समग्र नेपाली गीत-सङ्गीत-गायन क्षेत्रमा स्वर-सम्राट् अर्थात् नारायणगोपालको नामले प्रसिद्धि कमाएको भए पनि उनको वास्तविक नाम भने नारायणगोपाल गुरूवार्चाय हो । उनको जन्म ४ अक्टोबर सन् १९३९ (तदानुसार वि. सं. १९९६, असोज १८ गते) काठमाडाैँकाे किलागल टोल भन्ने ठाउँमा माता रामदेवी र पिता आशागोपाल गुरूवार्चायको परिवारमा भएको हो । विश्वमा एक जना सफल गायक-सङ्गीतकारका रूपमा ख्याति आर्जन गरेका स्वर-सम्राट् नारायणगोपालले नेपाली लगायत नेवारी अर्थात् (नेपाल भाषा)मा पनि प्रशस्त गीतहरू गाएका छन् ।
कतिपय गीतमा भने आफैले सङ्गीत भरेर स्वर दिएका छन् । उनलाई नेपाली गीत-सङ्गीत जगतमा सांस्कृतिक मूर्ति अर्थात् प्रतीकका रूपमा मानिन्छ । उनले गाएका र उनीद्वारा सङ्गीतबद्ध अधिकांश गीतहरूमा मार्मिक दुःख वेदना तथा आर्तनाद पाइने हुनाले उनलाई Tragedy King समेत भनिएको पाइन्छ ।
नारायणगापालको गायिकी अत्यन्त मनमोहक र प्रभावकारी रहेको देखिन्छ । गीत गायन क्षेत्रमा मात्र होइन सन् ५०-६०को समयावधिमा सङ्गीत-निर्देशक रहेर पनि उनले नेपाली गीत-सङ्गीतको संवर्द्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
यसको साथसाथै दर्जनौँ चलचित्र, वृत्तचित्र, मञ्चीय नाटक र रेडियो नाटकहरूमा समेत उनका गीतहरू समावेश गरिएका पाइन्छन् । जीवनकालभरिमा नारायण गोपालले लगभग पाँच सयको हाराहारीमा नेपाली र नेवारी (नेपाल भाषा) गीतहरू रेकर्ड गरिएको जानकारी पाइन्छ । त्यी मध्ये धेरैवटा गीतहरूमा आफैले सङ्गीत समेत दिएर जीवन्त समेत तुल्याएका छन् । जीवनमा उनले पहिलो गीत उनका अभिन्न साथी गायक-सङ्गीतकार प्रेमध्वोज प्रधान र सङ्गीत गुरु माणिक रत्न सत्यपीठको सङ्गीत रचनामा गाएका थिए ।
उनले आफ्नो जीवनमा अपनाएका रुचिगत पेसा वा आजीविकामा गायन, सङ्गीत निर्देशन, नाट्य-लेखन र सम्पादन कार्य नै प्रमुख रहेको देखिन्छ । उनले गाएका केही प्रसिद्ध गीतका बोलहरूमध्ये केही गीतहरू यसप्रकार छन् –
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा…।
(शब्द- चाँदनी शाह, सङ्गीत- दीपक जङ्गम)
दुइटा फूल देउरालीमा, साथै राखेँ जस्तो लाग्छ,
कतै टाढा जान्दाखेरि, सँगै हिंड्यौं जस्तो लाग्छ…।
(शब्द- ईश्वरवल्लभ, सङ्गीत- नारायणगोपाल)
पोखिएर घामको झुल्का भरी सँगारमा
तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है…।
(शब्द- हरिभक्त कटुवाल, सङ्गीत- अम्बर गुरुङ)
मलाई माफ गरिदेऊ मेरा लोभी नजर
कहीँ कसैमा डुबेछ भने…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला
एक्लै तिमी नआऊ म मात्तिएको बेला…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
मेरो आँखालाई राख्ने फूलबारी छैन
तिम्रो मुहारमा राखूँ कि…।
(शब्द-सङ्गीत- अम्बर गुरुङ)
सावनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा तिमी छाऊ न…।
