
‘ऐँठन’ विवेक ओझाको दोस्रो आख्यान कृति हो । ‘ऐलानी’ उपन्यास प्रकाशनपछिको पाँच वर्ष खर्चेर लेखेका ओझाले यस उपन्यासमा राज्य र माओवादी दुवैतर्फबाट आम मान्छेमा पारेको विद्रूपताको चित्रण जीवन्त ढङ्गले गरेका छन् । २०५२–६२ दस वर्षमा घटित माओवादी हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसामा पीडित बनेका ती तमाम मान्छेको ऐँठनको कथा हो ।
अट्ठाइस परिच्छेदमा विभाजित र करिब ३८० पृष्ठको आयतनमा फैलिएको ऐँठन उपन्यासको प्रमुख पात्र बबनकुमार हो । ऊ आफूलाई दाङ जिल्ला शान्तिनगरको जनता माविको विज्ञान विषयको शिक्षक भएको दाबी गर्छ र सिङ्गो उपन्यासभरि उसको प्रस्तुतिले पुष्टि गर्ने आधार दिइएको छ । सेना र माओवादीबिचको भिडन्तका क्रममा घरमै लुकेर ज्यान जोगाउन बसेका उनीहरूको परिवारमा श्रीमती उर्मिलाको गोलीबाट हत्या हुन्छ । माओवादीले घाइते छोरा प्रह्लादलाई पुर्छन् र बबनकुमारलाई अपहरण गरेर बन्दी बनाएर लैजान्छन् ।
अपहरणमा परेर माओवादी कार्यकर्ताका पछि लाग्नुपर्ने बाध्यताका बिच विभिन्न इलाकाहरूमा पुगेर बबनकुमारले माओवादी यातनाका दृश्य देख्छ । जसमा माओवादीले समाजमा विभिन्न विकृति र अपराधमा संलग्न मान्छेहरूलाई गरिएका कारबाहीलाई बबनले नजिकबाट अनुभूत गर्दछ । सार्वजनिक रूपमा चलेका बस एम्बुसमा उडाएकादेखि अबोध बालिकालाई बलात्कार गरेर आमालाई यातना दिएका दृश्य फरक पात्रद्वारा उपन्यासमा घटित भएका छन् ।
अर्कातर्फ माओवादीको बन्दी अवस्थाबाट छुटेर आउँदा सेनाद्वारा पक्राउ परेपछि बबनकुमारले सेनाको यातना उत्तिकै देख्छ र केही मात्रमा भोग्छ पनि । सेनाद्वारा योनीमा लट्ठी हाल्नेदेखि सामूहिक बलात्कार, सामूहिक हत्यासम्म घटनाहरू चलचित्रका दृश्यझैँ प्रतीत हुन्छन् । तत्कालीन शाही सेनाले माओवादीको नाममा गाउँमा धेरैलाई असह्य यातना र तनाव दिएका सन्दर्भलाई पनि उपन्यासमा चित्रित छ । आग्रही भएको दोषबाट बच्न लेखकले कुटिल ढङ्गले माओवादी र सेनाका दुवैतर्फ नम्र व्यवहार र सरल अनुहारहरूलाई पनि उपन्यासमा देखाएका छन् ।
केही दिनअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको भ्रमण हुँदाका बखत बहसमा राज्य र माओवादी दुवै पक्षबाट भएका गैरन्यायिक हत्या, हिंसा र मानवतावाद विरुद्धको अपराधमा कारबाही हुनुपर्ने र द्वन्द्वका विषयलाई टुङ्ग्याउनुपर्ने आवाज पनि उठेको छ । पटक पटक भएका शान्तिपूर्ण आन्दोलनले पनि परिवर्तन सम्भव भएको देखाउँदै विश्वमा भएका विभिन्न समयका युद्धका घटनाले त्रासदी मात्र दिएको तर शान्तिपूर्ण अवस्था सिर्जना नभएको तथ्यलाई उपन्यासकारले बारम्बार पुष्टि गर्न खोजेको देखिन्छ । प
