“शिक्षक त्यो हो जसले पाठ्यपुस्तक (कोर्सबुक) मात्र पढाउँछ गुरु त्यो हो जसले जीवन पढाउँछ र संस्कार सिकाउँछ ।”– अज्ञात

श्री भानु छेत्रीज्यूद्वारा सम्पादित तथा नगरपालिका बाल उच्च विद्यालयको एल्युम्नाई एसोसिएसनबाट प्रकाशित शतवार्षिकी सन्दर्भ (सेन्टेनरी रिफ्रेन्स) धेरै अर्थमा महत्वपूर्ण र समय सान्दर्भिक दस्तावेज बन्न पुगेको छ । प्रमुख सम्पादक छेत्रीज्यूले अङ्ग्रेजीमा लेख्नुभएको सम्पादकीयमा दार्जीलिङको ऐतिहासिक परिप्रेक्ष्यमा विद्यालयले यहाँको शिक्षा, साहित्यिक-सांस्कृतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा पुर्‍याएको योगदानको सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यसका साथै  नगरपालिका बाल उच्च विद्यालयका भूतपूर्व छात्र र शिक्षकहरूद्वारा गठित एल्युम्नाई एसोसिएसनका महासचिव  साजन राज छेत्रीज्यूले आफ्नो महासचिवको प्रतिवेदनमा दार्जीलिङको शैक्षिक विकासदेखि लिएर विविध क्षेत्रमा नगरपालिका उच्च विद्यालयले पुर्‍याएको योगदानको यथोचित  रेखाङ्कन र मूल्याङ्कन गर्नुभएको छ । सोहीक्रममा दीपक राई चामलिङज्यूले एल्युम्नाई एसोसिएसन स्थापना हुनुको उद्देश्य तथा यसको औचित्यबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको छ ।

प्रस्तुत स्मारिकालाई सम्पादकहरूले शतार्वाषिक सन्दर्भ भनेर नामकरण गर्नुभएको छ, जुन पदावलीको प्रयोग गरिएको छ यो धेरै अर्थमा सार्थक र औचित्यपूर्ण रहेको लाग्यो । यसमा सबै प्रकारका रचनाहरूको समावेश हुन सकेको छ । सिर्जानात्मक लेखनदेखि लिएर गहकिला समालोचनात्मक लेखहरू पनि यसमा समाविष्ट रहेका छन् । स्मारिकामा समाविष्ठ विविध लेखहरूले विद्यालयको सर्वाङ्गीण इतिहासलाई प्रष्ट पार्ने भरमग्दुर कोशिश गरेको छ । अतः यी संस्मरणात्मक लेखहरूले दार्जीलिङको गरिमामय शैक्षिक, सांस्कृतिक-साहित्यिक ऐतिहासिक धरोहरलाई प्र्स्तुत गर्न धेरै हदसम्म सक्षम बनेको छ । नगरपालिका बाल उच्च विद्यालयलाई  दार्जीलिङ जिल्ला र पश्चिम बङ्गाल राज्यमै राम्रो बनाउनका निम्ति त्यस विद्यालयमा कार्यरत् सम्पूर्ण शिक्षण-अशिक्षण कर्मचारी  तथा यहाँ अध्ययनरत् विद्यार्थीहरूले पनि सक्दो सक्रिय रूपमा आ-आफ्नो दक्षतानुसार भूमिका निर्वाह गरेको देखिन्छ । यस विद्यालयका भूतपूर्व प्रधानाध्यापक काजीमान राईले लामो अवधिसम्म विद्यालय प्रशासनलाई आफू अनुशासनबद्ध भई सुचारू ढङ्गमा चलाएको कुरो सम्पादकीय तथा सचिवको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

