

प्रकाश सायमि
धेरै अगि काठमान्डूमा एउटा चर्चाको विषय थियो, काठमान्डू ।
काठमान्डूमा चर्चाको विषय थियो, न्यूरोड ।
न्यूरोडको पिपलबोट । पिपलबोटका वरिपरिका बारेका कथा लेखिएका छन्, कविता लेखिएका छन्, यसै शीर्षकमा कथा पनि लेखिएका छन् ।
तैपनि पिपलबोटको इतिहास अझै मेटिएको छैन, यो बीसको दशकपछि चर्चामा आएको भेटघाट थलो हो । कोही भेट भएर छुट्टिने, कोही भेट भएर अझै नजिक हुने यस्तो थलोलाई आजकाल अंग्रेजीमा हब पनि भनिन्छ । कसैकसैले फेवरेट ज्वाइन्ट पनि भन्छन् ।
आँग्लभाषामा यो शब्द आउनु भन्दा पहिले नेपाली थाय् भनेको सुन्ने गरिन्छ, फ्रान्सेली भाषामा यसलाई राँदेभू भनिँदै गर्दै आएको जिउँदोजाग्दो इतिहास छ ।
पिपलबोटको चर्चा अर्को कुनै सन्दर्भमा पछि गरिएला वा गर्नु पर्ने हुन आउला तर राँद्येभूको चर्चा आजको विषय यस्तै छ, काठमान्डू उपत्यकाको प्रमुख शहर मात्र नभएर देशको राजधानी नै भएको कारणले यो धेरै कारणले धेरैको राँद्येभू हुन आएको हो । तर काठमान्डूको चर्चित राँद्येभ्यूको चर्चा अलि विस्तीर्ण रुपमा गर्न सकिएला यदि न्यूरोडबाहेक किँग्स् वे, बागबजार, सुन्धारा, वसन्तपुरका नामहरु पनि जोडिँदै आउँछन् ।
न्यूरोडको पिपलबोटको रुखमुनि साहित्यकार, राजनीतिक व्यक्तित्व, व्यापारी, कलाकार आदिको जमघट हुने गरेको इतिहास पञ्चयातकालमा जति चर्चित थियो र छ, अझै पनि यसले त्यो इतिहास कायमै नै राखेको छ । तर न्यूरोडको राँद्येभू त्यो बेलादेखि बैँग्लोर कफी हाउस, आरसी मोमो रेष्टूँरा, मोती महल, इन्दिरा रेष्टूराँ, पारस होटल, पिपल कफी हाउस अब मेटिँदै गएको छ ।
पिपलबोट मुनि उभिएर भेट्नेको इतिहास अविरल छ ।
गीतकार नगेन्द्र थापा त्यो बेलाको पिपलबोट समिझँदै भन्छन्, ‘मैले त्यहाँ जुत्ता पालिस गर्ने उद्यमीहरुको तीन पुस्ता देखेको छु । बाजे पुस्ता, बाबु पुस्ता र नाति पुस्ता .. चौथो पुस्ता आउनुअगि नै मैले त्यो राँद्येभूँ छोडिहालेँ । कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, वल्लभ, भूपी, दिवस हामी सबैको भेटघाट थलो पिपलबोट नै थियो । कोही केही काम पर्यो भने मलाई खोज्दै साँझतिर पिपलबोट नै आई पुग्थे । एउटा घटना याद छ, एकपटक अनुराधा कोइराला कुन्नी के को सिफारिस गरिदिन पत्र लिएर मलाई पिपलबोट भेट्न आइन् । त्यो दिन म चढिसकेको मोटरसाइकल, म झरिसकेपछि केही पर गएर दुर्घटना भयो र म बाँचे ।
एक इतिहास सम्झिँदा टेलिफोनमा नगेन्द्र थापा गम्भीरतापूर्वक बत्तिए पुराना दिनमा ।
इतिहासको अर्को पाटो नगेन्द्र थापा दार्जीलिङ पढ्दा त्यहाँ उनको राँदेबूँ थियो, हिमालय कला मन्दिर । हिमालय कला मन्दिरमै उनको र नारायणगोपालको पहिलो भेट भएको रहेछ, सम्झनामा त्यही देखिन्छ ।
२०२० साल अगिको दार्जीलिङ परिवर्तनको मुखमा थियो । नारायणगोपाल पहिलो पटक गीत खोज्दै दार्जीलिङ पुगेका थिए । हिमालय कला मन्दिरमै यिनको भेट भयो, गोपाल योञ्जन, दिलमाया खाति, कर्म योञ्जन, नगेन्द्र थापा, गगन गुरुङ अनि अरु धेरैको ।
