“मा निषाद प्रतिष्ठां त्वमगमश्शाश्वतीस्समा:
यत्क्रौञ्चमिथुनादेकमवधी: काममोहितम् ।।”
अचानक आफ्नो मुखबाट यस्तो श्लोक निस्केकोमा अचम्मित भई वाल्मीकिले यो श्लोक वनमा जाँदा आफ्ना शिष्यहरूलाई पनि सुनाउँदै हिँड्न थाले । त्यही बेला श्लोकबाट प्रसन्न भएर ब्रह्माजी त्यहीँ आउनुभयो र भन्न थाल्नुभयो, “यो श्लोक त सरस्वतीको प्रसाद हो । यसै श्लोकको प्रभावबाट तिमी ठूला कवि हुनेछौँ । अब तिमी श्रीरामचन्द्रको चरित्रलाई काव्य बनाऊ । तिमीले निर्माण गरेको काव्य सबैले पढ्नेछन् । उक्त काव्यले सबैको मनलाई आनन्दित बनाउनेछ । तिमीले ढिलो नगरी रामायणात्मक आदिकाव्य प्रारम्भ गऱ्यौ भने रामचन्द्रका सारा चरित्र आँखाले देखेझैँ गरेर वर्णन गर्न सक्ने शक्ति तिमीलाई हुनेछ, जहाँ तिमीले कम परिश्रम गरे मात्र हुन्छ ।” यति भनेर ब्रह्माजी अन्तर्ध्यान भएपछि भनिएको छ वाल्मीकिद्वारा रामायणात्मक आदिकाव्यको निर्माण भयो ।
बालकाण्ड
इन्दुमतीबाट जन्मिएका महाराज दशरथको राज्य हुँदा पृथ्वीमा उनीभन्दा ठूलो अर्को कोही राजा थिएन । दशरथ महाराजका कौशल्या, कैकेयी, सुमित्रा नामक तीन रानी थिए र तिनैबाट उनका चार छोरा पनि भएका थिए । कौशल्याबाट राम, कैकेयीबाट भरत र सुमित्राबाट लक्ष्मण र शत्रुघ्नको जन्म भएको थियो । यसमध्ये पनि भगवान्को अंश लिएर जन्मिएका राम अरू भाइहरूभन्दा बुद्धिमान् थिए र राक्षसहरूलाई मार्न सक्ने क्षमता पनि उनमा बढी थियो । यसै बालकाण्डमा नै राम र सीताको पनि बिहे भएको छ । जहाँ कसैले उठाउन नसकेको धनु उठाएरै रामले सीतालाई र सीताले पनि धैर्य, गाम्भीर्य, साहसी र वीररसले पूर्ण रामलाई पाएकी थिइन् ।
अयोध्याकाण्ड
यस अवधिमा महाराज दशरथ बुढो हुँदै गएको र छोराहरू ठूला हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै उनले रामलाई अयोध्याको राजा बनाउने निर्णय गर्छन् । यसमा सबैको सहमति हुन्छ सबै खुसी हुन्छन् तर कैकेयीकी एक दासी मन्थराले त्यसमा बाधा पुऱ्याउँछिन् र कैकेयीलाई भन्न थाल्छिन्, “महाराजले हजुरको सौताने छोरा रामलाई राज्य दिन आँट्नुभयो । हजुर महाराजको फोस्रो प्रेममा हुनुहुन्छ ।” यस्तै-यस्तै कुराले गर्दा कैकेयी महाराजसँग आफ्ना लागि दुई वर माग्छिन्- ‘आफ्नो छोरा भरतलाई राज्यभार सुम्पिनुपर्ने र रामलाई चौध वर्ष वनवासका लागि पठाउनुपर्ने ।’ आफ्नी श्रीमतीको यस्ता वचन टार्न नसकेपछि महाराज यसमा सहमति जनाउँछन् । यही अयोध्याकाण्डमा नै राम लक्ष्मण र सीता वनवास गएको कथा छ । यसैमा दशरथ महाराजको पुत्रशोकका कारण मृत्यु हुन्छ र रामले सम्झाइबुझाइ गरेपछि भरत अयोध्याको राज्यभार सम्हाल्न तयार हुन्छन् ।
