तिमीलाई दर्शन गर्नु
केवल आँखाको सुख मात्र होइन,
तिमीलाई अनुभव गर्नु आत्माको कम्पन हो,
अनी तिमीलाई भित्र अन्तस्स्थ गर्नु
त्यो त शान्त महासागरको जस्तो सुकून हो,
जहाँ शब्दहरू मौन हुन्छन् र हृदय ध्यानस्थ बन्छ।
तिमी हृदयमा छौ कि मस्तिष्कमा के भेद पर्छ ?
तिमी तस्बिरमा छौ कि भाग्यरेखामा — के फरक पर्छ ?
तिम्रै स्वरूप भइसके पछि,
अब त तिमी पनि बुझ,
प्रेम केवल स्पर्श होइन यो आत्मसंयोग हो।
तिम्रो निकटता विना पनि त
तिमी म भित्र हुर्किरहेकी छ्यौ
त्यसैले
प्रेमले शरीर होइन अहसास खोज्दो रहेछ
प्रकाश भन्दा मनको आकाश रोज्दो रहेछ ।
प्रेमपछि सत्यनिष्ठा र श्रद्धा जरुरी हुन्छ,
किनकि माया केवल क्षणिक भावना होइन
यो त जीवन मन्त्र हो,
जसले आत्मालाई पवित्र बनाओस्।
तिमीलाई सम्झनु मेरो लागि ध्यान हो,
र तिमी मेरो आत्माको शान्तिदूत।
तिमी विना संसार अपूर्ण,
तर तिमीलाई महसुस गर्नु
त्यो त मोक्षजस्तै अनुभव हो ।
जहाँ म र तिमी,
चाहमा होइन
ऐहसासमा रमाउन सकौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




