जसले आभूषित–अलंकृत तुल्याउँछ, त्यसलाई हामी अलङ्कार भन्दछौं ।
संस्कृत भाषबाट नेपालीमा आएको यस तत्सम शब्दले काव्यशास्त्रमा गरिमामय स्थान प्राप्त गरेको छ । साहित्यलाई शब्द र अर्थद्वारा सुन्दर, मनोरम, रोचक र हृद्य बनाउने काम अलङ्कारले गर्दछ । शब्दद्वारा काव्यलाई अलंकृत पार्ने वा सजाउने साहित्यिक शैलीलाई शब्दालङ्कार भनिन्छ, अर्थद्वारा काव्यलाई सजाउने शैलीलाई अर्थालङ्कार भनिन्छ । यसरी काव्यशिल्पले सुसज्जित भएका शब्द र अर्थले सिंगो काव्यलाई नै मधुर, मनमोहक र हार्दिक बनाएका हुन्छन् ।
शब्दालङ्कार
काफिया र रदीफका रूपमा शब्दालङ्कार गजलको अभिन्न अंग बनेर आएको हुन्छ । यसलाई अलङ्कारको भाषामा अन्त्यानुप्रास भनिन्छ । काव्यपंक्तिका अन्त्यमा लोलीमा बोली मिलाएर आउने पद÷पदावलीका रूपमा अन्त्यानुप्रास देखा पर्दछ । विषयवस्तुअनुकूल लयात्मक वर्ण र पदरचनाद्वारा गजलको अन्त्यानुप्रासले मन हर्दछ र गजलका हरेक शेरमा लयको लालित्य भर्दछ ।
आउनुहोस्, अब यो गजल गुन्गुनाऔं :
साँझमा याद तिम्रो सधैँ आउँछ
मस्तीको वासना फेरि फैलाउँछ
..
रूप तिम्रो जहाँ मन त्यतै धाउँछ
फूल औ जून देखेर टोह्लाउँछ
..
दुई मुटू एक पारेर जे सुन्दथ्यौं
गुनगुनाएर दिल त्यै गजल गाउँछ
..
बैंसको स्वाद चाखेर जो चल्दथ्यो
मगमगाएर हावा त्यही छाउँछ
..
आज एक्लै त्यहीं छु, जहाँ थ्यौ तिमी
प्यार गर्दै बितेको त्यही ठाउँ छ ।
..
यहाँ प्रत्येक शेरको अन्त्यमा आएका आउँछ, फैलाउँछ, धाउँछ, टोह्लाउँछ, गाउँछ, छाउँछ र ठाउँ छ पदहरुमा अन्त्यानुप्रासको मनोरम महक पाइन्छ । यी सबै गजलका अभिन्न अंग बनेर काफियाका रूपमा यहाँ झुल्केका छन् । काफियाबिना गजल बन्दैन, अझ भनूँ ः काफिया नै गजलमा चुम्बकीय आकर्षणको केन्द्र बनेर आउँछ, गजल जादूको रसायन बनेर आउँछ, वाह! वाह!! को उद्रेक बनेर आउँछ । काफियाका रूपमा आउने अन्त्यानुप्रास अलङ्कार मात्र होइन, गजलको केन्द्रीय शक्तिस्रोत पनि हो । सामान्य काव्यमा यो अन्त्यानुप्रास प्रायः दुई पंक्तिमा मात्र आउने गर्दछ तर गजलमा चाहिँ शेरैपिच्छे दोहोरिएर आउँछ र गजललाई प्राणवान् बनाउँछ । यो त भयो गैरमुरद्दफ अर्थात् रदीफ प्रयुक्त नभएका गजलको कुरा ।
मुरद्दफ गजल वा रदीफयुक्त गजलमा चाहिँ यो रदीफभन्दा पहिले नै आउँछ ः उपान्त्य अनुप्रास बनेर । अन्त्यमा चाहिँ रदीफ आउँछ र प्रत्येक शेरमा पुनरावृत्त बन्दछ । यो गजल गुनगुनाएर हेर्नुहोस् त :
तिमी फूल झैँ मुस्कुराएर बाँच
गजल जिन्दगी गुनगुनाएर बाँच
..
घृणाका विषालु जति तीर लागून्
तिमी प्रीतको गीत गाएर बाँच
..
विपद्का अँध्यारा जति रात आऊन्
तिमी जून झैँ जगमगाएर बाँच
..
