दिपक खनाल अगम

पिँढीमा चार वर्षे नातिसँग खेल्दै थिएँ । मालपोत कार्यालयका भूतपूर्व अधिकृत बालेन्द्र विक्रमकी श्रीमती पाल्नु भयो ।

छिमेकी भए पनि कहिलेकाहीँ काम अह्राउपह्राउ गर्न मात्र आउने धनीमानी मान्छे आएको देखेर आश्चर्यचकित हुँदै सोधेँ -“किन दुःख गर्नु भयो कुन्नि दिज्यु हजुर ?”

“खासै कुनै काम विशेषले आएको होइन बैनी । जाने बेलामा छिमेकी सँग बिदा हुन आएको ।”

“फेरि अमेरिका कि अष्ट्रेलिया जान लाग्नु भो ?”

“होइन बैनी ! छोराछोरीले ग्रीन कार्ड र पीआर लिँदा आफूलाई भाग्यमानी सोचेको थिएँ । तर, यो त भ्रम पो रहेछ । हेर्नुस् त ! मर्नेवेलामा छोराछोरीको हातको मुखमा एक चम्चा पानी पनि नपर्ला जस्तो छ । सन्तान विदेशमा साह्रै व्यस्त छन् रे । विदेशको हेरचाह गृहभन्दा नेपालको वृद्धाश्रम नै सस्तो पर्छ रे । त्यसैले भोलि नै छोराको आदेशमा वृद्धाश्रम जान लागेको ।”

“अनि यो दरवारजस्तो घर र सम्पत्ति नि दिज्यु ?”

“ए, यो स्वर्गीय श्रीमानले सन्तानको लागि भनेर जोडेको श्रीसम्पत्ति ?”

“यो त भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको लागि कब्जा गरिसकेको छ ।”