राजा द्रुपदले एकाबिहानै आफ्ना पुरोहितलाई दूत बनाएर सबै कुरा बुझ्न पाण्डवहरूको आवासतिर पठाए । उनीहरू एक जना कुम्हालेका स–सानो झुपडीमा डेरा गरेर, ब्राह्मणजातिको चिह्न धारण गरी, नचिनिने वेशभूषामा गुपचूप बसेका थिए ।  त्यहाँ ती पुरोहितको स–सम्मान स्वागत गरियो । पुरोहितले सोधे : हजुरहरूको परिचय पाउनका लागि महाराज द्रुपद व्यग्र हुनुहुन्छ । के हजुरहरू यशस्वी महाराज पाण्डुका पुत्र हुनुहुन्छ ?

युधिष्ठिरले भने : हे ब्रह्मन्, महाराज द्रुपदले राखेको शर्त बमोजिम आफ्नो कौशल देखाएर ती वीरले ती कन्यालाई प्राप्त गरेका हुन् । लरतरो व्यक्तिले त त्यो पुरुषार्थ देखाउन पक्कै सक्दैनथ्यो होला, त्यहाँ अरु कसैले पनि त्यो सामर्थ्य देखाउन सकेको थिएन पनि । यस स्थितिमा राजाले ढुक्क परे हुन्छ– उहाँकी छोरीको वरमाला सुयोग्य पुरुषकै कम्बु–कमनीय ग्रीवामा सुशोभित भएको छ ।

यति कुरा गर्दागर्दै एउटा राजकीय सन्देशवाहक आइपुगेर निवेदन गर्यो : राजभवनमा हजुरहरूका निम्ति राजकीय भोज आयोजित गरिएको छ । सेवाका लागि रथ हाजिर छ । हजुरहरू सवारी होस् ।

राजपुरोहितसँग विदा मागेर पञ्चपाण्डव रथारूढ भए र केही क्षणमा नै राजा द्रुपदका सामू आइपुगे । यथायोग्य अभिवादनादि शिष्टाचार–परम्परा विधिवत् सम्पन्न भयो । उनीहरूलाई उत्तम सिंहासनमा राखेर शुभ–स्वागत गरियो । पाँचै भाइ निःसंकोच साधिकार तत्–तत् आसनमा विराजमान भए । त्यसपछि सुन–चाँदीका पात्रमा उनीहरूलाई भव्य राजकीय भोजन प्रस्तुत गरियो ।

राजा द्रुपदले उनीहरूलाई चिन्न गजबको तरकीब निकालेका थिए । त्यहाँ विविध वस्तुहरूको रमणीय प्रदर्शनी गरिएको थियो । फलफूल, माला, आसन, गाई, डोरी, अन्न–बीज, कृषिका औजारहरू, ढाल, कवच, तरबार, घोडा, रथ, धनुर्बाण, शय्या, आसन र सुन्दर वस्त्रहरू पनि सजाइएको थियो । भोजन सम्पन्न भएपछि ती पाँचै भाइ अरु सबै सामग्रीहरूतिर समान्य भावले फगत् एक नजर दिएर, अन्त्यमा कौतूहलपूर्वक वीरोचित युद्धसामग्री राखिएको स्थानतिर गए र गहन अभिरुचिका साथ तिनको निरीक्षण गर्न थाले । यो वीर क्षत्रियोचित चरित्र–चेष्टा देखेर राजा द्रुपदले मनमनै निश्चय गरे : यी राजकुमारहरू महाराज पाण्डु र कुन्तीदेवीका नै पुत्र रहेछन् ।

अनि द्रुपदले ज्येष्ठभ्राता युधिष्ठिरलाई सोधे : तपाईंहरू को हुनुहुन्छ ? कुन वर्ण र जातिका हुनुहुन्छ ? यथार्थ परिचय दिनुभए म विधिवत् कृष्णाका विवाहको तैयारी गर्ने थिएँ ।

