नाटक विधामा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको बेग्लै परिचय छ । करिब बाह्र वर्ष अघिदेखि विद्यालयमा यो विधाको पठनपाठन सुरु भएको हो । त्यसैबेलादेखि हरेक वर्ष नाट्य सप्ताह आयोजना गरी विद्यालयका सबै विद्यार्थी नाटकमा सहभागी हुन्थे । तयार भएका नाटक विभिन्न थिएटरमा मञ्चन गरिन्थ्यो ।

सर्वनाम थिएटर, मन्डला थिएटर, शिल्पी थिएटर, कुञ्ज थिएटर र स्टुडियो थिएटरमा प्रज्ञा कुञ्जका विद्यार्थीले नाटक मञ्चन गरिसकेका छन् भने कहिले विद्यालयमै प्रेक्षालय (ब्ल्याक बक्स) निर्माण गरी नाटक मञ्चन गरेका छन् । नाट्य प्रशिक्षक एवं निर्देशक टंक चौलागाईँको नेतृत्वमा नाटक मात्रै नभएर चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीमा समेत धैरेले बालकलाकारको रूपमा अभिनय गरिसकेका छन् ।

टंकको साथमा रंगकर्मी, निर्देशक, कलाकार प्रतीक दुलाल पनि नाट्य शिक्षकको रुपमा कार्यरत छन् ।

यसपटकको नाट्य सप्ताहमा लेखक टंक चौलागाईंका कालु र बाघ, सानी र परी, इमान्दार दाउरे, उज्यालोतिर, चकलेट, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, हिराको भोटो, श्रवणकुमारको कथा, प्रकेश सिन्धुलियको लेखन रहेको द फिनिस लाइनलगायत विभिन्न लेखकका शिशिर वसन्त, चार्ली एन्ड द चकलेट फ्याक्ट्री, ब्युटी ईज अ बिस्ट, फूलको भाषा, दुःखी राजकुमारी, पापबुद्धि धर्मबुद्धिजस्ता नाटकमा कक्षा चारदेखि दशसम्मका करिब ४०० विद्यार्थी सहभागी हुँदैछन् ।

विद्यार्थीहरूलाई निर्देशक टंक र प्रतीकका साथमा रंगकर्मी विजया कार्की, विजय नेपाल र बनसरी पान्डेले साथ दिएका छन् ।

वैशाख ३१ पहिलो दिन तुलसी घिमिरेको आतिथ्यमा उज्यालोतिर, खेल्ने बेला खेल्छौँ पढ्ने बेला पढ्छौँ, चकलेट मञ्चन भयो । दोस्रो दिन कालु र बाघ, इमान्दार दाउरे, सानी र परी मञ्चन भयो । त्यसैगरी, तेस्रो दिन चार्ली एन्ड द चकलेट फ्याक्ट्री, श्रवणकुमारको कथा, द फिनिस लाइन मञ्चन भयो भने चौथो दिन फूलको भाषा, पापबुद्धि धर्मबुद्धि, दुःखी राजकुमारी मञ्चन भयो ।

पाँचौ दिन प्राडा. सावित्री कक्षपतीलाई सम्मान गरेर यो नाट्य उत्सवको समापन भएको थियो । समापनमा शिशिर बसन्त, ब्युटी इज अ बिस्ट, हिराको भोटो मञ्चन गरिएको थियो ।