‘म हिँडेको बाटो पच्छ्याउँदै आऊ !
त्यहाँ फूल पनि हुन्छ, काँडा पनि हुन्छ ।’

 

सहरको व्यस्त जीवनशैलीबाट असोज अन्तिम साता बिहानको केही समय चोरेर इटहरीको तालतलैयामा भेला भएका साहित्य, सङ्गीत र कलाप्रेमी दुई दर्जन मनहरूबाट एकै पटक निस्कियो, ‘वाह ! विजय दाइ वाह ! क्या बात !’

२०७१ साल असोजको कुरा हो यो । नजिकै आगन्तुक टर्की र अरू रैथाने जुरेलीहरूको कलरवले मस्त वातावरणमा सङ्गीत साधना प्रतिष्ठान इटहरीले वरिष्ठ गीतकार विजय श्रेष्ठसँग विशिष्ट जमघटको चाँजोपाँजो मिलाएको थियो ।

अनौपचारिक सो जमघटमा विजय दाइले एकपछि अर्को कालजयी गीत सुनाउँदै गए, ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने । न म त्यो देव हुँ, सधैं बाँचिरहने … गुराँसको फूल सिउरी, बेतको टोकरी बोकी, एक सुइँरो दुई पात टिप्न, साइँली बरी चियाबारीमा ।

विजय दाइ औपचारिकता मन पराउने मान्छे होइनन् । उनका लागि सुन्ने–सुनाउने वातावरण नै अनौपचारिक सिर्जना गरिएको थियो । चारकोसे जङ्गलको एउटा एकान्तमा ।

एक दिन कोसीपारी तरेका बेला विजय दाइ त्यतै हराएछन् । साँझ पर्‍यो । वारि तार्ने नाउ लिएर माझी पनि घर गइसकेको रहेछ । त्यसपछि नजिकैको गाउँ खोज्दै जति पटक पश्चिम गए पनि घुमिफिरी अघिकै ठाउँमा आएछन् । रातभरि त्यस्तो बेहोसी पारा भइरह्यो ।

योसँगै बीच–बीचमा उनले उनी कसरी गीतकार बने, गीत–सङ्गीतमा लाग्दा कति दुःख पाए भन्ने अनौपचारिक प्रसङ्गहरू पनि जोडेका थिए । के आज उनी सन्तुष्ट छन्, कसका लागि निरन्तर शब्दमा दुख्छन् र कोट्याइरहन्छन् देश दुखेको कुरा ? आदि–इत्यादि जिज्ञासाहरूको जवाफ पनि दिँदै थिए ।

‘अघिसम्म चर्को घामले म सियाँल खोज्दै थिएँ … अहिले साँझ पर्‍यो थाहै नपाई … ! दिन बित्दैछ मायालु … !’

उपस्थित सबैलाई विजय दाइ गीत लेख्दैनन्, गाउँछन् । गीत लेख्दैनन् भन्नाले शब्द सङ्कलन र संयोजन त उनैका हुन्छन् तर ती हामीले बुझ्दै आएको गीतको परम्परागत स्थायी र अन्तरावाला शैलीमा हुँदैनन् । जसलाई विजय दाइ गीत भनेर गाइरहेका हुन्छन्– ती एक से एक उम्दा कविता हुन्छन् ।

आफू बेहोसजस्तो बनेर कस्ता–कस्ता राष्ट्रवादीहरूका मथिङ्गलमा सुतिरहेको होस जगाइदिने शब्द लेख्ने विजय दाइले थप सुनाए– आलै छ घाउ अठारको नालापानीमा, मनपरि हैन गाँठे हाम्रो पानीमा । माछी मार्न जाऊँ न दाजै कालापानीमा … ! छेकी वरी दुवाली महाकालीमा ।’

अहिले भइरहेको जातजातिको लुछाचुँडी र राज्य भागबन्डाको विषयले उनी भित्रैदेखि दुखेको धेरै भयो । बुझ्ने–सुन्ने मान्छे कम भए पनि, नबुझेकालाई कुरा बुझाउनु आफ्नो कर्तव्य मान्छन् विजय दाइ । वरपर, छेउछाउजस्तो नेपाली शब्द हुँदा–हुँदै आसपास, वातावरण, परिस्थिति हुँदाहुँदै माहोल अनि क्रमः हुँदाहुँदै दौरान लेखेर–भनेर नेपाली सञ्चार–माध्यमले राष्ट्र भाषाको हुर्मत लिएको उनलाई पिटिक्क चित्त बुझेको छैन ।

पछिल्लो समयम युटुबमा विजय दाइको एउटा अर्को विशिष्ट गीत आएको छ– हामी त्यसै निस्किँदैनौँ, निस्की सकेपछि कि त साँधै हालिन्छ, कि त मार ढालिन्छ !

