मूल कविः माया एन्जेलो
तिमीले मलाई इतिहासमा हेप्न सक्छौ
तिम्रो बङगाएको तितो झुटले,
तिमीले मलाई माटोमा नै गाडिदिन सक्छौ
तर पनि, धुलो जस्तै म उठ्नेछु।
के मेरो हताशपनले तिमीलाई विचलित पार्छ?
किन तिमी निराशाले घेरिएको ?
किनकि म ठिक भएर हिँड्छु
चिल्लो बैठक कोठामा भनेर।
चन्द्रमा र सूर्यजस्तै,
ज्वारभाटाको निश्चितता जस्तै,
आशाहरू बुलन्द झै,
म उठ्नेछु।
के तिमी मलाई भत्किएको हेर्न चाहन्थ्यौ?
शीर झुकेको, आँखा निहुरेको जस्तै? .
आँसुका थोपाहरू जस्तै तल खसेका काँधहरू,
मेरो आत्माको रोदनले कमजोर भएको?
हेर्न चाहन्छौ ।
के मेरो अहमले तिम्रो चित्त दुखायो?
तर तिमीले यसलाई भयानक रूपमा नलेउ
किनकि म आफ्नै घरको आँगनमा सुनको खानी
पाएको जस्तो हाँस्छु।
तिमीले मलाई तिम्रो शब्दले हान्न सक्छौ,
तिमीले मलाई तिम्रो आँखाले काट्न सक्छौ,
तिमीले मलाई तिम्रो घृणाले मार्न सक्छौ,
तर हावा जस्तै, म पनि उठ्नेछु।
के मेरो कामुकताले तिमीलाई हैरान पार्छ?
के यो अचम्मको कुरा जस्तो लाग्छ तिमीलाई
मेरो तिघ्राको माझमा
हीरा पाएर नाचे जस्तै?
इतिहासको लज्जाको झुपडीबाट
म उठ्छु
पीडामा जगडिएको विगतबाट
म उठ्छु
म कालो सागर हुँ, उर्लिने र फराकिलो ,
खनिन्दै र फुलिन्दै ज्वारभाटामा उभिने छु ।
आतंक र डरका रातहरू पछाडी छोडेर
म उठ्छु
भालेको डाकको खुला वातावरणमा
म उठ्छु
मेरा पुर्खाहरूले दिएका उपहारहरू लिएर,
म दासको सपना र आशा हुँ।
म उठ्छु
म उठ्छु
म उठ्छु
माया एन्जेलो (जन्म अप्रिल ४, १९२८, सेन्ट लुइस, मिसौरी, अमेरिका – मृत्यु मे २८, २०१४) एक अमेरिकी कवि, संस्मरणकार, र अभिनेत्री थिइन् जसको आत्मकथाका धेरै खण्डहरूले आर्थिक, जातीय, र यौन उत्पीडन बारे वर्णन गरेका छन्।
अनुवादः शरद प्रधान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।