२०२० साल अगिको दार्जीलिङमा एउटा आकर्षण थियो, ग्लेनरीज् नामक् होटलको जहाँ साहित्यकार शंकर लामिछाने र अम्बर गुरुङको ऐतिहासिक भेट भएको थियो ।
अम्बरले शंकर लामिछानेका अद्वितीय निबन्धहरुलाई स्पर्श गरिसकेका थिए अनि शंकरले अम्बरका गीतको चर्चा सुनिसकेका थिए ।
पत्रमित्रता अनि साथीभाइबाट शुभकामना आदानप्रदानपछि एक काल शंकर आफ्नो ससुराली दार्जीलिङ पुग्छन् ।
दार्जीलिङमा उनलाई भेट्न मन भएका पात्र हुन्, अम्बर ।
नौलाख तारा उदाए जस्तो गीत गाएर पहाडमा उदयमान भइसकेका अम्बरलाई भेटको साक्षाी शंकरले आफ्नो किताब विम्ब प्रतिविम्बमा यसरी लेखेका छन्..,
अनि म दार्जीलिङ गएँ । त्यहाँ धेरै परिचित छन् . सबकहाँ आफ्नो आगमनको सूचनास्वरुप भेट गर्न गएँ । उसकहाँ पनि गएँ । ऊ कतै टूरमा गएको रहेछ । खबर छाडी राखेँ ।
एक वा दुई दिन त्यसै भेटघाट र चिनापर्चीमा बित्छ तर अम्बर छैन । अकस्मात् एक साँझ ग्लेनरीज्मा ऊ आइपुग्छ मलाई खोज्दै । झ्वास्स मैले पो चिन्न सकिनँ । ऊ मलाई ठम्याई हाल्छ । अनि त्यही साँझ प्रोग्राम बन्छ । उसलाई अनुमति बिना जनसमक्ष गाउन मनाही छ ।
ग्लेनरीज्मा त्यो साँझ गीतकार र संगीतकारको भेट हुन्छ, शंकरका गीत अम्बरका स्वरमा गुन्जिन्छन् । यतिबेला अम्बरले आफ्नो नयाँ रचना पहाड सुक्यो सुक्यो जस्तो लाग्छ पनि सुनाएका थिए, साथमा अरु पनि पाँच छजना पछि जमेको चर्चा शंकरले गरेका छन् ।
यो आयोजनपछि शंकर र अम्बर निकै घनिष्ठ भए, एउटा विरलै लेखिने इतिहासजस्तै ।
ब्रिटिस शासनकालमै बनेको ग्लेनरीज्ले स्वतन्त्र भारतको इतिहासमा यी दुई हस्तिको भव्य भेट गरायो ।
अहिले फूल–फ्लेज होटल, पबको स्वरुपमा विकसित भइसकेको यो ग्लेनरीज्को भित्तामा शंकर र अम्बरको पहिलो भेटको फोटो त टाँसिएको छैन तर नेपाली साहित्यमा यस भेटको अद्वितीय इतिहास कायमै छ ।
अम्बर शंकरको यो यादगार यहाँ भएजस्तै दार्जीलिङकै हिमालय होटलमा विश्वप्रसिद्ध फिल्म निर्देशक सत्यजीत रे अनि नेपाली मूलका भारतीय संगीतकार गोपाल योञ्जनको भेट भएको थियो, रेको बङ्गाली सिनेमा ‘कञ्चनजंघा’मा बाँसुरी बजाउनका निम्ति ।
कञ्चनाजंघामा योञ्जनले बजाएको बाँसुरी प्रयोग भयो वा भएन त्यो इतिहासको गर्तमा गुप्त नै छ तर गोपाल र रेको भेटलाई एउटा महत्वपूर्ण लिपि मान्छन्, उनका साथी नगेन्द्र थापा ।
दार्जीलिङ धेरै अर्थमा धेरैको निम्ति राँद्येभूँ बन्न पुग्यो, बीपी कोइरालाले नेपालका प्रथम न्यायाधीश हरिप्रसाद प्रधानलाई यहीँ भेटे । गायक अरुण थापाले चलचित्र नायिका मनीषा कोइरालालाई नौ महिनाको उमेरमा यहीँ हुकर रोडको उनको मामाघरमा भेटे, जहाँ त्यतिबेला नेपाल राष्ट्र बैँकबाट लुटिएको तीस लाखसहित कोइराला परिवार भूमिगत भएका थिए ।
