संसारभर रहेका नेपालीको प्रतिनिधि यात्रा–अनुभूतिका अध्ययनमा मैले अचानक— नेपोलियन बोनापार्टकी आमा सम्झिएँ । उनी नित्य भन्ने गर्थिन् रे, ‘छोरा ! तिमी देवपुत्रका सन्तान हौ, तिमी जस्तो चाहन्छौँ त्यस्तै हुने वरदान तिमीलाई प्राप्त छ । तिमी यसकारण विशेष छौ अझ विशेष हुनेछौ ।’

भनिन्छ नेपोलियन चक्रवर्ती हुनुमा प्रकारान्तरले उनै आमाको योगदान थियो । निर्भीक, साहसिक, पराक्रमी नेपोलियन ‘म देवपुत्रको सन्तान हुँ’ र ‘म जस्तो चाहन्छु त्यस्तै बन्न सक्ने छु’ भन्ने कुराले नै उनको भविष्य निर्धारण गरेको थियो । त्यस्तै नेपाली जातिलाई म नेपोलियन सम्झिरहेकी छु अर्थात् हामी पनि देवपुत्रकै सन्तान हौँ । वास्तवमै हाम्रा पुर्खा कहाँ साधारण थिए र ? वैश्विक महामसरका विजयी योद्धा । भलै अरूका लागि युद्ध लडिएको किन नहोस्, जसले जगत्लाई नै आश्चर्य पारेको थियो ।

यात्रा: नियात्रा

अझ अगाडिका हाम्रा पुर्खा साक्षात् देवपुत्र नै थिए । ती महान् तपस्वी हरेक कुरामा ज्ञानी थिए । उनीहरूका लागि अज्ञय केही थिएन । त्यस्ता ऋषि महर्षिका सन्तति हौँ नि हामी त । बरु नेपोलियनका पुर्खा साँच्ची नै असाधारण थिएनन्, जस्ता हाम्रा थिए ।  उनी त आमाको शिक्षाले असाधारण सम्राट् भएका थिए । यता हाम्रो नश्लमा नै असामान्य रगत सञ्चार भएर पनि किन त्यस किसिमको असामान्य हुन हामी सकिरहेका छैनौँ ?

तर निराश भइहाल्न जरुरी छैन । के थाहा भोलि हामी जगत्कै असाधारण हुन पनि त सक्छौँ ! हिजो हाम्रा पुर्खा अरूका लागि युद्ध लड्न कहाँ कहाँ पुगे ।  तिनैका सन्तान आज युद्ध चेत नलिई विश्व भ्रमणमा छन्—विविध उद्देश्य लिएर । नेपाली जाति वैश्वीकरण हुँदै छ । जगत्सँग प्रतिस्पर्धा गर्न लागेको छ । ‘नेपाली हुँ’ भनेर या त ‘सगरमाथा तथा बुद्ध जन्मिएको देश’ भनेर परिचय फैलाउँदैछ । अपेक्षा राख्यौँ, आगामी दिनमा नयाँ परिचय हामी थप्दै जानेछौँ अझ विशेष, अझ स्तुत्य परिचय । यस कुरामा विश्वस्त भएर अघि बढौँ । नेपोलियनकी आमाले भने जस्तै हामीलाई पनि जस्तो अपेक्षा राख्यो त्यस्तै बन्ने वरदार प्राप्त छ ।

यतिखेर गौरव–बोध हुँदै छ । कुनै पनि पुस्तक पढ्दा म यस्तो खुशी भएकी थिइनँ जस्तो अहिले भएकी छु । सल्लाहकार सम्पादक जीवा लामिछाने तथा सम्पादक हिक्मत थापा अनि महेश्वर पन्तको प्रयासमा—संसारभर रहेका नेपालीहरूको प्रतिनिधि यात्रा अनुभूति सङ्कलन गरिएको ‘यात्रा: नियात्रा’मा मैले एकदमै सुखद अनुभूति गरेँ । यसमा विभिन्न देशहरू जस्तो अस्ट्रेलिया, अमेरिका, बेलायत त्यस्तै युरोपियन मुलुक तथा बिरलै सुनिएका सेसेल्स, लिक्टनस्टाइन जस्ता राष्ट्र यता म्यानमारसम्मका नियात्रा रहेका छन् । विश्वका अनेक स्थानमा बसोबास गर्दै आएका सत्ताइस जना नेपाली डायास्पोरिक स्रष्टाका यात्रा अनुभव समाविष्ट यस कृतिका यात्रा उद्देश्य पनि फरक फरक रहेका छन्।