(शब्द-सङ्गीत- दीपक जङ्गम)
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु, बिथोल्न नआऊ…।
(शब्द- हरिभक्त कटुवाल, सङ्गीत- अम्बर गुरुङ)
सम्हाल घुम्टोहरू सजाऊ केशहरू
म आएँ आँधी बोकेर सम्हाल वेगहरू…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ…।
(शब्द- कालीप्रसाद रिजाल, सङ्गीत- नारायणगोपाल)
मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्छौ यो पिर हो…।
(शब्द- ईश्वरवल्लभ, सङ्गीत- गोपाल योञ्जन)
केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा रुनु त छँदैछ…।
(शब्द- कालीप्रसाद रिजाल, सङ्गीत- नारायणगोपाल)
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ…।
(शब्द- भैरवनाथ रिमाल, सङ्गीत- नारायणगोपाल)
तिम्रो जस्तो मुटु मेरो, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि…।
(शब्द-गोपाल योञ्जन, सङ्गीत- कर्म योञ्जन)
ए मलाई माया गर्छु भन्ने हजूर
कहिले माया पनि देखाउने गर…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
तिमीलाई म के भनूँ, फूल भनूँ कि जून भनूँ
उपमा धेरै म के दिउँ, तिमीलाई मनकी मायालू भनूँ…।
(शब्द-सङ्गीत- दीपक जङ्गम)
झरेको पातझैं भयो, उजाड मेरो जिन्दगी
निभेको दीपझैं भयो, उदास मेरो जिन्दगी…।
(शब्द- कालीप्रसाद रिजाल, सङ्गीत- नारायणगोपाल)
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल, मै झरी गएको…।
(शब्द- माधवप्रसाद घिमिरे, सङ्गीत- नातिकाजी)
पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म
आज सारा व्याथाहरूलाई सिध्याउन चाहन्छु म…।
(शब्द- यादव खरेल, सङ्गीत- नारायणगोपाल)
प्रेयसीका यादहरू कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें…।
(शब्द-सङ्गीत- दिव्य खालिङ)
म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु…।
(शब्द- क्षेत्रप्रताप अधिकारी, सङ्गीत- दिव्य खालिङ)
सारा दिन अरूलाई बाँडें सायद यी रात मेरा
मेरा सुखहरू अरूका सायद यी आँसु मेरा…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
लौ सुन म भन्छु, मेरो राम कहानी
त्यो एक दिनको घाम, सयौँ दिनको पानी…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
मलाई छोडी मेरो छाया कतै झरेछ कतै झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ…।
(शब्द- क्षेत्रप्रताप अधिकारी, सङ्गीत- नारायणगोपाल)
चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
यसैगरी बिताइ दिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी…।
(शब्द- कालीप्रसाद रिजाल, सङ्गीत- नारायणगोपाल)
झर्यो जिन्दगी, फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी…।
(शब्द- कालीप्रसाद रिजाल, सङ्गीत- नारायणगोपाल)
यति चोखो यति मीठो दिउँला तिमीलाई
माया बिर्सने छन् साराले पुराना प्रेमका कथा…।
(शब्द-सङ्गीत- गोपाल योञ्जन)
