आख्यानकार केशव दाहालकृत नवीनतम औपन्यासिक कृति हो मोक्षभूमि ।
किताब पब्लिकेशनबाट २०७८ साउनमा प्रकाशित यो कृति ३७१ पृष्ठमा परिपूर्ण ३० परिच्छेदयुक्त आख्यायिका हो । यसैपालि महनीय पुरस्कार पद्मश्रीद्वारा सम्मानित भएको प्रस्तुत ग्रन्थ नेपाली आख्यानका क्षेत्रमा एक उल्लेखनीय प्राप्ति बन्न पुगेको छ ।
मोक्षभूमि आख्यायिका/बृहत् उपन्यासको विषयवस्तु ऐतिहासिक पृष्ठभूमिमा बुनिएको देखिन्छ । विक्रम संवत् १२९० भाद्र महिनाको तेस्रो शुक्रवार, मोक्षनगर लेखी समय र स्थान तोकिएर प्रारम्भ भएको कथानक, पछि फेरि तेस्रो परिच्छेदमा १२८० शरद् ऋतुको पहिलो दिन, आर्य खसहरुको मध्ययुगीन नगर सिँजामा रहेको सिंजानगरतिर फर्किन्छ – पूर्वदीप्तिको आख्यानिक प्रविधि अँगालेर ।
रमाइलो, रोचक र कौतूहलोत्पादक छ यो आख्यान । नेपाल राष्ट्को भाषा, संस्कृति, सभ्यता र सामाजिक परम्पराको आदि स्रोत मानिने प्राचीन सिँजाभूमिको गाथा सुनाउन उत्साहका साथ भावकवृन्दका सामू प्रकट भएका आख्यानकथयिता एउटा अनौठो, तिलस्मी जगत्मा पाठकहरुलाई लिएर जान्छन् जहाँ एक बृहत् महाख्यानको सम्मोहक, स्वप्निल संसार रचिएको पाइन्छ ।
प्रश्न उठ्दछ ः यो आख्यान ऐतिहासिक तथ्य वा किंवदन्ती यद्वा उपाख्यानमा आधृत हो ? किंवा लेखकीय काल्पनिकी÷फेन्टासी वा समृद्ध स्वैरकल्पनाको उत्पादन हो ?
आख्यायिकाले मानव समाजको मुक्त, स्वतन्त्र, समृद्ध र समुन्नत एवम् विकसित स्वस्थ जीवनपद्धतिको आदर्शमय परिकल्पना प्रस्तुत गर्दछ जसलाई मोक्षभूमि को संज्ञा दिइएको छ ।
मोक्षभूमिमा अनेक पात्र, अनेक प्रकीर्ण कथा, अनेक उपाख्यान र अनेक चारित्रिक भावभूमिको बृहत् संयोजन देखा पर्दछ । विशेषतः शोषक, सामन्त र प्रभुवर्गको उन्मादमा थिचिएका मिचिएका निमुखा निर्बल दासका रुपमा चित्रित असहायवर्गले सम्पूर्ण स्वायत्त र स्वतन्त्रतामय उन्मुक्तिका लागि गरेको संघर्षमय यात्रावृत्तान्त मोक्षभूमिमा पेश गरिएको छ ।
क्राचल्लदेव, उनका रानीहरु ः पल्लवी, लता, कुसुम, मानवी र अप्सरा, सेनपति शंकरादेव, आचार्य आर्यदेव, स्वरदेव, विद्रोही गरुडदेव, सत्यदेव, कृष्णदेव, राधा, आचार्य ब्रह्मानन्द, रानी दमयन्ती, गौतम आत्रेय, भार्गदेव जस्ता अनेक पात्रहरुका विशिष्ट चारित्रिकताको सघन बुनोटले सम्पन्न यस बृहद् आख्यानले भावकवृन्दलाई एउटा नौलो रोचक र समृद्ध युगमा लिएर जान्छ । मूलतः आर्यजातिको पारम्परिक आदर्शले ओतप्रोत जीवनपद्धति असल हो यद्वा मानवमात्रको मानवीय संवेदना र मूल्यले अभिषिञ्चित जीवनशैली उत्तम हो भन्ने वैचारिक परिवेशमा सम्पन्न बृहत् बहस यस आख्यायिकाको केन्द्रीय कथ्य हो । धेरै मोड र उपमोडहरुबाट गुज्रिँदै यो महाख्यान कृष्णदेव र राधाको उदात्त प्रेमको उत्कर्षमा गएर सुसम्पन्न हुन्छ । मानवसमाजका यावत् भेदभावलाई भगाएर, मानवमनका सारा ऊहापोहहरुलाई पन्छाएर, आखिरमा मानव–मानवीका अनिर्वचनीय, अनुभूतिगम्य अनुरागको महिमागानका साथ आख्यानकारले आफ्नो मूल मन्तव्य अभिव्यञ्जित गरेका छन् ।
