मृगवेषधारी किंदम मुनिको शापले सम्भोग–कातर बनेका महाराज पाण्डु सन्तान–हीनताको दंशले व्याकुल बने । अनि, उनले आफ्नी प्रिय पत्नी कुन्तीलाई अनुनय–शैलीमा कुनै सुयोग्य पुरुषसँग समागम गरेर आफूलाई पुत्रवान् बनाउने आदेश दिए । आफ्ना प्रियतम पाण्डुका कुरा सुनेर गहन सोचमा डुबेकी कुन्तीले किञ्चित् लज्जा–मिश्रित मन्द–स्वरमा भनिन् :

हे महाराज, समग्र मनोयोगले हजुरको प्रिय कार्य सम्पन्न गर्नु नै मेरो अभीष्ट हो । आज म हजुरलाई पहिले, मेरो एउटा रहस्यमय जीवन–कथा सुनाउँछु– त्यस वेला म बाल्यावस्थामै थिएँ । मलाई अतिथि–सत्कार गर्ने जिम्मा दिइएको थियो । एक दिन कठोर–व्रती, उग्र–स्वभावानुगामी, निगूढ–निश्चयी, सुलभ–कोप ब्राéण दुर्वासा हाम्रा घर आउनुभयो । मैले उहाँलाई सावधान–मनसा समग्र–भावले सेवा–सुश्रूषा गरेर सन्तृप्त तुल्याएँ । मेरो सेवाबाट प्रसन्न भएका ऋषि दुर्वासाले वरदानका रूपमा मलाई एउटा सिद्ध मन्त्र दान गर्दै भन्नुभयो : तिमी यस मन्त्रद्वारा जुन देवतालाई आह्वान गर्नेछौ– ती देवता तिम्रा सामु प्रकट हुनेछन्, उनका कृपाले तिमीले पुत्र प्राप्त गर्नेछौ । हे राजन्, आज ती तेजस्वी ब्राह्मणले दिएको मन्त्र उपयोग गर्ने अवसर आएको छ । उक्त सिद्ध–मन्त्रको विधिवत् प्रयोग गरी देवताको आवाहन गर्नाले सन्तानहीनता–जनित शोक अवश्य दूर हुनेछ । महाराज, म हजुरको अभिलाषा सम्पन्न गर्नाका निम्ति उक्त मन्त्रको सदुपयोग गर्न तैयार छु । भन्नुहोस्, कुन देवतालाई आवाहन गरूँ ?

कुन्तीका वचन सुनेर पाण्डुका मनमा ओइलाइसकेको आशालता फेरि मानौं नवजीवन पाएर लहलहाउन थाल्यो । प्रसन्न–भावमा उनले भने :

हे प्रिये, म धन्य छु । तिमीले मेरो उद्धार गर्‍यौ । ती तपोपूत महर्षिलाई शत शत नमन ! यस जगत्मा सबैभन्दा गौरवमय वस्तु भनेको धर्म नै हो । धर्म छ भने सबै परिपूर्ण हुन्छ, त्यसैले हे भद्रे, तिमी तिनै धर्मका देवता स्वयं धर्मराजलाई आवाहन गर ।

कुन्तीले पनि ‘तथास्तु!’ भनेर विधिवत् धर्मराजलाई आवाहन गरिन् ।

तत्काल सूर्यसम–तेजस्वी धर्मराज विमानारुढ बनेर मुसुमुसु हाँस्दै आइपुगे र सोधे : भन कल्याणि ! म तिमीलाई के दिऊँ ? उनले दृढ–संकल्पका साथ भनिन् : प्रभो, मलाई पुत्र दिनुहोस् । उनले भने : तथास्तु! अनि, योगमूर्ति धारण गरेका धर्मराजसँग रोमाञ्चित हुँदै कुन्तीले एकान्त–समागम  गरिन् । समागम पश्चात् धर्मराज अन्तर्हित भए । नभन्दै, धर्मराजका कृपानुरूप तन्वंगी कुन्तीले यथा–समय एक पुत्र जन्माइन् ।

त्यस दिन चन्द्रमा ज्येष्ठा नक्षत्रमा थिए, सूर्य तुला राशिमा विद्यमान थिए, शुक्लपक्षको पूर्णा नाम गरेको पञ्चमी तिथि थियो, उत्तम नक्षत्र अभिजित्को आठौं मुहूर्त थियो, त्यसै वेला कुन्तीले छोरो पाइन् । तत्क्षण आकाशवाणी भयो :