अच्छा राई ‘रसिक’, डा. कुमार प्रधान, भानुभक्त कुमाई, नगेन्द्रमणि प्रधान, मनबहादुर गुरुङ, तिलक राई, डा. जगत छेत्री, गुप्त प्रधान, शरद छेत्री, भीम योञ्जन, सूर्यकुमार सुब्बा, भीम थापा, भानु छेत्री प्रभृति व्यक्तिहरूले भारतेली नेपाली साहित्य र समाजको उन्नयनप्रति पुर्‍याएको अथक योगदानबारे सङ्क्षेपमा उल्लेख गरिएको छ भने स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पा, नेपाली चलचित्र जगतका प्रताप सुब्बा, विश्वमणि हिङमाङ, किरण ठकुरी, जीवन गुरुङ, तथा सङ्गीतकार हीराकुमार सिंह, कर्म योञ्जन, गोपाल योञ्जन, रणजीत गजमेर, गगन गुरुङ, पेमा लामा, बद्री-दुर्गा खरेल, दिलीप विश्व, चिकित्सक डा. मणिकुमार छेत्री आदि जस्ता समाजमा इज्जत र प्रतिष्ठा कमाएका व्यक्तिहरूले पनि यस विद्यालयलाई शैक्षिक, सामाजिक-सांस्कृतिक, साहित्यिक तथा मार्गदर्शन दिएर यथेष्ट योगदान पुर्‍याइआएको कुरालाई यथासक्य प्रकाश पार्न खोजिएको छ ।

यस स्मारिकामा एकसय वर्षको विदित-अविदित, लिखितभन्दा अलिखित ऐतिहासिक दस्तावेजहरूलाई समाजअघि ल्याउन खोजिएको छ । सन् २००७ सालमै स्कूल भवनलाई पुरानो सम्पदाको सूचीमा सूचीकृत गरी पश्चिम बङ्गाल राज्यको राज्य धरोहर आयोगले हेरिटेज बिल्डिङको रूपमा मान्यता प्रदान गरिसकेको छ । हालमा दार्जीलिङ नगरपालिकाको मातहतमा रहेको शताब्दी पुरानो गरिमामय विद्यालयको सर्वाङ्गीण विकासको दायित्व पनि नगरपालिका प्रशासनलाई नै पर्न गएको देखिन्छ । यस विद्यालयको गौरव र गरिमालाई भविष्यमा पनि अझ अक्षुण्ण राख्न यस गौरवशाली संस्थासित प्रत्यक्ष-परोक्ष सबै कोणबाट जोडिनुभएका शुभचिन्तक महानुभाववर्गलाई यथोचित सम्मानभाव प्रकट गरिएको छ । सचिव छेत्रीज्यूले यस विद्यालय भवनको स्थापनाकालीन इतिहासको सन्दर्भ आजभन्दा १०४ वर्षअघि दार्जीलिङ नगरपा लिकामा कार्यरत् मोरगेन साहेब नामका त्यसताक परिचित एक अङ्ग्रेज इञ्जिनियरको परिकल्पनालाई रायसाहेब खड़कबहादुर छेत्रीले सन् १९२२ सालमा निर्माण गरिएको तथ्य उल्लेख गर्दै विभिन्न समयमा उच्च पदस्थ अधिकारीहरूले भ्रमण निरीक्षण गरिएको जानकारी दिनुभएको छ, जसमा अङ्ग्रेज शासनकालका बङ्गालका गभर्नर सर आर्थर जोहन हर्बट साहब, भारत स्वतन्त्रतापछि बङ्गालमा नियुक्त राज्यपाल महामहिम एच. के. मुखर्जीका साथै मित्र राष्ट्र नेपालका तत्कालीन महाराजधिराज महेन्द्रविक्रम शाहदेव आदिको नाम गर्वसाथ लिइएको छ ।