खास गरी मोक्षभूमिको परिवेश र चारित्रिक उदात्तताले भावकमनलाई अनायास आफ्नै अन्तरंग जगत्को उच्चस्तरीय उडानमा लिएर जान्छ जहाँ मानवीय प्रज्ञा, जीवनदर्शन, जीवनशैली र आदर्श मानवीय संस्कृतिले समृद्ध उत्कर्षोन्मुख मानवीय चेतनाको अपार संसार रचिएको छ ।
यहाँ अनायास अपारे काव्यसंसारे कविरेकः प्रजापतिः भन्ने संस्कृत सूक्तिको स्मरण हुन्छ । जसमा साहित्यस्रष्टालाई विश्वस्रष्टा भन्दा पनि उपल्लो कोटिमा राखेर गरिमा प्रदान गरिएको छ । किनभने यो दृश्य जगत् जतिसुकै बृहत् र व्यापक देखिए तापनि प्रकृतिका अनुल्लंघ्य मर्यादामा बाँधिएको हुन्छ, सीमित नै हुन्छ तर कवि÷स्रष्टाले रचेको सिर्जनाजगत् ती सबै नियम र बन्धनबाट मुक्त हुन्छ, किनभने यहाँ त साहित्यस्रष्टाले जस्तो चाहन्छ त्यस्तै संसार खडा गर्न सक्दछ, त्यसैले यो वास्तविक जगत्भन्दा अझ रोचक, आह्लादक र अपरिसीमित हुन्छ । मोक्षभूमि पढिरहँदा यस्तै झझल्को आइरहन्छ ।
मोक्षभूमि पढिरहँदा कतै पूर्वीय व्यासपरम्पराका पौराणिक आख्यानशिल्पको झझल्को आउँछ, कतै संस्कृतसाहित्यका गद्यधुरन्धर बाणभट्टका आख्यानशैलीको छनक पाइन्छ, हिन्दी साहित्यका विख्यात स्रष्टा हजारीप्रसाद द्विवेदी र भगवतीचरण वर्माहरुका लेखनशैलीको स्मृति जागृत हुन्छ भने नेपाली साहित्यमा वैदिक साहित्यका मनीषी मदनमणि दीक्षित र आख्यानशिल्पी धनुषचन्द्र गौतमको सम्झना पनि आउँछ । निष्कर्षतः क्लासिकल मर्यादाको लेखनशिल्प–सज्जा मोक्षभूमिको सर्वातिशायी सम्मोहन हो । आलंकारिक, सूक्तिमय शैलीले ओतप्रोत, महाकाव्यीय आस्वादले सम्पन्न बृहत् आख्यायिका हो मोक्षभूमि ।
एउटा बृहत् आयाममा फैलिएको, व्यापक घनत्वले सम्पन्न, मानवीय चेतनाको आदर्शमय आलोकले उद्भासित मोक्षभूमिले नेपाली साहित्यको नव युगलाई नूतन दिशा औंल्याएको प्रतीत हुन्छ, नेपाली पाठकका लागि मोक्षभूमि रुचिपरिष्कारको उत्तम अवसर बनेर आएको अनुभूत हुन्छ ।
मोक्षभूमिका शिल्पी श्री केशव दाहाललाई आत्मीयतापूर्ण अभिनन्दन ।
……………………………………………
यो टेबुल गफ गएकाे महिनाको पहिलो साता रीडर्स हब्, कौशलटार, भक्तपुरमा आयोजित बुकाहोलिक्स् को चकटी बहसमा व्यक्त गरिएका भावकीय अनुभूतिको लिपिबद्ध प्रस्तुति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।