कवि तथा आख्यानकार भीम दाहालको जन्म २९  नोभेम्बर  सन् १९५४ मा पश्चिम सिक्किममा भएको हो । हालसम्म उहाँका ‘अभीष्टको खोज’ (सन् १९९२), ‘विद्रोह’(सन् २००५), ‘द्रोह’(सन् २००२) तीनवटा उपन्यास, ‘मेरो मनको साइनो तिम्रो मनलाई’ कथासङ्ग्रह (सन् १९९२), ‘समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति’ (सन् १९९७) र रगतको हस्ताक्षर’ (सन् २०००) कवितासंग्रह प्रकाशित छन् । अहिले ‘अभीष्टको खोज’को यात्रामा छु र वर्णन लेख्दै छु ।

अभीष्टको अर्थ हो – कुनै पनि इच्छा, अभिलाषा, अत्यन्त प्रिय । यस उपन्यासमा पनि यही लागू हुन्छ कि नायिकाको अभीष्टको खोज नै उसको आत्मनिर्भर (नोकरी) हुने चाहना हो भनी उपन्यासकारले देखाउन चाहँदा चाहँदै शान्तिको अभीष्ट यौनतिर ढल्किंदै जीवन शून्य  भएको छ ।

अभीष्टको खोज

अभीष्टको खोज

यस उपन्यासको नारीवादको भ्रम केलाउनु पर्दा –

उपन्यासलाई कतिपय समालोचक पुरुषद्वारा लेखिएको नारीवादी उपन्यास भनिएको पाउछौं । परन्तु  यो उपन्यास  नारीवादी नभई नारी केन्द्रित भने पक्कै हो ।

प्रो॰ नवीन पौड्यालले  यस उपन्यासमा नारीवादी हुने केही बुँदाहरू अघि सारेको पाउँछौ । जस्तै

–  शान्तिकी आमा धनमायाले आफू विधवा भएपछि दोस्रो विवाह गर्नु !

–  शान्तिले आफू सक्षम बन्न गान्तोक गई नोकरी गर्नु तर पुरुषको वासनाको शिकार हुनु तथा पछिबाट आफै खुल्ला यौनाचार गर्नु !

–  शान्तिले आफूले चाहेको युवक मरेपछि विवाह नगरी स्वतन्त्र जीवन बाँच्ने निर्णय गर्नु !

–  शान्तिकी काकी पनि लोग्ने हुँदाहुँदै केही परपुरुषसित यौनाचार गर्नु !  परन्तु

उपरोक्त चारै बुँदाहरू उपन्यासकारले खण्डन गरेका छन् ।

मनुस्मृति भारतको प्राचीनतम आचार-संहिताको विश्वकोश हो । बीसौं शताब्दीमा आइपुग्दा डा. बाबा साहब भीमराव अम्बेडेकरले मनुस्मृतिको घोर विरोध गरी जलाएको घटना आइसकेकोछ । एकाइसौं शताब्दीमा आइपुग्दा मनुस्मृति विवादको घेराभित्र अटेसमटेस भेटिन्छ । यसमा पनि नारीवादीहरू यसको कट्टर विरोधी बनेर उभेका छन् । यसमा स्त्री पुरुष दुवै माझ विभेद ल्याउने अनेकौं श्लोकहरू रहेका छन् । जाति घर्मको सन्दर्भमा पनि मनु ब्राह्मणहरूलाई समाजको उच्च कुलमा, शूद्रलाई  निचकुलमा स्थापित गरेको पाउँछौं ।

‘अभीष्टको खोज’का पात्र  कान्छा (तीर्थप्रसाद कँडरिया) मनुस्मृतिले निर्माण गरेको उच्च कुलको बाह्मणको प्रतिनिधित्व गरेको  भेट्छौं । परन्तु सिकिटेरी कान्छाको तीनै छोरा केही हदसम्म उसको धार्मिक नैतिकताको विरोधमा उभिएको छ । मनुस्मृति  अर्थात् पुरुषवादी नीतिको विरोधमा उपन्यासकारले लीलाराम कँडरियालाई अघि सारेर भन्न लगाएको छ, “उसको  जेठी स्वास्नी मर्दा, उसको कान्छी स्वास्नी मर्दा, ऊ राँडो र बिनादासको गोठालो हुँदा मनु र त्यसको स्मृति चाहिएनन् र आज जब ऊ बाँझो धरतीमा केही फूल रोप्न चाहन्छ, जब जिन्दगीलाई एउटा नयाँ नाम र नयाँ काम दिन चाहन्छ त्येस बेला मनुलाई तानेर उसको अघि  राखिदिने पहरी जस्तै ।”

