उहिले भूपि भन्थे
यो हल्लै हल्लाको देश हो
अहिले पनि देश
हल्लै हल्लाले चलेको छ
हल्लै हल्लाले गलेको छ
हल्लै हल्लाले जलेको छ
बग्रेल्ती सपनाहरु फुल्ने कहिल्यै नफल्ने
राष्ट्रवादका नारा घन्किइरहने
विदेशी सामु जहिल्यै नझुक्ने
स्वाभीमानी हुनुको मन्द मन्द स्वाद चाखिरहने
यो सपनाहरु फुल्ने देश हो ।
यहाँ
हरेक दशकमा मान्छेका सपनाहरु गलिरहेका हुन्छन्
पटक पटक जनताका सपनाहरु जलिरहेका हुन्छन्
प्रगतिका कोपिलाहररू नफूल्दै चुँडालिन्छन्
समृद्धिका सपनाहरु मुर्छित पारिन्छन् ।
जहाँ
अराजक ध्वंशले विध्वंसका कथाहरु लेखिन्छन्
जलेका सपनाहरुमाथि अहमताका परिणाम देखिन्छन्
दम्भको सिरानीमाथि अकर्मण्यताका आवाजहरु घन्किन्छन्
विक्षिप्त घाउमा मासुमका सपनाहरु सल्बलाईरहन्छन्
बर्षाको भेलझैं उर्लिरहन्छन् भावनात्मक आवेगहरु
प्रतिशोधको अग्निज्वाला रोपेर बर्बराइरहन्छन् बुझक्कडहररू ।
अराजकताको परिणाम अमृतमय कदापि हुँदैन
अवसरवादीहरुको आफ्नो भन्नु कुनै देश हुँदैन, कुनै भेष हुँदैन,
कुनै गाउँ हुँदैन कुनै ठाउँ हुँदैन
अवसरको खोजीमा भौतारिइरहन्छन् उनीहररू
मुनाफाको कुदृष्टिमा मडारिईरहन्छन् ।
त्यसैले त यहाँ
जल्छन् र जलाईन्छन् संसदभवनहरु
बल्छन् र बलिरहन्छन् सिंहदरबारहरु
आगोमा सल्कीईरहन्छन् न्यायालयहरु
ध्वस्त पारिन्छन् सरकारका सबै सबै अङ्गहरु
विनास गरिन्छन् सार्वजनिक सम्पत्तिहरू ।
छद्मभेशमा उतारिन्छन् प्रदर्शनकारीहरु
घुसपैठ गरि उत्तेजित बनाइन्छन् शान्तिपूर्ण आन्दोलनहरु
सुरक्षा घेरा पार गर्दै तोडिन्छन् निषेधित क्षेत्रहरु
ताकेरै प्रहार गरिन्छ विद्यार्थीमाथि बन्दुकका घातक गोलीहरु
यत्रतत्र ढालिन्छन् दर्जनौँ जीउँदा मान्छेहरु ।
धमिलो पानीमा फ्याँकिन्छन् जालहरु
विनास गराईन्छन् ऐतिहासिक धरोहरहरू
सामाजिक सञ्जालमा गुञ्जिन्छन् छद्मभेशी वादशाहका फर्मानहरू
लल्कारिन्छन् सम्माननीयका आदेश र निर्देशनहरु
एकादेशको कथा बन्छन् विकास र समृद्धिका चाहनाहरु ।
त्यसैले
सचेत रहनु तिमी
ब्युताउँनुपर्छ मुर्छित सपनाहरु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 