हिलो विश्वयुद्ध नसेलाउँदै दोस्रो नरसंहार भएको र हिरोसिमा र नागासाकीको परिवेशलाई जापानी एक महिला पात्र सोरामार्फत् त्यहाँको आणविक आक्रमणले निम्त्याएको त्रासदीलाई प्रस्तुत गरिएको छ । यता नेपालको दस वर्षे सशस्त्र द्वन्द्वको परिणामलाई माओवादीले न राज्यलाई हतियारले कब्जा गर्न सकेको न त राज्यले माओवादी विद्रोहीलाई निमिट्यान्न बनाउन सकेको देखाउँदै हतियारले बबनकुमार जस्ता द्वन्द्वनिरपेक्ष आम मान्छेलाई भने धेरै दुःख दिएको निष्कर्ष दिन खोजिएको छ ।
उपन्यासमा मूलतः दुई पक्ष देखिन्छ– एक राज्य पक्ष र अर्को तत्कालीन सशस्त्र विद्रोही पक्ष । समाजमा दलित, उत्पीडित, सीमान्तकृत, महिला हिंसा आदि व्याप्त छ, यसको समूल अन्त्यका लागि हतियार उठाउन जरुरी रहेको देखाउँदै नागरिक जागरुक हुनुपर्ने आवश्यक परिवेश उपन्यासकारले तयार गरेका छन् । विद्रोहको स्थानीय नेतृत्व महिला पुरुष दुवैको लैङ्गिक उपस्थिति देखाएका छन् तर कुण्ठित यौन चाहना राज्य वा विद्रोही पक्षका सिपाहीमा भएको प्रतिनिधिमूलक घटना देखाएका छन् । चारित्रिक भ्रष्टता कतिसम्म देखाइएको छ भने बन्दीमुक्त भएको बबनकुमार सेनाबाट छुट्न ब्यारेकको प्रमुखलाई केही बिटा नगद दिन सके छुट्ने भनिएको छ ।
अर्कोतिर यौनतृप्ति पूरा गरेर कमरेड राकेशले एक युवतीलाई बन्दीमुक्त गरेको सन्दर्भले विकृत पक्षको चित्रण साङ्केतिक रूपमा गरेको छ । यसका साथै अपराधबाट बच्नका लागि गोकुल विद्रोही बनेको र आमाकै अगाडि छोरीको अस्मिता लुटेको सन्दर्भले दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा सबैको नियत सही नभएको र नाजायज फाइदा लुट्ने अवसरवादीको जहिल्यै बहुलता रहेको देखाइएको छ ।
उपन्यासको आन्तरिक संरचनागत बुनोटलाई हेर्दा २८ परिच्छेदमा बाँडिएको देखिए तापनि खासमा यसको विषय तीन भागमा केन्द्रित देखिन्छ । सुरुमा महाभारतकालीन सन्दर्भ, मूल विषयका रूपमा दस वर्षे माओवादी सशस्त्र विद्रोह र स्वैरकाल्पनिक अस्पताल र विभिन्न अङ्ग तथा आंशिक स्मृतिसमेत गुमाएका पूर्व लडाकुको बस्ती रहेको छ । उपन्यासको सुरुमा महाभारतको सन्दर्भबाट मूल विषयवस्तु द्वन्द्वमा आधारित हुने सङ्केत देखाउँदै त्यसमा आएका पात्रहरूबाटै स्वैरकल्पनाको छनक दिन्छ ।
सामान्य आख्यानका पाठकले शीर्षकबाट जे अनुमान गर्छन् सोअनुकूल घटना अगि बढ्दैन । यस कुरामा लेखक विश्वस्त छन् र चलाखीपूर्ण रूपले भन्छन्, “मलाई त आधा पुस्तक पढ्नु, आधा पेट खानु र आधा हिमाल चढ्नु उस्तै उस्तै लाग्छ । कोही कसरी आधा पुस्तक पढेर थन्क्याउन सक्छ ?” यस भनाइबाट लेखक पाठकलाई आद्योपान्त पढ्न उत्प्रेरित गर्दछन् भने सँगसँगै अधैर्यपूर्ण आजका फास्ट फुड वा चाउचाउ संस्कार झैँ ‘इन्स्ट्यान्ट’ पूर्ण हुन चाहनेहरूलाई ज्ञानपान गर्नका लागि थप्छन्, “कुनै एक हरफमा पनि जीवनकै दुर्लभ प्रेरणा भेटिने सम्भावना हुन्छ । त्यो जीवनभरका लागि ओखती बन्न सक्छ ।”