अनि युधिष्ठिरले पनि विधिवत् खुलेर सबैको परिचय दिंदै भने : राजन्, तपाईं निश्चिन्त हुनुहोस् । हामी पाण्डुपुत्र हौं, म युधिष्ठिर, यी भीमसेन, यिनी अर्जुन र यी दुई भाइ नकुल र सहदेव । माता कुन्ती कृष्णाका साथ आवासमा हुनुहुन्छ ।

यति कुरा सुनेर राजा द्रुपदका नयनयुगल हर्षाश्रुले परिपूरित भए । तिनले अत्यन्त स्नेह र सम्मानका साथ उनीहरूलाई एउटा महनीय महलमा निवासको व्यवस्था गरिदिए ।

शुभ साइतका दिन राजा द्रुपद आफ्ना पुत्रहरूका साथमा युधिष्ठिरका समक्ष समुपस्थित भएर भन्न लागे : आज शुभ घडीमा महाबाहु अर्जुनले मेरी प्रिय पुत्री कृष्णाको पाणिग्रहण गरुन् ।

यो कुरा सुनेर युधिष्ठिरले भने : राजन्, विवाह त मेरो पनि गर्नुपर्यो नि ।

द्रुपदले भने : हुन्छ, तेसो भए हजुर नै विधिवत् कृष्णाको पाणिग्रहण गर्नुहोस् ।

फेरि युधिष्ठिरले भने : होइन, द्रौपदी त हामी पाँचै भाइकी रानी हुनेछिन् । हाम्री परमपूज्या माताको यस्तै आज्ञा छ । धार्मिक विधिपूर्वक ज्येष्ठानुक्रमले हामी सबैसँग कृष्णाको विवाह होस्– यही हाम्रो चाहना हो ।

यो कुरा सुनेर राजा द्रुपद छक्क परे– यस्तो पनि हुन्छ र ? भनेर । अब के गर्ने– भन्ने विषयमा उनी किंकर्तव्य–विमूढ बन्न लागेका थिए । त्यसै वेलामा दैवेच्छावश महर्षि वेदव्यास अनायास त्यहाँ आइपुग्नुभयो ।

…..

सबैले उठेर उहाँलाई परम श्रद्धाभावले स्वागत अभिवादन गरे । राजा द्रुपदले उत्तम तवरले सत्कार गर्दै श्रद्धेय कृष्ण–द्वैपायनलाई स्वर्णासनमा विराजमान गराए । अनि आजको समस्या उहाँका सामू पेश गरे । वेदव्यासले भन्नुभयो :

अस्मिन् धर्मे विप्रलब्धे लोकवेदविरोधके

यस्य यस्य मतं यद् यच्छ्राेतुमिच्छामि तस्य तत् । मभा, आप, १९५अ, ६श्लो ।

यस्तो लोक र वेदका विरुद्ध देखिने धर्मको अस्पष्टतामाथि प्रथमतः जस–जसको जे–जे मत छ क्रमशः त्यो म सुन्न चाहन्छु ।

राजा द्रुपदले भने : पाँच जना वरसँग एउटी कन्याको विवाह ? यो त सरासर अधर्म हो । शास्त्रविरुद्ध हो । आजसम्म आर्यहरूको शिष्ट परम्परामा यस्तो कहीं कतै पनि देखिएको छैन ।

राजकुमार धृष्टद्युम्नले भने : यो कस्तो कुरो हो ? कुनै पनि सदाचारी दाजुले आफ्नी भाइबुहारीसँग पनि कतै समागम गर्न सक्छ र ? हुन त धर्मस्य सूक्ष्मा गतिः धर्मको गति सूक्ष्म हुन्छ भन्छन्, तथापि मेरी प्रिय बहिनी कृष्णा पाँच–पाँच जना पुरुषकी धर्मपत्नी बन्ने कुरामा म पूर्णतः असहमत छु ।