स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यले आफ्नो पहिलो प्रेमिका मोहिनी राजभण्डारीसित अन्तिम भेट यहीँ गरे भने आफ्नी भावि पत्नी पेमाला लामासित पहिलो भेट पनि दार्जीलिङकै सिमानामा गरेका थिए, जुन सम्बन्ध गुरुवाचार्यको जीवन पर्यन्त पनि नेपाल र नेपालीसित कायमै रह्यो ।
दार्जीलिङमा गायिका दिलमाया खातिले पहिलो पटक गायक नारायणगोपालसित भेटेकी थिइन्, विछोडको पीडा नसकी खप्न ..बोलको गीत गाउनका निम्ति । गायिका खाति त अझै गर्वका साथ सम्झिन्छिन्, ‘नारायणजीले म उहाँसित गीत गाउन डराएजस्तो देखिएपछि मलाई सानो स्वरमा मलाई दोस्त सम्झिनुस्, आजदेखि दोस्त नै भन्नुस् ।’
यसपछि यी दुई जीवनभर दोस्त भए, गोपाल र नारायण मीत भएजस्तै ।
गायिका खातिले जीवनमा बलिऊडमा ठूला निर्देशक राजकपूरलाई यहीँ भेटेकी थिइन्, राजकपूरले उनलाई सत्यम् शिवम् सुन्दरम् मा गीत गाउन बोलाएका थिए तर परिवारको अनुमति नपाएपछि उनी जान सकिनन् ।
राजकपूर र खातिको भेट दिलमायाले दिलमै साँचेर राखेकी छन् ।
राजकपूर बलिऊडका प्रसिद्ध निर्देशक मात्र नभई उनी फिल्म उद्योगमा एक शोम्यान् का रुपमा चिनिन्छन् ।
राजकपूरसित पहिलो भेटमै आशीर्वाद पाएका गायक उदीतनारायण झाले त्यस भेटको फोटो आफ्नो घरमा भगवानको तस्वीरजस्तै सजाएर राखेका छन्, कारण उनी त्यसपछि बलिउडमा विस्तीर्ण भए । यद्यपि राजकपूरले उनलाई कुनै फिल्ममा गाउन त दिएनन् तर उनको आशीर्वाद सधैँ शीरमै छ, भन्छन् उदीत ।
उदीत र राजकपूरको भेट बम्बईको सिरक होटलमा भएको थियो । सीरकजस्तै बम्बईमा कुनै समय गेलोर्ड चर्चित मानिन्थ्यो, आज त्यसको त्यति चर्चा छैन ।
बम्बईस्थित चर्चगेटमा रहेको गेलोर्डमासंघर्षरत कलाकार जतिन खन्नाको नेपालीभाषी बीएस थापासित पहिलो भेट भएको थियो ।
यो भेट कुनै सामान्य भेट थिएन र यसको इतिहास बलिउड फिल्म उद्योगको ठूल्ठूला किताबमा हाइलाइट गरेर लेखिएको पाइन्छ ।
जतिन खन्ना पछि गएर बलिउडका पहिलो सुपरस्टार राजेश खन्ना भए । यही समय बीएस थापाले नेपालमा निजी क्षेत्रबाट पहिलो फिल्म बनाए, माइतीघर ।
नेपाली फिल्मका स्टारमेकर थापा र बलिउडका पहिलो सुपर स्टार खन्नाको भेट त्यो समय भएको थियो जतिबेला खन्नाको जीवनमा न कुनै नाम थियो, न कुनै पहिचान ।
थापाले खन्नालाई पहिलो पटक नाटकमा मौका दिएका थिए, ‘महँगा सौदा’मा ।
थापाको राँद्येभू मानिन्थ्यो, गेलोर्ड । गेलोर्डमा उनी सुनील दत्त, मोहन कुमार आदिका साथ देखिन्थे । त्यहीँ पहिलो पटक पुगे, संघर्षरत कलाकार खन्ना । उनलाई स्वागत गर्दैै थापाले भने, ‘कम अन इन जतिन । मिट् अन्जु महेन्द्रू युअर हिरोइन इन द प्ले ।’
‘महँगा सौदा’मा खन्ना र महेन्द्रू नायक नायिका भए । यी दुई पछि लामो समयसम्म प्रेमी प्रेमिका रुपमा पनि चर्चित रहे ।