लीलाराम कँडरियाले  विधवा धनमायाको हिमायती गर्दै मनुस्मृतिलाई स्त्री द्रोही बताउँदै, पुरुष  र स्त्री माझ समाजमा यति ठुलो विभेदको खाइ खनिएको तिक्त सत्य उद्घाटन गरिएको देखिन्छ । सेक्रेटरी कान्छा धर्ममा निष्ठावान् हुँदा विधवा विवाह प्रथाको विरोधी हुन् तर आफ्नै छोराले विधवा विवाह गरेको हुनाले छोरालाई परिवारबाटै विच्छेद गरिदिए । उसका तीन छोराले उसको धार्मिक अभिमानलाई तहसनहस गरिदिएको भए पनि उसले आफ्नो तीनै छोरालाई बहिष्कार गर्न सके तर धार्मिक नियमको उल्लङ्घन गर्न सकेनन् । यसको परिणाम दुःखदायी साबित भएको छ ।

पढ्दै जाँदा लीलारामले घर छोड्नु र विधवा विवाह गर्नु मनुस्मृतिले लादेको नैतिकताको विरोध थिएन । किनभने धनमायालाई विवाह गरिसकेर पनि उसको ब्राह्मण हुँ भन्ने अभिमान यथावत् थियो ।

– “तँ बाहुनले रक्सी खानु हुँदैन ।”

– “पदमले हाम्रो नाक काटेर भुइँमा फ्याँकिदियो ।”

– “लीलारामले विधवा विवाह गरे यौन तृष्णाले ।”

उपन्यासकारको उक्त बयानले मनुस्मृतिको विरोधमा उठेको लीलाराम कँडरियाको बयानबाजी सब निरर्थक भेटिन्छ ।

कान्छाको अवसानअघि उपन्यासकारले  मनुस्मृतिको प्रचण्ड  विरोध गरेझैं देखिए पनि  शान्तिको  पर्दापणपछि विषयवस्तु यौनमनोविश्लेषणतिर नै  उन्मुख भेटिन्छ । उपन्यासकारले शान्तिलाई आधुनिक शिक्षित, स्वतन्त्र, हक, अधिकार, आत्मनिर्भर स्त्रीको प्रतिरूप बनाउँदै आफ्नो अभीष्टको खोजमा गान्तोक शहर हिँडाउँदाको दृश्यमा पाठक प्रफुल्लित बन्छ  उपन्यासकारको उद्देश्य ताकेर ।

परन्तु पाठक सरसरी उपन्यास पढ्दै जान्छ, उपन्यासकार आफ्नो उद्देश्यदेखि भागिरहेको भान हुन्छ ।

नारीवादीहरू कहिले पुरुषको अनैतिक कर्म पछ्याउनु पर्ने  कुरामा जोड दिएको  देखिन्न । हो नारीवादीहरू अन्य विषय झैं सम्भोगमा पनि पुरुष सरह स्वतन्त्र चाहन्छन् परन्तु यहाँ उपन्यासकार आफ्नै माखेझालमा अल्झिरहन्छन् ।

उपन्यासकार भन्छन्, “शान्तिलाई दुनियाँका सबै यस्ता पुरुषहरू भेला पारेर एउटै चितामा आधापिल्ठो पारेर पोल्न मन पर्छ ।” फेरि अर्को पृष्ठमा उपन्यासकार यसरी भन्छन्, “त्यसलाई स्पष्ट लोभ लाग्यो मञ्जुर भाइको; त्यसको शरीरको  कल्पना गरी त्यो पुरुषसँग बरु एक रात वेशको केवल एउटा पारस्परिक भोगाइ ।”

नारी-आभामा भिमा राई लेख्छिन्, “नारीको जीवन लेखिनु मात्र नारीवाद होइन ।”

