फ्रान्सेली साहित्यकार फ्रेडरिक मिस्त्राल ८ सेप्टेम्बर १८३० मा दक्षिणी फ्रान्सको मेलेनमा जन्मेका थिए । उनकी आमाको नाउँ अडेलैद पाउलिनेत र बाबुको नाउँ फ्रास्वाँ मिस्त्राल थियो । उनका बाबु प्रशस्त जमिन भएका धनी किसान थिए । उनी ९ वर्षका भएपछि उनलाई सेन्ट माइकेल द फ्रिगोलेट नाउँको बोडिङ स्कुलमा भर्ना गरिएको थियो । नाइम्स कलेजबाट व्याचलर्स डिग्री प्राप्त गरेपछि सन् १८४८ देखि १९५१ सम्म उनले कानुनको अध्ययन गरे। उनले पल चेजान्ने एक्स मार्शल युनिभर्सिटीबाट कानुनमा उच्च शिक्षा प्राप्त गरेका थिए ।

उनले युरोपको साहित्यिक भाषाको पुनरुत्थान गर्नुका साथै आफ्नो जाति र भाषालाई पुनर्जीवन दिए। उनी बडो मातृभक्त थिए। राष्ट्रभाषा नबुझ्ने आफ्नी आमालाई उनी मातृभाषामा कविता लेखेर सुनाउँथे। आफ्नो मातृभाषाका दन्त्यकथा र औपन्यासिक घटनालाई कविताको माध्यमबाट उनले १८५८ मा मेरियो नाउँले प्रकाशित गरे । यो कृति ज्यादै कारुणिक र हृदयस्पर्शी छ। मेरियो एउटा मुखियाकी छोरी थिई । उ एउटा डालो बुन्ने किसानको छोरासँग प्रेम गर्थी। दिन सुखसाथ बित्थ्यो, तर रात गम्भीर मनोव्यथामा अल्झिरहन्थ्यो । ती दुईको प्रेम समाजमा प्रकट हुन नपाउँदै तिखा दर्शन ढुङ्गाहरू भएको बिकट बाटो काटेर पवित्र विवाह (Holy Marriage) को चर्चमा पुगी मेरियोले आशापूर्ण शब्द भन्छे, त्यसपछि देह त्याग गर्छ ।

मिस्त्राल ग्रामीण जीवनका असाध्य प्रेमी थिए । गाउँको स्नेहले गर्दा उनी प्यारिस महानगरीमा रहेको फ्रान्सेली प्रज्ञा प्रतिष्ठानका सदस्य भएर बस्न चाहेनन् । प्रज्ञा प्रतिष्ठानले उनलाई पुरस्कार र सम्मान प्रदान गरी सम्मानित गरेको थियो । उनका कविताका विषयवस्तु प्रेम, देशभक्ति, मानवता र गाउँले जनजीवनका चित्र हुन् । ले ओलिबेड्स कविता सङ्ग्रह, मिस्त्रालको संस्मरण (Memoir of Mistral), प्राचीन र आधुनिक प्रोभेन्सको सरल शब्दकोश (Comprehensive Laxican of Ancient and Modern Provence) आदि उनका प्रमुख कृति हुन् । प्राकृतिक सुन्दरताको वर्णन र उनको जन्मभूमिप्रतिको झुकाउको निम्ति, मौलिकता र कवितात्मक सिर्जनामा उनीबाट प्राप्त हुने प्रेरणाको मान्यता स्वरूप उनलाई सन् १९०४ को नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनले जोजे इचागराइसँग संयुक्त रूपमा सो पुरस्कार प्राप्त गरेका थिए ।

सन् १८७६ मा मिस्त्रालले म्यारी लुइस रिभिएरे नाउँकी युवतीसँग विहे गरेका थिए । मिस्त्राल दम्पत्ति सन्तानविहीन थिए । गाउँ र प्रकृतिका पुजारी फ्रेडरिक मिस्त्राल २५ मार्च १९१४ मा आफू जन्मेकै गाउँ मेलेनमा परलोक गए ।