देहरादूननिवासी थापाको मातृभाषा नेपाली थियो र उनी नेपाली फिल्म बनाउन जनरल नर शम्सेरको अनुरोधमा नेपाल निम्त्याइए र उनको काठमान्डूमा पहिलो बसाइँ भयो, न्यूरोडको होटल पारस । मथुरादास श्रेष्ठले सञ्चालन गरेको होटल पारस न्यूरोडस्थित भूगोल पार्क घुमेर पुरानो भन्सार जाँदा बाटोमा पथ्र्यो । पारस होटलमै पहिलो पटक बीएस थापाले गायक प्रेमध्वज प्रधान, नारायणगोपाल, अरुणा लामा, सीपी लोहनी आदिलाई भेटेका थिए ।
माइतीघरका निम्ति गायक प्रेमध्वज प्रधानले पारस होटलमै संगीतकार जयदेव र गायिका मीनू पुरुषोत्तमलाई भेटेका थिए र यहीं उनले अरु कलाकारले जस्तै स्वर परीक्षा दिएका थिए ।
मुझे जीने दो, हम दोनों, रेशमा और शेरा जस्ता फिल्मका संगीतकार जयदेव बलिउडमा डा हरिवंश राय बच्चनको ‘मधुशाला’ कवितालाई लय भर्ने पहिलो संगीतकार थिए । जयदेवका अगाडि प्रेमध्वजले होटल पारसमा हिन्दी गीत गाएर स्वर परीक्षा दिएका थिए ।
हिन्दी फिल्म ‘पहाडी जवान’का नायक मोहनदास श्रेष्ठका दाजु मथुरादासले सञ्चालन गरेको यो होटल कुनै समय पोखराबाट काठमान्डू आएर बस्ने कवि भूपी शेरचनको अर्को पपुलर राँद्येभू मानिन्थ्यो । भूपीले धेरै कवि लेखकलाई यही होटलमा भेटघाटको निम्ता दिन्थे ।
आफ्नो वैवाहिक जीवन शुरु गरेर बेरोजगारीको फाँकामस्तीमा बाँचिरहेका नारायणगोपाल र जनार्दन समको पहिलो भेट माणिकरत्न स्थापितले यही होटलमा गराएका थिए । गायक स्थापितका अनुसार नारायणगोपाललाई नाचघरमा जागीर खुवाउन उनले नै जनार्दन समसित यहीँ भेट गराएको थिएँ ।
दार्जिलिङबाट सांस्कृतिक संस्थानको निम्तामा स्मृतिका कोसेली हाम्रा गीतहरु कार्यक्रममा सहभागी हुन काठमान्डू आएका कर्म योञ्जन, अरुणा लामा, पेमा लामा, कुन्ती सुन्दास, डेजी बराइली, रमोला मोक्तान, शंकर गुरुङ, विश्वमणि हिँगमाँग आदि यही होटलमा बसेका थिए । यस होटलमा धेरैजसो नेपाल र दार्जीलिङका कलाकारको भेट गराउन आयोजनकर्मी नारायणगोपालले अहम् भूमिका खेलेका थिए तर आजभोलि यो होटलले आफ्नो इतिहास मेटेर त्यहाँ पीनट्स सपिङ सेन्टरको फैलावट भइसकेको छ ।
पारस होटल भएको ठाउँभन्दा केही पर त्यतिबेला नेपाल भारत पुस्तकालय थियो, त्यो पुस्तकालय त्यस समयको अर्को राँद्यभूँ मानिन्थ्यो , जहाँ पहिलो पटक लेखक बन्न खोज्दै गरेकी पारिजात र अर्का लेखक शंकर लामिछानेको पहिलो भेट भयो जुन भेट पछि पारिजातको पहिलो उपन्यास ‘शिरीषको फूल’को भूमिकासम्म बन्न पुग्यो ।
नेपाल भारत पुस्तकालयमै महाकवि देवकोटाले त्यहाँका लाइब्रेरियन लामिछाने र साहित्यकार तेजेश्वरबाबु ग्वँगःलाई चिनाइदिए, ग्वँगः र लामिछाने दुवै देवकोटाका विद्यार्थी थिए ।
नेपाल भारत पुस्तकालयपछि वसन्तपुरबाट नेपाल वायु सेवा निगमको छिँडीमा सर्यो जहाँ कलाकार जीवन आचार्यले धेरै कला प्रदर्शनी गरे त्यहाँ धेरै चित्रकार र कवि लेखकको भेट हुने गरेको पाइन्छ । तत्कालीन राजदूत नरेन्द्र जैनले पछि पुस्तकालय कक्षबाहेक अलग्गै अर्को एउटा कोठा भाडामा लिएर झन सक्रियता दिएका थिए ।