अरण्यकाण्ड
यसअन्तर्गत रामको भेट रावणकी बहिनी, कुम्भकर्ण र विभीषणकी दिदी शूर्पणखासँग हुन्छ । उनले रामसँग प्रस्ताव राख्छिन् कि म सीता र लक्ष्मणलाई खाइदिन्छु तपाईँ मेरो पति बन्नुस् यही कुराबाट आक्रोशित भएर राम र लक्ष्मणले उनको नाक र कान काटिदिन्छन् । यही रिसमा शूर्पणखा पनि आफ्ना अरू दुई भाइ खर, दूषण र चौध हजार फौजसहित उनीहरूलाई आक्रमण गर्न आइपुग्छिन् तर रामले ती सबैको एक्लै हत्या गरिदिन्छन् । त्यसपछि शूर्पणखा आफ्ना दाइ रावणसँग सहयोग माग्न पुग्छिन् । अरण्यकाण्डअन्तर्गत स्त्रीलम्पट भएकै कारण रावणले राम र लक्ष्मणलाई अन्य काममा भुलाएर सीताको अपहरण गरिएको कथा छ ।
किष्किन्धाकाण्ड
यसअन्तर्गत रामको भेट हनुमान्सँग हुन्छ । उनी वायुका पुत्र भएका कारण सामर्थ्यवान् हुन्छन् । यही समयमा नै रामले बालीलाई मारेर सुग्रीवका साथ मित्रता गाँस्छन् र त्यसकै फलस्वरूप हनुमान् असङ्ख्य वानरहरू लिएर सीताको खोजी गर्न निस्कन सफल हुन्छन् । अनेकन कोसिस गर्दा पनि सीताको पत्ता नलागेपछि एकपटक त सबै वानर सुग्रीवको आदेश पालना गर्न नसकेको र उनले मार्नेछन् भन्ने डरले डुबेर मर्न पनि खोज्छन् तर त्यसै बेला एक सम्पाति भन्ने जटायुको दाज्यू गिद्दसँग उनीहरूको भेट भएपछि पुनः हार नमानी हनुमान् लङ्कामा जान र सीताको खबर सोधी फर्कन तयार हुन्छन् ।
सुन्दरकाण्ड
“म हुँ श्रीरामको दूत, उहीँबाट पठाउँदा ।
आएँ सागर नाघेर, झुटो छैन कुनै कुरा ।।
औँठी चिह्न दिनू भन्ने, आज्ञा श्रीरामको थियो ।
चढाएँ आज सो मैले काम मेरो पुरा भयो ।।
यति भन्दै हनुमान्को भेट सीतासँग हुन्छ । सीता पनि आफूलाई अब छिट्टै रामले बचाउनेछन् भनी खुसी हुन्छिन् । सीतासँग भेट भइसकेपछि हनुमान् अशोकवनमा पस्छन् र त्यहाँका मीठा फल खाँदै सारा वन उजाड पारिदिन्छन् । यो देखेर रावणले आफ्नो कान्छो छोरासहित केही फौज पठाउँछन् तर हनुमान्लाई मार्न नसकी उनीहरूले नै मृत्युवरण गर्छन् । यही रिसले रावण आफ्ना राक्षसहरूलाई हनुमान्को पुच्छरमा आगो लगाइदिन भन्छन् तर उल्टै हनुमान्ले लङ्का राजधानीको छाहाछाना उफ्रेर घरघरमा आगो लगाइदिन्छन् । त्यहाँबाट फर्कँदै समुद्रमा आएर आफ्नो पुच्छरको आगो निभाउँछन् र समुन्द्रपारि उनलाई पर्खिरहेका अरू वानरहरूसहित मधुवन पुग्छन् । त्यसपछि रामलाई सीता सकुशल रहेको खबर पुऱ्याउन हनुमान् सफल हुन्छन् ।
युद्धकाण्ड