नेपाली जाति वैश्वीकरण हुनुको दृष्टान्त ‘यात्रा: नियात्रा’—नेपालीहरू ब्युँझिनुको पनि दृष्टान्त हो, भाषा, साहित्य, संस्कृतिको महत्वबोध हुनु झनै ठूलो दृष्टान्त हो । गैरआवासीय नेपाली सङ्घबाट प्रकाशित यस कृतिले विदेशमा रहेका नेपाली स्रष्टालाई एक्कैचोटि पाठकमाझ पुर्याएको छ । एउटै पुस्तकमा यति धेरै स्रष्टालाई चिन्न पाउनु भाषा साहित्यका अध्येतालाई लाभदायक सामग्री भएको छ । अझ लाभदायक कुरा त के छ भने हाम्रो जातिसँगै हाम्रो भाषा, साहित्य, संस्कृति  पनि विश्वव्यापीकरण हुँदै छ है भनेर यसले बताएको छ । बेग्ला बेग्लै स्रष्टाका, बेग्ला बेग्लै भूमि र परिस्थितिका यात्रा अनुभूतिले त्यस्तै फरक ज्ञान तथा मिश्रित आनन्द दिएको छ ।

पहिलाका दिनमा सीमित व्यक्तिबाट मात्र साहित्य रचिन्थ्यो । स्रष्टाहरू प्रायः दैवी प्रेरणाले सिर्जनामा लागेका हुन्थे । तर अहिलेका स्रष्टालाई अनेक प्रेरणाले सिर्जनात्मक बनाएको छ । त्यसै मध्ये एउटा कुरा छ—मातृभूमिबाट टाढिँदाको अनुभूति, प्रवासका जटिल अनुभवहरू, नयाँ भूमिका अनौठा परिदृश्य र मनका उकुसमुकुसलाई प्रस्फुटन गर्नकै लागि पनि ऊ साहित्य रच्ने भएको छ ।

पराया भूमिमा ‘म पनि केही हुँ, केही विशेष हुँ’ भन्ने भाव अर्थात् अस्तित्व चेतले अझ ऊ सिर्जनात्मक भएको छ । केही उद्देश्यका साथ नयाँ भूमिमा पुग्दाका हर्ष, आश्चर्य, कठिनता, सुख–दुःखका भाव, सङ्घर्षका भिन्न अनुभवहरू जुन प्रकटीकरणका माध्यम खोज्न थाल्दा रहेछन्— शब्द, रङ्ग, रेखा र धुनबाट । यस किसिमले कला साहित्यको केही अंश डायास्पोरिक स्रष्टाले निर्माण गर्दै आएका छन् ।

यात्रा: नियात्रा’का प्रायः स्रष्टाहरू युरोप, अमेरिका, युके, अस्ट्रेलियामा रहँदै आएका देखिन्छन् । त्यसदेखि अन्य भूमिमा रहेका पनि छन् ।  ती प्रायः स्रष्टाका नियात्रा आफू रहेको मुलुकदेखि भिन्न देशमा गरिएका यात्रा छन्, केही त्यसै देशभित्रका आन्तरिक यात्रा छन् ।

कति देशका यात्रा पुनरावृत्ति भएका छन् जस्तो—जापान, अमेरिका, स्विटजरल्याण्ड, भियतनाम, जर्मन, फ्रान्स । त्यस्तै यसमा सङ्कलित कति रचना नियात्रादेखि अल्लि फरक लाग्छन् । कथा जस्ता, निबन्धजस्ता । कृतिको आरम्भमै अस्ट्रेलियामा रहेका केशव शर्माको—इन्डोनेसियाको यात्रा छ । मुस्लिम समुदायमा हिन्दूत्व चेत त्यस्तै धार्मिक ग्रन्थमा वर्णित इन्द्रदेव, वरुण, युधिष्ठिर, भीम अर्जुनलगायतका चरित्रहरूको सालिक भएको बाली शहर—आफूलाई खासै नौलो नलागेको बताउने शर्मा पुरानै ठाउँमा गएको अनुभव गर्छन् ।