दीपक चामलिङज्यूले एल्युम्नाई एसोसिएसनको जन्म र यसका उपलब्धिहरूबारे विस्तृत रूपमा एउटा सर्वेक्षणात्मक तथा मूल्याङ्कनपरक आलेख नै तयार गर्नुभएको छ । यस विद्यालयका भूतपूर्व विद्यार्थीहरूमा टी. आर शर्मा, पेम्बा बम्जन,  विर्ख भुषाल, गोकुल न्यौपाने,  त्रिरत्न तुलाधर, अलबर्ट जोन, पासाङ तेञ्जिङ शेर्पा, दावा शेर्पा, रामानुज ठटाल, बी.बी. ठकुरी, एन के. खड़का, डा. अनुप गुरुङ, डा. निता तामाङ, एन. के. खड़का, दलसिंह अकेला, भानु छेत्री, विजयकुमार राई, गणेश सुन्दास, रामानुज ठटाल, ध्रुवकुमार शर्मा, सुभाष छेत्री, टी.बी. ठकुरी, महेन्द्र प्रधान, अल्बर्ट जोन, मिलन तामाङ, मोहन छेत्री, त्रिरत्न तुलाधर, डा. अनुप छेत्री, फुर्वा तामाङ, डा. प्रमेश छेत्री, के. बी. खाती, गणेश खर्मा, आइजक हायम, कमल दर्नाल, रमेश बर्देवा, पुरण गुरुङ, लाक्पा शेर्पा, शङ्कर राईघाई, पप्पु दर्नाल, सबि दर्नाल, अनुप त्रिखत्री, मिलन गुरुङ, शीतलप्रकाश परियार, सुरेन गुरुङ, दीपक चामलिङ, दावा शेर्पा, महेश कुमार सुब्बा, बी.बी. ठकुरी, सुरज ठकुरी, नर्बु योल्मो, ईश्वर लामा, राजीव खाती, सरोज राई, बिर्खु भूषाल, विभूतिभूषण मुखर्जी, दावा योल्मो, देवदत्त ठटाल, भूषण लकान्द्री, प्रेम केसी, गिदोन लेप्चा, राजेश जोशी, यङकाई चाइना, योगेश राई प्रभृति दर्जनौं नामहरू गर्वसाथ उल्लेख गरिएको छ ।

यस शताब्दी पुरानो गौरवशाली विद्यालयबाट शिक्षार्जन गरेर आफ्नो जीवन यात्रामा सरिक भएका प्रतिभाशाली विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा र सामर्थ्यले भ्याएसम्म साहित्य सङ्गीत, सामाजिक सेवा, राजनैतिक क्षेत्र तथा उच्च प्रशासनिक सेवाहरूमा पनि आफूलाई अब्बल बनाएको इतिहास छ । यसले बेग्लै मूल्य र महत्व राख्छ, राखेको छ । जसको फलस्वरूप यस विद्यालयको गरिमालाई अझ उचाइँमा पुर्‍याएको छ ।

यस स्मारिका अर्थात् शतवार्षिक सन्दर्भमा कविता, बालगीत, कथा खोजपूर्ण निबन्ध, संस्मरणात्मक निबन्धका साथै केही गहकिला समालोचनात्मक लेखहरू पनि समाविष्ट भएको पाइन्छ । यस स्मारिकामा कवि सुभाष छेत्रीको मन, महेश कुमार सुब्बाको सय वर्ष पुगेको विद्यालय, एन. के. खड्काको मेरो म्युनिसिपल स्कूल, आर. के. लकान्द्रीको नारी, धनबहादुर राया मुखियाको अदेखि औसम्म,  दीपक चामलिङको हामी त विरानो पो भएछौं, राजीव खातीको भालेको भाषण, प्रदीप छेत्रीको शतवार्षिकी अभिनन्दन, ईश्वरचन्द्र लामाको मेरो सलाम, सुरज गुरुङको शहरको बीच मेरो पुरानो स्कूल आदि  कविका राम्रा राम्रा तर छोटा-छरिता र गहकिला कविताहरू समाविष्ट रहेका छन् ।

यसका साथै पेम्बा बम्जनज्यूले सङ्कलन गर्नुभएको केही छोटा-छरिता, मसिना शरीरधारी १५ वटा जति बालगीतहरू  अनि  प्रयोगवादी कथाकार सूर्यकुमार सुब्बालिखित झील माथिको बादल शीर्षक कथा पनि यसमा सङ्कलित रहेका छन् ।

