
नेपाली सङ्गीतमा स्वरसम्राटका रूपमा परिचित नेपाली सङ्गीतका सर्वाधिक लोकप्रिय र कालजयी गीतहरूका गायक एवम् सङ्गीतकार नारायणगोपालका डायरी, संस्मरण र चिठीहरूको पुस्तक प्रकाशन हुनेभएको छ ।
कोषका कार्यकारी अध्यक्ष केसी र बुकहिलबीच सम्झौतामा हस्ताक्षर गर्दै सो जानकारी दिइएको हो ।
नारायणगोपाल बितेको ३४ वर्षपछि उहाँकै निवासमा प्राप्त भएका ती सामग्रीलाई पुस्तकको रूपमा प्रकाशन गर्न लागिएको हो । नारायणगोपाल सङ्गीत कोषका कार्यकारी अध्यक्ष दीपक केसीले नारायणगोपालबारे उत्खनन गर्दा यी सामग्रीहरू भेटिएको बताउनुभयो ।
“नारायणगोपाल मार्ग र चोकको नाम पनि मैले नै राख्ने सौभाग्य पाएँ । पछि शालिक पनि मेरै सक्रियतामा स्थापना भयो । अहिले भवन पनि मेरै सक्रियतामा बन्दै छ । उहाँका संस्मरण र चिठीहरूको पुस्तक पनि मेरै खोज-अनुसन्धानमा प्रकाशन गर्न लेखेको रैछ ।”, ती सामग्रीलाई प्रकाशक बुकहिल पब्लिकेशनका अध्यक्ष भूपेन्द्र खड्कालाई हस्तान्तरण गर्दै उहाँले बताउनुभयो ।
नारायणगोपालकी अर्धाङ्गिनी पेमला गुरुवाचार्यको निधन भएको करिब २ दशकपछि भेटिएका ती डायरी र चिठीहरूले वि.सं. २०१५ सालदेखि २०३५ सम्मको नारायणगोपालको व्यक्तिगत जीवनका साथै सङ्गीत जीवन र नेपालको सामाजिक-राजनीतिक अवस्थाबारे उहाँका अनुभवहरूलाई पाठकमाझ प्रस्तुत गर्नेछन् । नारायणगोपाल सङ्गीत कोषसँगको सहकार्यमा बुकहिलले प्रकाशन गर्न लागेको यो पुस्तकमा उहाँका जीवनका केही आश्चर्यजनक रहस्यहरूसमेत समावेश हुनेछन् ।
साथै, आजसम्म सार्वजनिक नभएका तस्वीरहरू पनि सो पुस्तकमा समावेश हुनेछन् । पुस्तकलाई प्रथम पुरुष शैलीमै प्रकाशन गरिनेछ ।
“भूपेन्द्रजी, रेडियोकर्मीका साथै सङ्गीतका मर्म बुझ्ने पनि हुनुहुन्छ । साथै, पत्रपत्रिकामा नारायणगोपालबारे लेख लेख्नुभयो । त्यसैले यस पुस्तकको प्रकाशनमा उहाँले जत्तिको न्याय अरूले गर्न नसक्ने ठानेर हामीले उहाँलाई नै प्रकाशनका लागि अनुरोध गरेका हौं ।”, अध्यक्ष केसीले भन्नुभयो ।
केसीकै नेतृत्वमा नारायणगोपालको सपना ‘नारायण-पेमला गीत-गङ्गा’ भवन निर्माण भइरहेको छ र सो भवनमा एउटा अति सुविधासम्पन्न रेकर्डिङ स्टुडियो पनि बन्दैछ ।
साथै, सो भवनमै खानाका सौखिन नारायणगोपालका मनपर्ने परिकारको रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य पनि रहेको केसीले बताउनुभयो ।
नारायणगोपालको इच्छाबमोजिम वाद्यवादनमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले लामो समयदेखि नारायणगोपाल सङ्गीत कोषका सङ्गीत निर्देशक सङ्गीतकार एवम् भ्वालिनवादक राजकुमार श्रेष्ठले नयाँ विद्यार्थीलाई प्रशिक्षण दिँदै आइरहनुभएको छ ।
यस्ता बहुप्रतिभाशाली सङ्गीतका नक्षत्र नारायणगोपालका संस्मरणमार्फत नेपाली सङ्गीत जगतका नयाँ तथ्यलाई पाठकमाझ साझीकरण गर्न पाएकोमा प्रकाशन संस्था बुकहिलले खुशी व्यक्त गरेको छ ।
पुस्तक आगामी मङ्सिर १९ गते नारायणगोपाल स्मृति दिवसका दिन लोकार्पण गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