जति जिन्दगीले जलाएर राखोस्
तिमी धूप झैँ मगमगाएर बाँच ।
यहाँ हरेक शेरको अन्त्यमा आउने बाँच रदीफ हो । त्यसभन्दा अघिल्ला मुस्कुराएर, गुनगुनाएर, गाएर, जगमगाएर र मगमगाएर यी पदहरु काफिया हुन्, जो उपान्त्य अनुप्रासका रूपमा देखा परेका छन् ।
यहाँ बाँच को पाँच पटक आवृत्ति भएको छ । रमाइलो कुरा के छ भने यस्तो आवृत्ति अन्यत्र काव्यमा पुनरुक्ति दोष मानिन्छ तर गजलमा चाहिँ अभिन्न अंग बनेर आउने परम आकर्षणको विषय । रदीफ गुनगुनाएर वा गाएर भावक÷गायक थाक्दैनन्, सुनेर श्रोताहरु अघाउँदैनन् । यो आवृत्ति अन्यत्र झैँ झर्कोलाग्दो लाग्दैन गजलमा, आस्वादको स्वादमय घूँट लाग्दछ । वस्तुतः माझिएका शायरको संगतमा प¥यो भने रदीफ हीरा झैँ चम्कन्छ र आकर्षणको केन्द्र बन्दछ तर अनाडी सिकारु तुकबन्दीबाजका कब्जामा प¥यो भने काँचको टुक्रासम्म पनि साबित हुँदैन, फगत् कर्कश ध्वनि उब्जाउने पत्थर कंकडको खड्खडाहट पैदा गर्दछ र यसले रचनामा भएको दुई चार थोपा स्वादलाई पनि खल्लो बनाइदिन्छ ।
यो भयो शब्दालङ्कारको कुरो ।
अर्थालङ्कार
अर्थालङ्कारमा चाहिँ यसभन्दा पहिले प्रकरणहरु : १३ र १४ मा चर्चित प्रतीक र बिम्बको अजस्र भूमिका रहेको हुन्छ, यिनै हुन् अलंकारका मूल स्रोत । यिनैबाट निर्मित हुन्छ : अर्थालङ्कारको गहन आकर्षण । जस्तै :
बादल झैं तिमी नील गगनमा
सुस्तरी आयौ मेरो मनमा ।
यहाँ मनमा सुस्तरी तिम्रो आगमनलाई नीलगगनमा बादल आउनुसँग तुलना गरिएको छ जसले सूनसान मनमा तिम्रो सम्झना आउँदै जानु र नील गगनमा बादल झैँ सुस्तरी समस्त मनमा छाउनुको बिम्ब अत्यन्त मनोरम लाग्दछ । यसै चुम्बकीय काव्यभंगिमालाई अलङ्कारशास्त्रमा उपमा अलङ्कार भनिएको छ । यो हो अर्थालङ्कारको राजा !
कसरी बन्दछ त उपमा अलङ्कार ?
..
उपमा
उपमा भनेको बयान गर्न लागिएको कुनै प्रत्यक्ष वस्तुको, उस्तै उस्तै लाग्ने परोक्ष वस्तुसँग तुलना गर्नु हो । उपमा अलङ्कार बन्न जम्मा चार तत्त्व आवश्यक मानिन्छन् : १ उपमान, २ उपमेय, ३ साधारणधर्म, ४ वाचक पद ।
उपमान उस्तै उस्तै लाग्ने परोक्ष वस्तु हो भने उपमेयचाहिँ बयान गर्न लागिएको प्रत्यक्ष वस्तु । त्यसै गरी साधारणधर्म ती दुवैमा पाइने समान गुणधर्म हो भने वाचक पद ती दुवैको समानतालाई संकेत गर्ने पद हो ।
यसै प्रकरणमा अगि मुरद्दफ भनेर पेश गरिएको गजल फेरि एकपटक सम्झनुहोस् त, त्यसको मतला यस्तो थियो :
तिमी फूल झैँ मुस्कुराएर बाँच
गजल जिन्दगी गुनगुनाएर बाँच ।
यस गजलमा उपमा अलङ्कारका अनेकौं बिम्ब गमक्क गम्किएको हामी पाउँछौँ । यहाँ फूल, जून र धूप जस्ता वस्तुहरु उपमान हुन् भने उपमेयचाहिँ एउटै हो : तिमी । यिनीहरुका बीचको चमत्कारपूर्ण समानताको प्रस्तुति गजलको मुख्य आकर्षण बनेर आएकोे छ यसरी :
तिमी फूल झैँ मुस्कुराएर, जून झैँ जगमगाएर, अनि धूप झैँ मगमगाएर बाँच । यही मुस्कुराउनु, जगमगाउनु र मगमगाउनु नै उपमान र उपमेयमा पाइने साधारणधर्म हो, समान गुणधर्म हो । अनि झैँ चाहिँ यहाँ उपमाको वाचक पद बनेर आएको हामी बुझ्दछौँ ।
रूपक
काव्यमा प्रचुर मात्रामा देखा पर्ने अर्को आकर्षक अलङ्कार हो : रूपक । यसमा उपमेय अथवा वर्णनीय वस्तुमा उपमान वा कल्पित वस्तुको आरोप गरिन्छ । यस्तो आरोपले काव्यमा अद्भुत प्रभाव पैदा गरेको हुन्छ, यी शेरहरु पढौँ :
१ मुस्कानको मोहनी ले छोएपछि, सोचिएन —
साँचो माया कमै हुन्छ आजभोलि जमानामा ।
..
