हाम्रो आँखैअगाडि सात हजार बिघा नेपाली भूमि भारतीयहरूले अनधिकृत भोग–चलन गरिरहेका छन् । तर, हामी केही नभए जस्तो चकमन्न नियति भोगिरहेका छौँ । किन ?

सार्वजनिक रूपमा मभित्रको पत्रकार बेला–बेलामा निकै फरक कुराहरू सोच्न थाल्छ । त्यही मेसोमा कहिलेकाहीँ जुन कुरा मलाई ‘ओहो ! यहाँ त एउटा गतिलो इस्यु गडिएर बसेको रहेको,’ भन्ने लाग्छ, त्यसैमा सोच्दा–सोच्दै लाग्न थाल्छ, यो कुरा यसभन्दा अघि अरू कसैले अनुभूति गर्न किन सकेनन् ? तर, यो त त्यही स्तरको प्रश्न भयो कि सर आइज्याक न्युटनको आँखाअगाडि स्याउ खस्नुभन्दाअघि अरू कसैका आँखाअगाडि देखिने गरी स्याउ किन खसेन ?

यस्तै लहडी प्रश्नहरूको सेरोफेरोमा, उप्रान्त न्यायप्रेमी राजा राम शाहले बाँधेको थिति प्रत्यक्ष हेर्ने मनसुवा पूरा हुन ५० वर्ष लाग्यो । भनिन्छ, राम शाहको पालामा गोरखा न्यायका सवालमा राम राज्य थियो । उखानै छ, न्याय नपाए गोरखा जानू, विद्या हराए कासी जानू । तर, जीवनको ५० औँ र पत्रकारिता थालेको ३० औँ वर्ष प्रवेशको सन्दर्भमा जब म सोध्दै–खोज्दै गोरखा दरबार पुगेँ, त्यहाँ वर्षौँदेखि भइरहेको विभेद सम्झेर विस्मित भएँ । मनमा अर्को प्रश्न पनि आयो, न्याय नपाए गोरखा जानू, तर गोरखाको मौलिकता हराए कहाँ जानु ?

राम शाहकै उत्तराधिकारी पृथ्वीनारायण शाहले पनि कसैले नियाँ–निसाफ बिगार्नु हुँदैन, नियाँ–निसाफ बिगार्ने राष्ट्रका ठूला शत्रु हुन्, भनेका छन् । गोरखा राज्यमा कसैलाई अन्याय हुन नदिनु सनातनदेखि चलिआएको परम्परा हो । यही पृष्ठभूमिमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह निर्मित गोरखा दरबारको पटाङ्गिनीमा पहिलो पाइला राख्नु एक दिनअघि म दिव्योपदेशको पिडिएफ फाइल पढ्दै थिएँ । ऊ बेला मगरातका यी राजाले आफ्नो थिति बसाउन नेपाल एकीकरणको सन्दर्भसहित सकल भाइ–भारदारहरूलाई दिएको अर्ती । उहिलेको नेपाली भाषा ।

उप्रान्त । बूढा मरै भाषा सरै भनी भन्छन् । तिमीहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामी खाउन् ।

दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कजाइँ दिनू भनी शास्त्रमा पनि कहेको छ । मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फुलबारी हो । सबैलाई चेतना भया । यो फूलबारीको छोटा–बडा चारै जात छत्तीसै वर्णले यसको सम्भार गर्नू । राजाका भण्डार भन्याका रैतानहरू हुन् । अन्याय मुलुकमा हुन नदिनू । निँञा–निसाफ बिगान्र्या भन्याको घुस् दिन्या र घुस् खान्या हुन् । ईन दुईको ता धन–जिव लियाको पनि पाप छैन ।

लखनौबाट तीन मुसल्मा मेरो चाकरीलाई नुवाकोटमा पिछा गरी आयाका थिया । ईनै बन्दुकको तुल कलायेत मुसरमानले जान्याको रहेछ । शेख जरबर, ममतकि, भेषासिं तिनै जनालाई अजिटनी दियाँ । तिलंगा सधायाको हो । आफ्ना घरका पुराना सेवक जाँची हजुरमा हरोदम राखी दरोबस्त बाँधी घर बलियो राख्नू । आफ्ना कुलाधर्म नछोड्नू ।

उप्रान्त । यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीन बादशाहसित ठुलो घाहा राख्नू । दखिनको समुद्रका बादशाहसित घाहा त राखनू तर त्यो महा चतुर छ । हिन्दूस्थाना दबाई राखेछ । सरजिमीमा परिरहेछ । हिन्दूस्थाना जाग्यो भने कठिन पर्ला भनी किल्ला खोजन आउन्या छ । सन्धि–सर्पन् हेरी गढी तुल्याई राखनू र रस्ता–रस्तामा भाजा हाली राख्नू र एक दिन त्यो बल आउन्या छ । जाइ कटक् नगर्नू, झिकी कटक् गर्नू ।

आदि–इत्यादि पढ्दै गर्दा मेरो मन भने दिव्योपदेशको मूल–मर्म ‘राज्य सञ्चालन गर्नेले अन्याय मुलुकमा हुन नदिनू,’ भन्ने आशयकै सेरोफेरोमा घुमिरहेको थियो । अहिले मलुकमा जे भइरहेको छ, त्यो जगजाहेरै छ । उहिले मुलुकको जे थिति थियो, त्यो पनि थाहा भएकै कुरा हो ।

टङ … टङ … टङ … !

