भारत भनिएको नेपाली भूमिमा उभिएको छु । पर–परसम्म नेपाल देखिँदै छ ।
खोज्दै जाँदा भारतीय काँडेतारले बेरिएको सनातन नेपाली भूमिको उत्तर छेउमा बनेको एउटा पुरानो इँटाको घरमा अवधलाल मरवैता भेटिए ।
समय छँदा ओझेलमा पारिएका न्युजमेकर । सीमान्तमा नागरिकता ‘खोसिएका’ नेपाली नागरिक । आफ्नो जीवन फलेको–फुलेको नेपाली माटोमै ओइलाउन पाउने आशा सँगालेको मायालु मन ।
७८ वर्षको उमेर तेस्रो पटक भेटिएका अवधलाल शारीरिक रूपमा गल्न थालेका थिए । देब्रे घुँडामा बाथको समस्या थपिएको थियो । स्मरणशक्ति विस्तारै कमजोर हुँदै गएको थियो । राज्यको उपेक्षाले नैराश्यता र घर–आँगन, करेसाबारी वरपर डुल्न लौरोमाथिको निर्भरता बढेको थियो ।
‘पछिल्लो दिनमा राज्यको उपस्थिति, राजनीतिको मूलधार र नेपाली प्रेसको दृष्टिबाट टाढा छन्, अवधलाल । एक समय काठमाडौँको निकै नजिक रहेका उनी २०५५ सालपछिका केही वर्ष नेपाली प्रेसमा निकै चर्चामा रहेका थिए ।’
पृष्ठभूमिमा, गल्दैछ नेपाली मन, शनिबार २२ साउन २०६७, राजधानी, सौजन्य । मिचिएको सात हजार बिघा जमिन भारतको कब्जामा, बिहीबार १३ चैत २०५४, नेपाल समाचारपत्र । नयाँ सीमा–स्तम्भले नेपालीलाई विदेशी बनाए, शनिबार १९ असार २०५६, नेपाल समाचारपत्र । मिचिएका हजारौँ बिघा जमिनबारे जनस्तरमा चासो, बुधबार २१ पुस २०५६, नेपाल समाचारपत्र । एकपछि अर्को सुविद गुरागाईको बाइलाइन ‘कटिङ’ आज ऐतिहासिक दस्ताबेज भएको छ । हेर्दाहेर्दै नेपाली सीमा मिचिएको ज्युँदो प्रमाण र साक्षी अवधलाल आज स्मृतिमा सीमित भएका छन् ।
बेखबर छ, नयाँ–पुस्ता ।
२०१८ देखि २०४४ सालसम्म पटकपटक श्री–हरिपुर गाउँ विकास समितिका निर्वाचित प्रधानपञ्च बनेका मरवैता परिवारको घर–आँगन हेर्दाहेर्दै भारत, बिहारको वीरपुर नगरपालिका कायम भएको ३४ वर्ष बित्न लाग्दै छ । तर सरकारले यसबारे हालसम्म कुनै विशेष सोधीखोजी र आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
२०४६ सालको जनआन्दोलनपछि जन्मेको नेपाली पुस्ताले सुनसरीमा गुमेको आफ्नो माटो लगभग बिर्सिसक्यो ।
…
अहिले जहाँ मरवैता परिवारको आँगन छ, त्यहाँ पहिले जङ्गेपिलर थियो । घरभन्दा दक्षिणतिर रहेको साबिक जङ्गेपिलर भत्किए (भत्काइए)पछि २०४३ सालमा घरउत्तर २०२÷३ डब्लू पी ८३ नम्बरको नयाँ सीमा–स्तम्भ खडा गरियो । यही अनपेक्षित घटनापछि मरवैताको घर–आँगन परदेशिएको हो । अवधलालका बाबु शिवलाल मरवैताका पालामा नेपाली माटोमा बनेको घर–आँगन आज भारतीय भूमिमा हुनुमा १९५० को आत्मघाती सन्धिको कुनै साइनो–सपना जोडिएको छैन । वर्तमान पुस्ताकै नालायकीपन जिम्मेबार छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण पन्तको पालामा सुनसरीस्थित नेपाल भारत दसगजामा भत्किएका सीमा–स्तम्भ खोजी गरी नयाँ सीमा–स्तम्भ निर्माण गर्न नेपाल–भारत दुवै देशका टोली खटिएका थिए । त्यही टोलीले गरेको हो यो आत्मघाती बदमासी ।
‘तपाईले केही बोल्नुभएन ?’