यो श्रेष्ठ पुरुष धर्मात्माहरूमा अग्रगण्य हुनेछ । पराक्रमी र सत्यवादी राजा हुनेछ । यसको नाम युधिष्ठिर प्रख्यात हुनेछ । यो पुरुष यशस्वी, तेजस्वी एवम् सदाचारी हुनेछ ।

यस्ता धर्मात्मा पुत्र पाएर पाण्डु धन्य भए । उनको उत्साह बढ्यो । अनि, कुन्तीलाई आग्रहपूर्वक भने : अब फेरि अर्को छोरो पनि जन्माऊ! हे प्रिये, क्षत्रियका लागि बल नै सर्वोपरि हो भनिएको छ । यज्ञमा अश्वमेध, प्रकाशवान्मा सूर्य, मनुष्यहरूमा ब्राéण एवं बलमा वायु सर्वश्रेष्ठ मानिन्छन् । त्यसैले हे पृथे, तिमी अब वायुदेवको आवाहन गर ।

प्रियतम पाण्डुको आज्ञा शिरोपर गरी कुन्तीले विधिपूर्वक मन्त्रानुष्ठान सम्पन्न गरी वायुदेवलाई आवाहन गरिन् । महाबली वायु मृगमा आरूढ भएर प्रकट भए । अनि भने : भन कुन्ती, तिमीलाई के दिऊँ ?

उनले भनिन् : हे सुरश्रेष्ठ, मलाई एउटा यस्तो पुत्र दिनुहोस् जो महाबली होस्, विशालकाय होस्, सबैको घमण्ड चूर–चूर गर्ने होस् । वायुदेवले भने : तथास्तु! अनि कुन्तीसँग एकान्त–समागम गरेर वायुदेव अन्तर्हित भए । कुन्तीले यथासमय छोरो जन्माइन् । त्यो हेर्दै भयंकर थियो, महाबली र पराक्रमी थियो । त्यस पुत्रलाई लक्ष्य गर्दै आकाशवाणी भयो : यो कुमार समस्त बलवान्हरूमध्ये सर्वश्रेष्ठ हुनेछ । नभन्दै भीमसेन जन्मनासाथ एउटा अद्भुत घटना घट्यो । छोरो जन्मिएको दशौं दिन कुन्ती उसलाई लिएर एउटा सुन्दर सरोवरका सन्निकट स्नान गरेर देवपूजाका लागि जाँदै थिइन् । त्यसैवेला अचानक एउटा भयंकर बाघ गुफाबाट निस्किएर उनलाई झम्टन लाग्यो । कुन्ती आत्तिइन् । उनका हातबाट छोरो चिप्लिएर झर्‍यो र चट्टानमा बज्रियो । अचम्म के भयो भने– त्यस बालकको वज्रतुल्य शरीरको आघातले चट्टान नै चूर्ण हुनपुग्यो । अझ त्योभन्दा पनि ठूलो अचम्म के भयो भने– उसले त्यस भयंकर बाघउपर धनुष खिँचेर तीनवटा बाण चलायो र त्यसलाई पल–भरमा धराशायी तुल्याइदियो । यो चमत्कार देखेर महाराज पाण्डु परम–विस्मयमा परे ।

जब चन्द्रमा मघा नक्षत्रमा, बृहस्पति सिंह लग्नमा, सूर्यदेव मध्याह्नमा, अनि त्रयोदशी तिथि मैत्र मुहूर्तमा थिए त्यसै शुभ वेलामा महाबली वायुपुत्र भीमसेनको जन्म भएको थियो । ठीक त्यसै बेला उता हस्तिनापुरमा गान्धारीको प्रथम पुत्र दुर्योधन पनि जन्मिएको थियो ।

यस्तो शक्तिशाली पुत्र प्राप्त गरेर पाण्डुको मन परम–प्रसन्न त भयो, तर सन्तृप्त भएन । उनी फेरि विचार गर्न थाले । यो समस्त जगत् दैव र पुरुषार्थमा अवलम्बित छ । दैव तब मात्र सफल हुन्छ जब यथासमय मनुष्यले पुरुषार्थ सम्पन्न गर्दछ । अनि, मनमनै एक दृढ–निश्चय गरेर उनी स्वर्ग–मत्र्य–पाताल समस्त लोकमा विजय प्राप्त गर्न समर्थ तेजस्वी र पराक्रमी पुत्रको आकांक्षाले देवराज इन्द्रको उपासनामा लागे । धर्मात्मा पाण्डुले लामो समयसम्म कठोर तपस्या गरे । आखिरमा इन्द्रदेवले प्रसन्न भएर दर्शन दिंदै भने : हे राजन्, म तिमीलाई यस्तो पुत्र दिन्छु जो त्रिभुवन–विख्यात पराक्रमी हुनेछ । त्यसले तिम्रो सकल मनोरथलाई पूर्ण गर्ला ।

