गाँजाको बारीमा एउटा गाँजाको बोट अलिक भिन्न हुन्छ रे ! फूल पनि भिन्नै फुल्छ रे ! पर्पल रङको, त्यसैलाई पर्पल हेज भन्छन् । हामी पनि पर्पल हेज जस्तै बन्नुपर्छ अलिक पृथक् । यिनै विचारहरुलाई अभिव्यक्ति दिएका छन्, आशीष जङ्गले आफ्नो कृति पर्पल हेजमा । पर्पल हेज भर्खरै प्रकाशित अलक धारको एउटा कृति हो । यो कृति बजारमा पुग्नुअघि नै मेरो हात परेको कारण मैले दुई पटक पढें ।

यस पुस्तकका लेखक भन्नुहुन्छ, “यो किताब पढ्नु पर्ने खास त्यस्ता पात्रहरुले हो, जो जिन्दगीभर अरुलाई इम्प्रेस गर्ने चक्करमा आफू डिप्रेस भएर जिन्दगी बिताउन विवश छन् । यो कुरा बुझ्नुस् कि अज्ञानले गैंडाझैँ गह्रौँ हुने मन ज्ञानले बेलुनभन्दा हलुका बनाइदिन्छ । मैले तपाईंहरुलाई बदल्न सक्दिनँ । तपाईंलाई बदल्ने तपाईं आँफैले हो ।”

सुषमा तिमल्सिना

“यो पुस्तक तिनीहरुको लागि हो, जो आफ्ना Ex girlfriend या Ex boyfriend को विवाहको पार्टीमा मस्तसँग भोज खान सक्छन् ।”

लेखक कष्टकर वैवाहिक जीवनभन्दा रमाइलो living together लाई महत्त्व दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । यो पुस्तकमा एउटा पात्र छन् गौरव । उनलाई एडन नामक एक पात्रले सोध्छन्, “तपाईं कति वर्ष पुग्नुभयो?”

उनको जवाफ आउँछ, “म काममा यति व्यस्त हुन्छु कि मलाई उमेरको बारेमा सोच्ने

फुर्सद नै हुँदैन । जबसम्म हामी केही सिकिरहेका हुन्छौँ, हामीलाई मृत्युको सम्झना हुँदैन, मतलब हुँदैन । जुन दिन म सिकेर सक्नेछु त्यो दिन बल्ल मृत्यु र उमेरको विषयमा सोच्नेछु । यस पुस्तकमा केही रोचक प्रसंग पनि छन् जस्तो कि एकदिन एक व्यक्ति न्युयोर्कको एउटा बिल्डिङको एक सय तलाबाट तल खस्दै थियो । पचासौँ तलामा पुगेपछि उसलाई झ्यालबाट एकजनाले सोधेछ- “मित्र के छ खबर?” उसले भनेछ-“अहिलेसम्म त ठीकै छ अझै जमीनमा पुगिएको छैन, पुगेपछि बताउँला ।”

यो वाक्यबाट के बुझ्न सकिन्छ भने उक्त व्यक्तिलाई जीवन बाँच्ने कला र जवान हुने ढंग थाहा छ । यो पुस्तक युवा पुस्ताहरुको लागि विशेष छ । एक त लेखक आफैँ युवा हुनुहुन्छ । उहाँले देखेको हाम्रो समाज, यहाँको वास्तविकता लगायत यस पुस्तकमा पढ्नै पर्ने जान्नै पर्ने थुप्रै महत्त्वपूर्ण कुराहरु छन् । लक्ष्यमा जीवन बिताउनु, धन कमाउनु, यो बदल, त्यो बदल ।

हामी अर्काको हिसाबले बाँचिरहेका छौ । जब सम्म हामी आफ्नो लक्ष्यका निम्ति बाँच्दैनौं, बाँच्नका लागि

 

 

खादैनौं, आनन्दको दिशातिर जानुछ भने लक्ष्य भन्दा माथी उठ्न सक्दैनौं तबसम्म हामी बाँचिरहेका हुँदैनौँ । हामी आफ्नै घरभित्र असुरक्षित छौँ किनकि हाम्रो घरलाई हाम्रो समाजले असुरक्षित बनाइदिएको छ । यी कुराहरु सुन्दा जति सामान्य लाग्छ त्यत्ति नै गहिरा छन् । यो पुस्तक पढ्दै गर्दा आफू भेटिन्छ, हामी हाम्रो समाज भेट्छौँ, आफैँलाई चिन्नको निमित्त यो पुस्तकले एक महत्त्वपूर्ण भूमिका खेल्छ ।

आफ्नो लागि नीति नियम आफैँ बनाउने, अरुले बनाइदिएको संस्कार, मान्यता, परम्परामा चल्नुभन्दा आफैँले ती निर्माण गरेर चल्दा धेरै आनन्द मिल्छ । फसल उमार्न बादल गर्जेर मात्र हुँदैन, हलो नै जोत्नुपर्छ । यी गनथन मैले उक्त पुस्तक पढेर लेखेकी हुँ । यो पुस्तक एक गैरआख्यान हो । यस पुस्तकको बारेमा मैले यत्ति लेखेपछि तपाईंहरुले यो लेख मन लगाएर पढ्नु भयो भने र पुस्तक पढ्ने इच्छा जाग्यो भने म खुशी हुनेछु नभए म बुझ्नेछु कि तपाईं अझै आफूलाई चिन्न खोजिरहनु भएको छैन अथवा यस पुस्तकको बारेमा मैले यहाँलाई स्पष्ट पार्न सकिरहेकी छैन ।

म साहित्यमा नयाँ पुस्तालाई फलो गर्छु । जो स्थापित भइसके उनीहरुलाई बढुवा दिइरहनु भन्दा, जो लेख्दैछन्, जो लेख्न खोजिरहेका छन् उनीहरुलाई अवसर दिनु सबैभन्दा बुद्धिमानी काम हो । यो लेखलाई समीक्षा नसम्झिनुस्, पुस्तकको बजारीकरण गर्न लेखिएको लेख नसम्झिनुस् । कुनै पुस्तक पढेर त्यसले पढ्ने व्यक्तिलाई गहिरो प्रभाव पार्छ भने म चाहिँ उक्त पुस्तकको बारे केही नलेखी बस्न सक्दिनँ । यो लेख त्यसै मध्येको एक हो ।

पुस्तकको नाम : पर्पल हेज
लेखक : आशीष जङ्ग
प्रकाशक: गोर्खा पब्लिकेसन्स प्रा.लि
मूल्य : रु.३०० पृष्ठ : १४४