झन्डै तीन महीना पछि कार्यालय आएको जोसेफ गाडीबाट ओर्लिंदा उसकी सहयोगी जुलिया हेरेको हेर्‍यै भई । पचास वर्ष नाघेको जोसेफ भर्खर गधापच्चिसी पार गरेको लक्का जवान जस्तो देखिएको थियो । अनुहारमा पर्दै गएको चाउरी र पेटमा जमेको बोसो गायब थियो, शरीर छरितो र चालमा बेग्लै फुर्ती देखिन्थ्यो । उसले ‘हेलो’ भनेपछि जुलिया झस्किई र हतारहतार पुष्पगुच्छा दिएर स्वागत गर्दै उसको ब्रीफकेस बोकेर पछिपछि लिफ्टतिर लागी ।

विशाल परिसरमा ठडिएको ५४ तले त्यो भव्य भवन दुनियाँभर फैलेको जोसेफको आर्थिक साम्राज्यको ‘हेडक्वार्टर’ थियो । सबैभन्दा माथिल्लो तलामा रहेको उसको कार्यालय बगैंचा, हरियो चउर, ससाना रूख, फोहरा, स्विमिङ पूल, साउना, जिम, बार, किचेन, बेडरूम आदिले सुसज्जित थियो । एक कप कफी खाएर उसले उच्च तहका एक दर्जन कर्मचारीलाई डाक्न लगायो र एक घण्टा जति मीटिङ गर्‍यो । उनीहरू पनि उसलाई देखेर जिल परेका थिए । ऊ कस्मेटिक सर्जरी गराउँदैछ भन्ने त उनीहरूले जुलियाबाट थाहा पाएका थिए, तर यस्तो भएर फर्कला भन्ने कल्पना गरेका थिएनन् ।

त्यस रात जुलिया ऊसँगै थिई । भोलिपल्ट, अर्थात् १५ जनवरी २०५१ का दिन ब्रेकफास्टमा उसले जोसेफलाई भनी, ‘तिमी बाहिरबाट मात्र होइन, भित्रबाट पनि तरुनो भएका छौ । तिमी पहिलेका जोसेफ हुँदै होइनौ । तिमीमा जुन ऊर्जा र आवेग छ, त्यो २५ वर्षे युवाको जस्तो छ ।’

जोसेफ केही बोलेन, देब्रे आँखा झिम्क्याएर मुस्कुरायो मात्र ।

जुलियाको अनुभव सही थियो । कस्मेटिक सर्जरीको कुरा त जोसेफले आफ्नो योजना लुकाउन मात्र गरेको थियो । ऊ कस्मेटिक सर्जरीबाट तरुनो जस्तो देखिने भएर आएको बूढो थिएन, वास्तवमै २५ वर्षे जवान भइसकेको थियो । त्यो यस्तो वैज्ञानिक प्रयोगको परिणाम थियो, जो संसारमा यसअघि गरिएको थिएन । यसको बीजारोपण ३० वर्षअघि भएको थियो, संयोगवश यसै महीनामा ।

सन् २०२१, जनवरीको पहिलो हप्ता बाबुको मृत्यु हुँदा जोसेफले २१ वर्ष मात्र टेकेको थियो । उसका पूर्वजहरू लामो आयु बाँचेनन् । जिज्यूबा क्षयरोग लागेर ४३ वर्षमा बितेको थियो, हजूरबा क्यान्सर लागेर ४८ वर्षमा र बाबु हृदयाघातले ५५ वर्षमा । बाबुलाई चिहानमा गाडेर फर्कंदा उसले संकल्प गरिसकेको थियो— म जसरी भए पनि रोगमुक्त भएर लामो आयु बाँच्छु । विश्व भने त्यसवेला कोरोनाले छटपटिइरहेको थियो ।

ऊसँग पैसाको कुनै कमी थिएन । बाबु संसारका सबैभन्दा धनी २० जनामध्ये पर्थ्यो र ६० अर्ब डलर बराबरको सम्पत्ति छोडेर गएको थियो । एक्लो छोरो थियो ऊ । बाबु बितेको तीन महीनापछि उसले समुद्रको बीचमा एउटा रमणीय टापू किन्यो र त्यहीं आफ्ना लागि सुरुचिपूर्ण भव्य महल बनायो । यसैबीच आफ्नो सपना पूरा गर्न एक अर्ब डलर छुट्यायो ।

त्यसवेलासम्म विज्ञानले निकै प्रगति गरिसकेको थियो । मानिसको कोशिकाबाट, स्त्री–पुरुषको यौनसम्पर्क विना, फोटोकपी झैं दुरुस्त सन्तान जन्माउने क्लोनिङ प्रविधि निकै विकसित भइसकेको थियो । कोशिकाभित्र पसेर जीन एडिटिङ गर्ने र जन्मने मानिसलाई रोग–व्याधिरहित, असाधारण बुद्धिसम्पन्न तथा आफूले चाहेजस्तो निश्चित सीप वा गुण भएको बनाउन सकिने प्रविधि पनि आइसकेको थियो । अर्कातिर चिकित्सा विज्ञान मानव शरीरका सबैजसो अंग–प्रत्यंग प्रत्यारोपण वा साटफेर गर्न सक्षम भइसकेको थियो ।