 

शतवार्षिकी सन्दर्भअन्तर्गत केही कृतिपरक समीक्षात्मक लेख, खोजपूर्ण र जीवनीपरक लेखहरू पनि यसमा समाविष्ट रहेका छन् । कृतिपरक समीक्षात्मक लेखहरूमा मुख्य गरी यी लेखहरूलाई सफल दृष्टान्तका रूपमा लिन सकिन्छ-

(१) डा. जीवन नामदुङ- ‘जगत् राईको खण्डकाव्य- रोदन’ शीर्षक लेखमा कवि जगत राईको रोदन खण्डकाव्यबारे  अध्ययनपूर्ण गहकिलो विमर्श गर्नुभएको छ । अतः डा. नामदुङ जस्ता अध्ययनशील समालोचकबाट खँदिलो समालोचना पनि पाठक-समाजले यस स्मारिकाभित्र पाउन सकेको छ ।

(२) जीवन लाबर- ‘कर्तव्यपरायण, कर्मनिष्ठ शिक्षाविद्- काजीमान राई’ शीर्षक जीवनीपरक लेखमा जीवनीकार श्री लाबरज्यूले विद्यालयका प्रधानाध्यक काजीमान राईको व्यक्तिगत शीलस्वभाव, प्रशासनिक कार्यदक्षता तथा अग्रगामी सोंचबारे यथोचित प्रकाश पार्नुभएको छ ।

(३) सुरेन गुरुङज्यूको- ‘कर्म योञ्जनको सङ्गीत कर्म’ यस परिचयात्मक लेखमा गीतकार-सङ्गीतकार कर्म योञ्जन र गोपाल योञ्जनको साङ्गीतिक यात्राबारे सविस्तार  प्रकाश पार्न खोज्नुभएको छ । उहाँको साहित्यिक र साङ्गीतिक योगदानबारे चर्चा गर्न महिनौं-हप्तौं दिन लाग्छ, सयौं पृष्ठ खर्चिनु पर्ने हुन्छ, यति छोटो लेखमा यी जम्मै कुरो अटाउँन नसकिने कुरो पनि इमान्दरीसाथ प्रकट गर्नुभएको छ ।

(४) साङ्गे डुक्पाको- ‘भारतको स्वतन्त्रता सङ्ग्राममा स्व. गागा छिरीङ डुक्पाको योगदान’- शीर्षक लेखमा भारतको स्वतन्त्रता संग्राममा होमिएका हजारौं संग्रामीहरूमध्ये दार्जीलिङ पहाड़ी क्षेत्रबाट पनि गागा छिरीङ डुक्पाजस्ता धेरै  संग्रामी योद्धाहरूको सक्रिय सहभागिता रहेको जानकारी गराइएको  पाइन्छ ।

(५) हरेन आलेलिखित- ‘तिलक राईः एक बहुप्रतिभासम्पन्न व्यक्तित्व’ शीर्षक लेखमा समालोचक आलेजीले कथाकारका रूपमा परिचित तिलक राईज्यूको बहुमुखी प्रतिभाको यथोचित मूल्याङ्कन गर्नुभएको छ ।

(६) मेनुका प्रधानको-‘सशक्त निर्देशक प्रताप सुब्बा’ शीर्षक लेखमा नेपाली चलचित्र जगतमा दार्जीलिङले जन्माएका  प्रतिभाशाली चलचित्र निर्देशक सुब्बाको दक्षता र कलाकारिताबारे सङ्क्षेपमा प्रकाश पारिएको छ ।