युधिष्ठिरले भने : मेरी वाणीले कदापि झूठ बोल्दिनन्, अतः मेरो बुद्धि कहिल्यै पनि अधर्ममा प्रवृत्त हुँदैन । परन्तु, यस विवाहका विषयमा मेरो मन समर्थनमा प्रवृत्त भइरहेछ । त्यसैले म निःसन्देह भन्दछु : यसरी विवाह गर्नु किमार्थ अधर्म होइन । पुराणमा पनि हामीले सुनिआएका छौं : धर्मपरायणा जटिला गौतमीले सातजना ऋषिहरूसँग विवाह गरेकी थिइन् । त्यसै गरी कण्डु मुनिकी पुत्री वाक्र्षीले एकै नामका तपोनिष्ठ दश प्रचेता दाजुभाइहरूसँग विवाह गरेकी थिइन् । हे धर्मविद्, गुरुजनको आज्ञापालन नै धर्म हो भनिएको छ, अनि गुरुजनमा मातालाई सर्वोच्च स्थान दिइएको छ । हाम्री पूज्या माताको आज्ञा छ : भिक्षासरह यिनलाई पनि तिमीहरू सबैले उपभोग गर । त्यसैले कृष्णाको विवाहसम्बन्ध हामी पाँचै भाइसँग सम्पन्न हुनु नै परमधर्म हो– भन्ने मेरो निश्चय छ ।

धर्मराज युधिष्ठिरका यस्ता कुरा सुनेपछि सबै किंकर्तव्यविमूढ जस्ता भएको देखेपछि महर्षि वेदव्यासले राजा द्रुपदलाई विशेष मन्त्रणा गर्न भनेर राजभवनभित्र एकान्त स्थानमा लिएर जानुभयो, अनि उनलाई यो अद्भुत आख्यान सुनाउनुभयो –

       हे पाञ्चालनरेश, परापूर्वकालमा नैमिषारण्य क्षेत्रमा देवताहरू यज्ञ गर्दै थिए । स्वयं सूर्यपुत्र यम यज्ञ गराउँदै थिए । यज्ञमा दीक्षित भएकाले केही दिनका लागि यमराजले प्राणीमात्रको प्राणहरण गर्ने कामबाट छुट्टी लिएका थिए । परिणामतः मानिसहरू अमर हुन थाले, जनसंख्या दिनानुदिन तीव्रतर रूपमा बढ्न थाल्यो । चन्द्रमा, इन्द्र, कुबेर, वसुगणहरू सबै आत्तिएर ब्रह्माका समीपमा पुगे अनि सवै बेलिविस्तार लगाए र भने :

यसरी मानिसहरू अमर हुन थाल्ने हो भने तिनीहरू र हामीहरूमा के फरक रह्यो र ?

ब्रह्माले भन्नुभयो : यसरी न आत्तिओ न, यज्ञ पूरा भएपछि त यमराजले आफ्नो काम सम्हालिहाल्छन् नि ।

उहाँका वचनले आश्वस्त भएर ती सबै बाटो लागे अनि घुम्दै–फिर्दै त्यही यज्ञस्थलमा आइपुगे ।

एकदिन उनीहरू गंगास्नान गर्न गएका बेला भागीरथीका जलप्रवाहमा एउटा दिव्य सुनौलो कमल प्रवाहित हुँदै आएको देखे । सबै छक्क परे । देवराज इन्द्र कौतूहलका साथ त्यसको उद्गम स्रोत पत्ता लगाउन गंगाजीको मुहानमा पुगे । त्यहाँ उनले पानी भर्न आएकी, अग्नि–शिखातुल्य तेजस्विनी एउटी दिव्य सुन्दरी युवती रोइरहेको देखे । उनका एक–एक अश्रुबिन्दु नै जलमा झर्नासाथ स्वर्णकमल बन्दा रहेछन् । इन्द्रले सोधे : हे भद्रे, तिमी किन रोएकी ?

उनले भनिन् : हे देवराज, म एउटी अभागिनी अबला हुँ । मेरा पछि–पछि आउनुहोस् त, अनि थाहा पाइहाल्नुहुनेछ– म किन रोएकी हुँ ?

