बिहान स्कुलमा प्रार्थाना गर्दा शरीर तन्दुरुस्त बनाउन शारीरिक व्यायाम पनि गर्नु पर्थ्याे । एक दिन चड्कन किक (सल्याप किक) हान्दा मेराे जुत्ता उछिट्टिएर मैले मन पराउने मेरै एकतर्फी लभरकाे छातीमा बजारिन पुग्याे । उनी रिसले मलाई कुन्नि के के भनिन् । म लाजले भुतुक्कै भएर हाेला केही बुझेकाे थिइनँ ।

फेरि केही दिनपश्चात् स्कुलकै आफूभन्दा सिनियर कक्षाको डनकाे हाउभाउ भएकाे सिनियरकाे ढाडमा जुत्ता बजारिन पुग्याे । उसले रिसले चाेर औँला हल्लाउँदै देखायो । त्यस दिनपछि म ऊबाट भाग्दै एक कोस टाढाबाट हिड्न थालेँ । धिक्कार रहेछ जिन्दगी । “कस्ताे विडम्बना !” फेरि केही हप्तापछि हथाैडा किक (ह्यामर किक) हान्दा समाल्दा समाल्दै पनि जुत्ता उछिट्टिएर  प्रधानाध्यापककाे गालामा जाेड्ले लाग्न पुग्याे । उहाँले जुत्ता राम्रोसँग बाध्न पर्दैन गाेरु.., भन्दै गालामा तोरीको फूल देखिने गरी दुई चड्कन हान्नुभयाे । म त्यहीँ ढल्नबाट जाेगिएँ ।

त्यस दिन स्कुलपछि घरमा आएर खुब राेएँ अनि गाउँले दाइले दिएको आफ्नाे खुट्टाभन्दा ठुलो,थोत्रो र बेस्सरी बान्दा पनि फुत्किएर जाने जुत्तालाई हार्दिक श्रद्धाञ्जलि दिएँ । दिनभरि स्कुलमा भएको लाज र अपमानले रातभरि निन्द्रा

दिपक खनाल अगम

लागेन । त्यस समयमा सरकारी विद्यालयमा ताेकिएकाे शुल्क तिर्नलाई धाै धाै पर्ने, मेरी कृषि ज्याला मजदुरी गर्ने एक्ली आमालाई  जुत्ता जुत्ता भनेकाे बर्सौँ बितेको थियाे । त्यसैले स्कुल छाेडेर  एक जाेर जुत्ता लगाउने चाहनाले सहर पसेँ ।

एक डेढ घण्टा हाेटल, हाेटलकाे ढाेका चहार्दा  एउटा हाेटलमा भाँडा माझ्ने काम पाएँ । पहिलोपटक तीन डाेकाे जति भाडा माझ्दै थिएँ । दुवै खुट्टा  गुमाएका मेरै उमेरको साहुजीकाे छाेरा स्वाभिमान बैसाखीकाे सहाराले  स्कुल जान लगेकाे देखेँ । मनमा जीवनको सबैभन्दा ठुलो आँधीबेहरी आयो । बेलुका खाना खाने बेलामा स्वाभिमानले मलाई साेधे, “भाग्य ! तिमी यस्तो कलिलो पढ्ने उमेरमा पनि किन यहाँ काम गर्न आएको ?” म जुत्ता नभएर भन्न सकिनँ तर उनको प्रश्नले जुत्ताको रहर बोकेर हिँडेकाे मान्छे शिक्षाको महत्त्व राम्ररी बुझेर फर्किएँ ।