नियात्रात्मक कृतिका कति यात्रा, यात्राकै लागि गरिएका छन् । कति काम विशेषले गरिएका यात्रा छन् । जुन तात्पर्यले गरे पनि आखिर नेपाली हुनुको परिचय विस्तार भएको लाग्छ यी यात्रा–नियात्रा । भाषा, साहित्य, संस्कृतिमा जीवन अस्तित्वको प्राण देख्ने ती डायास्पोरिक स्रष्टा आफूसँगै लगेको नेपालीत्वलाई कसरी हुन्छ व्यापक बनाउँदै छन्—अनेक सङ्घ संस्था खोलेर साहित्यिक गतिविधिमा सक्रिय भएर, मन्दिर बनाएर राष्ट्रिय पर्व तथा उत्सव, दिवस मनाएर ।

यात्रा: नियात्रा’मा समाविष्ट केही देशका भ्रमण साहित्यिक उद्देश्यले गरिएका छन् । बेलायती नेपाली सुमलकुमार गुरुङ साहित्यिक कार्यक्रमको लागि बेल्जियम पुगेका छन् । अर्का स्रष्टा कृप थापाको—आयनापामा एक दिनले भने मन खुशी बनाउन सक्दैन, उदासीन बनाउँछ  । साइप्रसबाट उनी निकोसिया शहर पुगेका छन्—त्यहाँ काम पाइन्छ रे भन्ने सुनेर । ‘मलाई काम देऊ’, ‘म तिम्रो काम गर्ने छु’—यसरी उनी दिनभरि पसल, चोक, गल्ली चहार्छन् ।

अन्ततः निराश भएर फर्किन्छन् । उनीसँगै पाठक पनि उसै निराश हुन्छन् । हृदयमा देश टाँसेर पराइको आँगनमा कामको खोजी गरिएको यात्रा—भावुक बनाउने छ, द्रवीभूत पार्छ । काम गरेर खान्छु भन्दा पनि आफ्नो देशले केही व्यवस्था गर्दैन । जीविकाकै लागि प्रवासिनुको पीडा कति नमिठो छ नेपालीहरूको ।

घटना उस्तै भए पनि त्यसलाई सम्पन्न र विपन्न मुलुकले हेर्ने दृष्टिकोण कति फरक हुँदो रहेछ । फ्रान्सदेखि यात्रामा निस्किएका ददी सापकोटा । स्विटजरल्याण्ड र नेपालका केही ठाउँ उस्तै लागेको अनुभव गरेका सापकोटा—मनोचिकित्सक पाथ्रिकका साथमा चौरीखर्क–इमेर्दोंलेबाँ पुगेका छन् । हाम्रोमा याकखर्क कहिले पर्यटकीय स्थल हुन सक्ला ? याक र याकका साथी रोसुला र आन्द्रे जर्जका प्रसङ्ग कति रमाइला छन् ।

अघि भर्खरसम्म म सन्देहशील थिएँ खाडी मुलुकमा नेपाली कामदारले के सम्मानित पेशा पाउन सक्छन् ? सस्तो मूल्यमा श्रम बेच्दैछन् त्यो उष्ण भावरमा । दीपक पुडासैनीको पेरिसमा ती दिन पढेपछि मेरो धारणा केही सुध्रिएको छ । कतारको एयरलाइन्स कम्पनीमा कार्यरत पुडासैनी यात्राकै लागि पेरिस पुगेका छन् ।