चिनारी हाम्रो धेरै पुरानो रहेझैँ लाग्दछ
नदेखे पनि भेट सधैँसधैँ भएझैँ लाग्दछ…।
(शब्द-नगेन्द्र थापा, सङ्गीत-कर्म योञ्जन)
बिर्सेर फेरि मलाई नहेर यहाँ
एक जीवन आँसुमा डुब्छ…।
(शब्द-नगेन्द्र थापा, सङ्गीत-गोपाल योञ्जन)
पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो
कुर्दाकुर्दै जिन्दगी नै भइगएछ कालो…।
(शब्द-नीर शाह, सङ्गीत-शुभ/शम्भुजित)
मेरो यो गीतमा जुन मूर्च्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ…।
(शब्द-सङ्गीत- अम्बर गुरुङ)
यसका अतिरिक्त यो सम्झिने मन छ, म बिर्सूं कसरी, तिमी नै भनिदेऊ, है जाने निष्ठुरी…, यति धेरै माया दिई मनभरि दुःख नदेऊ, बाटो वर पर फुल्ने पलाँस टिपी शिरमा नलाऊ…, मेरो बेहोशी आज मेरा लागि पर्दा भो…,वीरताको चिनो वीरको सन्तान…, चिनारी हाम्रो धेरै पुरानो…,स्वर्गकी रानी…, आँखाको भाका आँखैले…, भो भो मलाई नछेक…, मधुमासमा यो दिल…,बिछोडको पीडा…,र ऐ कान्छा ठट्टै माया, बैँस जान आँट्यो…, (अरुणा लामासितको युगल स्वरमा) आदि जस्ता सयौँ कालजयी गीतहरू उनले गाएका छन् ।
त्यसबेलाका अधिकांश गीतहरू कलकत्तामा रेकर्डिङ गरिएका थिए । उनले गाएका गीतहरूका अतिरिक्त उनले सिर्जना गरेका शब्द-रचनाहरूमा मोहनी लाग्ला है, गाउँलेको बोलीले…, जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको…, माया त माया हो, तिम्रो मनमा लुकेको माया…, दीयो बाली पूजा हो…, बतासले उडाई लग्यो…, हिमाल सरी यो…, पहाडको माथि माथि घुमी हिँड्ने…, छोरीको जन्म…, यो मुटुलाई कसरी सम्झाउनु…, आदि गीतहरूलाई सफल दृष्टान्तका रूपमा लिन सकिन्छ ।
नारायणगोरपाल सन् १९६५ मा दार्जिलिङमा प्रथमपल्ट आए अनि त्यसपछिका दिनहरूमा जीवनभरका लागि हुने किसिमका दुईवटा महत्त्वपूर्ण कामहरू भए । तर त्यी कार्य अति नै सरल र सहज रूपमा सम्पन्न भए । त्यी दुई महत्त्वपूर्ण कार्यहरू यसप्रकार थिए- उनको गायकीको अत्यन्त प्रशंसक सुश्री पेमेला लामासित भेट हुनु र सम्पर्क बढ्दै गएर पछि सन् १९७१ मा उनैसित विवाह हुनु अनि प्रतिभाशाली गीतकार-सङ्गीतकार गोपाल योञ्जनसित मित लाउन पुग्नु अनि यी दुवै सङ्गीत साधकहरूको सहकार्य र मित्रता बाँचुञ्जेलसम्म पनि प्रगाढ रूपमा कायम रहनु ।
नगेन्द्र थापा र गोपाल योञ्जन दार्जिलिङमा सँगै पढ्थे । नगेन्द्र थापाले त्यसताक मसिना कविता र मुक्तकहरू लेख्थे तर गीत लेख्न थालेका भने थिएनन् । कवि-गीतकार ईश्वरवल्लभ, रत्नशमसेर थापा र नगेन्द्र थापाको विशेष उपस्थिति र सहयोगमा दुई गोपाल-(गोपाल योञ्जन र नारायणगोपाल)-ले दार्जिलिङको महाकाल डाँडामा मित लाए । पेमेला लामा बी. ए. उत्तीर्ण गरी दार्जिलिङ महकुमान्तर्गत पर्ने सुखियापोखरीको कुनै स्कुलमा शिक्षण कार्यमा लागेकी थिइन् । सन् १९७१ सालमा भागी प्रेम विवाह गरेपछि नारायण र प्रेमेला केही वर्ष पोखरामा भूपी शेरचनको घरमा बसे अनि यसै समयावधिमा कवि-गीतकार भूपी शेरचनसित पनि उनको सम्बन्ध सुदृढ बनेको जानकारी पाइन्छ ।