(७) भानु छेत्रीज्यूलिखित ‘शिक्षकका रूपमा शरद् छेत्रीः एक संस्मरण एवम् श्री गुप्त प्रधानसितको सहयोगी उपन्यास विस्थापनः एक चर्चा’  शीर्षक समालोचना साहित्यकार तथा शिक्षकका रूपमा गुप्त प्रधानबारे लेखिएको  निकै गहकिलो र मूल्याङ्कनपरक लेख भएको छ । यस लेखमा मेहनतपूर्वक विस्थापन उपन्यासको वस्तुगत र शिल्पशैलीगत आधारमा अध्ययन-विश्लेषण र मूल्याङ्कन  गर्नुभएको छ ।

(८) डा. चन्द्रकुमार राईज्यूले- ‘वरिष्ठ साहित्यकार गुप्त प्रधानः एक दृष्टि’ लेखमा डा. राईज्यूले साहित्यकार प्रधानको संक्षेपमा साहित्यिक योगदानको मूल्याङ्कन गर्दै एकजना अब्बल दर्जाका कथासर्जक, अन्वेषक तथा आदर्श शिक्षक व्यक्तित्वका रूपमा परिचय दिन खोज्नुभएको छ ।

(९)निमा तामाङलिखित- ‘नगरपालिका बाल उच्च विद्यालयबाट शिक्षा हासिल गरेका केही चर्चित व्यक्तित्वहरू’ शीर्षक सर्वेक्षणात्मक र परिचयात्मक ढाँचामा लेखिएको प्रस्तुत मूल्याङ्कनपरक लेख प्रस्तुत शतावार्षिक सन्दर्भ स्मारिकाको निम्ति सबैभन्दा गहकिलो, सार्थक र उपलब्धिमूलक लेख बनेको छ । यसमा नगरपालिका बाल उच्च विद्यालयसित सम्बन्धित ८० जनाजति विभिन्न व्यक्ति-व्यक्तित्वहरूको संक्षेपमा परिचय दिइएको छ ।

(१०) डा. गीता छेत्रीज्यूद्वारा तयार पारिएको- ‘शिक्षा र साहित्यमा भानुभक्त कुमाईको योगदान’- शीर्षक समालोचनात्मक लेखमा डा. छेत्रीज्यूले निकै फराकिलो खोजपूर्ण अध्ययन र विश्लेषण गरी ओझेलमा परेका साहित्यसाधक तथा आदर्श शिक्षक भानुभक्त कुमाईबारे सरल र सहज प्रकारले परिचय गराउनु भएको छ ।

(११) सुमित्रा अविरलको- ‘गोपालाञ्जलि-भित्रका गोपाल योञ्जन’ परिचयात्मक लेखमा गीतकार-सङ्गीतकार  योञ्जनको यथोचित मूल्याङ्कन गर्ने कोशिश गरिएको छ ।

(१२) जीवन लावरज्यूका दुईवटा लेखमध्ये यो पहिलो-‘मेरो दृष्टिमाः बी. योञ्जन’ नामक लेखमा साहित्यकार भीम योञ्जनको क्रममय जीवनको सन्दर्भमा साहित्यकार योञ्जनको लेखनयात्राबारे संक्षेपमा प्रकाश पारिएको छ । यसैअन्तर्गत उहाँको अर्को लेख ‘हामीले भुल्न लागेका धावक- सहदेव छेत्री’ पनि पाएका छौं । जसमा सहदेव छेत्रीको परिचयसहित यथोचित मूल्याङ्कन गरिएको पाइन्छ ।

(१३) सविता थापा ‘सङ्कल्प’द्वारा तयार गरिएको- ‘श्री रणजीत गजमेरसँग अन्तर्वार्ता’मा अन्तर्वार्ताकार सविता सङकल्पले  सङ्गीत साधक श्री गजमेरको व्यक्तिगत जीवनका अन्तरकुन्तर पक्षहरू खोतल्दै साहित्य साथै चलचित्र र साङ्गीतिक  जीवनका बारेमा गहिरो अन्तरङ्ग संवाद गर्नुभएको छ । ‘’