भूमण्डलीकरणले जगत् कति सानो हुन लागेको छ । एक देशबाट अर्को देश फेरि अर्कोमा जानु एक गाउँबाट अर्को गाउँ गए जस्तो हुन थालेको छ । अमेरिकामा बस्दै आएका विनोद पौडेल पारिवारिक भ्रमणमा जर्मनी, स्विटजरल्याण्ड हुँदै फ्रान्स पुगेका छन् । फरक स्रष्टाका फरक सन्दर्भ र दृश्यले कृति अध्ययनीय छ । केही स्रष्टाले त्यस देशको राजनैतिक इतिहास बढी रुचि मानेर लेखनको विषय बनाएका छन् । कलाशिल्पका दृष्टिले उच्च, मध्य र केही सिकारु खालका रचना विषयवस्तुका दृष्टिले भने उत्सुकता पैदा गर्ने खालका छन् । प्रायः आलेखमा केही नवीन कुरा थाहा पाउँदा म सन्तुष्टि अनुभव गर्छु ।

त्यस्तै बेला बेला गौरव अनुभूति गर्छु । आनन्द लाग्छ । आनन्द यस कारण कि  अनेक किसिमले नेपाली विश्व सामु चिनिँदैछ । देश विपन्न भए पनि नेपाली मन समृद्ध छ । आफ्नै प्रयासले विश्वसँग ऊ प्रतिस्पर्धा गर्न लागेको छ । ‘यात्रा: नियात्रा’ त्यही प्रतिस्पर्धा गर्नुको एउटा उदाहरण हो, भलै त्यो प्रयास सानो किन नहोस् । ‘सेन्डर इलेक्ट्रिक म्याराथन दे पेरिस’मा विजयी भएका रामहरि पौडेल— जर्मनीमा आयोजित ‘बीएमडब्लू बर्लिन म्याराथन’मा भाग लिन बेलायतदेखि गएका छन् । कत्रो आत्मसम्मानको कुरा छ, “म ब्रान्डनबर्ग गेट नजिकै पुग्दा भीडहरूले चिच्याएर मलाई जोस्साउँछ । कमन रामहरि, कमन नेपाल । मेरो झण्डा देखेर उनीहरू खुसी हुन्छन् । कुन देशको झण्डा यो ? बाटामा धेरै केटाकेटीले सोध्छन् । ‘नेपाल । कन्ट्री अफ माउन्ट एभेरेस्ट । हाइएस्ट पिक अफ द वल्र्ड’ भनेर म चिच्याउँछु (६१) ।”

आजको नेपाल विगतको जस्तो छैन, ऊ जान्ने सुन्ने हुन लागेको छ । विश्वलाई धेरथोर बुझ्ने भएको छ । अब कदाचित खुम्चिँदैन युग चेत आर्जन गरेको छ । जगत्सँग लय मिलाउन घिस्रिँदैछ, अन्तर्राष्ट्रिय हुँदै छ ।

यात्रा: नियात्रा’ मा सङ्गृहीत कति स्रष्टा मैले अघिदेखि पढ्दै सुन्दै आएका रहेछन् । ती स्रष्टालाई यहाँ पुनः पढ्न पाउँदा खुशी लाग्यो । अझ बढी खुशी लाग्यो आफूले नचिनेका स्रष्टालाई अध्ययन गर्न पाउँदा । भुइँचालो र सुनामी आइरहने, इतिहासले किमार्थ भुल्न नसक्ने हिरोसिमा र नागासाकीको देश जापान पुगेका छन् अमेरिकादेखि लेखक गोवर्द्धन पूजा र गोविन्द गिरी प्रेरणा—  साहित्यिक अनुष्ठानमा । हिरोसिमा म्युजियमका युद्ध भग्नावशेषको वर्णनले कुरूप इतिहासलाई फेरि सम्झाएको छ । अर्का सर्जक कृष्ण बजगाईंको यात्रा पनि जापानकै छ ।

बेलायतदेखि साहित्यिक कार्यक्रमका लागि गएका बजगाईंको—हाकोनेको कालो अण्डा खाने इच्छा अपुरै रहन्छ । नोबेल पुरस्कारका लागि तीन–तीन पटक छनोटमा परेका प्रतिभाशाली जापानी साहित्यकार मिशिमाको दुःखद अन्त्यले मन विदीर्ण बनाउँछ । हाइकु म्युजियमसँगको जङ्गलको नाम नै ‘साहित्यिक जङ्गल’ राखिएको सन्दर्भमा— ती जापानी सँगसँगै श्रोता पनि प्रसन्न हुन्छन् । कला साहित्यप्रति उनीहरूको आस्था कति महान् छ । त्यही महान् विचारले नै उनीहरू महान् भएका छन्, महान् स्रष्टा जन्मिएका छन् । हामी नेपाली महान् हुन नसक्नुको पछाडि हाम्रो सोच महान् नहुनु हो ।