पाण्डुले हर्षविभोर हुँदै कुन्तीलाई भने : हे कल्याणी! स्वयं देवराज इन्द्रले हामीमाथि अनुकम्पा गर्नुभएको छ र स्वयं–समान अतुल बल–विक्रमशाली पुत्र प्राप्त गर्ने वर दिनुभएको छ । अब तिमी देवराज इन्द्रलाई आवाहन गर अनि उहाँका अनुकम्पाले उत्तम पुत्र प्राप्त गर ।

पतिदेवको आज्ञा शिरोपर गर्दै विधिवत् मन्त्रोच्चारण गरी कुन्तीले देवराज इन्द्रको आवाहन गरिन् । देवराज इन्द्र प्रकट भए । कुन्तीको अभिलाषाप्रति तथास्तुको वर दिए । कुन्तीले देवराज इन्द्रसँग समागम गरिन् । यथासमय पुत्र जन्मियो ।

फाल्गुन मासमा, दिवा समयमा, पूर्वा–फाल्गुनी नक्षत्र र उत्तरा–फाल्गुनी नक्षत्रको सन्धि–वेलामा त्यो बालक जन्मिएकाले उसको नाम फाल्गुन रहन गयो, जो कालान्तरमा अर्जुन भन्ने लोकविख्यात नामबाट चिनिए । त्यसै वेला यस्तो गम्भीर आकाशवाणी भयो : हे कुन्ती! यो बालक कार्तवीर्य अर्जुनका समान तेजस्वी, भगवान् शिवका समान पराक्रमी, देवराज इन्द्रसमान अजेय अनि वामन–रूप–धारी स्वयं विष्णुसमान त्रिलोक–विजयी हुनेछ । यस वीर पुत्रले मद्र, कुरु, सोमक, चेदि, काशी तथा करुष आदि सकल देशलाई वशीभूत गरेर कुरुवंशको यश बढाउनेछ । उत्तर दिशाका समस्त राजाहरूलाई जितेर अनन्त धनराशि ल्याउनेछ । यसका बाहु–बलले खाण्डव–वनमा अग्निदेवले समस्त प्राणीहरूको मेदालाई आस्वादन गरेर सन्तृप्ति–लाभ गर्नेछन् । यसले सकल दिव्यास्त्र हासिल गर्नेछ । यो सर्वश्रेष्ठ धनुर्धर हुनेछ ।

आकाशवाणीपछि समस्त देव–देवीगण, अप्सरागण, समस्त ऋषिगण, आठै वसुगण, एकादश रुद्रगण, मरुद्गण, विश्वेदेवगण, सिद्ध–साध्यगण, नागगण आदि सबै त्यहाँ समुपस्थित भएर त्यस बालकको अभिनन्दन गर्न थाले । यो चमत्कार देखेर त्यस पर्वतमा रहेका सकल ऋषिगण महाराज पाण्डु र महारानी कुन्तीलाई परम आदर–भावले हेर्न थाले । सर्वत्र हर्षेाल्लासको वातावरण छायो । पाण्डु–दम्पतीका खुशीको पारावार रहेन ।

तर, महाराज पाण्डुको पुत्र–लोभ अझ बढ्दै गयो । उनी कुन्तीका सामु फेरि मुख खोल्न मात्र के लागेका थिए, कुन्तीले उनलाई रोक्दै भनिन् : आर्यपुत्र, मन्त्रानुष्ठान द्वारा तीनभन्दा बढी सन्तान उत्पन्न गर्ने शास्त्राज्ञा छैन । यस्ता विधिले तीनभन्दा बढी चौथो सन्तान उत्पन्न गर्ने स्त्रीलाई स्वैरिणी भनिएको छ, पाँचौं सन्तान उत्पन्न गर्ने स्त्रीलाई कुलटा भनिएको छ । हे विद्वान्, हजुर शास्त्रज्ञ हुँदा–हुँदै पनि प्रमाद–वश अब मलाई सन्तानोत्पादनका लागि कृपया आज्ञा नदिइबक्सेला ।

अन्त्यमा हारेर पाण्डुले भने : तथास्तु प्रिये! तिमीले भनेको कुरा अक्षरशः सत्य हो । धर्मशास्त्रको यस्तै मत छ ।

अनि, बल्ल कुन्ती लामो श्वास फेर्दै आश्वस्त बनिन् ।

यता कुन्तीका तीन पुत्र भए, अनि उता गान्धारीका सय पुत्र ।

तर, आफूचाहिं निःसन्तान हुनुपरेकाले पीडित बनेकी माद्रीले एकपल्ट महाराज पाण्डुलाई एकान्तमा भनिन् :