(१४) गुप्त प्रधानलिखित- ‘पचहत्तर वर्षको इतिहासमा नगरपालिका बाल उच्च विद्यालय’- २२ पृष्ठमा फैलिएको विस्तृत र ऐतिहासिक तथ्यपूर्ण लेखमा अन्वेषक प्रधानज्यूले  दार्जीलिङको एउटा गरिमामय शैक्षिक संस्थान नगरपालिका बाल उच्च विद्यालयको ७५ वर्षको  गौरवपूर्ण इतिहासलाई साङ्गोपाङ्गो रूपमा समेट्न खोज्नु भएको छ । यो एउटा खोजपूर्ण अध्ययनको एउटा अत्यन्त गहकिलो दस्तावेज बन्न पुगेको छ ।

यस स्मारिकामा संस्मरणमूलक लेखहरू नै अधिकत्तर परेका छन् । यसो हुनु यस स्मारिकाको आवश्यता र औचित्य पनि हो । संस्मरणभित्रै धेरै तथ्यहरू समेटिएको पाइन्छ । वास्तवमा लेख्नुपर्ने  अर्थात् समाजलाई दिइनुपर्ने तथ्यहरू विभिन्न माध्यमबाट दिन सकिन्छ, ती मध्ये संस्मरणात्मक लेखन एउटा प्रमुख माध्यम र साधन हो । नगरपालिका उच्च विद्यालयको शतावार्षिक यात्रालाई समेट्न लेखिएका संस्मरणात्मक लेखहरूमा विशेषगरी यी लेखहरूलाई दृष्टान्तका रूपमा लिन सकिन्छ –

(१) भीम थापाको ‘कोशेली सम्झनाको’ लेख निकै रमाइलो शैलीमा लेखिएको विद्यार्थीकालीन विगत दिनहरूको इतिवृत्त हो भन्न सकिन्छ ।

(२) दुर्गा खरेलज्यूले लेख्नुभएको ‘शतावार्षिक उत्सव-२०२२’ आकारमा छोटो भए पनि निकै चुस्त र छरितो छ । गहकिलो संस्मरण भएको छ यो ।

(३) डा. जगत् छेत्रीज्यूको ‘अविस्मरणीय ती क्षणहरू’-मा आफू प्राथमिक तहको विद्यार्थी हुँदाको ती रमाइला-घमाइला बाल्यकालीन दिनहरूको सम्झना गर्नुभएको छ ।

(४) मनबहादुर गुरुङको- ‘मेरो पुरानो मिन्सिबिल स्कूल’ संस्मरणात्मक लेखमा संस्मरणकार गुरुङज्यूले आफूले शिक्षार्जन गरेको प्यारो र आदर्श मिन्सिबिल स्कूलका विगत दिनहरूका इतिवृत्त कोट्याउँदै आफूहरूलाई शिक्षादान गर्ने गुरूहरू तथा विभिन्न क्षेत्रमा आफ्नो नाम राखेका त्यसताकका धेरै सहपाठीहरूको सगर्व नामोल्लेख गर्नुभएको छ ।

(५) जगदीशचन्द्र प्रधानज्यूको- ‘मेरो शिक्षणयात्रा शीर्षक छोटो-छरितो संस्मरणात्मक लेखमा आफू यस गरिमामय स्कूलमा शिक्षक हुन पाएको गर्वानुभूति प्रकट गर्दै आफ्ना विगत शिक्षणकालमा बितेका दिनहरूको सम्झना गर्नुभएको छ ।

(६) कृष्ण खड़काज्यूको- ‘मैले चिनेको दार्जीलिङ नगरपालिका स्कूल’ आकारमा छोटो भए पनि शिष्ट र परिमार्जित शैलीमा लेखिएको यो लेख  निकै छरितो  र गहकिलो बनेको छ ।

(७) टी. आर. शर्माको- ‘मेरो प्यारो विद्यालयको गौरव अनि अविस्मरणीय क्षण’ शिरोनामित लेखमा यस विद्यालयसित विगतमा वितेका अविस्मरणीय दिनहरूको आलो सम्झना गर्नुभएको छ ।