भूमण्डलीकरणले विश्व ब्रह्माण्ड एकतर्फ सानो भएको छ अर्कोतर्फ ठूलो हुँदै छ । ठूलो यस अर्थमा हुँदै छ कि—राष्ट्रिय सीमा नाघेर हरेक देशको राष्ट्रियता परपरसम्म फिँजिएको छ । कट्टर राष्ट्रिय भाव खुकुलिएर विश्व नागरिक गोलबन्ध भई यो उदार युगमा सिमाना भत्किँदै छ । राजनैतिक सिमाना यथावत् रहे पनि भावनात्मक सिमाना विशाल हुँदै छ । अपेक्षा राखौँ त्यस दिन विश्व नै एउटा आवासृह हुनेछ, विश्व नै एउटा देश हुनेछ अनि त विभाजन कहीँ रहने छैन । आशा गरौँ त्यस्तो महान् चेतना एकदिन निश्चय जन्मिने छ । जाति, भूगोल, धर्म, संस्कृतिको विभेदबाट माथि उठेर केवल मानव मात्रै हुने छन् धर्तीका पुत्रपुत्रीहरू । निश्चय त्यो दिन आउने छ जुन दिन सम्पूर्ण जाति एक हुने छ ।

त्यही ग्लोबलाइजेशनको प्रभावले परम्परित सत्य अहिले अर्कै भएको छ । केही दशक अघिसम्म माइत, मावल, आफन्त सबैसबै देशभित्रै हुन्थे । हेर्नु त युग कसरी बदलिएको छ । परदेश माइतीघर भएको छ । एउटी चेली माइती भेट्न विदेश जाने भएकी छ । त्यस्तै मावली गाउँ जान भान्जा भान्जीहरू देश नाघेर टाढा पुग्नु पर्ने दिन आएको छ । एउटा नेपाली बिदा मनाउन अन्तर्राष्ट्रिय यात्री भएको छ । गोविन्द रावत क्यानडाबाट लस एन्जलस (स्पेनिसहरूले आफ्नी रानीलाई सम्बोधन गरी राखेको नाउँ) पुगेका छन् । लस भेगसमा अवस्थित विश्वको ‘रिसोर्ट सिटी’, त्यस्तै विश्व चलचित्रको राजधानी मानिने ‘युनिभर्सल स्टुडियो’ अनि खुङ्खार अपराधीलाई राख्ने विश्वप्रसिद्ध जेलखानाका वर्णन उनले यहाँ गरेका छन् ।

यात्रा: नियात्रा’मा थाहा हुन्छ नेपाली कति टाढा टाढा दुर्गम, अभेग ठाउँमा पनि पुगेका रहेछन् ।   संसारकै पुरानो मरुभूमि (नामिब) भएको देश नामिबिया र त्यहाँको एक दुःखी बासिन्दा मिनीसँग दुर्गा विनयको यात्रा–संवादलाई मैले कथा सम्झिएर पढेँ । मिनीसँग लेखकको बसाइ अझ लम्बियोस् भएको थियो । तृप्ति बोध गरेँ । त्यस्तै अर्को आलेख छ नगेन्द्र न्यौपानेको—के हाम्रो नेपाल कुरूप छ ? अमेरिकामा रहेका न्यौपानेको यस वैचारिक आलेखमा अघिको खुशी उतिनखेरै विरूप भइदिन्छ । नेपाल घुम्न आएको एक विदेशीको दृष्टिमा नेपाल कस्तो छ ? त्यो कुरा तिक्तता बोधसँगै उल्लेख गरेका छन्, “जोनले हरेक स्लाइडमा दर्शकहरूलाई खुब हसाएँ । मनोरञ्जन दिए । … नेपालीको इज्जत धुजाधुजा भएको थाहै भएन । यदि गरिबी अर्काका लागि हास्यास्पद हो भने सौन्दर्य केका लागि ! जोनले नेपालको सौन्दर्य प्रदर्शन गरे कि पीडा ! के नेपालमा गरिबी मात्र छ ? फोहोर मात्र देखिन्छ (९९)?”