अनि इन्द्र पछि–पछि लागे । जाँदा जाँदा हिमालय पर्वतका शिखरमा पुगेपछि उनले त्यहाँ एउटा यस्तो अद्भुत दृश्य देखे :

एक जना परमसुन्दर युवक सिद्धासनमा बसेका छन्, उनका सामुन्ने एउटी परम रमणीया युवती छन् अनि ती युवक तिनै युवतीसँग क्रीडाविनोद गरिरहेका छन् ।

आफ्ना उपस्थितिको कथमपि वास्ता नगरी उनीहरू प्रणयक्रीडामा तन्मय भएको देखेर क्रुद्ध बन्दै इन्द्रले भने : ए महानुभाव, तिमी को हौ ? यो सारा जगत् मेरो आज्ञाधीन छ । म यस जगत्को ईश्वर हुँ ।

क्रोधोद्दीप्त इन्द्रलाई पुलुक्क हेर्दै ती दिव्य युवक मुसुक्क हाँसे । उनको नजर पर्नासाथ देवराज इन्द्रको शरीर स्तम्भित भयो र उनी सुकेको काठको ठुटोजस्तो निश्चेष्ट भए । जब त्यस दिव्य युगलको प्रणयक्रीडा नितरां सुसम्पन्न भयो अनि ती युवकले तिनै रुन्ची केटीलाई अह्राए : ए नानी, ती इन्द्रलाई यहाँ मेरा छेउमा लिएर आऊ त, ताकि यिनमा आइन्दा यस्तो अभिमान नआओस् ।

हवस् भनी तिनले नजीकै गएर इन्द्रलाई छोएकी मात्र के थिइन्– सारा अंग शिथिल भएर इन्द्र त त्यहीं जमीनमा पो ढले । अनि दिव्य युवकरूपी भगवान् रुद्रले इन्द्रलाई भन्नुभयो : बाबु, अब उपरान्त कदापि यस्तो अभिमान नगर्नू । तिमी निकै बलिया र पराक्रमी छौ । अब यो गुफाको ढोकामा रहेको पर्वतराजलाई हटाएर त्यहाँभित्र पस त । त्यहाँ सूर्योपम तेजस्वी तिमीजस्ता अरु पनि धेरै इन्द्रहरू रहने गर्दछन् ।

नभन्दै, पर्वतराजको कपाट खोलेर हेर्दा त त्यहाँ आफूजस्तै तेजस्वी अरु चारवटा इन्द्र पो रहेछन् । म पनि यिनीहरूकै जस्तो दुर्दशामा त पर्ने होइन– भनेर उनी डराउँदै थिए, रुद्रदेवले आँखा तर्दै क्रुद्ध भएर भन्नुभयो : हे शतक्रतु, तिमीले मूर्खतावश मेरो अपमान गर्यौ, अब तिमी पनि तेतै बस ।

डरले थरथर काम्दै हतारहतार रुद्रका पाउ परेर उनले माफी मागे । रुद्रले भन्नुभयो : तिमीहरूजस्ता बेहोरा नभएकाहरूले यहाँ यस्तै भोग्नुपर्छ । तिमी गुफामा पस । तिमीहरू सबै भविष्यमा यस्तै हुनेवाला छौ । तिमीहरू सबैले मनुष्ययोनिमा प्रवेश गरेर अनेक दुःसह कर्म गर्दै, कैयौंलाई मारिसकेपछि पुनः शुभकर्मद्वारा पुण्य उपार्जन गरेपछि मात्र पुण्यात्माहरूका निम्ति योग्य इन्द्रलोक आउन पाउनेछौ । मैले जे भनें– त्यो सब तिमीले गर्नै पर्नेछ । अरु पनि नाना प्रयोजनले तिमीहरूले मनुष्ययोनिमा जानै पर्नेछ ।