‘खुकुरी’ शीर्षकमा म्युजिक नेपालजस्तो नाम चलेको च्यानलमार्फत २०७८ वैशाख ११ गते, लोकतन्त्र दिवसको सन्दर्भ पारेर युटुबमा राखिएको विधान भाइले गाएको विजय दाइको सो गीत यो लेख्दा (२०७८ भदौ २९)सम्म केवल २४ हजार दुई सय २० जनाले हेरेका छन् । यो भनेको के हो ?

यति भ्युअर्सबाट कति पैसा उठ्छ ? यस्तोमा एउटा गीत–सर्जकले कहाँबाट गर्छ त्यसका लागि लगानी ? भएको सम्पत्ति सकेर, जोगी भएर कहिलेसम्म गाउँछ सर्जकले देशको गीत ? प्रश्न त सोधियो तर जबाफ दिन्छ कसले ?

तथापि मनमा लागिरहन्छ म उहाँकै जस्ता कालजयी अर्थात् दाइले साँच्चै मन पराउने शब्द लेख्न कहिले सकुँला ? एकदिन (२०७३ चैत १३) त्यही चिन्तना र अविश्वासका माझमा दाइलाई मैले आफ्नो ‘जिन्दगीको पहिलो गीत’ सुनाएँ– मलाई माफ गर्नू साथीहरू हो ! खोजेको बेला भेटिइनँ भने । सोचेको बेला देखिइनँ भने । पर्खेको बेला आइपुगिनँ भने ।

यसलाई मैले जिन्दगीको पहिलो गीत किन भनेको भने मैले त्यसअघि गीत भनेर केही लेखेको थिइनँ । गजल, कविता, मुक्तक, आख्यान, समाचार आदि–इत्यादि अनेक लेखेको थिएँ ।

संयोग भनौँ वा मेरो राम्रो दिन । दाइले मेरा शब्दहरू मन पराए । ‘हो यस्तो लेख न तिमी, माया–प्रेमका कुरा भन्छौ, के लेख्छौ, के लेख्छौँ,’ दाइबाट छोटो–मिठो पृष्ठपोषण पनि पाइयो । एक–दुई दिनमा अपेक्षाअनुरूप दाइबाट लय सिर्जना पनि भयो । दुई–चार शब्द यताउति पार्दै, दुई–चार शब्द थपघट गर्दै । समग्रमा मेरा शब्दहरूमा विजय रङ मिसाउँदै ।

‘मलाई माफ गरिदिनू साथी हो ! भेटिइनँ भने, देखिइनँ भने । सोचेको बेला, खोजेको बेला, पर्खेको बेला आइपुगिनँ भने । माफ गरिदिनू … माफ गरिदिनू । मलाई माफ गरिदिनू साथी हो । भेटिइनँ भने देखिइनँ भने ।’

दाइको लयमा आफ्ना शब्द सुन्दै–गर्दा घरि मैले लेखेको हो जस्तो पनि लाग्थ्यो, घरि होइन जस्तो पनि लाग्थ्यो । जे भए पनि विजय दाइलाई मेरा केही शब्दले छोएको चाहिँ प्रष्टै थियो । विजय दाइ मेरा शब्दमा यसरी केही दिन भुलिनु, रमाउनु मैले आर्जन गरेको उपलब्धि हो । अतुलनीय पुरस्कार हो ।

मेरो जिन्दगीको यो पहिलो गीत दाइको लय सिर्जना र स्वरमा मोबाइलबाट एमपिथ्री रेकर्ड गरिराखेको छु । समयले साथ दिए विधान भाइको स्वरमार्फत सार्वजनिक गर्ने नै छु । भाइले पनि हुन्छ म गाउँछु भन्ने आश्वसन दिएका छन् ।

त्यसो त विजय दाइ जस्ता गजब शब्दहरू लेख्छन्, व्यक्तिगत व्यवहार पनि उस्तै छ । उनलाई नजिकबाट चिन्नेहरूसँग यसका अनेक उदाहरण छन् । उनले बुबा दिलबहादुर श्रेष्ठको मृत्युमा शोक मनाएनन् । शोक मनाएनन् मात्र होइन, म शोकमा छैन भनेर सामाजिक सञ्जालमा पोस्ट नै राखे । उनको जिन्दगीसँग जोडिएको यो अभीशप्त पाटोको अलग कहानी छ, कुनै दिन मौका पारेर तपाईलाई सुनाउने नै छु । अहिलेचाहिँ दाइको ‘आफ्नोपन’वाला व्यवहारसँग जोडिएको एउटा विशेष सन्दर्भतर्फ फर्कौँ ।