(८) बद्री खरेलको- ‘मेरा अति आदरणीय अनि पुजनीय शिक्षकहरू’मा संस्मरणकार खरेलज्यूले विगत स्कूलले जीवनका सम्झनाहरूलाई आलो तुल्याउँदै चलचित्रका पर्दामा झैं प्रस्तुत गर्न खोज्नुभएको छ ।

सोहीक्रममा (९) गिदोन लेप्चाको- ‘मेरो स्कूल र पत्रकारिता’, (१०) कृष्णकुमार छेत्रीको- ‘बाल्यकालको याद अनि स्कूलप्रति सद्‍भाव’ तथा (११) अशोककुमार छेत्रीको- ‘गएका दिनहरूमा नगरपालिका बाल उच्च विद्यालय’- शीर्षक संस्मरणात्मक लेखहरूमा यस गरिमामय विद्यालयको विगतकालीन इतिहासलाई छोटो-छरितो रूपमा प्रकाश पार्न खोज्नु भएको छ ।

(१२) भानु छेत्रीको- ‘मेरो छात्र जीवन र नगरपालिका बाल उच्च विद्यालय’ लेखमा छेत्रीज्यूले आफू भूइँ क्लासदेखि दसौं श्रेणीसम्म यसै विद्यालयबाट शिक्षार्जन गरेकाले त्यसताक आफूहरूलाई शिक्षादान गर्नुहुने गुरुजनको चारित्रिक आदर्शपन, इमान्दारीपन जस्ता नैतिक गुणले आफूहरू अभिप्रेरित बनेको, उहाँहरूकै उचित मार्गदर्शनका कारण आजको दिनमा यतिको लेख्नेसम्म भएको कुरा सविस्तार श्रद्धाभावका साथ उल्लेख गर्नुभएको छ ।

(१३)  निमा तामाङज्यूको- ‘नगरपालिका बाल उच्च विद्यालय, दार्जीलिङको रहल २५ वर्षको इतिहासको एक झलक’-  अर्को खोजपूर्ण लेख पनि यसैभित्र समाविष्ट रहेको छ । प्रस्तुत लेखमा आफू एकजना भूतपूर्व विद्यार्थीको हैसियतमा तामाङज्यूले विद्यालयको २५ वर्षीय इतिहासलाई विभिन्न कोण-प्रतिकोणबाट  अवलोकन गरी सक्दो मूल्याङ्कन गर्ने कोशिश गर्नुभएको छ ।

 

नेपाली भाषामा लेखिएका कविता-कथा, बालगीत, समालोचना र संस्मरणात्मक लेखहरूका साथैसाथै अङ्ग्रेजी भाषामा पनि संस्मरणात्मक शैलीका लेखिएका तीनवटा  छोटा-छरिता तर खँदिला लेखहरू यस स्मारिकामा समावेश भएको छ । अङ्ग्रेजीमा ती लेखहरू यसप्रकार छन्-

  • K. Sharma- Municipal boys School- My Home.
  • Ranju Tamang- Tabla Maestro Triratna Tuladhar.
  • Anup Gurung- How Municipal Boys’ High School shaped my life.

अन्तमा नगरपालिका बाल उच्च विद्यालय, दार्जीलिङ एल्युम्नाई एसोसिएसनको सौजन्यतामा प्रकाशनमा आएको समय सान्दर्भिक प्रस्तुत स्मारिका शतावार्षिकी सन्दर्भको पनि सय वर्ष पुगेको पुनित अवसरमा यस भव्य कार्यक्रम हुन लाग्दैछ । यस अवसरमा स्मारिका सम्पादन र प्रकाशन समितिका सम्पूर्ण साथीहरू तथा स्मारिकालाई आफ्ना लेख दिएर सहयोग पुर्‍याउने सहभागी अग्रज-अनुज साथीहरूमा बधाईसहित सबैमा मैले हार्दिक अभिनन्दन प्रकट गर्दछु । शुभम् ।