कविता प्रेममा हुन्छ । बिछोडमा हुन्छ । दुःखमा हुन्छ । खुसीमा पनि हुन्छ । हामी जति अनुहारहरु हेर्छौँ, ती हरेक अनुहारहरुमा कविता हुन्छ । उठ्दै गरेको घाममा उन्नति हुनसक्छ । डुब्दै गरेको घाममा बाआमाको मलीन अनुहार हुनसक्छ । बगिरहेको नदीमा निश्छलता हुनसक्छ । आकाशका ताराहरुमा आफ्नाहरुको अनुहार प्रतिबिम्बित हुनसक्छ । जूनमा प्रियसी हुनसक्छे । कवितामा कथा हुनसक्छ अनि हुनसक्छ एउटा सिङ्गै जीवन पनि ।

सुषमा तिमल्सिना

कविता कृति प्रिय मौनता प्रेमिल कविताहरुले भरिएको छ । पढ्दै गर्दा आफू भेटिन्छ । आफूले र आफूलाई प्रेम गर्ने मान्छेको अनुहार आँखैअघि झल्झली आइरहन्छ । शब्दहरु मिलेर बसेका छन् । बिम्बहरुले अनेकौँ अर्थ लगाउँदै धेरै कुरा बोल्न खोजेका छन् । कविको शब्द चयन यति गहिरो छ कि लाग्छ, जसले लोप हुन लागेका नेपाली समाजका अन्तरकुन्तरमा प्रचलित शब्दहरुलाई जोगाएको छ । साँच्चै, लगाउन बाँकी प्रीतहरु अझै अद्भुत र रोमाञ्चक हुन्छन्, जसरी सुन्न बाँकी गीतहरु सुनिएका गीतभन्दा झनै मीठा हुन्छन् । यी वाक्य भन्दै गर्दा कविले समयलाई पर्खन भनेका छन्ः

फूल बनेर फक्रेपछि
बस्नुपर्दैन तिमीले
आफ्नै रङ्गीन पत्रहरुहरुको कसिलो बन्धनमा
र त्रसित हुनुपर्दैन
हावाको चञ्चल अनि मादक लहरहरुसित
यस कवितामा कवि आफ्नो प्रिय कोपिलालाई हृदयभरि लुकाउ खोज्छन्, उसको घुम्टो खोल्न खोज्छन्,  अनि खोल्न खोज्छन् खुल्न बाँकी सबै सम्भावनाका ढोकाहरु । अनि फेरि भन्छन् यो सबै अधीरता हो, प्रस्फुटन हुनु अघिकाः
यो यात्रा
कतै पुग्नलाई हिँडेको थिइनँ
तर कतै आइपुगेको छु
तिमीसम्म
केही पाउनलाई आएको होइन
र त केही पाइसकेको छु ।
प्रस्तुत कविता पढ्दै गर्दा लाग्छ, हामी गन्तव्यविहिन यात्रामा हिँड्दै गर्दा पनि कतै पुग्छौँ । हिडौँ त कहाँ जानु भनी सोचै नबनाई । हिँडिरहुँ । के थाहा हामीलाई पर्खेर बसेका थुप्रै अनुहारहरु भेट्टाउँदै जान्छौँ कि । ती अनुहार मान्छेका मात्र नहुन सक्छन् । तर हुनसक्छ शब्दका अनुहार ।
हामी जसलाई धेरै प्रेम गर्छौँ, त्यो मान्छेबाट सायद हामी केही कुराको आशा राख्दैनौँ  । नराख्दा नराख्दै पनि हामी त्यो मान्छेबाट खुसी पाउँछौँ । आनन्द पाउँछौँ । के थाहा जीवनको सुन्दरता यसैभित्र पनि हुनसक्छ । आँखाले गर्ने प्रेम र मुटुले गर्ने प्रेममा कति फरक छ ? कविले कवितामार्फत् यी कुरालाई पनि प्रस्ट पार्न खोजेका छन् । प्रेमले तान्छ, हामी ऊबाट छुट्टिसक्दा पनि पत्तै पाउँदैनौँ कि हामी ऊसँगै गइरहेका छौँ । कवि आफ्नी प्रियतमासँग हुदाँ सहरको विरानो बाटो पनि लामो भैदिए हुन्थ्यो नि भन्ठान्छन् । कुद्न छोडेर एकैछिन रोकिए हुने नि समय भन्ठान्छन् । कोलाहललाई छोडेर मौनतामा नै डुबिरहुँ चाहन्छन् । यस कृतिभित्र नाङ्गेलीको स्मृतिमा लेखिएको कविता छ । अत्याचारी र विभेदमूलक रोमन सत्ताका विरुद्ध साैर्यपूर्ण युद्धका बारे लेखिएको कविता छ । र, छ जर्मनेली महाकवि योहाङ गोथेको काव्यनाटक फाउस्टको कविता ।
कविता पढ्दै जाँदा यति आनन्द मिल्दै जान्छ कि सायद यस्ता कुरालाई यहाँ शब्दमा बयान गर्न सम्भव नहोला । भाषा र बिम्बको जटिलताका कारण जुन नयाँ पुस्ता अहिले साहित्यमा हामफाल्न खोजिरहेका छन् उनीहरुलाई पढ्न अलि अफ्ठ्यारो हुन्छ कि भन्ने लाग्छ । धेरै जस्तो कवितामा प्रेम ओतप्रोत भएको हुँदा कता कता पढ्दा उस्तै लाग्ने, भाव दोहोरिएको हो कि भन्ने पनि महसुस हुन्छ । कवितासँगको पहिलो कविता तिमीले मलाई बिर्स्यौ भने ? यस कविताभित्र कविले उसले बिर्सिसक्दा पनि कुनै कुरामा परिवर्तन हुँदैन, सिवाय मेरो मनलाई बाहेक भन्न खोजेका छन् । जस्तो कि फूल फुलिरहने छ । हिमनदीको हिउँ पग्लिरहने छ, आकाशको नीलिमा चम्किरहने छ । ऋतु परिवर्तन भइरहने छ । वास्तवमा जसलाई हामी असाध्यै प्रेम गर्छौँ त्यो मान्छेले हामीलाई बिसिर्यौँ भने के मनमा यस्तै अनुभव हुन सक्ला त ? जे होस् समग्ररूपमा कविता सुन्दर छ ।
शिखा बुक्सबाट प्रकाशित प्रस्तुत कविता सङ्ग्रह ११४ पेजको छ । कृतिको गहनतालाई हेर्दा २९९ रुपियाँ मूल्यको यो पुस्तक त्यति महङ्गो पनि लाग्दैन ।