कवि गीतकार क्षेत्रप्रताप अधिकारी शिक्षा सहायक मन्त्री भइसकेपछि त्यही हलमा पहिलो पटक कवि लेखक चित्रकारका माझ प्रमुख अतिथि भएर देखिएका थिए ।
नेपाल भारत पुस्तकालयजस्तै अर्को ख्यातनामा राँद्येभूँ हो, होटल रोयल । कान्तिपथमा रहेको होटल रोयलमा नृत्यशास्त्री भैरववहादुर थापाले प्रसिद्ध लेखक शंकर लामिछाने र आफ्ना अफिसर हरिदत्त राईले भेटेको खूब सम्झिन्छन् ।
थापाले शंकर बितेपछि मात्र थाह पाए आफ्ना प्रिय लेखक लामिछाने आफ्ना अफिसरका ज्वाइँ रहेछन् भनेर ।
काठमान्डूमा कुनै समय न्यूरोडमा ग्रीन होटल भन्ने थियो र त्यसको इतिहास पनि गजबै थियो । नौलाख तारा गीत गाएर प्रसिद्ध भइसकेका दार्जीलिङका गायक अम्बर गुरुङलाई त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुले त्यही होटलमा भेटेका थिए ।
त्यतिवेला त्रिभुवन विश्वविद्यालय पढ्ने अभि सुवेदी, विश्वकेशर मास्के, निर्मल तुलाधरजस्ता धेरै विद्यार्थीले अम्बरलाई विश्वविद्यालययमा कार्यक्रम सकेर हिँड्दै यही होटल सम्म पुर्याउन आएका थिए ।
अम्बर त्यो बेला स्टार भएका थिए ।
ग्रीन होटलमै अम्बर र गायक पीएल श्रेष्ठको पहिलो भेट भएको थियो र पछि गुरुङको संगीतमा पीएलले अगम सिंह गिरी र आफ्नो रचनामा दुई गीत गाउन लगाए , भेटको साक्षी … र जीवन रँगिलो सपना हो … पीएलका चर्चित गीत नेपाली सुगम संगीतको इतिहासमा अघिल्लो पंक्तिमा दर्ता भएको छ ।
गायक योगेश वैद्यले आफ्नो प्रिय गायक पीएललाई ग्रीन होटलमै देखेका थिए । वैद्यलाई पछि मात्र थाह भो, ग्रीन होटलका साहू नै रहेछन् पीएल । होटल शंकरका साहू रामशंकर श्रेष्ठका भाइ पीएल श्रेष्ठले नेपाली आधुनिक गीतमा बच्चुकैलाशको संगीतमा प्रशस्त गीत गाएका छन् ।
यसै वर्ष निधन भएका पीएलले ग्रीन होटललाई कुनै समय काठमान्डूको राँद्येभूँ बनाएका थिए ।
ग्रीन होटलकै वारि र पारि बैँग्लौर कफी हाउस अनि सन्देश गृह थियो । इतिहास बाँचेका र बितेर गएको इतिहास साँचेर बसेका कैय्यन घटना र घटनावलीले यी राँद्येभूलाई विस्मृत बनाउन सक्दैन ।
इतिहासको अर्को छेउमा भेटघाटको अर्को थलो बन्यो, रत्नपार्कको पार्क रेस्त्राँ जहाँ कुनै समय रन्जीत गजमेर, पिटर जेकार्थकले मदन परियारसित मिलेर सांगीतिक जीवन शुरु गरे । होटल व्यवसायी योगेन्द्र शम्सेर राणा (काजू बाबु साहब) ले शुरु गरेको यो पार्क रेस्त्राँमा पछिल्लो समय उदीतनारायण झाले सम्म दिनको रु दश लिएर गीत गाए ।
यही रेस्त्राँबाट लुई ब्याँक्स्लाई अजी खानले होटल सोल्टी लगे । होटल सोल्टी, होटल अन्नपूर्ण, होटल याक एन्ड यती त अझै पनि राँद्येभूको रुपमा प्रसिद्ध नै छन् तर पुराना राँद्येभू बिस्तारै हराउँदै गएका छन् ।
ती सबै राँद्येभूप्रति यो लेख समर्पित छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