ज्ञात–अज्ञात परिस्थितिको भारी बोकेर म दक्षिण मोहडाबाट जतिजति सिँढी उक्लिँदै गोरखा दरबार सन्निकट हुँदै थिएँ, उतिउति एउटा अहिलेसम्म सार्वजनिक हुन बाँकी तथ्य पनि नजिक आउँदै थियो ।

दरबार आइपुगेको सूचना दिने घेराभित्र छिर्नासाथ घन्टी बजेको आवाज सुनियो । छालाको जुत्ता–पेटी–पर्स मूल परिसरबाहिरै राख्न भनियो । यहाँसम्म ठिकै छ । जे नियम छ, त्यो मान्नुपर्छ । सुरक्षाका लागि हो भने अझ थप नियमहरू पनि आवश्यक हुनसक्छ । तर, त्यहाँ छालाका जुत्ता–पेटी खोल्न लगाउनुको उद्देश्य सुरक्षासँग जोडिएको थिएन । भित्तामा जताततै ‘जय गुरुदेव !’ लेखिएको थियो । दरबार भनिएको परिसरमा हातमा पूजाको थाली लिएर आउने–जानेहरूको घुइँचो थियो ।

‘यहाँ केको पूजा भइरहेको छ ?’ दरबार परिसरमै पुगेपछि मैले सोधेँ ।

‘कालिका भगवतीको !’ कोही महिला स्वयम्सेवीको जवाफ थियो ।

‘यता, यहाँ भित्र के छ ?’

‘गुरु गोरखनाथको गुफा,’ पुजारीले हातमा त्यहाँ प्रचलित रोट प्रसाद राखिदिँदै भने । डाँडामा, एउटै परिसरमा एकातिर कालिका भगवतीको मन्दिर अर्कोतिर गोरखनाथको गुफा ।

अलख निरञ्जन ! गेरु वस्त्रधारीको आवाजले सात वटा हिमालको दृश्य देखिने सौजन्यपाटी पृष्ठभूमिमा राखेर सेल्फी हानिरहेको जोडी झसङ्ग भयो ।

‘खासमा पृथ्वीनारायण शाहको गोरखा दरबार हेर्न आएको म आउँदा–आउँदै यो कहाँ आइपुगेँ ?’ यात्राका साथी पत्रकार किरण लोहनीलाई सोधेँ ।

‘तपाई सही ठाउँमै हुनुहुन्छ । यही हो गोरखा दरबार,’ उनले भने ।

‘होइन होला । यदि म सही ठाउँमा आएको हुन्थेँ भने मलाई यहाँ आउँदा म गोरखा दरबारमा होइन, हिन्दूहरूको एउट तीर्थस्थलमा आइपुगेँ जस्तो अनुभूति किन भइरहेको छ ? गोरखालीहरूले यो ठाउँलाई एउटा ऐतिहासिक महत्त्वको सम्पदाको रूपमा होइन, हिन्दूहरूको तीर्थस्थलको रूपमा कहिलेदेखि हुर्काउन थालेका हुन् ?’

‘म गोरखामा बसेर पत्रकारिता गर्न थालेको धेरै वर्ष भो । तर, हामीले यो विषयलाई यसरी ध्यान दिएका थिएनौँ,’ किरणजी मुसुक्क हाँसे, ‘नयाँ लाग्यो कुरा मलाई पनि ।’

‘त्यही त म सोच्दै छु, आफ्नो निवास (सरकारी भवन)लाई मन्दिर भनाउनु हुन्न भन्ने चेत मुसलमानहरूलाई राज्यको हतियारविज्ञ नियुक्त गर्ने पृथ्वीनारायण शाहलाई पक्कै पनि थियो होला,’ मैले भनेँ, ‘बिसे नगर्चीलगायतको सल्लाहकार समूहमा चुरौटे मुसलमानहरू पनि पर्थे होलान् । फरक धर्मका मानिसहरू दरबार परिसरमा पस्नै नसक्ने वातावरण ऊ बेला पक्कै थिएन होला ।’

यसबाहेक बिझाउनुपर्ने अर्को विषय पनि रहेछ त्यहाँ । सार्वजनिक न्यायको वकालत गर्ने राम शाहको सालिकको हात भाँच्न केही दिनअघि गोरखालीहरू किन अनुग्रहित भए ? न्यायप्रेमी राम शाहप्रति स्वयम् केही गोरखालीहरूले अपनत्व अनुभव गर्न किन नसकेका हुन् ? नेपाली जनजीवनमा मिथक बनेका न्यायमूर्तिप्रति अन्याय गर्ने सोच यो माटोमा कसले हुर्कायो ? कसरी हुर्कियो ?