हो नारी शोषणको चित्रण गर्दैमा कोही नारीवादी हुँदैन । यही भ्रम अभीष्टको खोजका समालोचकहरूमा परेका छन् । नारीवादी हुनको निम्ति विद्रोही, शोषण एवम् शोषकको विरुद्धमा धावा बोल्न सक्ने क्रान्तिकारी हुनुपर्ने हुन्छ  साथै सामाजिक नैतिक मूल्यमा परिवर्तन गर्न सक्षम पात्र-पात्रा हुनु पर्दछ ।

शान्तिलाई नोकरीको प्रलोभन देखाई सानूभाइले सिनेमा हलमा लगी उसको सम्पूर्ण शरीर छोइदिंदा पनि उसले किन विरोध गरिन ! बरु उपन्यासकारले ‘त्यसको औरत सुलभ वासनाले सुस्तरी गति लियो कुनै नदी झैँ’ भनिदिए ।

एकाइसौं वर्षसम्म कसैले नछोएको उसको शरीर उसकै काकीको बित्दो जवानीलाई जोडसँग भोग्ने त्यस पुरुषले छुँदा शान्तिले विरोध गर्न किन सकिनँ ! परन्तु काकी परपुरुषसँग यौनाचार गरेको ऊ सहनै नसक्ने हुन्छ । काकीले गरेको कर्मलाई वासनामय कुकृत्य ठान्छिन् ।

यदि ऊ स्वतन्त्र चाहना राख्ने स्त्री भइदिए काकीको यौनाचारलाई सामान्य विषय लिएर कुनै आपत्ति नहुनु पर्ने हो किनकि थापाबाबु आफ्नो स्वास्नी हुँदाहुँदै ऊ परस्त्रीसँग सहवास गर्न इच्छुक रहन्छ भने (फुलमति) काकी पनि मान्छे हो । ऊ आफ्नो पुरुषबाट सन्तुष्ट नभएपछि ऊ पनि अन्य पुरुषसँग सहवास गर्न पाउनु पर्ने हो ।

आलोचकहरू शान्तिको यौनाचारलाई लिएर नारीवादी करार दिन्छन् । तर फुलमतिको यौनाचारमा उसले गरेको आपत्ति यादै गर्दैन ।

उपन्यासकार भन्छन्, “हो शान्तिको यहाँ  बलात्कार भएको हो ।”

नेत्रसाहबले बलात्कार गर्दा पनि ऊ विरोध नगरी सामेल भइदिनुको तात्पर्य के रह्यो ! कसरी यो उपन्यास नारीवादी भनिने !

“सत्र सयको नोकरी गर्ने सत्र सयपल्ट श्राप दिएको नीच व्यक्तिको अधीनमा आफ्नो अनन्य अस्मिताको दाम लिइसकेपछि त्यस मुर्दा हड्डीमा कसरी जाने जहाँ उसले आफ्नो आत्मालाई दागबत्ती दिइसकेको छ ।”

जब नेत्रसाहबले बलात्कार गर्दा शान्तिले स्वीकृति दिइसकेपछि  उपन्यासकारको उपरोक्त विरोध अपच भएको छ । यसरी नै उपन्यासमा शोषणको प्रतिफल उत्पन्न हुने  विद्रोह स्वर र शान्तिको चारित्रिक बयान एकअर्कामा अर्थहीन भई टक्कर खाइबस्छ ।

मनुस्मृतिको श्लोकहरू नारीवादलाई पच्दैन । मनुस्मृतिले स्त्री मान्छे बाबु, लोग्ने, छोरामाथि आश्रय लिनुपर्छ भन्ने मत राख्दछन् । यही  कुरा उपन्यासकारले शान्तिको मुखबाट बयान गराएका छन् – “म बस्ती फर्किनु चाहन्छु । एउटा कुनै पनि मान्छेको स्वास्नी हुन चाहन्छु । यति भए मैले सोच्नु पर्ने समस्या रहँदैन ।”

नारीवादको एउटा अवधारण यो पनि हो, स्त्रीमान्छे  पुरुष विहीन एक्लो पनि जिउन सक्छ । पुरुष चेतनले सज्जित यो उपन्यास केवल घटनाको थुप्रो राखेर  स्त्रीहरूको अत्यधिक दुर्बल चरित्र दृष्टिगोचर गर्ने काम भएको छ । शान्ति फुलमति दुवै नारी पात्रलाई उपन्यासकारले सहानुभूतिको दृष्टि राखेको पाइन्न ।