प्राचीन कालदेखि ठूलो संख्यामा विद्वान्, दार्शनिक, स्रष्टा–कलाकार जन्माउँदै आएको युरोपियन देशहरूको  भ्रमण पुनः पुनः आवृत्ति हुनु—त्यस भूमिप्रतिको सघन आकर्षण हो । म्युजियमहरूको शहर भनेर चिनिने ओस्लो (नर्वेको एक शहर)को यात्रामा थानेश्वर सापकोटा नेपालदेखि गएका मित्र देवेन्द भट्टराईसँग रमाएका छन् । संयोग कस्तो भने त्यही समय नेपाली कलाकारले इब्सेनको नाटक ‘डल्स हाउस’को मञ्चन गरेका हुन्छन् ओस्लोमा ।

यात्रा: नियात्रा’मा धेरै थोकले पाठकलाई खुशी बनाउँछ । तर केही कुरा भने खड्किरहन्छ । यतिका धेरै स्रष्टा सङ्ग्रह गरिएको कृतिमा महिलाको सहभागिता भने किन चित्तबुझ्दो हुन सकेन । नारी अझ पनि पश्चगामी नै छन् या पश्चगामी बनाइयो ? धन्य हो, दुई नारी स्रष्टा गीता खत्री र भारती गौतमले महिलाको इज्जत थामेका छन् पुस्तकमा । गीता खत्रीको—अन्तिम पाइला माच्चुपिच्चुमा प्रकृतिको भावात्मक वर्णन प्रिय छ ।

माओवादी कालमा मानिस धेरै हताश, निराश भए । अब पनि त्यसको प्रभाव सकिएको छैन । मरुभूमिमा फुलेको फूलमा विमल सुवेदीको सम्झना अहिले पनि उस्तै छ । माओवादीको अभद्रताबाट मुक्त हुन्, जीवन रक्षाको लागि कतार जानु परेको उनको अतीत विस्मृत हुन सकेको छैन । तर यस बखत उनी जुन अवस्था छन् त्यसमा सन्तुष्ट छन् । त्यस्तै नक्सामा नभएको देशका नियात्री  गणेश खड्का झन् सन्तुष्ट छन् । कामकै लागि सेसेल्स पुगेका उनी विस्मित छन् त्यो साँझसँग । कृतज्ञ छन् त्यो परिवेशसँग ।

एउटा लेखकले यात्राको अनुभूति आर्जन गर्न कति कुराको व्यवस्था संयोजन गर्नु पर्छ । कत्रो लागत जुटाउनु पर्छ । तर पाठकले त्यो कुरा निःशुल्क प्राप्त गरेको हुन्छ छिनभरमा । बार्सिलोनाबाट शुरु भएको पाँच दिनको क्रुज यात्रा, बीचबीचको स्थल यात्रा हुँदै इटाली पुगेका महेश्वर पन्तको—पानीमाथिको गाउँ म आफैँ पुगे जस्तो रोमाञ्चित भएँ । गुडेरै जर्सी आइलेन्डतिर विजय हितानको नियात्रामा—भ्यागुताको सालिक सन्दर्भ त्यहाँ प्रश्न उठ्छ—कुन अभिप्रायले त्यो सालिक निर्माण गरिएको होला ?

देशभित्र भन्दा देश बाहिर रहेकालाई आफ्नो भाषा संस्कृतिप्रतिको आस्था कति धेरै हुने रहेछ । ‘यात्रा: नियात्रा’ले परोक्ष त्यो कुरा बताएको छ । द्वैध मानसिकता, द्वैध संस्कृतिको सङ्घारमा निर्मित नव संस्कृतिले आफ्नो अतीत भुल्छु भनेर पनि सक्दो रहेनछ । अनि वर्तमानलाई त्याग्छु भनेर पनि हुँदैन रहेछ । डायास्पोरिक भूमिमा आफ्नो आस्थालाई, विश्वासलाई बचाइराख्न अनि आफू हुनुको अस्तित्व जीवित छ है भन्ने भ्रान्तिका लागि पनि डायास्पोरिकहरू विविध प्रयास गर्दा रहेछन् । प्रस्तुत नियात्रा सङ्ग्रह पनि शब्दान्तरमा त्यस्तै प्रयासहरूको सङ्कलन हो । क्यानडाका सुरेन उप्रेतीको—कुलपतिसँग हार्वड युनिभर्सिटी पनि के त्यस्तै एउटा प्रयास होइन र ?