दार्जिलिङमा केही समय बसेको बेला नारायणगोपाललाई बेबी अर्थात् ऐश्वर्यसितको एकतर्फी प्रेममा पागलसरह एकोहोरिएको देखेर नगेन्द्र थापा र गोपाल योञ्जन मिलेर एउटा युक्ति निकाले । त्यो के हो भने नगेन्द्र थापाले लेखेका शब्दहरूमा गोपाल योञ्जनले सङ्गीत भरेर गाउन दिए । जुन गीतको बोल रहेको थियो- बिर्सेर फेरि मलाई नहेर, यहाँ एक जीवन आँसुमा डुब्छ ।
उनी सन् १९६० देखि सन् १९९०सम्म नेपाली गीत-सङ्गीत रचना र गायन क्षेत्रमा अत्यन्त सक्रिय रहेको बुझिन्छ । उनको जीवनमा विशेष गरी गीतकार नगेन्द्र थापा, गोपाल योञ्जन, अम्बर गुरुङ, भूपी शेरचन, मानिक रत्न तुलाधर, प्रेमध्वोज प्रधान, ईश्वरवल्लभ, दिव्य खालिङ, अरूणा लामा, रत्न शमसेर थापासँगको राम्रो संसर्ग र मित्रता रहेको थियो । नारायणगोपालको परिवारमा छ जना दाजुभाइ र चार बहिनीहरू थिए ।
वि. सं. २०१६ मा एसएलसी उत्तीर्ण गरेपछि त्रिचन्द्र कलेजबाट कलामा स्नातक गरेपछि बडोदास्थित भारतको प्रसिद्ध शास्त्रीय-सङ्गीत संस्थान साराजीराव विश्वविद्यालयबाट भारतीय शास्त्रीय सङ्गीतमा विशेष अध्ययन गरे । पेसाले चिकित्सक भए पनि नेपाली गीतलेखनका एकजना प्रसिद्ध हस्ती डा.राममान तृषितको शब्द- पक्षीको पंखमा धरतीको दीयो… बोल रहेको गीत गाएर रेडियो नेपालको गायनमा अडिसन उत्तीर्ण गरेका थिए ।
साङ्गीतिक यात्राका आरम्भकालीन दिनहरूका आफ्ना सहयोगी मार्गदर्शक एवम् शुभचिन्तकहरू प्रेमध्वोज प्रधान र माणिकरत्नको सङ्गीत रचनामा नारायणगोपालले धेरैवटा गीतहरू गाए । त्यसपछिका दिनहरूमा आफ्ना समकालीन गीतकार रत्नशमसेर थापा, नगेन्द्र थापा, गोपाल योञ्जन र अम्बर गुरुङका कतिपय कालजयी शब्दहरूमा सङ्गीत दिए भने धेरैवटा गीतहरूमा आफ्नो कालजयी स्वर दिएर जीवन्त तुल्याएका छन् ।
गोपाल योञ्जन, अम्बर गुरुङ, भूपी शेरचनका अतिरिक्त उनका गीत-सङ्गीत क्षेत्रका समकालीन साथी-सङ्गीहरूमा दिव्य खालिङ, पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, नातीकाजी, शिवशङ्कर, किरण प्रधान आदि मुख्य रूपमा देखिन आउँछन् । नारायणगोपाल पनि गोपाल योञ्जन र अम्बर गुरुङ जस्तो गीत लेखन, सङ्गीत संयोजन र गायन कलामा अत्यन्त प्रतिभाशाली थिए । उनी बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका रूपमा सर्वत्र परिचित र प्रसिद्ध थिए ।
नारायणगोपालले राष्ट्रिय नाच घर(National Dance Theater)-मा प्रबन्धकका रूपमा नियुक्त भए । यसै समयावधिमा साङ्गीतिक जर्नल ‘बागीना’को पनि सम्पादन कार्य सम्हाले । उनले ‘बागिना’को प्रथम तीन अङ्कको सम्पादन कार्य अत्यन्त सफलतापूर्वक सम्पन्न गरेका थिए । कालान्तरमा सांस्कृतिक संस्थान(Cultural Center)-मा प्रबन्ध-निर्देशकका रूपमा नियुक्त भए साथसाथै नेपाल सरकारको सञ्चार विभागका उपद्रेष्टा वा सल्लाहकार र ललितकला क्याम्पसमा सङ्गीत विषयका प्राध्यापन कार्यमा समेत सम्मिलित बनेका थिए । यसै कालावधिमा उनले कान्छी मस्याङ जस्तो साङ्गीतमय नाटकरूपक लेखेर मञ्चन समेत गराएका थिए ।
