ब्रह्माले यज्ञबाट उत्पन्न गरेका पुत्र भृगु ।
भृगुको विवाह पुलोमासँग । उनीहरुका पुत्र च्यवन ।
च्यवनको विवाह सुकन्यासँग । उनीहरुका पुत्र महात्मा प्रमति ।
प्रमति र अप्सरा घृताचीको समागमबाट जन्मिएको पुत्र रुरु ।
रुरुको प्रमद्वरासँग विवाह । उनीहरुका पुत्र तपस्वी शुनक ।
शुनकका पुत्र शौनक ।
….
रुरु र प्रमद्वराको यो मनोरम कथा –
परापूर्वकालमा स्थूलकेश नाम भएका एक सुविख्यात तपोविद्यानिष्ठ महर्षि थिए । तिनै महर्षिका पालामा गन्धर्वराज विश्वावसु र परमसुन्दरी अप्सरा मेनकाबाट एउटी सारै राम्री छोरी जन्मिइन् । दया माया र लाज शरमसँग कुनै परिचय नभएकी ती अप्सरा मेनका नवजात शिशुलाई स्थूलकेशकैे आश्रमनिकटवर्तिनी नदीका किनारमा यसै अलपत्र छोडेर महाराज इन्द्रको सेवामा स्वर्गतिर गैगइन् । महर्षि स्थूलकेशले ती अप्सरानन्दिनी रहरलाग्दी राम्री नानीलाई ल्याएर, छोरी बनाएर आश्रममा पालपोष गर्न लागे । ती सानी नानी समयक्रमले हुर्किँदै गइन् । विद्या, बुद्धिका साथै उत्तम रूप र गुणले समेत सुसम्पन्ना ती बालिका यस जगत्का समस्त प्रमदाहरू मध्ये सर्वाधिक सुन्दरी भएकीले नै पिता स्थूलकेशले तिनको नाम राखिदिए : प्रमद्वरा ।
एक दिन धर्मात्मा रुरुले उनलाई देखे । उनलाई देख्नासाथ तिनलाई मोहनी लाग्यो । उनी कामवशीभूत भए र आफ्ना पिता प्रमतिलाई आफूले एउटी राम्री केटी मन पराएको कुरा सुनाए । अनि पिताले स्थूलकेश मुनिका सामू कन्यार्थी भएर गई छोराका लागि प्रमद्वराको हात मागे । उनले सहजतया स्वीकार गरे । विधिवत् वाग्दान पनि सम्पन्न भयो । आगामी उत्तरफाल्गुनी नक्षत्रको शुभ साइतमा बिहा हुने गरी कुरो छिनियो ।
यसै बीच ती परमसुन्दरी प्रमद्वरा सखीहरुसँग क्रीडा गर्दै एउटा वनमा गइरहेका बेला बाटैमा एउटा सर्प तेर्सिएको रहेछ । उनले त्यसलाई देखिनन् र कुल्चिएर आफ्नै सुरमा अघि बढिन् । आफ्नो क्रोधी र क्रूर स्वभावानुसार सर्पले पछाडिबाट उनलाई डरलाग्दोसँग ठुँगिदियो । त्यो अत्यन्त विषालु थियो । प्रमद्वारा तत्काल जमीनमा लडिन् , बेहोश भइन् र केही वेरमै शान्त पनि भइन् । यो कुरा आश्रमपरिसरमा डढेलो झैँ फैलियो । छेउछाउमा रहेका सबै ऋषिगण त्यहाँ भेला भए । स्वस्त्यात्रेय, महाजानु, कुशिक,शंखमेखल, उद्दालक, कठ, श्वेत, भरद्वाज, कौणकुत्स्य, आष्र्टिषेण, गौतम अनि पुत्र रुरुसहित प्रमति अदि सबै वनवासी द्विजश्रेष्ठ भेला भए । तर, कसैको केही लागेन । सबै दुःखी भए । च्वः च्वः! गरे । समवेदना व्यक्त गरे । वरिपरि घेरा लागेर बसे । केही गर्न सकेनन् ।