हे परन्तप महाराज, जेठानीहरू सन्तानवती भए, तर मचाहिँ सन्तान–हीना । मलाई ज्यादै खिन्नताको बोध हुन्छ । कुन्तीले मन्त्र–बलका प्रभावले छोरा जन्माइन् । हे महाराज, यदि हजुरले दिदीलाई प्रेरित गर्नुभए मैले पनि पुत्रवती हुने सौभाग्य पाउने थिएँ । सौता भएकाले आफैं यो कुरा निवेदन गर्नामा मलाई हीनता–बोध हुन्छ ।

महाराज पाण्डुले माद्रीको मनोवेदनालाई हृदयंगम गरे, अनि कुन्तीलाई भने : हे पृथे, जसरी ऋषि–प्रदत्त मन्त्रका प्रभावले तिमीले पुत्र–हीनताको नौका पार गर्‍यौ त्यसरी नै माद्रीलाई पनि पार लगाइदेऊ, उनी सन्तानको अभावमा दीन–हीन बनेकी छिन् ।

अनि कुन्तीले महाराज पाण्डुको आज्ञा शिरोपर गर्दै, माद्रीलाई सस्नेह एकान्तमा लगेर ऋषि दुर्वासाद्वारा प्रदत्त त्यही मन्त्रको शिक्षा दिइन् र त्यसको प्रयोग–विधि पनि बताइन् । माद्रीले पनि विधिवत् शौच–स्नानादि सम्पन्न गरेर श्रद्धाका साथ शुभ वेलामा एकान्तमा बसेर एकाग्र–भावले मन्त्रानुष्ठान सम्पन्न गर्दै अश्विनीकुमार–द्वयलाई स्मरण गरिन् । उनलाई चकित तुल्याउँदै ती दुवै देव–भिषग् प्रसन्न–मुद्रामा सामुन्ने प्रकट भए र वर माग्न भने । माद्रीले पुत्र–प्राप्तिको वर मागिन् । ती दुवैले माद्रीसँग एकान्त सहवास गरे र अन्तर्धान लिए । तिनका कृपाले माद्रीका गर्भबाट यथासमय जुम्ल्याहा छोरा जन्मिए । तिनको नाम नकुल र सहदेवका रूपमा प्रख्यात भयो ।

तिनका विषयमा यस्तो आकाशवाणी भयो : यी दुवै बालक अश्विनीकुमार भन्दा पनि बढी बुद्धि, रूप र गुणले सम्पन्न बन्नेछन् ।

शतशृंगवासी समस्त ऋषिहरूले अभिनन्दन गर्दै कुन्ती र माद्रीबाट उत्पन्न ती देव–तेजोत्पन्न पुत्रहरूको नाम क्रमशः युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव राखिदिए । ती सबै क्रमशः प्रतिवर्ष एक–एक गरेर जन्मिएका थिए । एकभन्दा अर्को भाइ ठीक एक वर्ष कान्छो थियो । सबै भाइहरू पाँच संवत्सर झैं सुशोभित देखिन्थे ।

पाण्डुको मन भने झन्–झन् लोभी हुँदै गएको थियो । उनले कुन्तीलाई एक पटक फेरि माद्रीबाट मन्त्र–बलले सन्तान प्राप्त गराउन आग्रह गरे । कुन्तीले भनिन् :

हे महाराज, मैले उनलाई पहिले एक पुत्र प्राप्त गर्न भनेर मन्त्र दिएकी थिएँ । हेर्नुहोस् त– तिनी कति बाठी, एकै पटकमा दुई पुत्र मागिन् । म त छक्कै परें । अब फेरि मन्त्र–प्रयोग गरिन् भने त तिनका चारवटा सन्तान हुन्छन् । म त पूरै ठगिन्छु नि! त्यसैले हे राजन्, म अब हजुरसँग यही वर माग्दछु : अब उप्रान्त मलाई यस काममा कहिल्यै पनि न खटाइबक्सियोस् ।

यसरी महारानी कुन्तीले पाण्डुलाई वचनबद्ध बनाइन् ।

यसरी पाँच देव–पुत्र, महाराज पाण्डुका नाममा पाँच भाइ सन्तान : पञ्च–पाण्डवका रूपमा प्रख्यात भए ।

…………………………………

महाभारत, आदिपर्व, १२१ र १२२ अध्यायमा आधृत ।

२०८१ मंसीर २१ गते, शुक्रवार, विवाहपञ्चमी ।

ॐ अक्षरालयः ।