गायनमा मात्र होइन उनले अन्य गीतकारका शब्दहरूमा समेत कालजयी सङ्गीत रचना गरिदिएका छन् भने केही गीतहरू आफैले पनि सिर्जना गरी त्यस गीतमा आफैले सङ्गीत रचना गरी अरूलाई गाउन दिएका छन् । विभिन्न चलचित्र, नाटक र साङ्गीतिक एल्बमहरूमा उनका सयौँ गीतहरू समाविष्ट रहेका छन् ।
आफूले कस्तो गीत गाउँदा सुहाउँछ, कस्तो गीतमा आफ्नो स्वरले साथ दिन्छ भन्ने कुरोमा उनी साह्रै सचेत र निष्ठावान् थिए । साथी भाइको मन राखिदिनकै खातिर जस्तोसुकै गीतहरूमा सङ्गीत भर्न र गाउन चाहँदैन थिए । उनको गीत-सङ्गीतप्रतिको साधना र लगाउ आफन्त र साथी-भाइको मित्रताभन्दा धेरै माथि र श्रद्धेय थियो भन्ने बुझिन्छ । सङ्गीतकार दीपक जङ्गमको सङ्गीतमा रानी ऐश्वर्य-(अर्थात् चाँदनी शाहको नामले गीतकारको रूपमा सर्वपरिचित)-ले लेखेको गीत- एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा बोल रहेको गीतलाई दर्जनौँपल्टको प्रयासपछि धुन भरियो अनि त्यसपछि मात्र नारायणगोपालले गाए, भनिन्छ ।
समस्त नेपाली सङ्गीताकाशमा नारायणगोपालले आफ्नो अमेट् छवि कायम गरेका छन् । उनलाई त्यसै स्वर-सम्राट्को उपाधिले विभूषित गरिएको होइन ।
उनले बाँचुञ्जेलसम्म नेपाली गीत गायनका साथसाथै गीतलेखन र सङ्गीत-रचनामा योगदान पुर्याएको देखिन्छ । रत्न रेकर्डिङ संस्थानबाट ब्लू नोट र म्युजिक नेपालबाट गीति-यात्रा रेकर्डिङ भई बजारमा आयो । आजीवन नेपाली गीत-सङ्गीत क्षेत्रमा योगदान पुर्याए बापत् उनको अथक योगदानको कदर गर्दै वि.सं. २०२३ सालमा सर्वोत्तम सङ्गीत पुरस्कार, २०२४ सालमा सर्वोत्तम गायक रेडियो नेपाल पुरस्कार, २०४४ सालमा इन्द्रराज्य प्रज्ञा पुरस्कार र छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री पुरस्कार र मदन पुरस्कार, २०४७ सालमा त्रिशक्ति प्रज्ञा पुरस्कारलगायत दर्जनौँ सम्मान र अलङ्करणहरूले सम्मानित र अलङ्कृत बनेका छन् ।
कालजयी स्रष्टा नारायणगोपालको १९ गते मङ्सिर, वि. सं. २०४७ सालमा वीर अस्पतालमा बेलुकी ९ बजे ५१ वर्षको उमेरमा उनको देहावसान भयो । आर्यघाटमा उनको दाह संस्कारमा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, राजनीतिज्ञ गणेशमान सिंहलगायत धेरै राजनेता, साहित्यकार, सङ्गीतकार र उनका शुभचिन्तकहरू हजारौंका सङ्ख्यामा उपस्थिति रहेको थियो ।
उनको माटो र पानीले बनेको नश्वर शरीर हामीसित नरहे पनि उनले आजीवन कमाएर हामीलाई छोडिराखेका अनेकौं गुणकृतिहरूमा भने युगौं युगसम्म बाँचिरहनेछन् ।
दार्जिलिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।