भूतपूर्व इन्द्रहरूले भने : हवस् । हे भगवन्, हामी हजुरको आज्ञानुसार देवलोकबाट मनुष्यलोकमा जाऔंला, तर त्यहाँ मोक्षको साधन दुर्लभ हुने गर्दछ । कृपया हामीलाई धर्म, वायु, इन्द्र तथा अश्विनीकुमार–द्वयकी आमाको गर्भमा स्थापित गरिदिनुहोला । हामी दिव्यास्त्रद्वारा युद्ध सम्पन्न गरेर पुनः देवलोकमा आउन पाऔं ।

तिनको कुरा सुनेर अहिलेका इन्द्रले भने : हे भगवन्, म आफ्नै वीर्यले आफ्नो अंशभूत पुरुषलाई देवकार्यार्थ समर्पित गर्नेछु । त्यो पाँचौं हुनेछ । विश्वभुक्, भूतधामा, शिबि, शान्ति यी चार र पाँचौं तेजस्वी हुनेछन् ।

रुद्रदेवले तथास्तु भन्नुभयो र तिनै रुन्ची युवती– जो स्वर्गलोककी लक्ष्मी थिइन्– तिनैलाई मनुष्यलोकमा ती पाँचै इन्द्रकी पत्नी हुने पनि निश्चित गरिदिनुभयो । अनि ती सबैलाई लिएर रुद्रदेव भगवान् नारायणका समीप पुग्नुभयो । उहाँले पनि तिनीहरूका निमित्त रुद्रदेवका आज्ञामा नै सहमति जनाउनुभयो । यसरी ती पाँचै इन्द्रहरू पृथ्वीलोकमा अवतीर्ण भए ।

त्यसैबेला भगवान् नारायणले आफ्ना शिरबाट दुइटा केश निकाल्नुभयो एउटा सेतो र अर्को कालो । तिनै केश यदुवंशका दुई स्त्री रोहिणी र देवकीमा प्रविष्ट भए अनि रोहिणीबाट बलराम र देवकीबाट श्रीकृष्णको जन्म भयो ।

यसरी उत्तरवर्ती हिमालयका गुफामा बन्दी बनाइएका पहिलेका चार इन्द्रहरू नै चार पराक्रमी पाण्डुपुत्रहरू हुन् र पछिल्ला पाँचौं इन्द्र नै वीरवर सव्यसाची अर्जुन हुन् । त्यसै गरी दिव्यरूपा स्वर्गलक्ष्मी नै कृष्णा हुन् जो पहिले नै यी पाँचै भाइका पत्नी बन्नकै लागि यस धराधाममा अवतीर्ण भएकी हुन् । नत्र यज्ञवेदीबाट यस्ती दिव्य नारी कसरी प्रकट हुन्थिन्– जसको मोहक सुगन्ध कोशौं परसम्म मगमगाइरहन्छ ।

यति भनिसकेर ब्रह्मर्षि वेदव्यासले आफ्ना तपस्याका अमोघ प्रभावले राजा द्रुपदलाई दिव्यदृष्टि प्रदान गर्नुभयो । तत्काल राजाले पञ्चपाण्डव र कृष्णाको दिव्यरूप देखे । द्रुपदका सामू पाँच दिव्य रूपधारी इन्द्रहरूका साथ देदीप्यमान स्वयं स्वर्गलक्ष्मी दिव्य नारीका रूपमा झलझलाकार भए । प्रकृतिस्थ भएपछि वेदव्यासका चरणमा पर्दै गद्गद्भावले राजा द्रुपदले भने : भगवन्, हजुरको परमकृपा ।

व्यासले भन्नुभयो : हे राजन्, कृष्णाको एउटा अर्को जन्मवृत्तान्त पनि सुन्नुहोस् । पूर्वजन्ममा यिनी मुनिकन्या थिइन् । सती साध्वी एवं रूपयौवनशालिनी युवती हुँदाहुँदै पनि यिनले योग्य पति पाउन सकिनन् । कठोर तपस्याद्वारा महादेवलाई प्रसन्न तुल्याएपछि यिनले वारंवार– पति पाउँ, पति पाउँ– भनेर वर मागिन् । फलस्वरूप आशुतोष महादेवले पनि उनलाई– पाँच पति पाऊ– भनेर वर दिनुभयो । तिनै मुनिकन्या यस जन्ममा कृष्णा बनेर तपाईंकी पुत्रीका रूपमा आएकी हुन् । यसरी हे राजन्, यी पञ्चपाण्डव पाँचै जना इन्द्र हुन् र कृष्णा यिनीहरूकी दिव्यांगना पत्नी । मैले यिनको पुराकथा सुनाइहालें, अब तपाईंलाई जे ठीक लाग्दछ– त्यही गर्नुहोस् ।

