नारायणगोपाल महान् मानिस थियो । यो देश दुई तीनवटा कुरामा प्रसिद्ध मानिन्छ, त्यसमध्ये एउटा सगरमाथा हो । तर मचाहिँ नारायणगोपाल भएका कारणले नेपाल प्रसिद्ध छ भन्छु । त्यो मानिस साँचो अर्थमा सगरमाथा नै थियो ।
युगकवि सिद्धिचरण श्रेष्ठको गीति क्यासेट निकाल्ने क्रममा हामीले नारायणलाई एउटा गीत गाउन आग्रह गर्यौँ । त्यो गीत थियो– ‘मेरो प्यारो ओखलढुङ्गा ।’ उसले गाउँछु भनेर पनि गाइदिएन । अनि अति नै भयो भनेर एक दिन मैले नारायणलाई फोन गरेँ । हामीबीच आमाचकारी गाली चल्थ्यो, त्यस दिन पनि चल्यो । दशैँको बेला थियो । उसले भन्यो– “मैले सत्ताइस सय रुपैयाँ हारेको छु, अहिले कहाँ गीत गाउँछु !” यो कुरा सुन्ना साथ मैले एक जना छिमेकी भाइको हातमा तीन हजार रुपैयाँ दिएर – “यो रुपैयाँ राख र गीत गाइदेऊ” भनेर खबर पठाएँ । एक घण्टापछि – ‘‘नारायणदाइले गीत पनि नगाउने रे र पैसा पनि राख्न मान्नु भएन’’ भन्दै त्यो भाइ फर्केर आयो । मलाई साह्रै रिस उठ्यो ।
भोलिपल्ट बेलुकी तीन बजे म र फत्तेमान दाइ उसको घर गयौँ । भाउजू बगैँचामा काम गर्दै हुनुहुँदोरहेछ, नारायण खोइ ? भनेर सोध्यौँ । उहाँले माथितिर देखाइदिनुभयो । हामी माथि गयौँ, तर नारायणलाई देखेनौँ । बाथरुम, भान्सा, बैठक सबैतिर खोज्यौँ, ऊ भेटिएन । भाउजूले फेरि पनि भर्खर माथि उक्लिएको भन्नुभयो । त्यहाँ एउटा कोठा बन्द थियो, मैले निकैबेर ढकढक्याएँ तर त्यो खुलेन । यता फत्तेमान दाइ पनि रिसाउन थाले– “तिमी पनि त ठूला कवि हौ, म पनि राम्रो कलाकार हूँ, हामीलाई बोलाएर यस्तो गर्ने ?” मैले फत्तेमान दाइलाई सम्झाएँ– ‘‘यो कलाकार हो, योसँग नरिसाऔँ । यो मूडमा होला, अहिले जाऔँ ।’’ हामी आजीत भएर फर्कियौँ ।
त्यसको ३ दिनपछि एउटा पार्टीमा मैले नारायणलाई भेटेँ र साफसँग रिसाएँ– ‘‘तैँले त्यस दिन के गरेको ? हामी आउँदा भेट्न पनि नहुने ?” उसले हाँस्दै भन्यो– “सरी यार, म त्यस दिन टिल्ल थिएँ । तिमीहरु आउँदा तीन बोतल रित्तिसकेको थियो, अनि कसरी तिमीहरुसँग गफ गर्न सक्थेँ त ?” म ऊसँग रिसाउन पनि सकिनँ र खालि सोधेँ मात्र– “तँ गीत गाउँछस् कि गाउँदैनस् ?” उसले गाउने मात्र होइन भोलि नै १० बजे म्यूजिक नेपालमा भेट्ने र गाउने वचन पनि दियो । मैले तत्काल म्यूजिक नेपालमा फोन गरेर नारायण आउने जानकारी दिएँ । उनीहरुले पनि नारायणले गाउँदैछ भनेपछि सबै व्यवस्था झटपट मिलाए ।
म भोलिपल्ट त्यहाँ गएँ । नारायण पनि ठीक समयमा आयो । त्यस दिन ऊ साढे दश बजेतिर स्टुडियोभित्र पसेको पाँच बजेसम्म पनि बाहिर निस्केन, गाइरह्यो–गाइरह्यो । उसले यति मेहनत गरेर गायो– म छक्क परेँ । ऊ निस्केपछि हामी घर जान भनेर हिँड्यौँ । कमलपोखरीतिर पुगेपछि कति पैसा लिन्छौँ भनेर सोधेँ तर उसले पैसा लिन मानेन । “तैँले भनेर पो गाएको, त्यसको के पैसा ? बरु एक दिन त्यस पैसाले खसी खाउँला” भन्यो ।