यो सबका बीच मानिसको क्लोनिङ र जीन–एडिटिङलाई नैतिकता लगायत अनेक प्रश्न उठाएर अघि बढ्न नदिने कोशिश भइरहेको थियो । तिनले वैधता पाएका थिएनन् । अंग प्रत्यारोपणमा पनि विविध छेकबार थिए । तर, विज्ञान र प्रविधिको उपयोग वा दुरुपयोगलाई कुनै छेकबारले कहाँ छेक्छ र ? विभिन्न देशमा मानव क्लोनिङ र जीन एडिटिङका काम भित्रभित्रै, अघोषित रूपमा चलिरहेका थिए । युवा जोसेफले यी तीनवटै प्रविधिको प्रयोग गरेर आफूलाई कहिल्यै बूढो नहुने र कहिल्यै नमर्ने अर्थात् अजर–अमर बनाउने अठोट गर्‍यो ।

ऊ स्वयं विज्ञानको विद्यार्थी थियो । आफ्ना सम्पर्क सूत्र र प्रभाव प्रयोग गरेर उसले तीनवटै क्षेत्रका उत्कृष्ट वैज्ञानिक तथा चिकित्सकहरूसँग सम्पर्क गर्‍यो । सम्पूर्ण प्रयोग उसको आफ्नै टापूमा गर्नुपर्ने र त्यसलाई सदाका लागि गोप्य राख्नुपर्ने उसको शर्त थियो । एकातिर यसअघि कहिल्यै नगरिएको प्रयोगको रोमाञ्च, अर्कातिर जोसेफबाट प्राप्त हुने अकल्पनीय आर्थिक लाभ— उनीहरू यसका लागि मञ्जूर भए । एक हप्ताको सघन छलफल पश्चात् प्रयोगको विस्तृत प्रक्रिया तय गरियो । उनीहरूको रेखदेखमा टापूको एउटा खण्डमा अत्याधुनिक प्रयोगशालाको निर्माण र नवीनतम उपकरणहरूको बन्दोबस्त पछि सन् २०२४, जनवरीको दोस्रो हप्ता प्रयोग शुरू भयो ।

पहिलो चरण जीन एडिटिङको थियो । यसका लागि सर्वप्रथम जोसेफको शरीरबाट केही कोशिकाहरू निकालेर सावधानीसाथ विशेष टयूबमा राखियो । त्यसपछि एउटा कोशिकाभित्र पसेर क्षयरोग, क्यान्सर, मुटुरोग, निमोनिया लगायत अन्य केही रोगका संवाहक जीनहरूलाई ‘जेनेटिक कैंची’ को माध्यमले सदाका लागि निष्क्रिय बनाइयो । कोरोना लगायत एक दर्जन जति भाइरस र ब्याक्टेरियाहरूले कहिल्यै छुन नसक्ने व्यवस्था मिलाइयो । जोसेफले १६ वर्षको उमेरदेखि चश्मा लगाएको थियो, जीवनभर चश्मा नचाहिने बनाइयो । हातका औंला र खुट्टा अलिक मिलेका, सुलुत्त हुनुपर्ने उसको चाहना थियो, त्यसलाई पनि सम्बोधन गरियो । थप छ महीना गहन निरीक्षण गरेपछि जीन एडिटिङ सम्पन्न भएको सुनिश्चित गरियो ।

दोस्रो चरणमा उक्त कोशिकाबाट केन्द्रक (न्युक्लियस) निकालियो र पहिले नै केन्द्रक निकालिएको एउटी युवतीको डिम्बमा राखेर त्यो डिम्ब उसको गर्भाशयमा स्थापित गरियो । भाडामा गर्भधारण गरिदिन तयार भएर आएकी २० वर्षे युवती, जसको कृत्रिम नाम रोजी राखिएको थियो, निकै सुन्दर तर विपन्न थिई । बालकमाथि उसको कुनै दाबी नरहने र उसलाई कहिल्यै हेर्न, भेट्न नपाउने जोसेफको शर्त थियो । आफूले कल्पना गरेभन्दा दश गुणा बढी पारिश्रमिक पाउने भएपछि उसले त्यो शर्त कुनै आनाकानी नगरी स्वीकारेकी थिई ।

