लामो समयदेखि
खोस्टे अस्थिपञ्जरमा
जेलिएर जबर्जस्ती दबाइएका छन्
मभित्रका धर्तीमा मुस्कुराउने रहरहरू।
उकुसमुकुसका छट्पटीले तड्पिएर
निस्सासिएका छन्
मभित्रका सिर्जनाहरू। (१)
तर पनि,
सुनेर धर्तीको
हृदयध्वनिका आवृत्ति,
छिचोल्दै फल्याँटाका
घेराबन्दी र बोक्राका फलामे जालीहरू,
लामो पर्खाइपछि तोड्दै
प्रतिकूलताका बन्धनहरू।
जसका बलमा चिरफार गरेर
समय, बढाउँदै
जराको फैलावट,
म थाल्छु अङ्कुरित हुन,
साकार बनाउन
आधार टेक्ने जरा
अनि आकाश छुने
टुप्पाका सपनाहरू। (२)
म त गति हुँ,
म त ऊर्जा हुँ,
म त माटोको भविष्य हुँ।
कसैका दबाब र हेपाइमा झन्
प्रतिक्रियात्मक भएर निस्कन्छु,
अझ बेसी खारिएर,
तिखारिएर निस्कन्छु,
न्युटनको तेस्रो सिद्धान्त झैँ।
त्यसैले कहाँ म सधैँ सुषुप्त रहन सक्छु?
म सिर्जनाको शान्त विद्रोह हुँ।
म त बिउ हुँ। (३)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२४ मंसिर २०८२, बुधबार 