२ छातीभरि वेदनाका छालहरु उर्ले पनि
सागरले कसैलाई बताउन सकेनछ ।
..
३ जिन्दगानी काँढाबीच फक्रिएको फूल
फूलभरि मधुरस, काँढाभरि शूल ।
..
४ दुनियाँको जंगल मा शिकारीको तीर लाग्ला
यो मुटुमा लुकी बस, सानु बनी अँटाएर
..
५ तिम्रो छ चाह चर्को, मेरो छ राह अर्को
सम्बन्ध–सूत्र गाँस्ने आधार खै कहाँ छ ?
..
६ जीवनको धुन बज्दछ जस्तो
तिम्रै पायलको छमछममा ।
..
७ घृणाका विषालु जति तीर लागून्
तिमी प्रीतको गीत गाएर बाँच ।
..
८ चाहनाको धुनी बालेँ आफ्नै मुटु जलाइ
अझै उनको चीसो मन सेक्न सकिएन ।
..
९ जिन्दगीदेखि आज थाकेर
काख उसको सिरानी याद आयो ।
..
१० गजल गुनगुनाएर आवाज भर्न
मुटूभित्र नै दर्दको साज पाएँ ।
..
मथि उद्धृत भिन्न भिन्न गजलका शेरहरुमा हामी रूपक अलङ्कारद्वारा सम्पन्न मनोरम काव्यशिल्प पाउँछौँ । जस्तै :
१ मुस्कानको मोहनी : यहाँ मुस्कान उपमेय हो मोहनी उपमान, मुस्कानमाथि मोहनीको आरोप गरिएको छ, जसले मुस्कानको सामथ्र्यलाई गहन बनाएको छ ।
२ वेदनाको छाल : यहाँ वेदना उपमेय वा वर्णनीय विषय हो, छाल कल्पित वस्तु । तर वेदनामाथि छालको आरोप गर्नाले यहाँ वेदनाको उर्लाइ प्रकट भएको छ ।
३ जिन्दगानी फूल : यहाँ जिन्दगीमा फूलको आरोप गरिएको छ, जसले कथनमा माधुर्य भरेको छ ।
४ दुनियाँको जंगल : दुनियाँलाई नै जंगलका रूपमा प्रस्तुत गरिएको छ, जसले दुनियाँको भयावहता व्यक्त भएको छ ।
५ सम्बन्ध सूत्र : सम्बन्धरूपी सूत्र, यहाँ रूपकले अभिव्यक्तिमा सूक्ष्मता ल्याएको छ ।
६ जीवनको धून : जीवनरूपी धून, यहाँ जीवनलाई धूनका रूपमा प्रस्तुत गरेर जीवनमा संगीतात्मक सौन्दर्यबोध पैदा गरिएको छ ।
७ घृणाका तीर : यहाँ घृणामा तीरको आरोप गरेर घृणाको तीक्ष्णता व्यक्त गरिएको छ ।
८..चाहनाको धुनी : यहाँ चाहनारूपी धुनी बालेर सेक्दा पनि मायालुको मन चीसै रहेको अभिव्यक्तिले मनको संवेदनहीनता प्रकट गरेको छ ।
९ काख सिरानी : यहाँ काखमा सिरानीको आरोप गरिएको छ, जसले आफ्नो प्रेमास्पदका सामीप्यमा पाइने अतुलनीय विश्रामलाई कलात्मक रूपले बयान गरेको छ ।
१० दर्दको साज : जीवनलाई गजल र दर्दलाई नै साजका रूपमा चित्रण गरेर जीवनको गहन पीडा अभिव्यञ्जित गरिएको छ ।
यी सबै रूपकका उदाहरण हुन्, जसले यी शेरहरुमा गहिरो काव्यात्मक शिल्पका साथ अभिव्यक्तिमा आकर्षण पैदा गरेको हामी महशूश गर्न सक्दछौँ ।
..
गजलमा अधिकतर प्रयोग गरिने अरु पनि केही अलङ्कार छन् , प्रिय भावकवृन्द आउनुहोस् ः आउँदो आइतवार तिनको चर्चा गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।