मैले यो प्रसङ्ग किन उल्लेख गरेको भने गीत गाउनलाई राम्रो स्वर भएर मात्रै पनि पर्याप्त हुँदैन, त्यो स्वरको साहित्य पनि जान्नुपर्छ । नारायणको घरमा जानुभएको छ भने देख्नुहुन्थ्यो– उसकहाँ सङ्गीतसम्बन्धी कति धेरै किताबहरु थिए । उसले यस विषयमा कति अध्ययन गर्यो, त्यस कुराको त साँधी नै छैन । मान्छेहरु त्यसलाई घमण्डी भन्थे, तर त्यो एकदमै मिथ्या–आरोप हो । ऊ घमण्डी होइन, साधक थियो । त्यसदिन १० बजे स्टुडियोमा एउटा गीत गाउन पसेको मान्छे, ५ बजे निस्कियो फेरि एकपटक गाउनुपर्छ भन्दैथ्यो । अब कहिले गाउँछ, थाहा छैन । तर ऊ सङ्गीतमा यति लीन हुन्थ्यो अरु कुरासँग उसको वास्तै हुँदैनथ्यो ।
नारायणले २।३ पेग लगाएपछि उनैको कुरा कोट्यायो र गाली गर्न थाल्यो– “सालाहरु ! हामीलाई भने जिन्दगीभर गाउँदा पनि केही नगर्ने, त्यो मुसलमानलाई चाहिँ गो.द.बा. पहिला दिने !”
म कहिल्यै एक्लै नहिँड्ने मान्छे, एक दिन कसरी हो एक्लै हिँडेछु । रानी पोखरीनिर पुगेपछि मलाई कफी खान मन लाग्यो र एउटा पसलमा पस्न लागेको नारायणले नाचघर (अफिस) बाट निस्कँदै गर्दा मलाई देख्यो । म नजिक आउनासाथ उसले मलाई एउटा सूचना पनि दियो– ‘‘तँलाई मनपर्ने गायिकाले आज यहाँ गाउँदैछे ।” मैले नारायणले भन्न खोजेको कुरा बुझिहालेँ– अरुणा लामाले गाउँदै छिन् । ऊ भनेपछि म हुरुक्कै हुने । अनि नारायण आफैँले लगेर मलाई अघिल्लो सीटमा बसायो र “हेर्दै गर्नु म एकछिनमा आउँछु” भनेर निस्क्यो । सुरुमा दार्जीलिङका २।३ जना केटाहरुले खूब राम्रो गाए । नाम नभनौँ तर एक जना नेपाली गायकले गाएको मलाई पटक्कै मन परेन– कर्णकटु लाग्यो । अनि म अरुणाको गीत पनि सुन्दिनँ भनेर बाहिर आएँ । नारायण पनि आउँदै रहेछ । हामी रोदीमा पस्यौँ । त्यसबेला मेहदी हसन नेपाल आएर भर्खर फर्केका थिए । नारायणले २।३ पेग लगाएपछि उनैको कुरा कोट्यायो र गाली गर्न थाल्यो– “सालाहरु ! हामीलाई भने जिन्दगीभर गाउँदा पनि केही नगर्ने, त्यो मुसलमानलाई चाहिँ गो.द.बा. पहिला दिने !”
पञ्चायतको उग्रकालमा एउटा होटलमा बसेर यस्ता कुरा गर्नु कम खतरनाक थिएन । ऊ भन्दै थियो– ”म यिनीहरुको गीत गाउँदै गाउँदिनँ ।” मैले उसलाई थुम्थुमाएँ र भनेँ– “हेर् नारायण, तँजस्तो कलाकारले यस्तो कुरा गर्न सुहाउँदैन । भारतको मुकेश, रफी र किशोर कुमार–तीनजना मिल्दा मात्र तँ बनिन्छ । तैँले पनि यस्तो ईष्र्या गर्ने ? तँ त स्वर–सम्राट् होस् ।” यो विशेषण उसलाई पहिलोचोटि मैले नै दिएको थिएँ । ऊ केही मत्थर भयो । हामी छुट्टियौँ ।
त्यो मान्छेमा एउटा के विशेषता थियो भने उसले गीत गाएन मात्रै, गीत बाँच्यो पनि । उसको सिङ्गो जीवन नै एउटा गीत थियो । यो कुरा धेरै कमले मात्र बुझेका छन् । उसको अध्ययन, उसको अभ्यास अति नै महत्त्वपूर्ण थियो ।
नारायण बित्यो, रेडियो टी.भी.को समाचारमा दिइयो । मैले भनेँ– ”मरोस् न त, खालि रक्सी मात्रै खाएपछि मर्दैन त ?”