यसअन्तर्गत असङ्ख्य वानरको सेना लिएर रामचन्द्र लङ्कामा पुग्दछन् । त्यसपछि त्यहाँ ठूलो युद्धको सुरुवात हुन्छ । जसमा कुम्भकर्ण, इन्द्रजित् लगायत थुप्रै वीर राक्षसहरू मारिन्छन् । यसै क्रममा एकपटक इन्द्रजित्द्वारा लक्ष्मण घायल हुन्छन् र राम हनुमान्लाई हिमालय पर्वतमा बुटी खोज्न पठाउँछन् । उक्त बुटी नाकमा सुँघाइदिँदा मात्र पनि लक्ष्मण ठिक हुन्छन् । त्यसपछि उक्त युद्धभूमिमा रावणको पनि मृत्यु हुन्छ र विभीषणलाई लङ्का राज्य हस्तान्तरण गर्न राम सफल हुन्छन् । यता सीता रामको पर्खाइमा हुन्छिन् । हनुमान् उनलाई लिई राम भएको ठाउँमा आइपुग्छन् र राम-सीताको भेट हुन्छ । त्यसपश्चात् राम सीतालाई भन्छन् कि राजकुमार भएर पनि राक्षसले हरण गरेकी स्त्रीलाई लिएर आयो भनी लोकले मलाई निन्दा गर्नेछ । रामको यस्तो वचन सुनी सीता अग्निमा प्रवेश गर्न खोज्छिन् तर उक्त अग्निमा सीता झन्-झन् प्रकाशमान् हुन्छिन् । त्यसपछि सीताले आफ्नो पतिव्रता धर्म छोडेकी छैनन् भन्नेमा राम ढुक्क हुन्छन् । यता उनको चौध वर्षको वनवासको अवधि पनि सक्किएको हुँदा सीता, लक्ष्मण, सुग्रीव र विभीषण आदि फौज लिएर राम अयोध्या प्रस्थान गर्छन्, जहाँ हनुमान् पहिल्यै पुगिसकेका हुन्छन् । उनीहरूको दर्शन पाएर भरतलगायत सम्पूर्ण अयोध्यावासी खुशी हुन्छन् ।
उत्तरकाण्ड
रामले राज्य गर्दामा तीनै लोकविषे सबै ।
थिए प्रसन्न शोकादिहरूबाट विहीन भै ।।
वैरभाव कतै कोही थिएन दुनियाँभर ।
राम-प्रतापले सारा थिए मित्र परस्पर ।।
वर्णाश्रम स्वधर्मादि वैदिक क्रमले गरी ।
चल्थे रोग विपद्बाधा थिएनन् जगतैभरि ।।
यहाँ अयोध्याका पूर्व कथाहरू छन् । रावण इन्द्रजित् र कुम्भकर्णहरू जन्मिनुका कथा पनि छन् । यही समयमा नै सीता गर्भिणी हुन्छिन् । फेरि पनि लोकले निन्दा गरेका कारण रामले लक्ष्मणमार्फत सीतालाई तपोवनमा लगेर छोडिदिन्छन् । जङ्गलमा एक्लै भौँतारिएकी सीतालाई वाल्मीकिले शरण दिई आफ्नै छोरी बनाएर राख्छन् । केही समयपछि सीताबाट लव र कुशको जन्म हुन्छ । उनीहरू सम्पूर्ण रामायण आदिकाव्यमा पोख्त हुन्छन् त्यसकै फलस्वरूप आफ्ना पिता र पूरै अयोध्यामा आफू सीताको छोराहरू भएको प्रमाणित गर्छन् । लोकले सीतामाथि अझै निन्दा गर्न नछोडेको हुँदा फेरि सीताले परीक्षा दिनुपर्ने अवस्था आउँछ जसमा उनी सफल हुन्छिन् । त्यसपछि राम सारा राज्यभार पुत्रहरूलाई सुम्पिएर आफ्ना भाइहरूका साथ स्वधाम हुन्छन् ।
रामायण रामको जीवन चरित्रमा जोडिएको काव्य हो । साझा प्रकाशनद्वारा प्रकाशित “नेपाली सङ्क्षिप्त रामायण” को मूल्य रु. ९१ छ । छोटोमा रामायण जान्न खोज्नेहरूका निम्ति यो पुस्तक धेरै उपयोगी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।