‘मैले निकै विरोध गरेँ,’ अवधलालले भने, ‘मैले विरोध गरेपछि उनीहरूको टोली टेबुलसहित उठेर गएको थियो । उता वीरपुरमा इन्जिनियरको क्वार्टरमा गएर सही गरेछन् । मैले त पछि मात्र थाहा पाएँ ।’
अवधलालका अनुसार असार–साउनको बेला थियो । चारैतिर दबदबे हिलो थियो । पहिलेको ठाउँमा पिलर बनाउन सकिने अवस्था थिएन । कर्मचारी टोली फर्किएको दुई सातापछि केही भारतीय पुलिससहित मिस्त्रीहरू आए । अहिले पिलर भएको ठाउँतिर अलि उचा (अग्लो) जमिन थियो । त्यस्तै उचा–उचा ठाउँ खोजेर पाँच–छ वटा नयाँ पिलर बनाए । अहिले देखिएका पिलर तिनै हुन् ।
असहमति र विरोध हुँदाहुँदै पनि सो टोलीले उनको घरबारी भारततिर पर्ने गरी नयाँ सीमा–स्तम्भ बनाएका हुन् । ब्रिटिस–इन्डियाका पालामा बनाइएको जङ्गेपिलरको अवशेष अर्थात् लहरिया इँटाको टुक्रा, चुना, मेथी र गुइँठा मिश्रणको टुक्राटुक्री मरवैता परिवारको तत्कालीन गोठघर भएको ठाउँमा खन्यो भने अझै निस्किन्छ । साविककै जङ्गेपिलर छँदा अवधलालको घर हुँदै दक्षिणको बाँसघारी, ललितनारायणको गेट र भीमनगर सडकको छेउ भएर दक्षिण–पश्चिम जान्थ्यो ।
‘पहिले नेपालको सिमाना दक्षिणबाट हाम्रो घर छेकेर जान्थ्यो, अहिले हाम्रो घरउत्तरबाट सोझै पश्चिमतिर गएको छ,’ अवधलालका छोरा सुरेश मरवैताको कोट सम्झन्छु । दिल दुख्छ । मन भक्कानिएर आउँछ ।
मरवैता परिवारले २०१२ सालमा सो ठाउँमा घर–गोठ बनाइएका थिए । २०४३ सालमा बनाइएको नयाँ सीमा–स्तम्भका कारण अवधलालको सो घर–गोठ जग्गासहित आज परदेशी भूमिमा विलय भएको छ । तर घर र खेतबारी परदेशिए पनि अवधलालको मन र घरपरिवारका सबै सदस्य आज पर्यन्त नेपाली नै छन् । घरबारी भारतीय अतिक्रमणको चपेटामा परेको वर्षौँ बितिसके पनि मरवैता परिवारको मनमा भारतले अतिक्रमण गर्न सकेको छैन ।
…
अहिले कोसी–ब्यारेज संरचना बनेको, पानी बगिरहेको र डुबमन भएको सेरोफेरोमा ऊ बेला दर्जनभन्दा बढी मौजा थिए । पकरी प्रगन्नाअन्तर्गतका कटैया, सिमरिया, लिलजा, नरहा, लक्ष्मीपुर, सरवाहा, नपहरी, बौरहा, भङ्गरौना बिर्ता, विष्णुपुर, पिपरा–बिर्ता, गोबरगडहा, झवाहा आदि । सबै मौजा तथा बिर्तामा गुलजार गाउँ–बस्ती थिए । त्यही सेरोफेरोमा तत्कालीन सप्तरी जिल्लाको सलेशपुर मरहरनिया मौजाबाट कोसी विस्थापित भएपछि मरवैता परिवार श्रीहरिपुर र नरसिंह गाविसमा बसोबास सर्दै आएको हो । अवधलालका बुबा शिवलाल मरवैता सो क्षेत्रका जिमदार थिए । एकपटक अवधलाल मरवैता नरसिंह गाउँ पञ्चायतका प्रधानपञ्च पनि बनेका थिए ।