ब्रह्मर्षि वेदव्यासका दिव्य वचन सुनेर अन्त्यमा राजा द्रुपदले– विधिको विधान यस्तै रहेछ– भन्ने बुझी प्रसन्न–भावले पञ्चपाण्डवसँग द्रौपदीको हर्षोल्लासका साथ विवाह गरिदिने निश्चय गरे ।

……

व्यासले अन्त्यमा धर्मराज युधिष्ठिरतिर फर्किएर भन्नुभयो : हे पाण्डुनन्दन, आज चन्द्रमा पुष्य नक्षत्रमा जाँदै छन् । यही शुभ मुहूर्तमा पहिले तिमी नै कृष्णाको पाणिग्रहण गर ।

अनि, राजा द्रुपदले भव्यतापूर्वक विवाहोत्सवको आयोजना गरे । समस्त बन्धुबान्धव तथा पुरवासीहरू आमन्त्रित गरिए । पुरोहित धौम्यले यज्ञमण्डपमा अग्नि प्रज्वलित गरेर वैदिक विधिपूर्वक विवाह अनुष्ठान सम्पन्न गराए । लगनगाँठो बाँधियो । अग्निको परिक्रमापूर्वक ज्येष्ठ पाण्डव युधिष्ठिरसँग कृष्णाको शुभ विवाह सम्पन्न भयो ।

भोलिपल्ट माइला भाइ भीमसेनसँग, पर्सिपल्ट वीरवर अर्जुनसँग र यसै गरी क्रमशः अरु दुई भाइसँग पनि द्रौपदीको विवाह भयो । अघिल्लो दिन एक भाइसँग विवाहिता भइसकेकी द्रौपदी अर्को दिन फेरि कन्याभावमा प्राप्त हुन्थिन् र अर्का भाइसँग त्यसरी नै उनको विवाह हुन्थ्यो । एवं रीतले वैदिक विधिपूर्वक कृष्णा पाँचै भाइ पाण्डवकी पत्नी बनिन् ।

राजा द्रुपदले प्रशस्त धनसम्पत्ति, हात्ती–घोडा, दास–दासी एवम् बहुमूल्य वस्त्राभूषणहरू आफ्ना पाँचै पूजनीय ज्वाइँहरूलाई अर्पित गरे । विवाहपछि द्रुपदकै नगरीमा कृष्णाका साथ आनन्दपूर्वक पाँचै भाइ रहन लागे । द्रौपदीले आफ्ना दिव्य सद्गुणहरूले उनीहरूको मन जितिन् । उनीहरूले पनि द्रौपदीलाई सदा प्रसन्न तुल्याए ।

आफ्ना पाउमा ढोग्न आएकी पाँचै भाइ छोराहरूकी एउटै पत्नी– बुहारी द्रौपदी कृष्णालाई कुन्तीले यसरी आशीर्वाद दिइन् :