म जुन कुरालाई, जुन परिस्थितिलाई यो इस्यु हो भनेर सोचिरहेको हुन्छु, अरू धेरैले त्यसरी नै त्यसलाई बुझेको पाउँदिनँ । कि म कुनै कुरालाई आवश्यकताभन्दा बढी तन्काइरहेको हुन्छु कि मान्छेहरू आफ्नो सोचलाई अनावश्यक रूपमा खुम्च्याइरहेका हुन्छन् । लाग्छ, मानिसहरू जानी–जानी लाइफलाइन साँघुरो पारिरहेका छन् ।

त्यसो त नेपालको चेरापुन्जी मानिएको पोखरा उपत्यकाको लाइफलाइन कुनै न कुनै रूपमा पानीसँग जोडिएको छ । आम मानिसले हिजो मैले सोच्नुभन्दा अगाडि र आज त्यो घटनाको १६ वर्षपछि पनि देख्ने बाहिरी तथ्य यही हो । २०४४ सालमा पहिलोपल्ट शैक्षिक भ्रमणमा पोखरा पुग्दा मैले पनि त्यही देखेँ । तर, दोस्रो पटक २०५७ वैशाखमा पोखरा पुग्दा मभित्र पत्रकारिताको दृष्टिकोण विकास भइसकेको थियो । यसपटक मैले देखेँ पोखरा उपत्यकामा त ९० प्रतिशत मृत्युको कारण पानीसँग जोडिएको रहेछ । चाहे तालहरूमा डुबेर होस्, चाहे नदीहरूमा बगेर होस्, चाहे खोँचहरूमा खसेर होस्, चाहे घर–करेसा हुँदै बग्ने नहरमा परेर होस्, चाहे करेन्ट लागेर होस् । निरन्तर मारिरहेको रहेछ पानीको शक्तिले मान्छे । यही अनुभूतिको सेरोफेरोमा सङ्कलित तथ्य २०५७ वैशाख १८ गते आइतबार, नेपाल समाचारपत्रमा बाइलाइन एङ्कर छापियो । ‘पोखराः जहाँ पानीसँग मृत्युको नाता जोडएको छ,’ शीर्षकमा गुलाबी स्क्रिनभित्र ।

यता, फेवाताल सेरोफेरोका मानिसले तालको बिचमा बराहीको मन्दिर स्थापना गरेका छन् । अब सुरुमै मन्दिर भनिदिइसकेपछि तालको बिचमा उभिएर सेल्फी खिच्दै रमाउन चाहने इस्लाम, इसाइ आदि धर्मावलम्वीहरू त्यो ठाउँमा कसरी जानु ? ठिकै छ, अहिले भइरहेको फेवाताल बीचको टापुलाई मन्दिरकै रूपमा कायम राख्ने हो भने पनि केही छैन । तर, त्यसको सट्टा फेवातालमा अर्को कृत्रिम टापु बनाउन सकिन्छ । त्यो टापुमा चौतारो बनाउन, अरू कलाकृतिहरू कुँद्न, रुख–बिरुवाहरू हुर्काउन सकिन्छ । यदि त्यसो गर्न सकिए, नवनिर्मित संरचना हिन्दू राष्ट्रमा सबै धर्मका मानिसको भावनाको सम्मान हुन्छ भन्ने तथ्य झल्काउने एउटा कोसेढुङ्गा हुनेछ ।

पर्यटनका लागि साँचिएको पानीमा किन जोड्नु मान्छेको धर्म ? इतिहासको साक्षीका रूपमा संरक्षण गर्नुपर्ने राजनीतिक धरोहरमा किन जोड्नु मान्छेको धर्म ? सगरमाथालाई पनि बुद्ध धर्मावलम्वी शेर्पाहरू आफूले मान्दै आएको देवताको प्रतीक मान्छन् । स्थानीय देवीको चित्त बुझाउन धार्मिक अनुष्ठानमा भाग नलिएसम्म, पूजा नगरेसम्म जो–कोही पर्वतारोहीलाई निश्चित दूरीभन्दा अगाडि जान दिइँदैन भन्ने सुनेको छु । पूजा नगरी र महिनावारी भएकी महिला सगरमाथाको टुप्पोमा पुगेमा देवता रिसाउँछन्, अनिष्ट हुन्छ भनेको पनि सुनेको छु । तर, त्यस्तो नगर्नुपर्ने । त्यसो नभन्नुपर्ने ।