तर, रुरु त्यहाँबाट जुरुक्क उठेर फुत्त कतै निस्किए । उनलाई असह्य भयो । आफूले वाग्दान पाइसकेकी, बिहा गर्न ठीक पारिएकी , आफूलाई सारै मन परेकी, सर्वसुन्दरी आफ्नी भावी पत्नीको यो अवस्था देखेर उनको मनले विद्रोह गर्यो । केही उपाय नदेखेर, अत्यन्त दुःखले निचोरिएर उनी एकान्त वनमा गएर पहिले त डाँको छोडेर रुन लागे । पछि मनलाई दृढ बनाएर एकाग्र भावले कुनै अदृश्य शक्तिलाई लक्ष्य गरेर भन्न लागेः यदि मैले आजसम्म पुण्य कर्म गरेको रहेछु भने , मैले तपस्या र गुरुजनको सेवा गरेको रहेछु भने, मैले इन्द्रियसंयमका साथ ब्रह्मचर्य धारण गरेको रहेछु भने अनि जगदीश्वर प्रभु श्रीकृष्णमा मेरो अविचल भक्ति रहेछ भने मेरी निर्दोष प्रिया प्रमद्वरा जीवित भैजाऊन् । यसो भन्दै उनी पुनः विलाप गर्न लागे ।
त्यसै वेला एक जना देवदूत त्यहाँ आविर्भूत भएर भन्न लागे:
हे रुरु, यसरी व्याकुल बनेर रोइ–कराइ गरेर केही हुनेवाला छैन । मानिसको आयु पहिले नै नियत हुन्छ । त्यो सकिएपछि गयो गयो । यसरी शोक नगर । बरु यस विषयमा देवताहरुले एउटा नियम बनाएका छन् यदि तिमी त्यो पालना गर्न चाहन्छौ भने तिमीले प्रमद्वरालाई फेरि पाउन सक्दछौ ।
रुरुले भने : भन्नुहोस् , म उनका लागि जुनसुकै नियम पनि स्वीकार गर्न सक्दछु ।
देवदूतले भने : त्यसो भए तिमी उसका लागि आफ्नो आयु समर्पित गर । तेसो गर्यौ भने उनी पुनर्जीवित हुन सक्दछिन् ।
रुरुले भने : म उनलाई आफ्नो आधी आयु प्रदान गर्दछु । मेरी प्रिया जीवित बनून् !
अनि प्रमद्वराका असली पिता गन्धर्वराज विश्वावसु र ती सज्जन देवदूत दुवै गएर धर्मराजसँग विन्ती गरे : रुरुले आफनो आधी आयु अर्पित गरेको छ । कृपया प्रमद्वरालाई फेरि जीवित गराइदिनुहोस् ।
धर्मराजले तथास्तु भन्नासाथ ती सुन्दरी निद्राबाट बिउँझे जसरी स्वस्थ रुपमा जुरुक्क उठिन् ।
त्यसपछि सबै प्रसन्न भए । आफ्नी प्रियतमा प्रमद्वरासँग रुरुको धूमधामसँग बिहे भयो । उनीहरु परमसुखका साथ आनन्दमय रसिलो दाम्पत्यजीवन बिताउन लागे ।
तर रुरुमा एउटा ठूलो परिवर्तन आयो । उनी सधैँ एउटा बलियो र लामो डण्डा लिएर हिँड्न थाले । सर्प देख्यो कि ठटाइहाल्ने । बाँकी न राख्ने । समस्त सर्पजातिमाथि उनलाई भयंकर क्रोध हुन लाग्यो ।
….
एक दिनको कुरा हो, रुरु त्यस दिन एउटा विशाल वनमा गएका थिए । त्यहाँ उनले डुण्डुभ जातिको एउटा बूढो सर्पलाई देखे । त्यसलाई देख्नासाथ उनलाई झनक्क रिस उठिहाल्यो र उनले डण्डा उजाइहाले । तर, अचम्म भयो , तत्कालै मनुष्यको बोलीमा त्यस डुण्डुभले भन्योः
हे तपोधन, मैले तपाइँको के अपराध गरेको छु र तपाइँ यति क्रुद्ध भएर ममाथि आक्रमण गर्न लाग्दै हुनुहुन्छ ?
उनले भनेः मेरी प्राणप्रिया प्रमद्वरालाई तँजस्तै एउटा दुष्ट साँपले डसेर मारीसकेको थियो , बडो यत्नले बल्ल उनलाई बचाइयो । त्यसै बेला मैले प्रतिज्ञा गरेँः आजदेखि देखेजति सर्पलाई म बाँकी राख्तिनँ । आज अब तेरो पालो ।
डुण्डुभले भनेः सर्प सर्प सबै एकै हुँदैनन् नि , ती अरु नै सर्प हुन् जसले मान्छेलाई डस्छन् , साँपको आकृतिमात्र देखेर यसरी मारीहाल्नु त ठीक भएन नि । हामी डुण्डुभ मान्छेलाई कहाँ ठुँग्छौं र ?
यो कुरा सुनेर रुरुले आफ्नो डण्डा तल झारे र शान्त भए । अनि त्यसलाई सोधेः
यस्तो मानिसको बोली बोल्ने तिमी साँच्चिकै सर्प तो होइनौ , भन त को हौ ?