डायास्पोरिक नेपालीहरूको एउटै साझा वेदना के छ भने उन्नत मुलुकको समृद्धि भोग गरे पनि मनमा कता-कता पूर्ण तृप्ति नहुने रहेछ । आफ्नो देशको गरिबी, अभाव, अव्यवस्थाले मन दुखिरहने रहेछ । अमेरिकामा रहेका पदम विश्वकर्माको—माउन्ट रसमोरः यादहरूमा नेपालको दुरवस्था त्यसै गरी बिझाइरहेको छ।

चार दशकदेखि अमेरिका भोगेकी नारी स्रष्टा भारती गौतमका सिर्जनामा पनि मैले त्यस्तै केही बिझाइहरू पढ्दै आएकी थिएँ । यहाँ गौतमले ‘ग्रेसल्यान्ड’मा एक दिन सम्पूर्ण रूपले अमेरिकाका ठूला सङ्गीतकार एल्भिसको म्यूजिम अवलोकनमा समर्पण गरेकी छन् । महान् सङ्गीतज्ञ एल्भिस आफ्नो लक्ष्यमा जति सफल छन्— त्यति नै विफल उनको पारिवारिक जीवन कति निरश, कति उदास—उनलाई पढ्दा मनै फाटिएर आउँछ  ।

यात्रा: नियात्रामा’ धेरै नयाँ थोक छन् जान्नका लागि । विशेषतः नौला दृश्यहरू छन् । विभिन्न क्षेत्रमा आबद्ध स्रष्टा, तिनका यात्रा र यात्रा–अनुभूति पृथक् पृथक् रमाइला छन् । पृथक् ज्ञान र परिस्थितिका छन्, परिदृश्यका छन् ।  फरक न्यौल्याइँहरू थाहा पाउन सकेँ भन्ने एउटा प्रसन्न अनुभूति हुन्छ । तथापि सबैलाई यस्तो नहुन सक्छ किनकि यी नवीन लागेका विषय अरू कोहीलाई पुरानो हुन पनि सक्छ । केशवराज ज्ञवालीको येल्लोस्टोनमा स्वागत छ पनि त्यस्तै एउटा नौलो, अनौठो लाग्यो—अमेरिकाको विद्यार्थी जीवनमा गरिएको आन्तरिक भ्रमण । येल्योस्टोनको त्यो प्राकृतिक सम्पदा कति अद्भुत, कति आश्चर्यजनक । त्यो प्राकृतिक छटालाई ज्ञवालीले बिखालु सौन्दर्यको उपमा दिएका छन् । उनको त्यो विरोधाभासी अलङ्कार कति अर्थपूर्ण छ ।

अर्का अमेरिकी नेपाली लेखक कृष्णकुसुमको—आसिम भिलेजमा त्यो दिनले नेपालको राउटे बस्तीको सम्झना गराउँछ । आधुनिक उत्तरआधुनिक समय—अमेरिका जस्तो देश जहाँ प्राकृतिक जीवन बाँचेका आसिम भिलेजका बासिन्दालाई कुन प्रेरणाले बेगल बनाएको होला ? कृष्णकुसुमले यसै लेखको अन्त्यमा नीलम कार्की निहारिकाको—शुरुको अमेरिकी जीवन अनुभवसँग जोडिएको नियात्रालाई साभार गरेका छन् । रचना प्रभावकारी छ ।

