वर्षायामकाे सुरुवातअगावै विदेश गएर धन कमाउने प्रक्रियामा थिएँ । बुबा साह्रै बिरामी हुनुभयो । घरव्यवहार सम्हाल्नु पर्ने जिम्मेवारी मेराे काँधमा आयाे । बिरामी बुबालाई चट्ट छाेडेर जाने कुरै भएन । आफ्नो याेजनालाई स्थगित गर्दै खेतीकिसानीतिर लागेँ ।
खेतकाे ब्याडमा बीस, पच्चीस दिनमा बीउ (बेर्ना) तयार भैसकेको थियोे । गाउँघरमा मानाे राेपेर मुरी उब्जाउने चटारो सबैतिर छाएको थियाे । कान्ला खुर्कने, आली लगाउने, हिलाे सम्माउने र मुसाकाे दूलाे टाल्ने काम दस नग्रा खियाएर सकेँ ।
राेपाइँकाे दिन अर्मपर्मका राेपार, लाठे (बाउसे), परिवारका दुई बहिनीहरु र आमा मिलेर अधियाँ पन्ध्र कठ्ठाकाे राेपाइँ सक्यौँ । गाेडमेल र रासायनिक मल यूरिया, पाेटास छरेपश्चात् धानका बाला लहलह झुले ।
आफ्नाे भागकाे आधा धान घरमा राखेर आधा धान बजारमा बिक्री गर्दा धान राेप्न लिएको ऋण बराबरी र
कम हात पर्याे । एकछिन त निकै खुसी भएर पैसालाई हेरेँ । ओहाे ! बुबाकाे ओखती, आमाकाे फरिया, बहिनीहरुकाे भुँडी र ढाड देखिने च्यात्तिएको सर्ट, फ्रक र आफ्नाे फित्ता चुडिएकाे हवाईचप्पल सम्झिएँ ।
घर फर्किंदै थिएँ, बाटोमा रिट्ठे साहुले धान बेचेकाे थाहा पाएर बाेलाए । उनीसँग लिएको ऋण भुक्तानी गरेर निराश हुँदै घरमा पुगेँ । आमा बुबालाई ओखती खुवाउँदै हुनुहुन्थ्यो । मेराे मलीन अनुहार देखेर साेध्नुभयाे, “के भयाे बाबू ?”
केही भन्नै सकिनँ । एकछिन गम खाएँ र भनेँ, “बजारमा खाजा खाएको थिएँ, पेट नराम्ररी दुखिराखेको छ आमा !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।