अनि डुण्डुभले भन्योः हो, वास्तवमा म पूर्वजुनिमा सहस्रपाद नाम गरेको ऋषि थिएँ । एकजना ब्राह्मणको शापले गर्दा मैले यो सर्पयोनि लिनुपरेको हो ।
रुरुले सोधेः ओहो ! अब मलाई भन त, तिनले किन तिमीलाई शाप दिए , अनि तिमीले कहिलेसम्म यस योनिमा रहनुपर्नेछ ?
अनि त्यस डुण्डुभ सर्पले आफ्नो वृत्तान्त यसरी कहन लाग्योः
हे बाबु, पूर्वजुनिमा खगम नामले चिनिएको एक जना प्रसिद्ध ब्राह्मण मेरो मित्र थियो । ऊ तपोबलले सम्पन्न एवं कठोर वचन बोल्ने स्वभावको थियो । एक दिन ऊ अग्निहोत्रमा लागेको थियो । मैले उसलाई तर्साउन सुकेक घाँसका त्यान्द्राहरु बाटेर सर्पजस्तै बनाएँ र उसलाई तर्साएँ ,तर ऊ त डरले कालोनीलो भयो र तत्काल बेहोश पनि भइगयो । होशमा आएपछि त्यस सत्यवादी र कठोरव्रती तपस्वी ब्राह्मणले रीसले आगो भएर भन्योः तैँले मलाई तर्साउन जसरी शक्तिहीन सर्प बनाइस् , म तँलाई शाप दिन्छु, तँ पनि तेस्तै शक्तिहीन तर्साउने सर्पको जुनि पाएस् ।
मलाई उसको तपोबल र सामथ्र्यका वारेमा कुनै सन्देह थिएन । मैले उससँग माफी मागेर विनम्रभावले भनेंः त्यति ठूलो शाप मलाई नदेऊ न ! मैले त तिमीसँग यसो ख्याल–ख्याल गर्न मात्र पो खोजेको थिएँ त ।
उसले भन्योः मैले भने पछि भनें भनें , मेरो वचन झूट्टा हुन सकदैन । तैपनि सुन् , भविष्यमा प्रमतिका पुत्र रुरु हुनेछन् , तिनको दर्शन पाएपछि तेरो सर्पयोनि छुट्नेछ ।
अनि फेरि डुण्डुभले भन्योः मलाई लाग्छ तपाइँ त्यही रुरु हुनुहुन्छ । अब म सर्पयोनि छोडेर आफ्नो वास्तविक रूपमा आएर तपाइँलाई केही कुरा भन्दछु सुन्नुहोस् ।
यति भनिसकेपछि तत्काल त्यस डुण्डुभ सर्पले आफ्नो सर्परूप त्यागिदियो र त्यो एक भव्य महर्षि सहस्रपादका रूपमा प्रकट भयो । उनी भन्न लागेः
समस्त प्राणीहरुमा सर्वश्रेष्ठ ए ब्राह्मणदेव ! ब्राह्मण भएर कसैको हिंसा गर्नुहुँदैन । सौम्य स्वभावको हुनुपर्दछ । वेदवेदांगको विद्वान् र सवैलाई अभयदान दिन सक्ने हुनुपर्दछ । अहिंसा, सत्यभाषण, क्षमा र वेदाध्ययन यिनै हुन् ब्राह्मणका उत्तम धर्म । क्षत्रियको जस्तो स्वभाव तिमीले लिनुहुँदैन । हे रुरु ! दण्डधारण, उग्रता र प्रजापालन यी सब क्षत्रियका धर्म हुन् ।
हेर रुरु, म तिमीलाई भन्छु : पहिले राजा जनमेजयको यज्ञमा पनि सर्पको बडा भारी हिंसा भएको थियो । हे ब्राह्मणवर, त्यस यज्ञमा बलवीर्यशाली वेदवेदांगपारंगत विद्वान् विप्रवर आस्तीक नामक ब्राह्मणले भयभीत सर्पहरुको प्राणरक्षा गरेका थिए ।
रुरुले सोधे : त्यो कसरी ?
हे रुरु, कथावाचक मुनिहरुको मुखबाट तिमीले त्यो कथा सुन्नेछौ ।
यति भनेर सहस्रपाद मुनि त्यहाँबाट अन्तर्धान भए ।
रुरु छक्क परेर हेरेको हेर्यै भए ।
….
अब त्यो कथा अर्को एपिसोडमा ।
…
महाभारत आदिपर्वबाट ।
सनतकुमार , अक्षरालय । २०८० साल चैत्र १६गते शुक्रवार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।