यथेन्द्राणी हरिहये  स्वाहा चैव विभावसौ

रोहिणी च यथा सोमे दमयन्ती यथा नले ।

यथा वैश्रवणे भद्रा  वसिष्ठे चाप्यरुन्धती

यथा नारायणे लक्ष्मीस्तथा त्वं भव भर्तृषु ।

जीवसूर्वीरसूर्भद्रे     बहुसौख्यसमन्विता

सुभगा भोगसम्पन्ना यज्ञपत्नी पतिव्रता ।

अतिथीनागतान् बन्धून् वृद्धान् बालांस्तथा गुरून्

पूजयन्त्या यथान्यायं  शश्वद् गच्छन्तु ते समाः ।

कुरुजांगलमुख्येषु  राष्ट्रेषु नगरेषु च

अनु त्वमभिषिच्यस्व नृपतिं धर्मवत्सला ।

पतिभिर्निर्जितामुर्वीं  विक्रमेण महाबलैः

कुरु ब्राह्मणसात् सर्वामश्वमेधे महाक्रतौ ।

पृथिव्यां यानि रत्नानि गुणवन्ति गुणान्विते

तान्याप्नुहि त्वं कल्याणि ! सुखिनी शरदां शतम् ।

यथा च त्वाभिनन्दामि  वध्वद्य क्षौमसंवृताम्

तथा भूयोऽभिनन्दिष्ये  जातपुत्रां गुणान्विताम् ।। मभा, आप, १९८ अ, ५–१२ श्लो

छोरी ! जसरी इन्द्राणी इन्द्रमा, स्वाहा अग्निमा, रोहिणी चन्द्रमा, दमयन्ती नलमा, भद्रा कुबेरमा, अरुन्धती वसिष्ठमा तथा लक्ष्मी भगवान् नारायणमा भक्तिभाव र अनन्य अनुराग राख्दछन् त्यसै गरी तिमी पनि आफ्ना पतिहरूप्रति अनुरागवती बन । हे भद्रे, तिमी अनन्त सुख समृद्धिले सम्पन्ना भएर दीर्घजीवी तथा वीर पुत्रहरूकी जननी बन, हे सौभाग्यशालिनी, भोगसम्पन्ना यज्ञपत्नी र पतिव्रता होऊ । आफ्ना घरमा आएका अतिथि, साधु सन्त, बूढाबूढी, बालक र गुरुजनको यथायोग्य सत्कार गर्दै तिम्रो हरेक वर्ष बितोस् । तिम्रा पति कुरुजांगल देशका प्रधान राष्ट्रहरूका राजा बनून्, तिनका साथ तिमी महारानीका पदमा अभिषिक्त होऊ । धर्मप्रति तिम्रा मनमा सहज स्नेहभाव सदा कायम रहोस् । तिम्रा महाबली पतिहरूका पराक्रमले जितिएको यस समस्त भूमण्डललाई तिमीले अश्वमेध महायज्ञमा पवित्र ब्राह्णहरूलाई दान दिन पाऊ । हे कल्याणवती, हे गुणवती वधू, यस जगत्मा जे जति गुणवान् रत्नहरू छन् ती सबै तिमीलाई प्राप्त होऊन् । तिमी सय वर्षसम्म सुखपूर्वक बाँच । तिमीलाई आज रेशमी वस्त्रले सुशोभिता देखेर म जसरी अभिनन्दन गर्दैछु, जब तिमी पुत्रवती बन्नेछौ त्यसबेला पनि म तिम्रो यसै गरी अभिनन्दन गर्नेछु । तिमी सदा सद्गुणान्विता बन ।

विवाहपछि  पाण्डवहरूलाई भगवान् श्रीकृष्णले विभिन्न रत्न, वस्त्र, आभूषण र भव्य पात्रहरू उपहार पठाउनुभयो । वस्त्राभूषण–सुसज्जिता अनेक सुन्दरी सेविकाहरू पनि सेवामा समर्पित गर्नुभयो । यसैगरी उत्तम जातिका हात्ती, घोडा, रथ, असंख्य सुवर्णमुद्रा र अनेकानेक दिव्य वस्तुहरू पनि प्रसन्नतासाथ अर्पित गर्नुभयो । पाण्डवज्येष्ठ युधिष्ठिरले पनि भगवान् श्रीकृष्णको प्रीत्यर्थ ती समस्त उपहार–सामग्री कृतज्ञताका साथ ग्रहण गरे ।

जय श्रीकृष्ण !

……

महाभारत, आदिपर्व, १९२ देखि १९८ अध्यायमा आधृत ।

२०८२ वैशाख १९ गते शुक्रवार,

ॐअक्षरालयः ।