एकैछिनपछि म झसङ्ग भएँ । ए त्यो साँच्चै मर्यो त ? म तुरुन्तै घरबाट निस्केर आर्यघाटतिर लागेँ– टोलकाहरुले कुरा गरेछन्– वासु शशी आज किन रोएको होला– म त धरधर–बलिन्द्रधारा आँसु रोएछु ।
यस्तो मानिस जन्मनलाई धेरै समय लाग्छ र गाह्रो पनि छ– सय वर्षमा पनि कुन्नि ! ऊ एउटा ईश्वरीय देन थियो । तर एउटा कुरामा चाहिँ मलाई खुशी लागेको छ– यो देश र यहाँका मानिसले उसलाई चिने । राजा महेन्द्र स्वर्गीय हुँदा– त्यहाँ हुकुमले आएका मानिसहरुभन्दा धेरै मानिस भेला भएका थिए, नारायणको शवयात्रामा । तर नारायणको कुनै हुकुम थिएन, श्रद्धा, आस्था र मनैदेखि माया भएर तिनीहरु आएका थिए । असङ्ख्य स्वास्नी मानिसहरु बागमतीको पानीमा नारायणको लास हेर्न गएका थिए, तिनीहरु कसैको करकापले गएका थिएनन् । त्यसैले नारायण एक महान् मानव थियो ।
नारायण जनताको मनैदेखि भिजेको छ, ऊ जनगायक हो, उसले जनताको मन जितेको छ उसले देशलाई जितेको छ । त्यसैले देशलाई गाली गरेर मात्रै हुँदैन, नारायणलाई जनताले चिनेका छन् । मैले अघि भनेँ नि– यो देश सगरमाथाको देश भनेर चिनिन्थ्यो तर अब यसलाई नारायणगोपालको देश भनेर बदले हुन्छ ।
नारायण र मेराबीचमा धेरै व्यक्तिगत कुराहरु छन्– यो भन्न मिल्दैन । मानिसहरु उसलाई घमण्डी भन्थे– तर ऊ घमण्डी थिएन । ऊ त तपस्वी थियो । यस्ता मानिसहरु कसैले केही भने पनि टेर्दैनन् । उनीहरु खालि आफ्नो कर्तव्य के हो भन्ने कुरामा व्यस्त रहन्छन् । मजस्तो साथीले एउटा गीत गाइमाग्न दुई वर्षसम्म धाउनुपर्यो भनेर मैले उसलाई घमण्डी भन्ने ? आखिर गाइदियो, पैसा पनि लिएन । यदि नारायण घमण्डी भए उसले कसकसलाई गाली गर्यो र कसको के बिगार्यो? त्यस्तो एउटा मान्छेको मात्र नाम लिन सक्छ कसैले ? उसले न आफ्ना अग्रज, न आफ्ना अनुज– कसैलाई गाली गरेन । ऊ विशुद्ध कलाकार थियो । बरु हामी कवि–साहित्यकारहरु राजनीतिमा लाग्यौँ तर ऊ कुनै राजनीतिप्रति प्रतिबद्ध भएन । उसलाई यतातिर वास्तै थिएन । ऊ सधैँ राम्रोभन्दा राम्रो सङ्गीत सिर्जना गर्ने ध्याउन्नमा हुन्थ्यो । नारायणले जति सङ्गीत जानेको थियो, संसारमा सङ्गीत त्योभन्दा धेरै अपार छ भन्ने कुरा उसलाई थाहा थियो । त्यसैले ऊ सदैव त्यसैको खोजीमा लागिरहन्थ्यो ।
नारायणगोपालबारे विशिष्ट ७० जना व्यक्तित्वहरुको संस्मरण समेटिएको बागीनाको नारायणगोपाल स्मृति विशेषाङ्कबाट । यसलाई अजम्बरी पब्लिकेशनले हालै बजारमा ल्याएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।