२०७५ पुस २७ गते पृथ्वी जयन्तीको सन्दर्भ पारेर एरिना टेलिभिजन तथा सङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा ‘एकताका लागि सङ्गीत कार्यक्रम’ गर्ने सोच बन्यो । विशेषगरी राम धामी दाइ र मैले त्यो कार्यक्रममा विजय दाइलाई प्रमुख अतिथि बनाउने योजना बनायौँ ।

‘हाम्रा बडा पृथ्वी बाले भनेका’ गीतलाई अग्र–महत्त्वका साथ प्रस्तुत गरिने भनेपछि दाइबाट सहमति मिल्यो । तर जब कार्यक्रमको सुरुमा आसन–ग्रहणपछि राष्ट्रिय–गानका लागि सबैलाई उठ्न आग्रह गरियो, सोच्दै–नसोचेको घटना भयो ।

हामी उठेर ‘सयौँ थुङ्गा फूलका हामी’ गाउन थाल्यौँ । दाइ उठेर सरासर सङ्गीत साधनाको हलबाट बाहिरिए ।

सुरुमा त हामीले कुरा बुझेनौँ, दाइ किन बाहिरिए ? हिँडेको निकैबेर भएपछि मैले फोन गरेँ । दाइ कार्यक्रमस्थल छोडेर हिँड्नुको कारण सोधेँ ।

‘तिमीहरू यस्तो बालगीत गाउँछौँ र त्यसमा मलाई उभिन लगाउँछौ भन्ने थाहा पाएको भए म आउने नै थिइनँ,’ दाइले हाकाहाकी भने । दाइको जबाफ सुनेर नरुनु न हाँस्नु भइयो !

दाइ ‘सयौँ थुङ्गा फूलका हामी’लाई राष्ट्रिय–गान मान्दैनन् भन्ने त मलाई थाहा थियो, तर सार्वजनिक रूपमा यसरी बिच्केलान् भन्ने चाहिँ अनुमान गरेको थिइनँ । आकासको राहु, पातालको केतु, एकफेरा नपरी कसरी चेतुँ ! त्यस्तो भेउ भएको भए सुरुमा रातो र चन्द्र–सूर्य गाउन हुन्थ्यो भन्ने थकथकी निकै दिनसम्म लागिरह्यो ।

तथापि हामीले कार्यक्रममा विजय दाइको ‘हाम्रा बडा पृथ्वी बाले भनेका, एकता नै बल हो !’ गीतलाई महत्त्वका साथ कोरससमेत थपेर प्रस्तुत गरेका थियौँ, जुन स्वयम् दाइले सुन्न पाउनु भएन ।

प्रमुख अतिथि कार्यक्रम छोडेर अचानक किन हिँडे ? हामीले सहभागीहरूलाई वास्तविक कारण बताउन मनासिव ठानेनौँ । ‘घरमा आमा अचानक बिरामी भएको खबर आएकाले दाइ जानुभएको’ झुठो–कथा बुनिदियौँ ।

विजय दाइभित्र गीतकार, सङ्गीतकारमात्र होइन, गजबको चित्रकार, कार्टुनिस्ट व्यक्तित्व पनि छ । दाइ अचेल इनरुवा बजारको पुरानो घर बेचेर सोमबारेमा बस्न थालेका छन् । नयाँ घरको मुलढोकाको दाहिनेपट्टि भित्तामा एउटा उदाउँदो सूर्यको प्रतीकात्मक चित्र बनाएका रहेछन् । देख्नासाथ मैले मोबाइलबाट फोटो खिचेँ ।

मैले फोटो खिचेको देखेर, घरमा काम सघाउन बसेकी सानी केटीले सोधी– यसको फोटो किन खिच्नुभएको ?
मैले भनेँ– श्रेष्ठ परिवारसँग जोडिएको एउटा अभीशप्त प्रेमकथा लेख्न । मेरो जवाफ उसले बुझिनँ । ट्वाल्ल परेर केहीबेर मेरो मुखतिर हेरी र ढोकाको जाली समाउँदै मलाई भित्र जान सजिलो बनाइदिई ।
क्रमशः