फुलमति भन्छिन्, ‘”यो मर्दले नै बर्बाद बनाएको छ यो दुनियाँ हजार हजार लगभग बलात्कारबाट एकैपल्टमा गर्भिणी भइदिएको जवानी ।”

नारीवाद कहिले पनि सम्पूर्ण  पुरुषको विरोधमा उभिएको सिद्धान्त होइन । ‘यो मर्द’ भनेर फुलमतिले सम्पूर्ण पुरुषमाथि नै औला उठाएकी छन् । यदि फुलमतिले  नारीवादको अवधारणा बोकेकी हो भने पनि उपन्यासकारले किन कुल्टचरित्रको संज्ञा दिँदै हजारौं यौनाचार गरेर पनि समाजमा खोक्रो इज्जतको कुरा गर्छ भनेका हुन् !

उपन्यासको अन्ततिर  शान्तिलाई माग्नु आएको धिताल बुढोको कुरा सुनी  शान्ति मनमनै बोल्छिन्, “नेपाली चेलीहरू बिरङ्गना हुन किन सकेनन् ? किन चुल्हो चौका, घाँस-दाउरा भन्दा … समाजको कदम ? पति भक्तिको दाम्लोले बाँधिएर सधैँ सधैँ भनौं आजसम्म नै किन नेपाली नारीहरूले स्वतन्त्रताको थुक निले, स्वाद लिन पाएनन् ।”

यस उपन्यासमा शान्ति  विद्रोही नभई एक शिथिल नायिका हुन् । उसले जीवनमा कुनै उपलब्धि हासिल गर्न सकिन । उसको चारित्रिक दृष्टिले हेर्दा उपरोक्त विरोधी वाक्य बोल्नुपर्ने आवश्यकता देखिन्न ।

यो उपन्यासमा प्रायः यौनाचार कै  विषयहरू समावेश गरिएको छ ।  बीसौं शताब्दीको सुरुतिर देखा परेको फायडी सिद्धान्तको उन्नायक सिग्मण्ड फ्राइड हुन् । उनले मान्छेमा कामवृत्ति शशैवावस्थादेखि रहिआएको र मान्छेमा भएको कामतृप्ति सबैलाई प्राप्त हुन सक्दैन यसमा पनि अहम् र परअहमद्वारा दमित हुँदा  उत्पन्न हुने तीन स्तर  चेतन, अचेतन, अवचेतन देखाएका छन् । यसमा  पनि अचेतन मनबाट उत्पन्न हुने दमित कुण्ठित अवस्थामा रहेको  कामेच्छाले शान्ति  ग्रसित देखिन्छ । सुरुदेखि नभए पनि शान्ति गान्तोक शहर हिँडेदेखि उपन्यासमा  यौनमनोविश्लेषणले तह पकडेको पाउँछौं ।

फुलमति भन्छिन्, “…बौलाही हुन्छु शान्ति मलाई मरद चाहिन्छ ।”

“कति रात निद्रा नआउने र जिउ जम्मै पसिनाले भिज्ने अनि मन बाँधेर आफ्नै गुप्त अंगको निम्ति आफ्नै हातलाई पुरुष बनाइदिने जस्तो काम पनि भए । शान्तिले आफूलाई  ढाँटी र त्यस स्वप्न पुरुषसँग सम्भोगमग्न भई ।”

निष्कर्षमा भन्नुपर्दा एकतर्फ उपन्यासकार शान्तिलाई स्वतन्त्र निर्भीक आत्मनिर्भर सशक्त  पात्रको रूपमा उभ्याउन चाहन्छ । अर्कोतिर चारित्रिक कमजोरी, हीनभाव, यौनाचार जस्ता कुराहरू अघि सारेर उपन्यासकारले उसको अभीष्ट नै लथालिङ्ग बनाइदिएका छन् ।

यो उपन्यासमा नारीवादी बुँदाहरू राखिएको भए पनि उपन्यासकारले आफै खण्डन गर्दै गएको प्रमाण प्रशस्तै भेटिन्छ र  शान्तिको चारित्रिक वर्णनअनुसार यो उपन्यासमा नारीवादी–बयान अनौठो, अस्वादिलो, तर्कहीन, निरर्थक भएको छ । उपन्यासकार जस्तै समालोचकहरू पनि यो नारीवादी उपन्यास हो भन्ने भ्रममा परेको भेटिन्छ ।

मकैबारी, खरसाङ्