उपन्यासलाई थप रोचक र पठनीय बनाउन लेखक विश्वभरका प्रमुख युद्धका सन्दर्भलाई स्वैरकाल्पनिक परिवेशमा रहेका पात्रहरूमार्फत् जीवन्त प्रस्तुति दिन सफल छन् । चेस खेलमा प्रयोग भएका आकारप्रकारका वस्तुमार्फत् युद्ध केका लागि र कसका लागि कसरी खेलिन्छ भन्ने देखाउँदै शान्तिपूर्ण ढङ्गले कसैलाई नमारीकन पनि सम्भावना रहने देखाउन सबै गोटी हटाएर चेसका दुवैतर्फका राजाबिच संवाद गराउन सकिने सोच देखाएका छन् । उपन्यासकारले विश्वका विभिन्न चर्चित पात्रहरूले प्रयोग गरेका चुरोटका ब्रान्डहरूलाई हिटलर, चर्चिल आदिका माध्यमले युद्धको कठोर गन्धले कसरी अरूलाई ऐँठन हुनसक्छ भन्ने सङ्केत गरेका छन् ।
युद्धका क्रममा सोझासाझा जनता कसरी असरमा पर्छन् भन्ने कुरालाई परोक्ष रूपमा यस वाक्यले दिन खोजेको देखिन्छ, “एउटा घर बन्दा कैयौँ सग्ला इँटा फोडिन्छन् ।” यसको अर्थ जसको कुनै दोष छैन तर पनि दोषी करार हुन पुग्नुपर्ने हुन्छ भन्ने तथ्यलाई सग्लो इँटा फोडिनुको सन्दर्भलाई जोडिएको हुनसक्छ । उपन्यासको अन्ततिर होटल सञ्चालकका रूपमा आएको पात्र बाबुचाहिँले भन्छ, “युद्धले मानिसभित्रको दमित मानिसलाई ब्युँझाउँछ ।” तर त्यही पात्रको छोरा युद्धका सन्दर्भमा भन्छ, “के कोही ठोकुवा गर्न सक्छ, करोडौँको नरसंहारबिच हकिङभन्दा बुद्धिमान बालक मरेन ? कोही ठोकुवा गर्न सक्छ, विश्व सुन्दर बनाउने कुनै सिद्धान्तको कोपिला चुँडिएन ? अर्को निकोला टेस्ला र आर्यभटभन्दा अद्भूत मानिसको अवसान भएन, कोही ठोकुवा गर्न सक्छ ?”
उपन्यासकारले तत्कालीन विद्रोहीहरूले देखेका सपना र उनीहरूको बोल्ने शब्दशैलीलाई हुबहु राख्ने कोसिस गरेका छन् । कमरेड जीवन भन्छ, “वीर कमरेडहरू, हामीसँग देशको सपना र आउँदो पुस्ताको भविष्य डोरिँदै छ । एक दिन पक्कै आउने छ, जहाँ कोही भोको हुनेछैन, कसैको इज्जत लुटिने छैन, जात हुनेछैन, गरिबी हुनेछैन र सबैको समान पहिचान हुनेछ । त्यो स्वर्गसमान दिनका लागि हाम्रो आहुतिसमेत पश्चात्तापपूर्ण हुनेछैन । किनकि हाम्रो चिहानको हृदय हुँदै परिवर्तनको सूर्य उदाएरै छाड्नेछ । आउँदो पुस्ताले यही स्वर्णिम समय सम्झेर सगर्व छाती तन्काउनेछ ।”