निश्चित अवधि पछि बालक जन्मियो र वैज्ञानिक, चिकित्सकहरूको निगरानीमा हुर्कंदै गयो । उसलाई जोन नाम दिइएको थियो र उसका लागि आवश्यक सम्पूर्ण व्यवस्था त्यही टापूमा गरिएको थियो । जोन टापूबाट बाहिर पाइला नराखी २५ वर्षको भयो । झ्वाट्ट हेर्दा हरेक दृष्टिले ऊ युवावस्थाको जोसेफको प्रतिलिपि थियो— अंग, उपांग, वर्ण, चालढाल सबै काटीकुटी मिल्ने । भित्री रूपमा भने जोसेफ भन्दा स्वस्थ, सबल र निरोगी ।

तेस्रो चरण शरीर प्रत्यारोपणको थियो— जोनको समग्र शरीर जोसेफमा प्रत्यारोपण गर्नुपर्ने । यस क्रममा सर्वप्रथम जोनलाई सदाका लागि बेहोश बनाइयो र उसका एक–एक अंग निकालेर पालैपालो जोसेफमा प्रत्यारोपण गरियो । उही रक्तसमूह, उस्तै प्रकृति र उही गुण–धर्मका कारण जोनका सूक्ष्म भन्दा सूक्ष्म र संवेदनशील भन्दा संवेदनशील अंग पनि कुनै समस्या विना सहजै प्रत्यारोपण हुँदै गए । उन्नत प्रविधिका कारण एक महीनाभित्रै जोसेफको सम्पूर्ण शरीर —छाला, नङ, कपाल र रौंहरू समेत— नयाँ भइसकेको थियो । नयाँ शरीरमा मस्तिष्क चाहिं उसैको थियो, जसले गर्दा ऊसँग भएका यावत् सूचना, जानकारी, अनुभव र सोच्ने, निर्णय गर्ने प्रक्रिया यथावत् थिए । एक महीना वैज्ञानिक र चिकित्सकहरूले मिहीन अनुगमन गरेर सबै ठीकठाक भएको प्रमाणित गरेपछि ऊ टापूबाट बाहिर निस्क्यो । यो त्यही दिन थियो, जब उसलाई देखेर जुलिया हेरेको हेर्‍यै भएकी थिई— १४ जनवरी, २०५१ ।

तीन महीना नयाँ ऊर्जा र आवेगका साथ भोगविलासमा डुबेपछि जोसेफले उक्त अभियानको टोली नेतालाई, जो वरिष्ठ वैज्ञानिक थियो, सप्ताहान्त बिताउन आफ्नो विलासी क्रूजमा निम्त्यायो । पहिलो प्रयोग त सफल भएको थियो, तर ऊ अर्को २५ वर्षपछि फेरि नयाँ शरीर धारण गरेर जवान बन्न चाहन्थ्यो । यसका लागि अब के गर्ने भनेर उसले सल्लाह माग्यो ।

वैज्ञानिकले भन्यो, ‘हामीले पुरानो प्रक्रिया अपनाएका थियौं । त्यो ज्यादै झन्झटिलो थियो । अब त्यसको काम छैन । विज्ञान र प्रविधि मात्र होइन, मानव समाज पनि धेरै अघि बढिसकेको छ ।’

ऊ भन्दैगयो, ‘अब तपाईंले आफ्नो कोशिका उपलब्ध गराएपछि तपाईंको चाहना अनुसार जीन एडिटिङ गरेर क्लोनिङ गरिदिने प्रयोगशाला खुलिसकेका छन् । तपाईंले चाहे अनुरूप नयाँ शरीर तयार भएपछि त्यसको मस्तिष्क निकालेर तपाईंको मस्तिष्क सीधै त्यसमा प्रत्यारोपण गर्न सकिन्छ, जसबाट तपाईंले आफ्नो शरीर त्यागेर नयाँ शरीर धारण गर्न सक्नुहुन्छ ।’

‘आजभन्दा २५ वर्षपछि त यो सब पनि ‘पुरानो प्रक्रिया’ भइसक्ला नि ?’

‘ठीक भन्नुभो,’ वैज्ञानिकले भन्यो, ‘मेरो विचारमा, आउँदो २५ वर्षमा जेनेटिक इन्जिनियरिङले अद्भुत प्रगति गर्नेछ, जसले गर्दा सबै मानिस आफूले चाहेसम्म जवान र जीवित रहन सक्नेछन् । त्यसवेला आजको सारा गोरखधन्दा हास्यास्पद लाग्नेछ ।’

‘म के गरौं त ?’ जोसेफले निष्कर्ष माग्यो ।

‘भोलिको कुरा भविष्यको गर्भमा छ,’ वैज्ञानिकले भन्यो, ‘तपाईंले चाहिं आफू ढुक्क हुन क्लोनिङ सेन्टरमा गएर प्रक्रिया शुरू गरिहाल्नु राम्रो । नयाँ शरीर हुर्काउन पनि त समय लाग्छ नि ।’

भोलिपल्ट क्लोनिङ सेन्टरमा पुग्दा जोसेफले थाहा पायो, आठ जना अर्बपतिहरूले ऊभन्दा पहिले नै प्रक्रिया शुरू गरिसकेका रहेछन् ।