ललितपुर । नेपाली भाषा र व्याकरणका क्षेत्रका ख्यातिप्राप्त विद्वान् तथा बृहत्तर नेपाली शब्दकोशका प्रणेता प्रा. चूडामणि गौतमको स्मृतिमा एक भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। साहित्यपोस्ट (इ) दैनिक तथा नेपाली भाषा साहित्यप्रेमीहरूको संयुक्त आयोजनामा मदन पुरस्कार पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

कार्यक्रममा भाषाविद्हरू, साहित्यकारहरू र गौतमसँग सम्बन्धित व्यक्तिहरूले उहाँको बहुआयामिक व्यक्तित्व र नेपाली भाषाको क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुभयो । भाषाविद् शरच्चन्द्र वस्तीले गौतमको सरलता, मृदुभाषिता, परिश्रम र अथक साधनाको प्रशंसा गर्दै उहाँसँगको सहकार्यको स्मरण गर्नुभयो । प्रा.डा. कुमार कोइरालाले गौतमलाई ‘भाषाव्याकरणका ऋषि’ को संज्ञा दिँदै बृहत्तर नेपाली शब्दकोशलाई नेपाली वाङ्मयमा उहाँको महत्वपूर्ण देनको रूपमा चित्रण गर्नुभयो। गजलकार डा. सनतकुमार वस्तीले गौतमको सरलता र सबैप्रति देखाउनुभएको सम्मान भावको स्मरण गर्नुभयो । साहित्यकार शरद प्रधानले गौतमसँगको आत्मीय सम्बन्ध र उहाँको व्यवहारबाट आफू प्रभावित भएको बताउनुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव तथा साहित्यकार यादव भट्टराईले गौतमलाई ‘विद्वच्छारोमणि हेमराज पुरस्कार’ बाट सम्मानित गर्दाको क्षण स्मरण गर्दै ‘चूडामणि गौतम व्याकरण-कोश पुरस्कार’ को लागि उहाँले स्थापना गर्नुभएको अक्षयकोषको महत्त्व उल्लेख गर्नुभयो । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले गौतमले नेपाली भाषाको शुद्ध लेखनका लागि गर्नुभएको अथक प्रयास र विभिन्न अभियानहरूमा उहाँको सक्रियताको प्रशंसा गर्नुभयो । कार्यक्रममा निबन्धकार, कलाकार तथा कलासमीक्षक ज्ञानेन्द्र विवशले पनि गौतमको व्यक्तित्व र योगदानबारे प्रकाश पार्नुभएको थियो ।

२०८१ फागुन १२ गते दुःखद निधन भएका चूडामणि गौतम ‘ग्रामर’ जस्तो अंग्रेजी व्याकरणको पुस्तक लेखेर नेपाली विद्यार्थीहरूमाझ परिचित हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली भाषा र साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको स्मृतिमा आयोजित यस कार्यक्रमले उहाँको योगदानलाई सधैँ सम्झिरहने प्रतिबद्धता जनाएको छ।