साठी वर्षदेखि सैनिक शासन हुँदै आएको म्यानमार—जहाँ आफ्नो कर्म क्षेत्र बनाएका दीपक भट्टराईको नियात्रा— बर्मामा ‘गोमोक’ माया—ले उत्सुकतासँगै केही अधैर्य बनाउँछ । लेखक र उनकी पत्नी सैनिक पक्राउमा पर्ने हुन कि ! मुटु तेज गतिमा चल्छ । नेपाली भाषी बस्ती भएको ‘गोमोक’ घुम्न गएको अनुभव जटिल छ । म्यानमारका नेपाली भाषीले त्यो कठोर शासनका बीचमा आफ्नो भाषा, संस्कृति, संरक्षणका लागि गरेका प्रयत्नलाई कुन शब्दले आदर गरूँ जस्तो एउटा भाव उत्पन्न हुन्छ ।

एउटै कृतिमा यति धेरै  विविधता अध्ययन गर्न पाउँदा सन्तोषको अनुभव हुन्छ, तृप्तिको अनुभूति हुन्छ । भियतनाम, जापानको वर्तमान अवस्था पढ्दा कुनै समय युद्ध विभीषिका भोगेका राष्ट्र हुन् जस्तै लाग्दैन । तर त्यस्तो भयावह विभीषिका नखेपेको नेपाल किन उठ्न सकेन ? प्रश्न उठ्छ । जर्मनीबाट घुम्न आएका जीवा लामिछाने र उनका परिवार भियतनामी परिवेशसँग उत्सुक छन्, सन्तुष्ट छन् । लामिछानेको—राष्ट्रवादी हुनुको दुःखले अमेरिका र भियतनाम युद्धको केही इतिहास बोलेको छ ।

कृतिको अन्त्यमा डा. शिवराज भट्टराईको युरोप यात्रा रहेको छ—सानो तर मनमोहक लिक्टनस्टाइन । ‘दक्षिण एशियामा मौसम परिवर्तन अन्तर्गत दिगो खाद्य प्रणाली’ विषयक प्रोजेक्टको काम लिएर भट्टराईले यात्रा प्रस्थान गरेका छन्, साथमा श्रीमती तुलसा छिन् । जर्मन, स्विटजरल्याण्ड हुँदै फ्रान्स पुगेर भट्टराई दम्पती पुनः भुटान फिर्ता हुन्छन् ।

यात्रा: नियात्रा’मा  धेरै किसिमको अर्थ छ, मूल्य छ । प्रथमतः नेपालीले देखेको विविधतामय जगत् छ । वैश्वीकीरण हुँदै गरेको जातिले भाषा साहित्यप्रति गरेको प्रेम छ । विश्व नागरिकको हारमा पुग्न नेपाली जातिले गरेको प्रयास छ । दूर देशमा फैलिएको नेपाली जातिको विस्तार छ । नेपाली भाषा साहित्यमा डायास्पोरिक स्रष्टाले गरेको योगदान  छ । जगत्को विविधता यसरी नेपाली साहित्यमा भित्रिएको छ अझ भनौँ विश्व परिवेश र युग सन्दर्भ नेपाली साहित्यले पाएको छ ।  डायास्पोरिक साहित्यको नयाँ रङ्गले वाङ्मयमा अर्को सुवास थपेको छ ।

अन्तर्राष्ट्रिय यात्रा सङ्ग्रहमा गुण–दोष भन्दा पनि प्राप्ति ठूलो छ । कलाका दृष्टिले रचना त्यति दुर्बल छैनन् । कति रचना सुन्दर छन् कति मध्यम सुन्दर छन् । अनेक स्रष्टाबाट एकै किसिमको कला, समान उत्कृष्टता खोज्नु पनि एउटा धृष्टता हो । लेखकको यात्रा अनुभूति र उसको दृश्य, परिदृश्य र अवधारणामा एउटा समालोचकले आफूलाई लागेको दृष्टिकोण व्यक्त गर्न सक्छ तर यस्तो हुनु पर्थ्यो, यस्तो लेखिनु पर्थ्यो, यो ठीक यो बेठीक भनेर पर्गेल्ने कहीँ ठाउँ हुँदैन । लेखकीय स्वतन्त्रतालाई, उसको भावनात्मक पक्षलाई निमोठ्नु समालोचकको धर्म होइन । त्यस धर्मलाई सम्झिएर म यहीँ रोकिन्छु । जय होस् डोयास्पोरिक नेपाली साहित्य, जय होस् डायास्पोरिक नेपाली स्रष्टा ।