२०४३ सालमा अवधलालको घर–जग्गा भारतीय पक्षले अलि ठुलो परिमाणमा नेपाली भूमि मिचेको पछिल्लो संस्करण हो । २०१२ सालमा कोसी ब्यारेजको संरचना बनाउने घनचक्करमा पनि उनको पैतृक जग्गा मिचिएको छ । त्यो बेला झरेन्द्रनारायण सिंह भारतका लागि नेपाली राजदूत थिए । कोसी सम्झौतापछि ब्यारेज र सेतुबन्ध (तटबन्ध) निर्माणका बेला भत्किएका साँध–सिमाना फेरि बनाउने क्रममा सात हजार बिघा नेपाली भूभाग मिचिएको छ । त्यसका एक साक्षी झरेन्द्रनारायण सिंह पनि हुन् ।
राणाकालमा कोइलाडी बर्साइनका रामेश्वरप्रसाद सिंह कोसी सेरोफेरोमा ठुला जिमिदार थिए । त्यो बेला ठुला जमिदारले आफूले रेखदेख गर्न नसक्ने, कर उठाउन नसक्ने भएपछि मातहतमा साना–साना जिमिदार तोक्ने चलन थियो । त्यही क्रममा रामेश्वरप्रसादले शिवलाल मरवैतालाई कोसीपारि श्री–हरिपुर क्षेत्रको जिमिदारी दिएका थिए ।
शिवलाल मरवैताले हात्ती पालेका थिए । घरपछाडि हात्तीसार थियो । हात्तीसारको कुनामा जङ्गे–पिलर थियो । तर, आज न त्यो हात्तीसार नेपालमा छ, न जङ्गे–पिलर ।
चार दसकअघि नेपालमै रहेको तर हाल विलुप्त भएको रानीगञ्ज भन्सारको कथाचाहिँ अर्को दिन भन्छु । चतरा–भीमनगर रेल्वेको शून्य आरडी सारिएको प्रसङ्ग र पूरक–कथा सुनाउन पनि बाँकी छ ।
…
घरबास सर्लक्क सीमापारि पु¥याइएका अवधलालका छोरा, नाति, भाइ, भतिजा सबैको नेपाली नागरिकता छ । नागरिकता छ मात्र होइन, उनीहरू कोही शिक्षण, कोही व्यापार र कोही कृषि व्यवसायमा नेपाली माटोमै सेवारत छन् । पञ्चायतकालमा नेपाली राजनीतिमा पनि प्रभावशाली रहेको मरवैता परिवार २०४६ को जन–आन्दोलनपछि भने राजनीतिक रूपमा भने केही खुम्चिन पुग्यो । राजा वीरेन्द्र जीवित छउञ्जेल यो परिवारको पहुँच सोझै काठमाडौँसम्म थियो ।
अवधलालका भतिजा कपलेश्वर यादव सुनसरीको हरिनगरा उच्च माविको प्रधानाध्यापक थिए । नेपालमै जन्मे, हुर्के–बढे जागिर खाए ।
कपलेश्वरहरूले पनि हेर्दाहैर्दै भारत बनाइएको घर–जग्गा नेपाल फर्काउन धेरै प्रयास गरे । राजालाई बिन्तीपत्र हाले । पञ्चायतदेखि गणतन्त्रसम्मका नेता गुहारे । तर, अहँ ! कसैको कानमा बतास लागेको छैन । उनीहरूसँग भएको प्रमाण देखाउँदा पनि नेपाली अधिकारीहरूले यसबारे चासो देखाएका छैनन् । केही नभए जस्तो, यो त विषय नै केही होइन जस्तो गरिरहेका छन् ।
अवधलालका अर्का भतिजा नागेश्वर राष्ट्रिय निमावि श्रीपुरमा प्रधानाध्यापक भए, छोरा सुरेश शिक्षक । उनीहरू सबैको घर–जग्गाको लालपूर्जा नेपालकै छ । घर–जग्गा सीमापारि देखिए पनि मालपोत र करहरू नेपालमै तिर्छन् । भोट नेपालमै हाल्छन् । मोटरसाइकल, ट्रयाक्टर, बन्दुक आदिको लाइसेन्स तथा नम्बर नेपालकै छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले उनकै खेतछेउमा चेक–पोस्ट बनाएको छ । अवधलालको घर जाने मूलबाटो दसगजा हुँदै जान्छ । त्यहाँ दिनभर बसेर एसएसबीका जवानहरू मरवैता परिवारसँग भेट्न आउने–जाने नेपालतिरका मान्छेहरूको कडा निगरानी गर्छन्, अभिलेख राख्छन्, सूचना दिल्ली पठाउँछन् ।
