अन्तर्राष्ट्रिय दास प्रतियोगिता आयोजना भएको थियो ।

प्राथमिक चरणमा आआफ्नो देशभित्र भएको प्रतियोगिता उत्कृष्ट भएका समूहले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरिरहेका थिए ।

प्रतियोगीहरूको कोडिङ गरिएको थियो । प्रत्येक समूहले अलगअलग कोड नम्बर पाएका थिए ।

इतिहासदेखि वर्तमानसम्मका चलेका भएका दासदासी सम्बन्धी गतिविधि र घटनाहरूका विभिन्न प्रस्तुतिहरू मञ्चमा प्रदर्शित भए ।

एउटा देशले इतिहासमा दासदासीहरू साङ्लोमा बाँधिनुपरेको र बजारमा बेचिएको प्रस्तुति गरेको थियो ।

अर्कोले दासदासीलाई खान नदिएको, काम गर्न सकुञ्जेल काममा लगाएको र काम गर्न नसक्ने भएपछि सडकमा लगेर छोडिदिएको कारुणिक दृश्यको प्रस्तुति गरेको थियो ।

तेस्रो प्रस्तुतिमा मुक्तिका लागि दासदासीहरूले बिद्रोह गर्दा सरकारले आन्दोलन दबाउने क्रममा हजारौँ दासदासीहरूको सामूहिक हत्या भएको देखाइएको थियो ।

एवम् रीतले चार, पाँच, छ, सात… गर्दै हजारौँ प्रस्तुतिहरू भए ।

दासदासीका बारेमा कोहीले भाषण गरे, कोहीले प्रवचन दिए, कसैले नाटक मञ्चन गरे, कसैले कार्यपत्र प्रस्तुत गरे ।

प्रतियोगितामा परम्परा र आधुनिकताको फ्युजन भएको एउटा प्रस्तुतिले सबैको ध्यान खिच्यो ।

परिणाम घोषणा भयो, सबैको ध्यान खिच्ने सोही प्रस्तुति प्रथम भयो ।

प्रथम हुनेको प्रस्तुति थियो– ‘शरीरमा सुट लगाएको र टाउको पशुको भएको एउटा (अ)जीव पार्टीको नेताको झोला बोकेर नेताको पछिपछि कुदेको ।’

त्यस प्रतियोगीको कोड नम्बर थियो– ४२० ।