नारायणगोपालबारे विशिष्ट ७० व्यक्तित्वहरूको संस्मरण सँगालो “बागीना”लाई अजम्बरी पब्लिकेसनले हालै बजारमा ल्याएको छ ।

“बागीना” नारायणगोपाल दिवङ्गल भएलगत्तै नारायणगोपाल सङ्गीत कोषद्वारा प्रकाशित स्मृति विशेषाङ्क हो । अजम्बरी पब्लिकेसनले पुनः प्रकाशनमा ल्याएको यस विशेषाङ्मामा नारायणगोपालसँगै सङ्गत गरेका देशका विशिष्ट व्यक्तित्वहरूका आलेखहरू समावेश छन् ।

“‘बागीना– नारायण गोपाल स्मृति अङ्क’को दोस्रो संस्करण प्रकाशित हुँदैछ भन्ने कुराले मलाई आह्लादित र रोमाञ्चित दुवै थरी अनुभूति गराइरहेको छ ।”, बागीनाका कार्यकारी सम्पादक रमण घिमिरे भूमिकामा लेख्छन्, “नारायणगोपालले सम्पादन गरेको बागीनालाई कालान्तरमा नारायणगोपालकै स्मृति समेटेर प्रकाशन गर्नुपर्ला भन्ने सायद कसैले सोचेको थिएन । तर सोचेजस्तो सबै कहाँ हुन्छ र ! नसोचेकै भए पनि एउटा उल्लेखनीय काम भयो ।”

यस नारायणगोपाल स्मृति विशेषाङ्कमा अनिल पाण्डे, अम्बर गुरुङ, अभि सुवेदी, आशा भोसले, ओम गुरुङ, कमल दीक्षित, कर्म योञ्जन, कालीप्रसाद रिजाल, किशोर नेपाल, कृष्णचन्दसिंह प्रधान, गोपाल योञ्जन, गोविन्द गिरी प्रेरणा, चतुर्भुज आशावादी, चन्द्रराज शर्मा, चेतना कार्की, जीवनाथ धमला, तारादेवी, तुलसा घिमिरे, दिनेश अधिकारी, दिव्य खालिङ, डा. दीर्घसिंह बम, धुँस्वा सायमि, डा. ध्रुवचन्द्र गौतम, नगेन्द्र थापा, नारायण ढकाल, पेमला गुरुवाचार्य, प्रचण्ड मल्ल, प्रदीप भट्टराई, प्रदीप रिमाल, प्रेमध्वज प्रधान, बसन्तकुमार चौधरी, बसन्त श्रेष्ठ, बुलु मुकारुङ, भरत शाक्य, भवानी घिमिरे, भीम निराग, भूपेन्द्र रायमाझी, भैरवनाथ रिमाल कदम, मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनुजबाबु मिश्र, माधव घिमिरे, माधव ढुङ्गेल, यादव खरेल, यादवमणि खरेल, मा. रत्नदास प्रकाश, रत्नशमशेर थापा, रनजीत गजमेर, रुद्रराज मास्के, रमण घिमिरे, रविन नेपाली, रामशरण दर्नाल, लक्ष्मण सिटौला अनन्त, लक्ष्मीनाथ शर्मा, लोचन भट्टराई, डा. वानीरा गिरि, वविता शशी, विजयकुमार, विनोद दीक्षित, डा. विश्वम्भर प्याकुरेल, शम्भुजीत बाँसकोटा, शन्ति ठटाल, शशी शाह, शिव अधिकारी, सङ्गीत आयाम, सञ्जय थापा, सन्तोष शर्मा, हरिकला अधिकारी, नारायणगोपाल र रुपकदीपकका संस्मरण समावेश भएका छन् । साथै, यस पुस्तकमा विभिन्न पत्रपत्रिकामा छापिएका नारायणगोपालसम्बन्धी सामग्री तथा नारायणगोपालका दुर्लब तस्बिरहरू पनि सङ्कलित छन् ।

मूल्य रु. ५५० भएको यस पुस्तक देशका मुख्य सहरहरूमा उपलब्ध छ । पुस्तकको उपलब्धतामा समस्या नहोस् भनेर काठमाडौँभित्र होम डेलिभरी तथा काठमाडौँबाहिर कुरियरमार्फत् पठाउने व्यवस्था समेत गरिएको प्रकाशक कृष्ण अविरलले जनाएका छन् ।