैरंगको छ ।

कद्रूले भनिन् : हुन त हो, तर त्यसको पुच्छर चाहिँ कालो रंगको छ, बुझिस् ।

विनता यो मान्न तैयार भइनन् ।

अनि कद्रूले भनिन् : बाजी ठोक्छेस् ? त्यसको पुच्छर कालै छ, मैले भनेपछि भनेँ भनेँ ¤

विनता पनि जोशमा आइन् र भनिन् : ल, हुन्छ बाजी भने बाजी ।

अनि कद्रूले शर्त राखिन् : हेर् विनते, मैले भनेको सही रहेछ भने तैँले मेरो नोकर्नी बन्नुपर्नेछ , तैँले भनेको सही रहेछ भने म तेरी नोकर्नी बनूँली , मञ्जूर छ ?

विनताले पनि बाजी हार्न चाहिनन् र यो शर्त स्वीकार गरिन् । यसरी ती दुई प्यारी दिदी बहिनीमा सौता–सौताको ननिको ईर्ष्यालु मनोभाव विकसित भयो ।

अनि कद्रूले विनतालाई हराएर नोकर्नी बनाउन षड्यन्त्र रचिन् ।

हुन त कद्रूलाई पनि थाहा थियो– त्यो घोडाको पुच्छर पनि सेतै छ । तैपनि विनतालाई दासी बनाउन उनले यो षड्यन्त्र रचेकी थिइन् । उनले आफ्ना सन्तान सबै नागहरूलाई बोलाएर भनिन् : तिमीहरू जाओ र त्यस घोडाका पुच्छरमा कालो रौँको झुप्पो जस्तै भएर बस ।

यो वाहियात कुरा ज–जसले मानेनन् ती सबै सन्तानहरुलाई उनले ठाडै सरापिन् : जो जो मैले भनेको मान्दैनौ, तिमीहरू सबै राजा जनमेजयको सर्पयज्ञमा दन्किएको आगामा खसी डढेर मरीजाओ ¤ यो कुरा प्रजापति ब्रह्माले पनि सुन्नुभयो । आफ्नै सन्तानलाई कद्रूले यति भयंकर शाप दिएकी थिइन् । अनि एकछिन् गम खाएपछि सन्तोष मान्दै मनमनै भन्नुभयो : ठीकै भयो, यसै पनि सर्पहरू बढेर संसारै ढाक्न थालेका थिए , यिनले जसलाई पायो तेसलाई टोकेर हैरान पारेका थिए । अलिकति भए पनि छाँटिने भए, राम्रै भयो ।

यसरी आमाले शाप दिएपछि उद्विग्न भएर एउटा नाग कर्कोटकचाहिँ आमाको छेउमा गएर प्रसन्न हुँदै भन्न लाग्यो : आमा, तपाईं किन चिन्ता गर्नुहुन्छ, तपाईंको आज्ञा पालन गर्ने म छँदै छु नि । म गएर त्यस घोडाको पुच्छरमा समाहित भएर कालो रौँको झुप्पो बनेर बसुँला नि । पीर नगर्नु न । अनि कद्रूले खुशी हुँदै भनिन् : हो, ठीक, त्यसै गरेस् ।

अनि, त्यो रात तेसै बित्यो । भोलिपल्ट सखारै उठेर दुई दिदी बहिनी घोडाको पुच्छर हेर्न भनेर आकाशमार्गबाट समुद्रतिर लागे । त्यो विशाल पारावार समुद्रको असीम फैलावट, गहिराइ र नानारूपको सौन्दर्य हेर्दै ती अघि बढे । त्यहीँबाट चन्द्रमा निस्किएको थियो, त्यहीँबाट पाञ्चजन्य शंख निस्किएको थियो, त्यसैलाई वराह भगवान्ले पृथ्वीको उद्धार गर्ने क्रममा छयाल्लब्याल्ल हुने गरी मथ्नुभएको थियो, युगान्तकालमा योगनिद्रा लिएर स्वयं भगवान् विष्णु त्यहीँ सुत्नुहुन्थ्यो, इन्द्रले वज्रप्रहार गर्दा मैनाक पर्वतलाई त्यही समुद्रले शरण दिएको थियो, वडवानल नामक अग्नि त्यहीँ वास बस्दथ्यो, संसारका सारा नदीहरू त्यसैमा गएर एकाकार हुन्थे, त्यस्तो अगाध, अनन्त महिमा भएको समुद्रलाई कद्रू र विनता ती दुई दिदी बहिनी यद्वा ईर्ष्यालु सौताहरूले बडो आश्चर्य र आनन्दका साथ देखे ।

केही वेरमा ती समुद्रपारि पुगे । अनि उच्चैःश्रवा घोडालाई नजीकैबाट प्रत्यक्ष रूपमा हेरे । कर्कोटक र उसका मतियार भाइहरू मिलेर पहिले नै त्यस घोडाको पुच्छर कालो पारेर बसिसकेका थिए । त्यो देखेर विचरी विनताको   सातो गयो । उनी विषादग्रस्त बनिन् । उनले तत्काल त्यो छुच्ची षड्यन्त्रकारिणी कद्रूको नोकर्नी बन्नुप¥यो । केही उपाय लागेन । उनले बाध्य भएर कद्रूको दास्यभाव स्वीकारिन् ।

कालान्तरमा महाप्रतापी गरुडले आफ्नी आमा विनतालाई कद्रूको दास्यभावबाट मुक्त तुल्याए । कसरी ?  त्यो अत्यन्त रोचक कथा अर्को एपिसोडमा ।