त्यसो भए सत्ता के हो त भन्ने तथ्यलाई मङ्गलसेन कब्जा गर्ने सन्दर्भमा विद्रोही पक्षको राकेश भन्छ, “वीर साथीहरू, राज्य कब्जा नहुन्जेल हाम्रो क्रान्ति जारी रहने छ । हामीले भन्न चाहेकै हौँ, सत्तामा बस्ने मानिस कथित ईश्वर होइन । न त ऊ मालिक हो । ऊ हामी जस्तै मानिस हो । देश बनाउने जिम्मा लिएर, हाम्रो स्वतन्त्रताको जिम्मा लिएर हामीबाटै पसिनाको कर उठाई जब ऊ आफ्नो अर्थ बिर्सिन्छ, त्यो कदापि मान्य हुनेछैन ।”
सोही राकेश पात्रमार्फत् विद्रोहीका उत्प्रेरित शब्दजाललाई उपन्यासकार यसरी बोल्न लगाएका छन्, “वीर कमरेडहरू अभिवादन । यो लडाइँ केवल शाही कुकुरविरुद्धको होइन । कथित महत्त्वाकाङ्क्षाका लागि मात्रै होइन । फगत जित्नका लागि, अहँ हुँदै होइन । हाम्रै पसिना चाटेर, हामीलाई नै कोतरिरहेछ बारम्बार । हामीले स्विकार्नुपर्छ, त्यो जन्तु करोडौँ जनताको रगत पिएर हामीभन्दा मोटो छ, बलियो र सम्पन्न छ । तर हामीसँग सत्य छ, आत्मविश्वास छ । त्याग, बलिदान र परिवर्तनका खातिर ज्यान दाउमा राख्न सक्ने प्रण छ । …मातृभूमिको मुक्तिका लागि, सर्वहाराका सपनाका लागि अथक प्रयास गर्ने छौँ ।”
वास्तविक परिवर्तनमा यति ठुलो सपना लिएर हिँडेका सर्वहारा वर्ग भ्रमतुल्य बन्न पुगेको देखाइएको छ । उपन्यासको अन्ततिर राज्यसत्ता प्राप्तिपछिको विद्रोहीहरूको नेतृत्वको राजसी ढाँटमा आएको राकेशले ती सर्वहाराका सन्तानलाई शिक्षाका लागि भनसुन गर्नुपर्ने बाध्यता र हिजो बुर्जुवा ठानिएको शिक्षा अभावले आज आफूले दुःख पाउनु परेको तितो यथार्थ देखाइएको छ । हिजो परिवर्तनका खातिर होमिएर आंशिक परिवर्तनलाई पूर्ण बनाउन नसकेको कुण्ठालाई अरूतिर दोषारोपण गर्दै सत्तामोहमा रमाउन थालेको राकेश भन्छ, “देशीविदेशी प्रतिगमनकारी शक्तिले हाम्रो महान् क्रान्तिलाई असफल तुल्याउने षड्यन्त्र सर्वथा गरिरहन्छन् ।”
समग्रमा, करिब चार दशकअघि मदन पुरस्कार प्राप्त आञ्चलिक प्रकृतिको ‘अलिखित’ को स्वैरकाल्पनिकताको ‘ब्लाक ह्युमर’ सहितको पीडादायी अवस्थाको झल्को ‘ऐँठन’ले दिन्छ । परिच्छेद दसभित्र छुट्टै उपशीर्षक दिइएको ‘नौरङ्गी माछा’ सुन्दर बिम्बात्मक शब्दसंयोजन छ । उपन्यासमा छानिएका प्रतिनिधिमूलक घटनाका प्रतिनिधि पात्र मात्र भएकाले समग्रतामा एउटै ठानेर सामान्यीकरण गर्नु गलत होला तर आधिक्यता रहेको पक्कै हो ।
सुरुदेखि अन्त्यसम्मको विषय प्रस्तुतिले शीर्षक सार्थक बनेको छ । दस वर्षे द्वन्द्वका क्रममा हजारौँको सङ्ख्यामा प्रत्यक्ष प्रभावित भएका, अङ्गभङ्ग भएका, आफन्त गुमाएका र त्रासदीपूर्ण अवस्थालाई नजिकबाट देखेभोगेकाहरूको समुच्च पीडा हो– ‘ऐँठन’ ।
नेपाली साहित्यमा विशिष्ट मानिएको मदन पुरस्कार भर्खरै प्राप्त गरेको प्रस्तुत कृतिका लेखक ओझालाई निरन्तर साहित्य उन्नयनका लागि शुभकामनासहित हार्दिक बधाई !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