अवधलालका अनुसार २०१४ सालमा पहिलो नापी टोली गाउँ आउँदा पनि भारतीय अधिकारीहरूले नेपाली सिमाना अतिक्रमणको प्रयास गरेका थिए । नापी टोलीमा रहेका नेपाली कर्मचारीहरूले भारतीय पक्षसँग मिलेर के लेखापढी गरे थाहा भएन । त्यो टोलीका धेरै कर्मचारीलाई सरकारले निलम्वित गरेको थियो । त्यो बेला भारतीय अधिकारीहरूले अवधलाललाई पनि आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
‘५० हजार भारु लिनू र यस बारेमा आपूmलाई केही थाहा छैन भन्नू !’ भन्दै एक भारतीय अधिकृतले अवधलाललाई आर्थिक प्रलोभनमा पार्न खोजेका पनि थिए । तर, अवधलालले ‘मसँग पैसाको धाक देखाउनुहुन्छ, बरु मै दिन्छु ६० हजार,’ भन्दै गाविस सचिव बिच्छुदास चौधरीलाई चेक काट्न भनेपछि ती भारतीय अधिकारी हच्किएका थिए ।
…
२०१८ सालमा अवधलाल विराटनगरबाट हवाइजहाज चढेर काठमाडौँ गएका थिए । तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री तुलसी गिरीको आतिथ्यमा २० दिन उतै बसेका थिए । तुलसी गिरी मरवैताका छिमेकी पनि हुन् । श्रीपुरको सीमावर्ती क्षेत्रमा अझ पनि गिरी परिवारको जग्गा–जमिन बाँकी छ ।
काठमाडौँ बोलाइएपछि अवधलालले श्री–हरिपुर क्षेत्रमा नेपाली सीमा मिचिएको तथ्य ‘सरकार’लाई जाहेर गरेका थिए । तर अहिलेसम्म सो ठाउँको सीमा जस्ताको त्यस्तै छ । साबिक ठाउँमा सर्न सकेको छैन ।
नेपाली सीमा अतिक्रमणका जिउँदा साक्षी अवधनारायण सोच्थे (भन्थे), मेरो जीवनकालमै दुवै देशका सीमाविज्ञहरूको टोली दसगजामा आउनेछ । टोलीले वैज्ञानिक, राजनीतिक रूपमा सीमा विवादको टुङ्गो लगाउनेछ ।
‘वर्षौँ भइसक्यो, अब त भारतीय हुनुमै रमाइलो छ होला ?’ मेरो जिज्ञासा ।
‘लौ ! के सोध्नुभएको यस्तो ? आफ्नो माटो कसरी बिर्सिनु ?,’ अवधलालको प्रतिप्रश्न ।
‘हमरा नेपालके जते ममत छै, ओते भारतके नैछे ! (मलाई नेपालको जति माया लाग्छ, त्यति भारतको लाग्दैन)’ अवधलालको ठेठही जवाफ ।
मनमा नेपालको माया बोकेर भारतीय भूमिमा बस्न बाध्य अवधलालले समयअन्तरमा बुढ्यौलीका लक्षणसँगै स्मरणशक्ति गुमाए । तर बाँचुञ्जेल माटोको माया छातीमा सँगालेरै बाँचे ।
२००३ सालमा तत्कालीन सप्तरीको एक नम्बर जोगनिया पञ्चायतमा जन्मिएका अवधलाल आप्mनो जीवनकालमै परदेशिएको घरजग्गा फेरि नेपालमै भएको देख्न चाहन्थे । तर पाएनन् ।
‘छोराहरूको पालामा क्या हो, क्या हो,’ उनले मसँग भनेका थिए, ‘मेरै पालामा सीमाको झन्झट मिलिदिए आत्मालाई सन्तोष हुने थियो ।’
आज अवधलाल मरवैता हामीमाझ छैनन्, अर्कै संसारमा पुगिसके । तर उनी जहाँ पुगे पनि उनको आत्मा रूप फेर्दै त्यही मिचिएको दसगजा र घर–जग्गा वरपर घुमिरहेको छ ।
…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।